कसरी खाए प्रचण्ड, वली र देउवाले एउटै योजनामा नौ–नौ अर्ब !

बाबुराम भट्टराई भन्छन्– मसँग उनीहरूले नौ अर्ब खाएको प्रमाण छ

कसरी खाए प्रचण्ड, वली र देउवाले एउटै योजनामा नौ–नौ अर्ब !

देशको विकास गर्न र जनतालाई सुख–समृद्धि दिने वाचा बाँधेर शासनसत्तामा पुगेकाहरूले कसरी शासनसत्ताको दुरुपयोग गरी ब्रह्मलूट गर्दा रहेछन् भन्ने कुराको रहस्य शासकहरूले नै धमाधम खोल्न थालेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले पुष्पकमल दाहाल, केपी वली र शेरबहादुर देउवा मिलेर नौ अर्ब बाँडेर खाएको सार्वजनिक गरेपछि यस किसिमको रहस्य सतहमा आउन थालेको हो । जनता समाजवादी पार्टीका नेता रहेका बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा तीनजना पूर्वप्रधानमन्त्री मिलेर नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेपछि यो रहस्य सतहमा आएको हो ।

कुनै समयका काङ्ग्रेस, त्यसपछि मसाल, त्यसपछि माओवादी र अहिले मधेसवादी दलका नेता बनेका बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी वली र शेरबहादुर देउवा मिलेर एउटा परियोजनाबाट नौ अर्ब भ्रष्टाचार गरेको दाबी गरेपछि जनसमुदाय चनाखो भएर उक्त घोटालाकाण्डबारे जान्न र अपराध प्रमाणित गरेर कारबाही भएको हेर्न उत्सुक भएर बसेको छ । भ्रष्टाचार दाबी गर्ने भट्टराईदेखि लिएर आरोपित दाहाल, वली र देउवा चारैजना प्रधानमन्त्री भइसकेका मानिस हुन् । सर्पले सर्पको खुट्टा देख्छ भनेजस्तै प्रधानमन्त्री भइसकेका मानिसले अर्का प्रधानमन्त्री भइसकेका मानिसका बारेमा गरेको टिप्पणी अर्थपूर्ण हुनुपर्ने हो तर आरोपित तीनैजना नेता तैँ चूप्, मै चूप् छन् । यसको अर्थ उनीहरूले कहीँ न कहीँ मिलाएर उक्त रकम ‘भागशान्ति जय नेपाल’ गरेकै हुन् भन्नेमा सन्देह गर्ने ठाउँ छैन ।

तीनतीनजना प्रधानमन्त्री मिरेर एउटै परियोजनाबाट त्यत्रो रकम कसरी खाए र आजसम्म पचाउन सके ? यस्ता अन्य कयौँ परियोजनाबाट उनीहरूले कति रकम खाएका होलान् ? के यही व्यवस्था र सरकारले यी र यस्ता भ्रष्टाचारीमाथि कारबाही गर्ला ? गर्न सक्ला ? वा यसका लागि जनसत्तालाई नै गुहार्नु पर्ला ? यतिबेला यो गम्भीर चासोको विषय बनेको छ ।

हुनत लाउडा, चेज एयरदेखि सुन, वाइडबडी हवाईजहाज, यती, ओम्नी, स्वास्थ्य सामग्री घोटाला र ज्यानकाण्डहरूसमेत यी नेताहरूले पचाइसकेका छन् । कतिपय विषय त्यसै अलपत्र छन् ।

गोरखाको पालुङटार नगरपालिका ६ मा आफ्नो पार्टीका कार्यकर्तासँग बिहीबार भट्टराईले प्रधानमन्त्री वलीसहित पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवा मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका थिए । उनले तीनजना नेताले गरेको भ्रष्टाचारको प्रमाणसमेत दिनसमेत आफू तयार रहेको पनि बताएका थिए । दाहालका पूर्वसहयोद्धासमेत रहेका र एकपल्ट प्रधानमन्त्रीसमिते भइसकेका भट्टराईले गरेको यो दाबीका बारेमा तीनैजनाले कुनै प्रतिक्रिया नदिँदा बूढीगण्डकी जलविद्युत् आयोजना घोटालाकाण्ड भुसको आगो बनिरहेको छ ।

भट्टराईले उक्त कार्यक्रममा भनेका थिए, ‘वली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारे । उनीहरूले आयोजनाबाट अर्बौं रुपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ ।’ भट्टराईले यो दाबी गर्नुका पछाडि उनीसँग उक्त घोटालाका प्रमाण र तथ्यहरू रहेको हुनसक्ने जानकारहरू बताउँछन् । भट्टराईले वली, प्रचण्ड र देउवा मिलेर भ्रष्टाचार गरेको दाबीसहित आफूसँग प्रमाण रहेको जिकिर पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :