सरकारले डा. गोविन्द केसीलाई मार्न चाहेको अनशनरत केसी पक्षधरकै दाबी

वार्ता असफल भएपछि आजदेखि केसीका पक्षमा देशभर आन्दोलन

सरकारले डा. गोविन्द केसीलाई मार्न चाहेको अनशनरत केसी पक्षधरकै दाबी

काठमाडौँ : चिकित्सा क्षेत्र सुधारलगायत ६ बुँदे माग राखेर २७ दिनदेखि १९ औँ आमरण अनशन बसेका समाज सुधारक वरिष्ठ चिकित्सक गोविन्द केसीका माग पूरा गर्ने विषयमा सरकार अचानक पछि हटेपछि हुनै लागेको सहमति पनि भाँडिएको छ । अनशनरत केसीका तर्फबाट वार्तामा बसेका प्रतिनिधिहरूले सरकारले डा. केसीलाई अनशनमै मार्न चाहेको देखिएको बताएका छन् । केसी पक्षधरहरूले आज शनिबारदेखि देशव्यापी आन्दोलन घोषणा गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र केसीबीच हुनै लागेको सहमति शुक्रबार राती भाँडिएको हो ।

केसीका तर्फबाट गठित वार्ता समितिले सरकारले सहमतिका लागि गम्भीरता नदेखाएकाले आफूहरू बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था उत्पन्न भएको जनाएको छ । सरकारी प्रतिनिधिहरू सहमतिका लागि गम्भीर नबनेको र डा. केसी अनशनमै मरोस् भन्ने सरकारको नियत देखिएको अनशनरत केसीतर्फका वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले शुक्रबार राती वार्ता भाँडिएपछि आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । डा. केसी अनशनरत त्रिवि शिक्षण अस्तपाल परिसरमा पत्रकार सम्मेलन गरेर केसी पक्षका वार्ता संयोजक क्षेत्रीले भने, ‘सरकारले वार्ता गरेजस्तो गरेर छलछाम मात्र पारेको गरेको देखियो । डा. केसी मरे मरोस् भन्ने सरकारको नियत देखिएको छ । हिजो बिहीबार राती सकिएको वार्तामा तयार भएको सहमतिको मस्यौदाभन्दा पनि पनि सरकार पछि हटेर प्रस्तुत भएपछि वार्ता असफल भएको हो ।’

संयोजक क्षेत्रीले डा. केसीको जीवनरक्षा र माग पूरा गराउन शनिबारबाटै आन्दोलन गर्ने पनि जनाएका छन् । उनले आन्दोलनका लागि आमनागरिकलाई आह्वानसमेत गरेका छन् ।

चिकित्सा क्षेत्र सुधारलगायत विषयका ६ बुँदे माग राखेर आमरण अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको र सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोलीका तर्फबाट शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी वलीसम्म पुर्याएको समाचार सार्वजकि भएको थियो ।

सरकारी पक्षले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारीलगायत नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा केही हेरफेर गरेको र प्रायः अरू सबै विषयमा दुवै टोली सहमत भइसकेको अवस्थामा सरकारी पक्ष एकाएक वार्ताबाट पछि हटेको हो । सहमतिको प्रातीक्षा गरेर डा. केसी पक्षको वार्ता टोली दिनभर बसे पनि सरकारी टोली वार्तामा नआएपछि केसीका मागप्रति विगतदेखि नै अनुदार रहेका केपी वली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र शैक्षिक माफियाहरूबीच केसीविरुद्ध मोर्चा बनेको हुनसक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा पनि थप संशोधन गरेर केसीका माग ओझेलमा पारेको आन्दोलनरत पक्षको भनाइ छ । पोखरेलले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मितिसमेत राख्न चाहेका थिएनन् । उनले अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद् बैठकमा लैजाने बुँदा पनि हटाउन लगाएका थिए । यसैकारण सहमतिको नजिक पुगेर वार्ता भाँडिएको बताइएको छ । सहमतिको मस्यौदामा संशोधन गरेर हिँडेका शिक्षामन्त्री सरकारी वार्ता टोलीको सम्पर्कमा नआएकाले उनी वली र माफियाहरूको प्रभावमा परेको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :