देशभर २४ घन्टामा ५,००८ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६१४ पुग्यो

देशभर २४ घन्टामा ५,००८ जना कोरोना सङ्क्रमित थपिए, मृतकको संख्या ६१४ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा २ हजार ६७२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका २ हजार १००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार २२९ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या ३० हजार ८१८ रहेको छ । त्यसमा आई.सी.यु.मा ३२१ जना र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ, भने संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना र होम आइसोलेसनमा १७ हजार १६४ जना रहेका छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ६८६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :