डा. केसीका पक्षमा काठमाडौँमा प्रदर्शन : माफियाको समाजवाद, यती, ओम्नी, मार्सीभात

भोलिदेखि आकस्मिकबाहेक देशभरका सबै स्वास्थ्य सेवा ठप्प

डा. केसीका पक्षमा काठमाडौँमा प्रदर्शन : माफियाको समाजवाद, यती, ओम्नी, मार्सीभात

काठमाडौँ : चिकित्सा क्षेत्र सुधारलगायत ६ सूत्रीय माग राख्दै २७ दिनदेखि आमरण अनशनमा बसेका सुधारक डा. गोविन्द केसीका माग पूरा गरी जीवनरक्षा गर्न दबाब दिँदै नेपाल चिकित्सक सङ्घले आइतबारदेखि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड १९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको छ । सङ्घले विज्ञप्ति जारी गरी आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

सङ्घले केसीसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेको भन्दै असोज २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो तर सरकार सहमतिनजिक पुगेको वार्ता भाँडेर सम्पर्कविहीन भएपछि सङ्घ आन्दोलनमा उत्रिएको हो ।

सङ्घका महासचिव डा. बद्री रिजालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादलाई तार्किक निष्कर्षमा पुर्याई डा. केसीको जीवनरक्षाका निम्ति नेपाल चिकित्सक सङ्घले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बेहोरा अवगत गराउँदै डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति यस सङ्घ बाध्यताबस मिति २०७७ आश्विन २२ गते बिहीबार वार्ता सकारात्मक रूपमा अगाडि बढेको हुनाले आश्विन २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ आश्विन २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड १९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्यसेवा पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरिएको छ ।’

यसैबीच डा. केसीको १९ औं आमरण अनशन २७ औँ दिनमा पुगेको दिन पनि केसीका मागहरू पूरा गर्न र उनको जीवनरक्षाको माग गर्दै काठमाडौँ माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले सरकारलाई सत्याग्रहीलाई मार्न खोजेको ? भन्ने प्रश्न गर्दै प्रदर्शन गरेका हुन् ।

अनशनरत डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै सोलिडारिटी फर डा. केसीको आह्वानमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोजेको ?’ ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :