पार्टी विभाजनको अन्तिम साइत जुराउँदै वली र दाहाल

सरकारी नेकपा फुट्दा देशलाई कति घाटा, कति नाफा ?

पार्टी विभाजनको अन्तिम साइत जुराउँदै वली र दाहाल

काठमाडौँ : माक्र्सवादी दर्शन, विचार, राजनीति, वर्ग सबैलाई स्वाहा पारेर सत्ताकेन्द्रित गठबन्धन गर्न पुगेका केपी वली र पुष्पकमल दाहाल अन्ततः सरकारी नेकपालाई फुटाएरै छोड्ने निष्कर्षमा पुगेका छन् । उनीहरूका पछिल्ला गतिविधि, अभिव्यक्ति र क्रियाकलापहरूले त्यसैलाई सङ्केत गरेका छन् । बरु उनीहरू एकअर्को समूहका पात्रहरूलाई चोरेर आफ्नो गुट बलियो बनाउने ध्याउन्नमा लागेको उनीहरूको क्रियाकलापले बुझ्न गाह्रो पर्दैन । लाग्छ, उनीहरू पार्टी विभाजनको दोष आफूलाई नआओस् भनेर साइत मात्र जुराएर बसेका छन् ।

वली र दाहाल विचारबाट पूर्ण रूपमा पतीत भइसकेकाले सत्ता राजनीतिका लागि जे पनि गर्न तयार भएर बसेका छन् किनकि यो दलाल पुँजीवादको आमचरित्र नै हो । उनीहरू हिजो पञ्चलाई सत्ता सुम्पिएझैँ आज फेरि काङ्ग्रेसको ढोकामा शरण पर्न पुगेका छन् । वलीका लागि त पूर्वपञ्चदेखि काङ्ग्रेस, राजा सबैसँग सहकार्य गर्नु कुनै अनौठो होइन तर दाहालका लागि भने गत स्थानीय चुनावमा काङ्ग्रेससँग पार्टीएकता र चुनावी तालमेल गर्ने पहलपछि अहिलेको सहकार्यको प्रयास नयाँ हुनसक्छ । यसले पनि उनलाई प्रतिक्रियावादमा पतनको चरमोत्कर्षमा पु/याउनेछ ।

यसैक्रममा केपी ललीले सल्लाहमै पार्टी फुटाउन दाहाललाई सुझाव दिएको समाचार सनसनीपूर्ण बनेको छ । वलीका लागि अब पार्टी फुटेर केही नोक्सान हुनेवाला देखिँदैन तर दाहालका लागि भने झर्ला र खाउँला भनेर कुरिरहेको समयमा पार्टी विभाजन भयो भने मुखैमा आइपुगेको सत्ताको गुलियो फल अर्काको मुखमा पुग्ने त्रास छ ।

संसदीय सत्ता अभ्यासमा केपी वली पनि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाजस्तै बदनाम पात्र हुन् । गणतन्त्र नचाहने वली गणतन्त्रका प्रधानमन्त्री भएका छन् । उनले माओवादविरोधी आफ्नी विश्वासपात्र विद्या भण्डारीलाई दुईदुईपल्ट राष्ट्रपति बनाइसकेका छन् । उनले आफ्ना अन्य विश्वासपात्रहरूलाई पनि मन्त्री, सांसद, राजदूत, सल्लाहकार, जीएमलगायत महत्वपूर्ण पद हात दिलाएर गुनको बदला तिरिसकेका छन् । उनका लागि गणतन्त्र र प्रधानमन्त्री पद नसोचेको चिट्ठा परेझैँ थियो । अब उनका लागि गर्न केही बाँकी छैन ।

दाहाल भने धित मर्ने गरी सत्तामा पुग्ने सपना सजाएर कहिले यता र कहिले उता चहारिरहेका छन् । माओवादी जनयुद्ध, जनसत्ता र पार्टीलाई सिध्याएर पनि उनले भनेजस्तो सत्ताशक्ति हात पार्न पाइरहेका छैनन् । जनयुद्ध, जनसत्ता, जनसेना, जनहतियार र शक्तिशाली माओवादी पार्टी समाप्त पारेर पनि एउटी छोरीलाई महानगरको प्रमुख र एउटी बुहारीलाई मन्त्री बनाउनुबाहेक दाहालले खुब गरेको भनेको केही पुस्तालाई पुग्ने सम्पत्तिको जोहो मात्र हो । पार्टी विभाजनपछि उनलाई पनि सत्ताको धङधङी र रमरमी मात्र बाँकी रहनेछ ।

यसै क्रममा प्रधानमन्त्रीसमेत रहेका सरकारी नेकपाका प्रथम अध्यक्ष वली र द्वितीय अध्यक्ष दाहालबीच लामो समयपछि शनिबार वली निवास बालुवाटारमा भेट भएर बोलचाल खुलेको छ तर उक्त भेट पनि सुखद हुन सकेन । उक्त भेटमा वलीले ‘अब आआफ्नो बाटो लागौँ’ भनी दाहालसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको स्रोतहरूले उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूले अस्ति फोनमा पनि प्रचण्डलाई आआफ्नो बाटो लागौँ भन्नुभएछ । हिजो बालुवाटारको भेटमा पनि त्यसै भन्नुभएछ’, अनलाइनले सरकारी पार्टीका एक सचिवालय सदस्यको हवाला दिँदै लेखेको छ, ‘आजको फोनवार्तामा पनि प्रधानमन्त्रीज्यूले प्रचण्डलाई त्यसै भन्नुभएछ ।’

यस्तै विभिन्न स्रोतहरूका अनुसार वली र दाहालबीच पछिल्लो समयमा भएका संवादहरूमा प्रधानमन्त्री वलीले पूर्वमाओवादी र पूर्वएमाले आआफ्नो बाटो लाग्नुपर्ने प्रस्ताव गरेपछि पार्टीफुटको तयारी अन्तिम अवस्थामा पुगेको आकलन भइरहेको छ ।

दाहाल पक्ष वलीले पार्टी फुटाउन चाहेको हल्ला गरिरहेको छ भने वली पक्ष दाहाल समूहलाई यही आरोप लगाइरहेको छ तर वास्तवमा यी दुवै ‘एउटा पूर्वको र अर्को पश्चिमको ठग’ जस्ता भएर आआफ्नो गुटको प्रचार गर्दै हिँडेका छन् । यसको पछिल्लो जडका रूपमा वलीको कर्णालीको मुख्यमन्त्री हटाउने ‘कु’ प्रयास असफल हुनु हो भन्नेहरू पनि छन् तर कर्णालीको कु असफल हुनु त एउटा घटना मात्र हो, मान्छे मर्नुको कारण सास बन्द हुनु हो भनेजस्तै । वास्तवमा दाहाल र वली समूहका हरेक समिति र कार्यकर्ताहरू फुटिसकेका छन् । वली र दाहालबीचको वाक्युद्ध त सतहमा देखिएको छालजस्तो मात्र हो ।

दाहाल समूहका र विशेषगरी माओवादी पृष्ठभूमि भएका दाहाल पक्षधरहरूका अनुसार वली वास्तवमै दाहालसँगको सम्बन्ध सदाका लागि अन्त्य गर्ने गहिरो गृहकार्य गरिरहेका छन् ।

सामाजिक सञ्जालहरूमा दुवै समूहका मध्यम स्तरका नेताहरूले पार्टी फुट भए दुर्भाग्य हुने सन्देश प्रवाह गरिरहेका छन् तर वास्तवमा सरकारी नेकपाको विभाजनले मुलुकलाई कुनै दुर्भाग्य हुनेछैन । इतिहासमा यस्ता प्रतिक्रियावादी पार्टीहरू कयौँपटक फुट, विभाजन र एकता भएका उदाहरणहरू छन् । पूर्वपञ्चहरू, तराईकेन्द्रित क्षेत्रीय दलहरू, काङ्ग्रेस, पूर्वएमालेहरू बारम्बार कसैको उद्देश्य, इच्छा र आदेशमा फुट्दै र जुट्दै गरेका घटना हाम्राअघिल्तिर ताजै छन् । बरु कम्युनिस्टको खोल ओढेर राष्ट्रघात, जनघात गर्ने, प्रजातन्त्रको खोल ओढेर अप्रजातान्त्रिक गतिविधि गर्नेहरूको भग्नावशेष र खरानीमै नयाँ नेपाल निर्माण सम्भव देखिने जानकार र भुक्तभोगीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :