कुन खुसीले मनाऊँ दसैँ !

कविता

कुन खुसीले मनाऊँ दसैँ !

के खुसीमा मनाऊँ दसैँ ?
बढेको बढ्यै छ कोरोना कहर
दैनिक उकालो लागेको छ
कोरोनाबाट मारिने र
कोरोना सुरक्षा सामग्रीमा मन्त्रीले गरेको भ्रष्टाचारको ‘ग्राफ’ !

नसकेर सहन कोरोना कहर
आत्महत्या गरिरहेको छ मानिस
सायद यसै खुसीयालीमा सरकारले
गरेको छ निर्णय र दिएको छ आदेश–
सरकारी लगानीमा नगराऊ उपचार !
के यही खुसीमा मनाऊँ म दसैँ
र काटौँ आँगनमा घोर्ले खसी ?

बढेको बढ्यै छ महँगीको ‘ग्राफ’
मुस्किल छ बिहान आलु–प्याज र
बेलुका प्याज–आलुको तिहुनले छाक टार्न पनि
निभेको छ चुलोको आगो
‘जनता भोकै छैनन् र भोकै राख्दिनँ’ भन्ने
सरकार प्रमुखको कार्यालयअघिल्तिरै
लास ढलेको छ भोको मानिसको
रित्ता थाल बोकेर लाम लागेको छ मानिस
शान्त पार्न पेटको क्षुधा
रत्नपार्कको खुला पटाङ्गिनीमा ।

कस्ता नरमाइला दृश्यहरू देखिइरहेका छन् यत्रतत्र–
मेरो देशको प्रधानमन्त्री
गोप्य कोठामा देश लिलाम गरिरहेछ र
सिक्किम किन्नेले
अर्को लेन्डुप बनाउँदैछ मेरो देशको प्रधानमन्त्रीलाई !
के यही खुसीयालीमा मनाऊँ म दसैँ ?

मान्छे देश खोज्दै सडकमा निस्किरहेछ
मान्छे भात खोज्दै रित्ता थाल बोकेर लाम लागिरहेछ
बलात्कृत बालिका र किशोरीका आमा–बाबाहरू
बलात्कारी र संरक्षकलाई फाँसीको माग गर्दै
निकलिरहेछन् सडकमा जुलुसहरू
छैन कतै न्याय !
न देशलाई छ, न त जनतालाई !
हराएका छन् सबै खुसी र सुख
छैनन् कतै मुस्कानका झिल्काझिल्कीसम्म
कतै सत्ताको एक कुनामा थुप्रिएको छ सन्तुष्टि
यस्ता पीडा र वेदनाहरूबीच
कुन खुसीयालीमा मनाउन सक्छु म उत्सव ?

उता बझाङमा बहिनी बलात्कृत भएर मारिएकी छे
यता मातृभूमि बलात्कृत भएर
चित्कार छोडिरहेको छ ।
मातृभूमिका बलात्कारीहरू
चोटाकोठा थुनेर गोप्य रूपमा
कित्ताकाट गरिरहेका छन् मेरो देशको नक्सा
र मनाइरहेका छन् दसैँ ।
बाँकी मेरो देशको लिम्पियाधुरा कोसेली लिन आएको
‘र’ प्रमुखसँगै बसेर म चुस्की लगाऊँ ?
वा मेरो मातृभूमि ध्वस्त पार्ने योजना लिएर आएको
एमसीसीको नेपाल प्रमुखसँग बसेर मातूँ ?
कुन खुसीमा मनाऊँ म यसलाई बडाउत्सव ?

‘घूस खान्नँ र खान दिन्नँ’ भन्ने
प्रधानमन्त्रीकै कार्यालयका मन्त्रीले गरेका छन् भ्रष्टाचार
जनताको लासमा पनि भ्रष्टाचार गरिरहेको छ सरकार
के यही खुसीमा मनाऊँ दसैँ ?
लगाऊँ निधारभरि राता टीका
र सिउरिऊँ कानमाथि जमरा ?

पूरा गर्दै प्रधानमन्त्रीले घरघरमा सिंहदरबार पठाइदिने कबुल
पठाइदिएका छन् राष्ट्रघातसँगै
तस्करी र भ्रष्टाचारको कोसेली
नअघाएर कोसी, गण्डकी, कालापानी
महाकाली र लिपुलेकहरूले मात्र
सुरसाजस्तै मुख बाइरहेको छ दक्षिणी छिमेकी
र आइपुगेको छ दौडधूप गर्दै गोप्य मन्त्रणामा ।

सात समुद्रपारिको नरभक्षी याङ्कीलाई
गर्दै निर्देश सुम्पिन सिङ्गो देशको अस्मिता
चटाइरहेछ एमसीसीको विषालु ललीपप
आफ्नै देशको प्रधानमन्त्री
पुराकथाको महादेवले सतीदेवीको लास बोकेजस्तै
बोकेर काँधमा जनबहिष्कृत एमसीसीको कुहिएको लास
चटाइरहेछ कालकूटको पोको ।

कठै ! बज्रिँदैछन् मेरो देशको छातीमाथि
साम्राज्यवादी सेनाका क्रूर बुटहरू
र बन्दैछ मेरो देश युद्धपिपासुहरूको रणमैदान !
के यही खुसीमा मनाऊँ म दसैँ ?

महँगीले नाघेको छ आकाश
भोकमरी र अभावले गलाएका छन्
मेरो देशका नौजवानका नौनाडी
कोरोनाबाट मारिएकाहरूको लाससम्म
व्यवस्थापन नगर्ने सरकार
र सरकारका प्रधानमन्त्रीले दिएका छन्
ठोरीमै कथित रामको मन्दिर बनाउने आदेश
र त्यही आदेशको पेटबोलीमा छ–
सुकुमबासीका झुपडीमा आगो झोस्ने निर्देशन
चेपाङका टहरा जलाइएको खुसीमा मनाऊँ वा
राममन्दिर बन्ने कुसीमा मनाऊँ दसैँ ?
कि बाजुरा जेलका कैदीबन्दी
भोकभोकै मर्न लागेको खुसीयालीमा मनाऊँ !

दसैँ त आएकै छ हरेक वर्ष
बोकेर अन्धविश्वास, रूढि र जडता
र गएकै छ भिकमङ्गा बनाएर
यसपाला त झन्
लिम्पियाधुरा नै खाने गरी आयो
सुदामाले खोकिलामा कनिकाको पोको च्यापेझैँ
मातृद्रोही एमसीसी च्यापेर आयो
सम्झना कामीको बलात्कृत लास बनेर आयो
र ‘र’ का प्रमुखसँग गोप्य सहमति गरेर गयो
यो शोक र आक्रोशको घडीमा
यो विद्रोहको राँको झोस्ने समयमा
रणचण्डी बनेर सडकसडक कुदेर मनाऊँ कि
‘भैरव’ नृत्य गर्दै खुँडा र तरबार बोकेर मनाऊँ !
के खुसीले मनाऊँ म दसैँ ?
कसरी मनाऊँ म दसैँ ?!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :