पूर्वी क्षितिजमा हेर !

कविता

पूर्वी क्षितिजमा हेर !

ऊः पूर्वको क्षितिजमा हेर
राम्रो सूर्य उदाउँदैछ
त्यो रातो सूर्यले
लाललाल, बिल्कुलै लाल
उषाकिरण छाडेछ
काला बादलका रेसाहरूले
जति घेरा हाल्न खोजे पनि
जति छोप्न खोजे पनि
त्यो उषाकिरण
हावाको झोक्कासहित
कालो बादललाई पछार्दै
उज्यालो प्रकाश बोकी
फुत्त निस्किएर आउँदैछ ।।

हेर त हेर, पूर्वी क्षितिजमा हेर
त्यो लाल–लाल उषाकिरण
राप र ताप छर्दै
उषाको लाली बनेर झन्झन् अघि बढ्दैछ
माथि–माथि उडेर हुस्सु–तुवाँलो पन्छाउँदै
हिउँदे तुसारो हटाउँदै
अविराम गतिमा अघि बढ्दैछ ।

हेर न हेर, पूर्वी क्षितिजमा हेर
उदाउँदै गरेको लालकिरणलाई देखेर
खेतका सुनौला फाँटहरूमा
किसानको ताँती लाग्दैछ
सहरका गल्ली–गल्लीमा
मजदुरको लहर जाग्दैछ
हँसिया–हथौडा लिएर
श्रमजीवी हातहरू जुट्दैछन्
मिर्मिरे बिहानीसँगै
स्वप्नद्रष्टाहरू उठ्दैछन् ।

हेर न हेर, धर्तीमा हेर
उषाको लालकिरणसँगै
शोषणका महलहरू ढल्दैछन्
साहूसौकाहरू केही भाग्दैछन्
मुक्तिको आवाज बोकेर
रक्तबीजहरू फेरि जल्दैछन्
काला सर्प र अजिङ्गरहरू
धर्तीमुनि पस्दैछन्
काला कानुनका पर्दाहरू
धुजा–धुजा भएर फाट्दैछन्
काला फलामे जन्जिरहरू
एकएक गरेर टुट्दैछन्
इन्क्लाबको नारा बोकेर
क्रान्तिवीरहरू फेरि लड्दैछन्
कलमवीरहरू फेरि लेख्दैछन्
मुक्तिकामीहरूको ओठमा हेर
मुस्कानका लाली चढ्दैछन् ।

हेर न हेर, ऊः पूर्वको क्षितिजमा हेर
रातो सूर्यको साथमा
फेरि आशाका लालकिरण उठ्दैछन् ।।।

४ कात्तिक, २०७७-कैलाली कारागार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :