दसैँको दशा र सरकारको जनविरोधी हर्कत

दसैँको दशा र सरकारको जनविरोधी हर्कत

नेपालीहरूको घरआँगनभित्रै परम्परागत पर्व दसैँ छिरिसकेको छ तर नेपाली जनताको टाउकोमा महँगी, अभाव, त्रास, भ्रष्टाचार, कमिसन र लूट थपिएको थपियै छ । कोरोना भाइरस सङ्क्रमणले जनजीवन थिलथिलो बनिरहेको समयमा केपी वली सरकारले कोरोना सङ्क्रमण भएका आमनागरिकको स्वास्थ्य परीक्षणदेखि उपचारसम्मका सम्पूर्ण जिम्मेवारीबाट हात झिक्ने निर्णय गरेर चरम जनविरोधी चरित्र प्रदर्शन गरेको छ । हामी सरकारको यस किसिमको गैरजिम्मेवार, जनघाती निर्णयको घोर भत्र्सना र खेद प्रकट गर्दै आफ्नो निर्णय सच्याएर जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न गम्भीर रूपमा ध्यानाकर्षण गराउँछौँ ।

मुलुक यतिबेला इतिहासकै गम्भीर मोडमा पुगेको छ । राष्ट्रियताको दृष्टिकोणबाट हेर्दा सरकारले भारतीय साम्राज्यवादले अतिक्रमण गरेका नेपाली भूमि फिर्ता ल्याउनु त परै जाओस्, कागजी रूपमा संशोधन गरिएको नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा नराख्न निर्देशन दिएर चरम राष्ट्रघाती, भारतीय साम्राज्यवादको चाकर र बफादार नोकरको व्यवहार प्रदर्शन गरेको छ भने अर्कातिर राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पारित गर्ने निर्णय गरेर सरकारी नेकपाले आफूलाई सक्कली राष्ट्रघातीका रूपमा दर्ता गराएको छ । जनतन्त्र इतिहासमै अत्यन्त गम्भीर मोडमा पुगेको छ । केपी वली सरकारका गृहमन्त्री रामबहादुर थापाले सरकारका राष्ट्रघाती–जनघाती कदमका विरुद्ध सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टीलाई निस्तेज पार्न कुनै सम्झौता नगर्ने र दमन गर्ने भाषण गरेर आफ्नो चरम जनविरोधी चरित्र उदाङ्गो पारेका छन् । उनको यो हर्कतले सरकार फेरि जनताविरुद्ध अझै ठूलो दमन लाद्ने षड्यन्त्र गरिरहेको छ भन्ने सङ्केत गरेको छ । हुनत दलाल पुँजीवाद र सामाजिक फासिवादी सरकारका बफादार बनेर विद्रोही शक्तिका विरुद्ध साम्राज्यवादसँग गठजोड गर्न पुगेको वली सरकारका गृहमन्त्री थापाले आजसम्म पनि विद्रोही नेकपालाई कुनै दयामायाले दमन गर्न रोकेका वा समाप्त पार्न नखोजेका होइनन् । कुमार पौडेललागायत नेकपाका तीनतीनजना योद्धाहरूलाई झूट्टा मुठभेटको नाटक मञ्चन गरेर हत्या गरेकै हुन् र अन्य आठजना योद्धाहरूको रगत बग्ने वातावरण निर्माण गरेकै हुन् । यतिबेला पनि वली सरकारले नेकपाका सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दा लगाई हिरासत र जेलमा कोचेकै छ तर यतिबेला सरकारी सुरक्षा निकायमाथि कुनै आक्रमणको योजना नबनाएको नेकपालाई दमन गर्ने उद्घोष गर्न प्रहरीको कार्यक्रममै थापालाई केले प्रेरित गर्यो त भन्ने कुरा बुझ्न पनि कुनै गाह्रो भने छैन । नेपाल प्रहरी जनताको शान्तिसुरक्षाका लागि स्थापना गरिएको शक्ति हो । हिजो जनयुद्धको समयमा तत्कालीन सत्ताले यो शक्तिलाई जनयुद्ध दबाउन र जनतालाई मार्न दुरुपयोग गर्दा हजारौँको सङ्ख्यामा सुरक्षाकर्मीसमेत मारिएका थिए र प्रहरी आफैँ पराजित मात्र होइन, अत्यन्त बदनाम र अलोकप्रिय बन्नुपर्ने अवस्था उत्पन्न भएको थियो । यतिबेला एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको र आफ्ना सम्पूर्ण आक्रामक कारबाहीहरू स्थगन गरेर कोरोना सङ्क्रमणले आहत जनताको सेवा गरिरहेको नेकपा जनतामा स्थापित र लोकप्रिय बनेको भलिभाँती थाहा पाएका थापाले नेकपालाई जनताबाट कटाउने र उसको लोकप्रियता र अभियानमा थप बारबन्देज लगाएर दूरी बढाउने उद्देश्यले साम्राज्यवादी डिजाइनमा यो उद्घोष गरेका हुन् भन्ने बुझ्न कुनै कठिनाइ छैन । थापाको यो भनाइ पनि अत्यन्त प्रतिगामी र जनविरोधी छ । जनस्तबरबाटै यसप्रकारका प्रतिगामी भनाइ र गतिविधिको प्रतिरोध गर्नु आवश्यक छ ।

अर्कातिर सरकारी नेकपाभित्र फेरि द्वन्द्व आकासिएको छ । केपी वली पक्षले पुष्पकमल दाहाल पक्षको कोटाबाट कथित कर्णाली प्रदेशका मुख्यमन्त्री बनाइएका महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्तावबाट हटाएर आफ्ना विश्वासपात्रलाई मुख्यमन्त्री बनाउन खोजेपछि र दाहाल–नेपाल समूहले त्यसलाई रोकेपछि मच्चिएको सरकारी नेकपाभित्रको भाँडभैलो फेरि वली–दाहाल पक्षबीच भनाभन, षड्यन्त्र र बोलचाल बन्दको अवस्थासम्म पुगेको छ । भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको वली–दाहाल समूहबीचको षड्यन्त्रपूर्ण सम्बन्ध फेरि तनावपूर्ण बनिरहेको समयमा जनता सरकार र सरकारी पार्टीप्रति अत्यन्त रुष्ट र आक्रोशित बन्दै गएका छन् । यस्तो समयमा जनताको ध्यान अन्यत्र मोड्ने षड्यन्त्रस्वरूप थापाले विद्रोही शक्तिविरुद्ध आक्रामक शैली अपनाएको हुनसक्नेमा पनि द्विविधा छैन ।

सरकारी दमन, षड्यन्त्र, महँगी, भ्रषटाचार, कमिसन र राष्ट्रघातका विरुद्ध क्रियाशील २१ वामपन्थी पार्टी र समूहले सरकारका विरुद्ध कार्यगत एकता गरी नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग गरेपछि वली सरकार अझै तिल्मिलाएको देखिन्छ । अब केपी वली र पुष्पकमल दाहाल–रामबहादुर थापाकै पार्टीका पनि कयौँ नेताहरूदेखि लिएर नेपाली राजनीतिमा क्रियाशील सबै शक्तिहरूले सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरिसकेका छन् । यो अवस्थामा एकातिर नेकपाको लोकप्रियता चुलिँदै गएको र अर्कातिर प्रतिबन्ध हटाउन परेको चौतर्फी दबाब थेग्न नसकेर पनि वली सरकारले विद्रोहीमाथि थप दमनको भाषा बोलेर सुतुरमुर्गले मुन्टो लुकाएझैँ लुक्न, भाग्न वा आत्मरति लिन खोजेको देखिन्छ । उसले नेकपामाथिको प्रतिबन्ध फुकुवाको माग गर्ने २१ दललाई पनि तर्साउन, थर्काउन र दमन गर्न धम्कीको भाषा प्रयोग गरेको देखिन्छ । जनआन्दोलन आरम्भ गरेका २१ दलविरुद्धसमेत लक्षित थापाको उक्त धम्की अन्ततः यो सरकार र व्यवस्थाकै लागि प्रतिकूल साबित हुनेछ ।

अन्त्यमा, कोरोना सङ्क्रमणका कारण आहत बनेका नेपाली आमजनसमुदायलाई हामी विनम्रतापूर्वक आग्रह गर्छाै– सरकारले तपाईंको सुरक्षा गर्नेवाला छैन । आफैँ सचेत र सुरक्षित रहनुस् र सरकारी धम्कीको प्रतिरोध गर्ने तयारीका साथ सिर्जनात्मक काम गरी घरमै बसेर सामान्य रूपमा दसैँको समय सदुपयोग गर्नुहोस् । अनावश्यक तडकभडक, भीडभाड र ओहोरदाहोरले आर्थिक, सामाजिक, सांस्कृतिक र स्वास्थ्य सबै क्षेत्रलाई हानि पुर्याउँछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :