सरकारविरुद्ध नेकपाद्वारा देशव्यापी सङ्घर्ष घोषणा

सरकारविरुद्ध नेकपाद्वारा देशव्यापी सङ्घर्ष घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कोरोना महामारीको समयमा जनताको स्वास्थ्य सुरक्षाविरुद्ध जाने, भ्रष्टाचार गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बनाउने केपी वली सरकारविरुद्ध देशव्यापी सङ्घर्ष घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरी कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिएकाले सङ्घर्ष गर्नुपरेको प्रस्ट पार्दै त्यसमा साथ दिन सम्बन्धित सम्पूर्ण पक्षलाई आह्वान पनि गरेका छन् ।

महासचिव विप्लवले तीनदिने सङ्घर्षका कार्यक्रम घोषणा गर्दै भनेका छन्, ‘राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ ।’

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन्पछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ । सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।’

महासचिवको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कठिनाइ झेल्दै कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ । हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउनसमेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ । उपरोक्त विषयहरूमा सबै पक्ष र जनसमुदायहरूले आआफ्नो स्थानबाट पहल गर्न र सङ्घर्षमा सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।’

नेकपाले घोषणा गरेको सङ्घर्षको कार्यक्रम यसप्रकार रहेको छ :

२०७७ कात्तिक १५ गते कोणसभा
    २०७७ कात्तिक १७ गते पर्चा वितरण
   २०७७ कात्तिक २० गते विरोधजुलुस

नेकपाले सङ्घर्षका लागि यसप्रकार नारा तय गरेको छ :

                                                   आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर ।
                                                   कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर ।
                                                   भ्रष्टाचारीलाई कारबाही गर । विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :