राष्ट्राहारी भ्रष्टाचारीको सात्विक बयान

राष्ट्राहारी भ्रष्टाचारीको सात्विक बयान

हो, म राष्ट्रपति
प्रधानमन्त्री, मन्त्री
म सांसद
म सचिव
म हाकिम/व्यापारी
म समाजसेवी, कूटनीतिज्ञ
म यो देशको सेवक/रक्षक
‘विद्यानाश, धरोधर्म’
‘नखाने ठाउँ/चीजको मासु खाने’
भाक्न सक्छु तामातुलसी समाएर
विदेश गएको छोरालाई काखमा राखेर
जस्तासुकै किरियाकास्ट हाल्नसक्छु म
धरोधर्म
मैले गरेको छैन भ्रष्टाचार
खाएको छैन कमिसन ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’
यीः हेर्नुस् साइनबोर्ड
सरकारी निवास, घर, कार्यालय
जताततै लेखाएको छु यो नारा ।

म मात्र होइन, श्रीमती पनि गर्दिनन् भ्रष्टाचार
सालासाली त झन् भ्रष्टाचारको छेउमै पर्दैनन्
कति धर्माती छिन् श्रीमती
मन्दिर पुगेर मुठी–दान दिन्छिन् गरिब–गुरुवालाई
तोलातोला सुन–चाँदी चढाउँछिन् पुजारीलाई
उपहार लिनसम्म लजाउँछिन् बिचरी
थाहा छ उनलाई पनि–
भ्रष्टाचार गर्दा अख्तियार लाग्छ
समाज र ‘जङ्गल’ का कानुन लाग्छन्
बदनामी हुन्छ
जेलनेल हुन्छ
धर्म नासिन्छ
‘नर्क’ जान्छन् कुल–पितृ ।

धरोधर्म
मेरा छोरा–छोरी पनि गर्दैनन् भ्रष्टाचार
छोराले डिस्को र बार जाँदा चढेको गाडी पनि
भ्रष्टाचार गरेर किनेको होइन
छोरीका कुनै पनि घरमा
परेको छैन भ्रष्टाचारको पैसा
मेरा चारैवटा गाडीमा
मिसिएको छैन भ्रष्टाचारको रकम
न बालुवाटारका, न सिंहदरबारका
तीनैवटा घर र घडेरीमा
एक पैसो परेको छैन भ्रष्टाचारको
नढाँटी भनूँ–
सबै उपहार र दाइजो हुन्
सबै मेरो सोझोपनका प्रतिफल हुन् ।

त्यसै दक्षिणतिर बगेको कोसी
उसै खेर गइरहेको पानी
बिनसित्ति बसिरहेको जङ्गल
दूरदराजको खण्डहर लेक
कहिल्यै नचल्मलाउने मानचित्र
यसो मिलाइदिनुपर्यो भन्छन् त म के गरूँ ?
त्यही मिलाइदिएको भन्दै
आफैँ ‘कोसेली’ भन्दै पुर्याउन आउँछन् त म के गरूँ ?
हातैमा दिएका पनि त होइनन्
मैले कसैलाई
घरमै पुर्याउन आऊ भनेको पनि त छैन
खातामा हालिदेऊ भनेर खाताको
नम्बर दिएको पनि त होइन ।

धरोधर्म
गर्दिनँ म भ्रष्टाचार, गर्न पनि दिन्नँ
खान्नँ म घूस, खान पनि दिन्नँ
घरका पाँचवटै पाले–पीएको तलबमा पनि
भ्रष्टाचार गरेको छैन मैले ।
लगाउनेले त आरोप जे पनि लगाउँछन् नि
कोहीसँग मागेर कमिसन खाएको पनि छैन ।

लगाउनेहरू त जे पनि लगाउँछन् नि आरोप
मैले कमिसन खाने वातावरण बनाएँ रे !
देश बेचेँ रे ! नदीनाला र नक्सा बेचेँ रे !
हुने कुरा गर्नु नि !
कहीँ बेचेर बेचिन्छ देश ?
हुँदाहुँदा त म लेन्डुपे रे !
मैले अर्काकोमा गाभेर गाभिन्छ देश ?
मैले सिक्किम र फिजी बनाउन लागेँ रे
अफगानिस्तान, सिरिया र इराक बनाउन लागेँ रे !
मैले बनाएर बन्छ सिक्किम, अफगानिस्तान र इराक !
यसो हस्ताक्षरको एउटा
धर्सो पनि तानिदिनु नहुने मैले !
त्यही धर्सो तानिदिएको गुन लाग्यो भन्दै
घर–घर, कार्यालय–कार्यालय, बैङ्क–बैङ्कसम्म
आफैँ पुर्याउन आउँछन् त म के गरूँ !

मैले सालीको घर यहाँ हो भनेर देखाएको पनि होइन
मलाई दिने पैसा
उसको खातामा हालिदेऊ भनेको पनि होइन
आफैँ जान्ने हुन्छन् र
श्रीमती र सालीको खाता सोध्दै हिँड्छन् त म के गरूँ ?!

धरोधर्म, पाप नलागोस् !
म त जनताको सेवक
म त देशभक्त/राष्ट्रसेवक
कोसी, गण्डक र महाकाली बेचेर खाएको होइन मैले
झन् कालापानी, लिम्पियाधुरा र लिपुलेकमा त
भारुको नोट कस्तो हुन्छ, देखेकै होइन
एमसीसीमा पनि मैले फुट्टीकौडी मागेको होइन
मेरा सन्तान–दरसन्तानसम्म
कसैलाई डलरको खाँचो पर्दैन भन्छन् त म के गरूँ ?
एनसेलले आफैँ खाताखातामा हालिदियो त म के गरूँ
बालुवाटारको झन् कुरै छोडूँ
यती, ओम्नी र कोरोनाको सामानमा पनि
भ्रष्टाचार र कमिसनमा मेरो खासै रुचि होइन
खातामा भारु र डलर जम्मा भएको सन्देश
मोबाइलमै आउँछ त म के गरूँ !
‘तेरो व्यवस्था र कुर्सीको सुनिश्चितता गरिदिन्छु’ भन्दै
म्यासेन्जरमै प्रतिबद्धता आउँछ त म के गरूँ !

मैले पनि पढेको छु यो वाणी–
घूस लिन्या र दिन्या दुवै देशका शत्रु हुन्…
मैले मात्र पढेर कहाँ हुन्छ र यो !
म त यो देशको सच्चा सेवक !
म त यो देशको सच्चा पहरेदार !
र त्यो त मेरो नानीदेखिको बानी !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :