नेपालमा आज २,९४२ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ७३९ पुग्यो

नेपालमा आज २,९४२ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ७३९ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९४२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा १ हजार ६९८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँका १ हजार ४६९, ललितपुरका १३० र भक्तपुरका १९९ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ३२६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यो कुल संक्रमितको ६९ दशमलव सात प्रतिशत हो ।

यसैगरी नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । त्यसमा आई.सी.यु.मा ३०१ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १२ हजार ३३३ जना, होम आइसोलेसनमा २६ हजार ४०८ जना र क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार ५०० बढी संक्रमित हुने जिल्लाहरु मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की र रुपन्देही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :