कोरला–बेनी–सुनौली करिडोरको अर्थ राजनीति

दशकौंदेखि चर्चामा रहेको कालीगण्डकी करिडोरको गोरेटो (ट्रयाक) हालै सम्पन्न भएको छ । सरकारले नेपाली सेनालाई सो योजनाको जिम्मा लगाएको थियो । यो गोरेटोले चीनको तिब्बत, कोरलाबाट बेनी, कास्की, नवलपरासी, रूपन्देही हुँदै भारत–नेपाल सुनौली नाका जोड्नेछ । जसको दूरी ४३५ कि मी छ । कोरला (उपल्लो मुस्ताङ) देखि सुनौलीसम्मको यो सडकले नेपाललाई उत्तर र दक्षिणका दुई छिमेकी देशसँग जोड्ने भएको छ । गतवर्ष भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि यो सडकको काममा तीव्रता दिन सरकारलाई दबाब परेको थियो । गत केपी ओलीको नेतृत्वको सरकारले पनि यो गोरेटो खोल्ने प्रयास जारी राखेको थियो । बाग्लुङ खण्डको २६ कि.मि. गोरेटो सेनाले सम्पन्न गरेपछि प्रारम्भिक गोरेटो खोल्ने कार्य पूरा भएको हो । नेपाली सेनाको निर्माण कार्यदलले मोटर चल्न सक्ने बताएको छ । सुनौलीबाट नवलपरासी, पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी, मुस्ताङ हुँदै यो सडक कोरला पुग्नेछ । गएको विहीबार गोरेटो खोल्ने कार्य निर्धारित समयभन्दा १ साता अघि नै सम्पन्न भएको नेपाली सेनाले बताएको छ । सो गोरेटोमा अहिले अस्थायी पुल (बेलीब्रिज) बनाउने कार्य भइरहेको छ । अस्थायी पुल निर्माण भएपछि वर्षात्मा पनि सवारी चल्न सक्नेछन् । तर सडकको स्तरोन्नती गर्ने विषयमा भने हालसम्म कुनै निर्णय भइसकेको छैन । स्तरोन्नति नभएसम्म भने यो सडक हिउँदे सडकको रूपमा रहनेछ । 

यो सडकले मुक्तिनाथ जाने भारतीय पर्यटकलाई आकर्षित गर्न सक्ने अपेक्षा पनि गरिएको छ । अर्कोतिर तिब्बतका बौद्धमार्गीहरू यही बाटो हुँदै छोटो समयमा लुम्बिनी पुग्न सक्नेछन् । त्रिदेशीय सम्पर्क सूत्र (कनेक्टिभिटी) को काम गर्ने यो सडकको रणनीतिक महत्व छ । यो सडकलाई त्रिदेशीय सडक बनाउने नेपालको चाहना भए पनि भारत त्यसप्रति सकारात्मक देखिन्न । यो सडकलाई भारतले सामरिक र चीनको बजारले अतिक्रमण गर्न सक्ने भयको दृष्टिले हेरेको छ । नेपालले भने भारतसँगको परनिर्भरता घटाउने र व्यापारघाटा कम गर्ने साधनको रूपमा हेरेको छ । बाग्लुङबाट गुल्मी, पाल्पाको राम्दी नदी तरेर बुटवल हुँदै भैरहवा भएर सुनौली नाका हुँदै नुनतेलको कारोबार हुन्थ्यो । त्यही गोरेटोबाट भोटेनुन नेपाल ल्याइन्थ्यो । यो सडकको गोरेटो आसपासमा १० जनसंख्याको आवादी रहेको छ । यो सडकले बसाइ सराइ रोक्ने र मध्य पहाडी क्षेत्रको आर्थिक गतिविधि वृद्धि हुन जानेछ । मध्य पहाडको धार्मिक पर्यटनमा पनि वृद्धि हुने अपेक्षा छ । अहिले बन्द रहेको, बाग्लुङको बलेवा विमानस्थल यो गोरेटे बनेपछि सुचारु हुने स्थानीयको अपेक्षा भए पनि त्यो सम्भावना भने कम छ । मध्य पहाडको कृषि उत्पादन र बजार निर्माणमा यो सडकले सुधार ल्याउनेछ । यो सडकप्रति भारत सकारात्मक नभएसम्म गति लिने कम सम्भावना छ ।

Kaligandaki-karidor

नेपाल र भारतका बीचमा खुला सिमाना भएका कारण नेपालको बाटो भएर चिनियाँ सामान भारतीय बजारमा पुग्ने आशंका भारतको छ । २०४५ सालमा नेपालको बाटो र पञ्चायती व्यवस्थाको चीनप्रति नरम नीतिका कारण भारतीय बजारमा चिनियाँ उत्पादन अवैध रूपमा भित्रिएको भारतको आरोप थियो । एकजना भारतीय अधिकारीले त त्यसबेला १.५ करोड जनसंख्या भएको नेपालले चीनसँग वार्षिक ३ करोड छाता खरिद किन गर्छ ? प्रश्न गरेका थिए । आधा चिनियाँ उत्पादन नेपालको बजार हुँदै भारतीय बजारमा भित्रिएको भारतीय पक्षको आरोप थियो । त्यो स्थिति अहिले पनि कायमै छ ।

माथिल्लो मुस्ताङको नामले चिनिने कोरलासम्म तिब्बती सडक चालु रहेको छ । चीनले कोरला नाकासम्म रेल सेवा विस्तार गर्ने भएको छ । यद्यपि यही नाकाबाट तिब्बती पृथकतावादी खम्पा विद्रोहीहरू तिब्बतका विरुद्धको गतिविधि गर्न नेपाल प्रवेश गरेका थिए । चीनले यो नाकालाई त्यसकारण पनि त्यसकारण पनि संवेदनशील मान्दै आएको छ । यो नाका चीनका तर्फबाट लामो समयदेखि बन्द रहेको छ । कोरला नाकाबाट चीन विरोधी गतिविधि हुन सक्ने चिनियाँ अधिकारीहरूको आशंका छ । सन् २०१३ मा तत्कालीन प्रम बाबुराम भट्टराई र चिनियाँ समकक्षी वेन जियावाओबीच नाका खोल्ने सम्झौता भए पनि सो नाका अझैसम्म खुल्न सकेको छैन । नेपाल सरकारको उत्तरमा १३ ओटा नाका खोल्ने रणनीति अन्तर्गत् यो गोरेटो खुलेको बताइएको छ । यो नाकालाई तत्काल भन्दा रणनीतिक फाइदाको दृष्टिले हेरिएको छ ।

राताे खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :