प्रचण्डको महिमा मण्डनको यथार्थता

प्रचण्ड–देउवा गठबन्धनलाई धेरैले पतनको यात्रामा रुपमा व्याख्या गरेका छन् , मुलतः वामपन्थी कोणबाट । तर लोकराज बरालजस्ता विश्लेषकले भने प्रचण्डको गुणगान र महिमा गाउन थालेका छन् । जनयुद्ध र प्रचण्डविरुद्ध चौतर्फी प्रहार गर्दै आएका घरानाका संचार एकाएक मौन भएका छन् ।
बाबुराम र प्रचण्डलाई पतन गराएपछि विद्रोही स्वरलाई सधैंभरि दमन गर्न सकिन्छ भन्ने पुँजीपतिको निस्कर्ष थियो । यसर्थ, शुरुदेखि नै प्रशंसाको पहाड उठाए । पैसाको थुप्रोले पुरिदिए । भ्रष्टाचार गर्ने वातावरण बनाए । सत्तामा ढिम्कन नदिने तर वर्ग उत्थान गर्न सक्ने अवसर दिए । एकातिर धम्की, अर्कोतिर अवसर प्रदान गर्दै गए । जनयुद्धका विषयमा बहस लामो समयसम्म चलिरहने छ । जनयुद्धले उठाएको विचार, संस्कृति र आदर्शमाथि धोका, गद्दारी र दमन गर्दैमा जनयुद्धको धारा मर्दैन । मार्न पनि सकिन्न भन्ने पुष्टि भएको छ ।

प्रचण्डको आलोचनाको स्वर मत्थर भएको छ र प्रशंसाको गीत गाउन थालिएको छ । प्रचण्डमाथि भ्रष्टाचारी र युद्ध अपराधीको आरोप लगाउने गैरसरकारी संस्था शीत निद्रामा गएका छन् । र भक्तिधारा अगाडि ल्याइएको छ । रोल्पा, रुकुमलगायतका क्षेत्रमा प्रचण्ड र उनको समूहको रक्षार्थ ठूलो रकम पठाउन कांग्रेस मात्र होइन, एमालेसमेत सहमत छ । जहाँ प्रचण्ड गुटको नेतृत्वमा नयाँ शासक–शोषक वर्गको उदय हुँदैछ । नेता विभाजित गरेर मात्र जनतालाई विभाजित गर्न, भ्रमित र विकेन्द्रीकरण गर्न सकिन्छ भन्ने कुरा साम्राज्यवादले बुझेको छ । प्रचण्ड विघटित हुनुभनेको विप्लवले नेतृत्व गरेको क्रान्तिकारी धार हावी हुनु पनि हो ।

प्रचण्डलाई आफ्नो विघटनको आभाष नहुने कुरै भएन । त्यसैले २ वर्षअघि नै किरणलाई ‘तपाँई नआउने भए म एमालेसँग एकता गर्छु’ भनेका थिए । किरण प्रचण्डमा सती जान तयार नभएपछि एमालेसँग पार्टी एकता गर्न चाहे । आन्तरिक र सार्वजनिक रुपमा समेत जनमत र दबावको अस्त्र प्रयोग भयो । तर, दुर्भाग्य नै भन्नुपर्छ प्रचण्डलाई भित्र्र्याउन केपी ओली तयार भएनन् । त्यसपछि नै प्रचण्ड कांग्रेसको पोल्टामा पुगेका हुन् । नेपाली राजनीतिमा घोर अवसरवादी र विकृतिका बाहक देउवा–दाहाले गठबन्धन संयोग मात्र होइन ।

साम्राज्यवादको बढ्दो संकट, नेपालसहित चीनको विश्व राजनीतिमा बढ्दो पकड, नेपालकोे पहिलो दाता राष्ट्र चीन हुनु र नेपाली समाजमा बढ्दो सामाजिक चेतनाका कारण सदन र सडक दुवैतिर देशभक्त धारा बलियो छ । वस्तुगत धरातलको सम्बोधन गर्न दल बाध्य छन् । त्यस्तै स्थितिमा भारतमै भाजपा र कांग्रेसआईबीच नेपाल नीति विषयमा ठूलो अन्तर देखिन्छ । त्यसको प्रभाव नेपालमा पनि हुने नै भयो । भारतको दबाव र जनताको भावनाका बीचमा दलहरु घडीको पेण्डुलमझैं नाचिरहेका छन् । दिल्ली नेपालका दल बेइजिङको प्रभावमा जालान् भनेर तर्सिरहेको बेला नेपाली जनता भने दल र संसद काजी लेण्डुप दोर्जेको भूमिकामा जाला भनेर त्रसित छन् । यसैबीच दिल्लीका कठपुतलीहरुले आन्दोलन घोषणा गरे । भारतले नाकाबन्दी लगायो ।

SHER WITH PRACHANDA

२०४५ सालमा जसरी नेपाली जनता सरकार विरुद्ध उत्रिएलान् भन्ने भारतको चाहाना थियो । तर त्यो यसपटक पुरा हुन सकेन । त्यसपछि दिल्लीले प्रचण्डलाई घोषित रुपमै आफ्नो बनाएर सरकारको नेतृत्वमा लग्यो । कांग्रेस र पञ्चले देश भारतलाई बेच्ने गर्थे । प्रचण्डले भारत र चीन दुवैलाई बेचेर दायाँबायाँबाट कमिसन खान थालेका छन् । बुढी गण्डकीमा भारतको २ अर्बभन्दा बढी भ्रष्टाचारले उत्तर र दक्षिण दुवैतिरबाट कमिसन खाने नयाँ दलालको रुपमा प्रचण्ड प्रकट भएका छन् ।

भारतीय दबाव विरुद्ध थोरै अडान राख्नासाथ वाम गठबन्धन विभाजित गर्न मात्र होइन, एमालेलाई फुटाउन ‘र’ले माधव कुमार नेपाललाई पम्पिङ गर्न थालेको चर्चा सर्वत्र सुनिन थालेको छ । माधव नेपाल सार्वजनिक रुपमा गनगन गर्न थालेका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा राज्य ढुकुटी र राजकीय शक्तिको चरम दुरुपयोग गर्दा पनि नेपाली कांग्रेस दोस्रो र प्रचण्ड समूह लज्जास्पद हारको अवस्थामा पुगेका छन् । भारतीय नाकाबन्दीको विपक्षमा उभिनु र चीनसँग सम्बन्ध सुधार गर्ने प्रयत्नकै कारण एमाले सापेक्षिक लोकप्रिय मत प्राप्त गरेको आँकलन गरिएको छ । चुनावलगत्तै प्रचण्ड समूहमा विघटन र विग्रहको गति झनै तीव्र हुन सक्छ ।
स्रोतः जनआस्था

प्रतिक्रिया दिनुहोस्