नेपाली समाजका दुई मिथक

(क) रोटी–बेटी सम्बन्ध

भारतका नेता र कर्मचारीतन्त्रले नेपाल–भारत सम्बन्धको कुरा गर्दा सधैँ संसारका अरू देशभन्दा फरक र विशेष सम्बन्ध रहेको दाबी गर्छन् । भारत र नेपालका जनताका बीचमा रोटी–बेटी अर्थात् रक्तसम्बन्ध रहेका कारण कसैले चाहेर पनि तोड्न नसक्ने कथन उनीहरूको छ । तर उनीहरूको त्यो भनाइलाई बुझ्न छिमेकमा हेर्दा पर्याप्त हुन्छ । भारत र पाकिस्तानका बीचमा रोटी–बेटी सम्बन्ध थिएन त ? दाजु–भाइ, दिदी–बहिनी, मामा–भान्जीबीचमा रगत चाटाचाट गरिरहेको जगजाहेर छ । बङ्गलादेश र पाकिस्तानका बीचमा रोटी–बेटी सम्बन्ध थियो कि थिएन ? रोटी–बेटी सम्बन्ध मिथक मात्र हुन् । रोटी–बेटी सम्बन्धको मिथकले नेतालाई लुट्न र सताउन कसैले रोक्नै नसक्ने घमण्ड मात्र प्रकट गर्दछ ।

रोटी–बेटी सम्बन्ध भारतसँग मात्र छैन । चीन, तिब्बत र नेपालका बीचमा १५ औँ शताब्दीभन्दा अघिदेखि नै रोटी–बेटी सम्बन्ध थियो । पाटलीपुत्र र कलकत्तामा नेपाली साहूका गोदाम हुँदा ल्हासामा पनि नेपाली साहूका गोदाम थिए । नेपाली साहूले तिब्बती केटीसँग विवाह गर्थे । नेपाली युवक तिब्बतीका ज्वाइँ थिए र तिब्बती केटी काठमाडौँका बुहारी हुन्थे । अहिलेको स्वतन्त्र हङकङमा सन् १८१६ पछि नेपाली अर्थात् गोर्खा पल्टनको बाक्लो उठबस थियो । आज रसुवाको टिम्बुरेपारि सिमानामा अवस्थित तिब्बतको लामाटार बजारमा टेक्नासाथ नेपाली लोकगीत सुन्न सकिन्छ जहाँ नेपाली चेली बुहारी भएर बसेका छन् । रसुवागढीदेखि २२ किमि उत्तरमा रहेको केरुङ उपत्यका (जसलाई चिनियाँहरू चेरुङ भन्छन्) मा नेपालीका गोदाम र होटेल छन् । २०६७ र २०६६ मा म पुग्दा नेपाली लोकगीत घन्केका थिए । आज त बेइजिङमा नेपालीका होटेल तथा अन्य व्यवसाय छन् । हामीले एक दिन चीन भ्रमणका क्रममा चितवन, लङ्कु धर्मचोकका नेपालीको होटेलमा खाना खाएका थियौँ । आज हजारौँ विद्यार्थी चीनका विश्वविद्यालयमा अध्ययन गर्छन् । सयौँ व्यापारी कुन्मिन र गोन्जाओमा छन् । हवाईअड्डाका पाइलापाइलामा नेपाली भेटिन्छन् । दक्षिणतिर हिन्दु संस्कृतिसँग र उत्तरमा बौद्ध संस्कृतिसँग नेपाल आबद्ध छ । चीनसँग पनि रोटी–बेटी सम्बन्ध नयाँ होइन ।

अठारौँ शताब्दीको चस्माले हेरेर आजको भूमण्डलीकृत विश्वको रोटी–बेटी सम्बन्धलाई बुझ्न सकिन्न । त्यसरी हेर्नुमा कि अनाडीपनले काम गरेको हुन्छ कि त कपटीपनले । आज नेपालमा भारतबाट भन्दा अरेबियन देशहरूबाट विप्रेषण धेरै आउँछ । लामो समय बसेपछि मान्छे र माटोका बीचमा माया बस्छ भन्छन् । प्रवासी नेपाली अरबमा भाषा र संस्कृति बुझ्न र रमाउन थालेका छन् । सयौँ वर्षदेखि भारत जाँदा पनि टिनको छानो हाल्न नसकेका नेपालीहरू अरेबियन देशमा जान थालेपछि पक्की घरभित्र घामपानी छल्ने अवस्थामा पुगेका छन् । त्यसैले अरेबियन देश र नेपालका बीचमा रोटी–बेटी सम्बन्ध बढ्दै गएको छ ।

आज नेपालका कुनाकुनामा युरोप र अमेरिकी नागरिक छरिएर रहेका छन् । विश्वका अधिकांश देशमा नेपाली पुगेका छन् । युरोपमा बुहारी भएका छन् । रोजगारी गरेका छन् । नेपाली राजकुमारसँग विवाह गरेकी बारबरा एडम्सलाई धेरै नेपालीले चिनेका छन् । नेपालको कुलीन वर्गले भारतीयसँग मात्र नाता गाँसेका छैनन् ।

रोटी–बेटीकोे कथा खोज्दै जाने हो भने हामीले प्राचीन आर्य समाजसम्म पुग्नुपर्छ । आज रुसमा पर्ने युराल पर्वतबाट काम र जमिन खोज्दै टर्की आसपास आएर आर्यहरू पश्चिम युरोप र अरब हुँदै गङ्गाको मैदानमा आएका छौँ । सयौँ, अझ अजारौँ वर्षपछि हामी आर्य जाति क्रिस्चियन, मुस्लिम, हिन्दु र बौद्ध भयौँ । वेदकालसम्म हामी हिन्दु थिएनौँ । प्रकृतिपूजक थियौँ । तसर्थ भारत र नेपालका केही छट्टुहरूको रोटी–बेटीको मिथक जनता ठग्ने सङ्कीर्ण र पछौटे चालबाजी मात्र हो ।

(ख) हामी बहादुर गोर्खाली

संसारका कुनै पनि जाति र समुदाय आफैँमा बहादुर वा कायर हुँदैनन् । विचारधारा, नेतृत्व र विरासतले त्यसको निरूपण गर्छन् । नेपालको शासक वर्गले नेपाली विश्वमा नै बहादुर जाति भएको प्रचार गर्दै आएका छन् । गोर्खा भर्ती भएका बेलायत र भारतले नेपाली शासकको त्यसप्रकारको मिथकलाई फुक्र्याइरहेका छन् । त्यसलाई आलोचनात्मक दृष्टिले कसरी बुझ्ने भन्ने प्रश्न उठिरहेको छ ।

बेलायतकी महारानीले ‘इस्ट इन्डिया कम्पनी’ नामको व्यापारिक समूहलाई भारतमा व्यापारव्यवसाय गर्ने इजाजत दिएकी थिइन् । त्यही व्यापारिक समूहले कालान्तरमा कलकत्ता कब्जा ग¥यो र बिस्तारै पूरै भारत कब्जा ग¥यो । उनीहरू व्यापार र धर्मप्रचारको आडमा सत्ता दख्खल गर्न आएका थिए । तत्कालीन नेपालले त्यसलाई समयमै बुझ्यो । पृथ्वीनारायण शाहको नेतृत्वमा भौगोलिक एकीकरण कमजोर थियो । राजेन्द्रलक्ष्मी, बहादुर शाह, भीमसेन थापा, कालु पाण्डेजस्ता देशभक्तहरूले सबलीकरण एकीकरण अभियान अघि बढाए । त्यसकारण अङ्ग्रेज र नेपालका बीचमा द्वन्द्व बढ्दै गयो र सन् १८१४–१८१६ दुई वर्ष युद्ध भयो । अमरसिंह थापा, भक्ति थापाजस्ता जनरलको नेतृत्वमा बहादुरीपूर्ण युद्ध भयो तर त्यो युद्ध नेपालले हा¥यो । भीमसेन थापाको नेतृत्वमा फ्रेन्च हतियार र प्रविधि ल्याइयो । नेपाली सेनाको सङ्ख्या बढाइयो तर अङ्ग्रेजको षड्यन्त्रमा भीमसेन थापा मारिए । माथवरसिंह थापा सत्तारूढ भए । माथवरसिंह थापा पनि अङ्ग्रेजको दलाल बन्न तयार भएनन् । त्यसपछि थापाका भान्जा जङ्गबहादुर कुँवरले उनको पनि हत्या गरे । गगन थापाको पनि रहस्यमय मृत्यु भयो । त्यसपछि कोतपर्वमा सम्पूर्ण देशभक्त भारदारको हत्या गरियो । जङ्गबहादुरसहित अङ्ग्रेजका दलालको सत्ता उदायो जसलाई कार्ल माक्र्सले ‘अङ्ग्रेजको कुकुर’ भन्नुभएको थियो ।

राणा शासनको उदयपछि नेपालको राजनीति, कर्मचारी र सुरक्षा निकायमा व्यापक पुनर्गठन गरियो । अङ्ग्रेजले युद्धबन्दीलाई रिहा गर्नुपर्नेमा उनीहरूकै सैन्य सङ्गठन गठन गर्यो । गोर्खा भर्तीको प्रस्ताव भीमसेन थापा, माथवरसिंह थापा, गगन थापा कसैले मानेनन् । गोरखपुर, देहरादुनजस्ता सीमानजिक भर्तीकेन्द्र खोलेर नेपालमा दलाल (जसलाई गल्लावाल भनिन्थ्यो) नियुक्त गरेर गोर्खा पल्टन चलाइयो । गोर्खा भर्तीलाई राणाहरूले कानुनी मान्यता दिए । अङ्ग्रेज भारतबाट पलायन भएपछि गोर्खा पल्टन ब्रिटिस र भारत गोर्खामा विभाजित गरियो । राणा शासनपछि नेपाली सेनामा दलाल प्रवृत्तिको वर्चस्व रह्यो । निरङ्कुश राणा शासनका पक्षमा, सन् १९५० को देशद्रोही सन्धिमा नेपाली सेनाले समर्थन गर्यो । नेपालको उत्तरी सीमामा भारतीय सैन्य चौकी राख्दा र त्यसअघि मातृकाप्रसाद कोइरालाको कालमा भारतीय सैनिक मिसनको आगमन हुँदा शाहीसेनाले मौन सहमति जनायो ।

नेपाली सेनाले २०१६ सालमा निर्वाचित प्रधानमन्त्रीलाई गिरफ्तार गर्यो । २०४६ सालमा प्रजातन्त्रका पक्षमा उठेका निहत्था जनता मा¥यो । २०५२ पछि सामूहिक हत्या गर्यो । बन्दी महिलालाई तालिम प्राप्त कुकुर लगाएर यौनउत्पीडन ग¥यो । यस्तो फासिस्ट शाही जङ्गली शाहीसेनाले आफ्नो कमान्डर राजा वीरेन्द्रको पनि रक्षा गर्न सकेन र जिम्मेवारी पनि अझसम्म लिएको छैन । संसारभरि नेपालीलाई भाडाको सिपाही जन्माउने देश भनेर चिन्छन् । नेपाल प्रहरीको त के कुरा गर्नु, सर्वेन्द्र खनालजस्ता हत्यारा र अपहरणकारी नेतृत्वमा पुग्छन् । नेपाल प्रहरी अपराध र भ्रष्टाचार उत्पादन गर्ने कारखाना भएको छ । नेपाली सेनालाई ठेकेदार कम्पनी बनाइँदैछ । सिमानाको रक्षा उनीहरूको प्राथमिकतामा छैन । भारतको एसएसबीसमक्ष रुझेको बिरालो बन्छन् । यिनीहरूको बहादुरी ‘अपने–अपने गल्ली मेँ तो कुत्ता भी शेर होते है’ भनेझैँ छ । यी आ–आफ्ना गल्लीमा मात्रै भुक्छन् । देश पराधीन छ । हामी अर्काका लागि लड्छौँ । देशभक्त जनता मार्छौं, पिट्छौँ र देशद्रोही दलालको चाकरी गर्छौं । गोर्खालीले अर्जेन्टिनाको फोकल्यान्ड टापु बेलायतलाई दिलायो । कास्मिरी जनता मारिरहेको छ । ब्रुनाईका राजाको ढोका रुँगेर बस्छ । आफ्नो देशमा विदेशी सेनाले परेड खेल्दा एक शब्द बोल्न सक्दैनन् । त्यसैले सन् १८१६ पछि नेपालीको वीरगाथा समाप्त भएको छ । आत्मरति गर्नबाट सकैले रोक्न सक्दैन । तर संसारले हामीलाई भाडाका सिपाही भनेर चिन्छ । हामीलाई वीर भनेर फुक्र्याउँदै शोषण गर्ने देशी–विदेशी षड्यन्त्र यथावत् छ । यो झूटो मिथक उल्ट्याउनुपर्छ । नालापानीमा झैँ आफ्ना निम्ति लड्ने चेतना भर्नुपर्छ । अनि मात्र हामी वास्तविक बहादुर भनिन लायक हुनेछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :