नेकपा गुल्मीद्वारा एमसीसीविरुद्ध पोस्टरिङ


काठमाडौँ : केपी वली सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाका विभिन्न स्थानमा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रमअनुसार जिल्लाका विभिन्न गाउँपालिकामा व्यापक पोस्टरिङ गरिएको हो ।

जिल्लाका सम्बन्धित नगर, गाउँपालिका, जनवर्गीय सङ्गठन र पार्टी समितिहरू परिचालन गरी हजारौँ पोस्टर टाँस्ने काम सम्पन्न भएको नेकपा गुल्मीले जनाएको छ । गुल्मीको ठूलो लुुम्पेक, अस्लेवा, तम्घास, रुरु, खैरनी, हँसरा, ग्वादी, बलेटक्सार, मदाने, धुर्कोटलगायत स्थानमा पोस्टरिङ गरिएको जानकारी नेकपा गुल्मीले दिएको छ ।

अमेरिका र नेपाल सरकारबीच सम्झौता भएको एमसीसी संसद्बाट पास गर्ने षड्यन्त्र गरिएको बेला उक्त सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताको हितमा नभएको भन्दै यसको विरोधमा प्रचारप्रसार गर्न पोस्टरिङ गरिएको नेकपा गुल्मीले जनाएको छ ।

यसअघि नेकपा गुल्मीले एमसीसीविरुद्ध केपी वली र शेरबहादुर देउवाको पुतलादहन, मशाल जुलुस, पर्चा वितरण र कोणसभाहरू सम्पन्न गरिसकेको छ ।

एमसीसीविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ भने सत्तारूढ दलभित्रसमेत यसको तीव्र विरोध हुँदै आएको छ । नेपाली काङ्ग्रेसले संसद्मा यो सम्झौताका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने अन्य विभिन्न राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :