एमसीसी सम्झौता र कोरोना भ्रष्टाचारविरोधी आन्दोलन विभिन्न जिल्लामा फैलियो


काठमाडौँ : एमसीसी सम्झौता पारित गर्नु नहुने, कोरोना सङ्क्रमणविरुद्ध खर्च गरिएको भनिएको दस अर्बको हिसाब सार्वजनिक गर्नुपर्नेलगायत विषयमा स्वतस्फूर्त रूपमा अघि बढेको आन्दोलन प्रधानमन्त्री निवास बालुवाटारबाट विभिन्न जिल्लामा फैलिएको छ ।

१० अर्बको हिसाब खै ? कोरोना नियन्त्रणमा भएको ढिलासुस्ती, कर सङ्कलन, आरडीटी परीक्षण रोकेर पीसीआरको दायरा बढाउनुपर्नेलगायत माग राखेर सुरु भएको सरकारविरोधी आन्दोलन शुक्रबार झन् विस्तार भएको हो ।

शुक्रबार बालुवाटार, वसन्तपुर, बुटवल, हेटौँडा, पाल्पा, भक्तपुर, काभ्रेसहितका जिल्ला र स्थानहरूमा स्वतस्फूर्त रूपमा प्रदर्शनहरू भएका छन् ।

बिहीबार बालुवाटारसहित विभिन्न सहरमा हजारौँको सङ्ख्यामा प्रदर्शनकारीहरूले सरकारको विरोध गर्दै आन्दोलन गरेका थिए । यसअघिको प्रदर्शनमा बालुवाटारमा प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेपछि सरकारको व्यापक आलोचना भएको थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल कैलालीले जिल्लाको लम्किचुहा नगरपालिका गुलरा बजारमा नेपालको राष्ट्रियताविरोधी अभिव्यक्ति दिने सांसद सरिता गिरीको पुतलादहन गर्नुका साथै विरोध प्रदर्शन गरेको समाचार प्राप्त भएको छ । युवा सङगठनका अध्यक्ष विष्णु देवकोटाको नेतृत्वमा उक्त कर्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :