केन्द्रीय सदस्य आजादलाई बिनासर्त रिहा गर्न अखिल क्रान्तिकारीको माग


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका केन्द्रीय सदस्य उषाकिरण आजादलाई शुक्रबार कविता वाचन कार्यक्रमबाट प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै रुकुम पश्चिम जिल्लाको सोतीमा जातीय भेदभाव तथा छुवाछूतजस्तो अत्यन्तै घिनलाग्दो सामाजिक विकृतिमा आधारित भएर घटाइएको पाशविक तथा आपराधिक घटनाको विरोधमा आयोजित कविता वाचन कार्यक्रमबाट आजादलाई गिरफ्तार गरिएकोमा घोर निन्दा एवम् भत्र्सना गर्दै तत्काल रिहा नगरिए सङ्घर्षमार्फत यसको जबाफ दिइने चेतावनी पनि दिएका छन् ।

ढकालले विज्ञप्तिमा भनेका छन्, ‘यही मिति २०७७ जेठ २९ गते हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य क. उषाकिरण ‘आजाद’ लाई वर्तमान केपी/पीके सरकारको निर्देशनमा पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यही जेठ १० गते रुकुम पश्चिम जिल्लाको सोतीमा जातीय भेदभाव तथा छुवाछूतजस्तो अत्यन्तै घिनलाग्दो सामाजिक विकृतिमा आधारित भएर घटाइएको उक्त पाशविक तथा आपराधिक घटनाको विरोधमा आयोजित कविता वाचन कार्यक्रमबाट क. उषाकिरण ‘आजाद’ लाई गिरफ्तार गरिएको घटनाको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा उनले भनेका छन्, ‘उक्त घटनालाई सत्ता र शक्तिको आडमा राजनीतीकरण गर्ने कार्यको विरोध र घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै आयोजित उक्त कार्यक्रममा धरपकड गर्नु सरकारको कायरतापूर्ण र लज्जास्पद हर्कत हो । अतः आफ्नो विचारमार्फत सामाजिक विकृति, विसङ्गतिका विरुद्ध र न्यायका लागि आवाज ओकल्ने क. उषाकिरण ‘आजाद’ लाई तत्काल रिहा गर्न हामी चेतावनीका साथ जोडदार माग गर्दछौँ । विचार र आस्थासँग डराएर, गैरन्यायिक रूपमा गरिने यसप्रकारका सरकारी गुन्डागर्दीको चौतर्फी विरोध र प्रतिरोध गर्न हामी सम्पूर्ण युवा विद्यार्थीहरूमा विशेष अपिल गर्दछौँ ।’

ढकालले विज्ञप्तिमा चेतावनी दिँदै भनेका छन्, ‘उषाकिरण ‘आजाद’ लाई तत्काल रिहा नगरिए सङ्घर्षमार्फत यसको जबाफ दिइने कुरासमेत अवगत गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :