क्रान्तिकारी आशावाद बोकेको सङ्कलन / एकीकृत जनक्रान्तिका आधारहरू

पूर्वाभास
‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप विकास गर्नु आवश्यक हुन्छ ।’
भ्ला. इ. लेनिन
‘विश्वको राजनीतिक वस्तुस्थिति नयाँ ठाउँमा पुगेको अवस्थाका साथै नेपालको राजनीतिक स्थिति पनि नयाँ बनेको सन्दर्भमा लेनिनदेखि माओसम्मले संश्लेषण गरेका विचार, नीति र कार्यदिशाहरूले मात्र क्रान्ति सम्पन्न गर्न सक्ने देखिँदैन । तीगलत भएर होइन, राजनीतिक चालहरू वस्तुभन्दा पछि पर्न गएकाले अपूर्ण बनेका छन् भन्ने हो । लेनिनको तरिकाले विद्रोह सम्भव देखिँदैन । माओको तरिकाले जनयुद्ध, त्यो पनिसम्भव रहेन । सजिलै एउटा भनिदिऊँ, त्यो पनि भएन । यसको बहस हुँदै जाँदा हामीले उपाय निकाल्दै संश्लेषण ग¥यौँ– एकीकृत जनक्रान्ति । एकीकृत जनक्रान्तिको मुख्य आधारमा हामीले दुई पक्षलाई विशेष रूपले पक्डेका छौँ ः पहिलो माक्र्स, लेनिन र माओले विकास र संश्लेषण गरेका सार्वभौमिक महत्वका विचारहरूको आत्मसाथ र प्रयोग गर्ने, दोस्रो पछिल्लो समयमा विकास भएका राजनीतिक, आर्थिक, प्राविधिक विशेषताहरू र ती विशेषताहरूद्वारा सिर्जना भएका नयाँ अन्तरविरोधहरूलाई समाधान गर्ने विचारको निर्माण गर्ने ।’
विप्लव, एकीकृत जनक्रान्ति परिमार्जित तेस्रो संस्करण २०७३, पृ. ७५ ।

सिद्धान्तहरू आवश्यकताअनुसार निर्माण र विकास भइरहन्छन् भन्ने कमरेड लेनिनको महान् वाणीले र एकीकृत जनक्रान्तिको कार्यदिशा के हो र यो किन आवश्यक भयो भन्ने सन्दर्भमा नेकपाका महासचिव कमरेड विप्लवको यो लामो उद्धरणले एकीकृत जनक्रान्तिको आवश्यकताका बारेमा सरल भाषामा संश्लेषण गरेका छन् । नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि आरम्भ गरेर प्रचण्डले एक्लै अन्त्य भएको घोषणा गरिदिएको महान् जनयुद्ध कार्यदिशाको विकासको अभावका कारणभन्दा पनि मूल नेतृत्वको आत्मसमर्पण, पलायन, दलालीकरण र भ्रष्टीकरणका कारण असफल बन्न पुगेको थियो । जनयुद्धबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र वैज्ञानिक समाजवाद स्थापना गरेर साम्यवादमा फड्को मार्ने चिनियाँ अनुभव र शैलीको दीर्घकालीन जनयुद्धको कार्यदिशाको मुख्य लक्ष्य थियो । तर जनयुद्धको मूल नेतृत्वले राजनीतिक रूपमा मात्र नभएर दार्शनिक, वैचारिक र साङ्गठनिक रूपमा समेत वर्गदुस्मनसँग आत्मसमर्पण गरिदिएपछि नयाँ जनवादी क्रान्ति सम्पन्न भएर देशभक्त, क्रान्तिकारी र सर्वहारा किसान–मजदुरको नेतृत्वमा सत्ताको बागडोर आउनुको साटो सत्ता दलाल पुँजीपति वर्गले हत्याउन पुग्यो । प्रचण्ड–बाबुराम समूह दलाल पुँजीपति वर्गको स्वार्थ पूर्ति गर्दै जनयुद्धबाट आएको तप्का र श्रमजीवी जनताको सपनाको हत्या गर्नतिर लाग्यो । परिणामस्वरूप बाबुराम कम्युनिस्ट आन्दोलनबाटै पलायन भएर आफ्नो पूर्ववर्ग प्रतिक्रियावादसँग लहसिन पुगे । प्रचण्ड माओवाद परित्याग गर्दै हिजो प्रतिक्रियावादी घोषणा गरिएको एमालेमा विलय भएर जनयुद्धको इतिहास नै नामेट पार्दै सामाजिक दलाल पुँजीपतिवर्गमा पतीत भए । यो विशिष्ट परिस्थितिमा कमरेड लेनिनले भन्नुभएझैँ इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकालेका कारण सिद्धान्तको थप विकास गर्नु आवश्यक भयो र नेकपाद्वारा एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा जन्मियो । यसले माक्र्सवाद–लेनिनवाद–माओवादका दार्शनिक, वैचारिक, राजनीतिक र साङ्गठनिक मूल्य र मान्यतामा समेत विकास गर्ने लक्ष्य र उद्देश्य राख्यो । नेकपाका युवा नेता चिरन पुन ‘मिलन’ ले हालसालै प्रकाशनमा ल्याउनुभएको ‘एकीकृत जनक्रान्तिका आधारहरू’ पुस्तकले यही विकसित कार्यदिशाको पक्षपोषण गरेको छ । यो युगको आवश्यकताका रूपमा प्रस्तुत भएको छ । एउटै विषयमा केन्द्रित नभए पनि मूल उद्देश्यमा पुस्तक सार्थक र सफल छ ।

आरम्भिकी

पुस्तकको केन्द्रबिन्दु : कार्यदिशाको पक्षपोषण

चिरन पुनको पुस्तकको मूल उद्देश्य नेकपाले विकास गरेको कार्यदिशाको पक्षपोषण गर्नु हो । यद्यपि पुस्तकमा अन्य सन्दर्भहरू पनि छन् र तिनले वर्गसङ्घर्षका लागि आवश्यक अन्य राजनीतिक, सांस्कृतिक, सामाजिक पक्षमा छलफल र बहस चलाउँछन् । मुख्य रूपमा पुस्तकको सार र उद्देश्य भनेको नेपाल र विश्वका वर्गसङ्घर्षहरूको निचोडका रूपमा नेपालमा विकसित नयाँ कार्यदिशा ः एकीकृत जनक्रान्तिको कार्यदिशाका बारेमा आफ्नो क्षमता र पहुँच प्रयोग गर्दै व्याख्या, विश्लेषण र संश्लेषणसहित कार्यदिशाको वकालत गर्नु र एकीकृत जनक्रान्तिबाटै नेपालको वर्गसङ्घर्ष लक्ष्य प्राप्त गर्न सक्षम हुन्छ भनेर आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु हो ।

कमरेड विप्लवले नेपाली क्रान्तिमा नयाँ कार्यदिशाको आवश्यकताका बारेमा चर्चा गर्दै साम्राज्यवादको उत्तरसाम्राज्यवादमा भएको विकास (पतन !), नेपाली विशेषताहरूमा गाउँ र सहरबीचको दूरीमा आएको कमी, राजनीतिक सत्तामा दलाल पुँजीवादको उपस्थिति, वर्गसम्बन्धमा मध्यम वर्गको शक्तिशाली उपस्थिति, भौगोलिक रूपले सानो र भूपरिवेष्ठित मुलुक, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडन र देशभक्त शक्तिहरूको बढ्दो उपस्थितिलाई अघि सार्नुभएको छ ।
विप्लव, ऐ. पृ.२९–३४ ।

चिरन ‘एकीकृत जनक्रान्ति र गाउँ र सहरको सम्बन्ध’ शीर्षक लेखमा महासचिव विप्लवको उपरोक्त संश्लेषणलाई पुट दिँदै लेख्नुहुन्छ, ‘हामी हाम्रो देशको राजनीतिक परिवेशको सापेक्षतामा कार्यदिशा निर्माण गर्न स्वतन्त्र हुन्छौँ र देशको वस्तुगत परिस्थितिको अनुकूलतामा निर्माण गरिएको कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशाका आधारमा नेपाली जनवादी क्रान्ति सम्पन्न गर्न अनिवार्य ठान्छौँ । त्यसैले एकीकृत जनक्रान्तिको कार्यदिशा नेपालको जनवादी क्रान्तिलाई सम्पन्न गर्ने ऐतिहासिक कार्यदिशा हो । एकीकृत जनक्रान्तिको कार्यदिशा जनयुद्ध र जनविद्रोहको निरन्तरता र उत्कर्षसहित विकास गर्न लागिएको कार्यदिशाको नेपाली आयाम हो । आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिवेशले सिर्जना गरेको वस्तुनिष्ठ र वैज्ञानिक समृद्धि हो । विश्वका क्रान्तिकारीहरूले सञ्चालन गरेका सफल तथा असफल क्रान्तिका अनुभवहरूको दार्शनिक तथा सिर्जनात्मक उपज हो । नेपाली समाज र आजको राजनीतिक विशेषताहरूलाई आत्मसात गर्ने सिर्जनात्मक विकास र प्रयोग हो । हाम्रो देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतमा भएको मौलिक परिवर्तन र रूपान्तरणहरूको द्वन्द्वात्मक संश्लेषण हो । क्रान्तिको सार्वभौम चरित्र र नेपालको मौलिक धरातलमा सार र रूप पक्षको समष्टिगत विश्लेषण हो ।’
पृ. ८०

यो पुस्तकको सार पनि यही हो । अरू तपसिल र सहायक विषय हुन् ।
नेपालमा विकसित मौलिक कार्यदिशा एकीकृत जनक्रान्तिका सन्दर्भमा कमरेड विप्लवले नेतृत्व गर्नुभएको तत्कालीन नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलनद्वारा पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘क्रान्तिका लागि कार्यदिशा हरेक देशमा मौलिक हुन्छ र हुनुपर्दछ । यसको मतलब विश्वक्रान्तिसँग सम्बन्ध नै नराख्ने मौलिक नभई वैज्ञानिक समाजवादलाई भिन्नभिन्न देशमा लागू गर्दा प्रयोग हुने मौलिकता भन्न खोजिएको हो । पेरिस कम्युनभन्दा फरक रुसमा, रुसमा भन्दा फरक चीनमा, चीनमा भन्दा फरक क्युबामा प्रयोग मौलिकताको विषय हो ।’
राजनीतिक प्रतिवेदन, पृ. ३३ ।


कार्यदिशाको व्याख्या विभिन्न कोणबाट भइरहेको छ । चिरनले पनि यस पुस्तकको माध्यमबाट यसैलाई निरन्तरता दिनुभएको हो । कार्यदिशालाई बल दिँदै नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला कञ्चन भन्नुहुन्छ :

‘अहिले देशमा दुई सत्ता, दुई विचार, दुई शक्तिहरू विद्यमान छन्, एउटा औपचारिक सत्ता दक्षिणपन्थी अवसरवाद र संशोधनवादको गठजोडमा बनेको दलाल पुँजीवादीहरूको हो । नयाँ जन्मँदै गरेको सत्ता एकीकृत जनक्रान्तिको कार्यदिशामा हुर्कंदै गरेको माओवादी कम्युनिस्ट क्रान्तिकारीको हो । संसद्वादीहरूले प्रयोग गरेको विचार पुरानो, प्रतिक्रियावादी, भँडुवा, आदर्शवादी र यथास्थितिवादी हो । नयाँ विचार सबै वर्गविभाजनको अन्त्य गर्ने, वर्गविभाजन गर्ने उत्पादन सम्बन्धको अन्त्य गर्ने, त्यो उत्पादन सम्बन्धमा आधारित सामाजिक सम्बन्धको अन्त्य गर्ने र मानिसका चेतनाहरूलाई निरन्तर क्रान्तीकृत गर्ने कम्युनिस्ट वैज्ञानिक विचार हो । संसद्वाद पुरानो सडेगलेको मरणशील र मृत्युशय्यामा छट्पटाउँदो शक्ति हो । त्यसप्रकारको मरणशील पुँजीवाद, उत्तरसाम्राज्यवादको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने नयाँ शक्ति नेपाल कम्युनिस्ट पार्टी र यसले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा हो ।’

धर्मेन्द्र बास्तोला कञ्चन, ‘माक्र्सवाद कि सुधारवाद’ २०७५, लेखकीय ।

चिरन लेख्नुहुन्छ, ‘वैज्ञानिक समाजवादका लागि उत्पीडित जनसमुदाय एकताबद्ध हुन अनिवार्य छ । कम्युनिस्ट आन्दोलनमा देखापरेका सबैखाले प्रतिक्रियावाद, अवसरवाद, संशोधनवादलाई परास्त गर्न जरुरी छ । सबैखाले राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, लुटपाट र बिचौलियाको जगजगीलाई तोड्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको बाटो सही हुन्छ भन्ने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको मान्यता रहेको छ ।’

‘किन आवश्यक छ वैज्ञानिक समाजवाद’, पृ ४७ ।
यसरी चिरनको यो पुस्तक नेपालमा क्रान्ति सम्पन्न गर्न विकसित नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयनका क्रममा कार्यदिशालाई सही साबित गर्न गरिएको सार्थक प्रयास हो ।

विषयविस्तार

हो, स्थापित जनकलाकारसमेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका युवा नेता चिरन ‘एकीकृत जनक्रान्तिका आधारहरू’ शीर्षक वैचारिक पुस्तकसहित देखापर्नुभएको छ । यो उहाँको पहिलो पुस्तकाकार कृति हो । नेपाली भाषा, साहित्य, कला, संस्कृतिको सेवाका साथै नवीनतम नेपाली कम्युनिस्ट आन्दोलनलाई जीवनपथ बनाउनुभएका कमरेड चिरन यसका लागि बधाईका पात्र हुनुहुन्छ । यसअघि चिरनलाई रक्तिम सांस्कृतिक अभियानका नेता, गीतकार, गायक, सङ्गीतकार, अभिनेता र कम्युनिस्ट आन्दोलनका एक जुझारु कार्यकर्ता वा नेताका रूपमा मात्र बढी चिनेका र फुटकर लेखरचनाका सर्जकका रूपमा मात्र पढेका पाठक, दर्शक वा जनसमुदायले अब एकमुष्ठ रूपमा एउटा उदीयमान तथा वैचारिक पुस्तक लेखकका रूपमा देख्न पाएका छन् । यो पुस्तकमा उहाँलाई आफूले विभिन्न कम्युनिस्ट पार्टी र आन्दोलनहरूमा विभिन्न किसिमका जिम्मेवारी समाल्दा आवश्यकताअनुसार लेखिएका लेखहरूका प्रस्तुत विषयमा पर्गेल्न सकिन्छ । हिजो मसालकालीन आन्दोलनमा पनि एक जुझारु योद्धाका रूपमा स्थापित हुनुभएका र त्यसबाट अलग्गिएर नेकपा एकीकृत बनाएपछि र अझ माओवादी आन्दोलनमा लामबद्ध भएर एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयन गरिरहेको नेकपाका केन्द्रीय सदस्य एवम् नारायणी ब्युरो इन्चार्जसमेत रहेको समयमा एकातिर कलाको एउटा विशिष्ट विधा गीत–सँगीत र जनवादी गीति एल्बमहरू र अर्कातिर वैचारिक आन्दोलन र साहित्यको अर्को विशिष्ट विधा पुस्तक सँगसँगैजसो लिएर आउनुभएका स्रष्टा चिरनलाई सिर्जनात्मक आयामका दृष्टिले बहुआयामिक बन्दै गएको व्यक्तित्वका रूपमा लिन सकिन्छ ।

पुस्तक प्रकाशनको आरम्भमै उहाँलाई ‘महान् लेखक’ भनेर भोलि प्रशंसा गर्नका लागि शब्द नै बाँकी नराख्ने पक्षमा छैन म । उहाँलाई झन्डै पौने तीन दशकदेखि चिन्छु । हामी बारम्बार सहयोद्धाका रूपमा पनि रहँदै आएका छौँ । एउटा व्यक्तित्वका सिर्जनाका बारेमा परख गर्दा उसका व्यक्तित्वका विविध पाटाहरू र जीवनव्यवहारलाई पनि भुल्न मिल्दैन । स्रष्टा र सिर्जना पृथक विषय होइनन् । सिर्जना र कर्ममा एकरूपता नहुनु दुनियाँका आँखामा छारो हाल्नुशिवाय केही होइन । त्यसैले चिरनका पनि गीत, सङ्गीत, नृत्य–अभिनय र राजनीतिक व्यक्तित्वलाई पृथक्पृथक् होइन, सँगसँगै राखेर मूल्याङ्कन गर्नुपर्छ भन्ने पक्षमा छु म । यद्यपि यो औपचारिकता र कृतघ्नता बढी अनि वर्गप्रेम र सहृदयता कम देखिइरहेको समय हो । सही विचार समातेर सङ्घर्ष÷क्रान्तिको मैदानमा लम्किरहेको योद्धाका लागि दुस्मन कताबाट आइरहेका छन् र मित्र÷सहयोद्धा कता लम्किइरहेका छन् भनेर औँल्याइदिनु एउटा सहयोद्धाको कर्म÷धर्म हो । एकदुई कप चिया वा केही थान द्रव्यका लागि साखुल्ले पल्टिएर ‘तपाईंजस्तो होनहार प्रतिभा त मैले कहीँ देखेकै थिइनँ र अब देख्ने पनि छैन’ भनेर स्रष्टालाई ‘बादसाहको नयाँ पोसाक’ लगाइदिने नियत छैन मेरो । ‘एकीकृत जनक्रान्तिका आधारहरू’ नेपाली वर्गसङ्घर्षले विकास गरेको क्रान्तिको नयाँ कार्यदिशा हो । यतिबेला यसका पक्षमा रौँचिरा अध्ययन, विश्लेषण, पक्षपोषणका साथै कार्यान्वयनका लागि दिलोज्यान लगाएर हिँड्नु जरुरी बनिरहेको समयमा कार्यदिशाकै नाभीस्थललाई शीर्षस्थानमा राखेर पुस्तक आउनु आफैँमा इतिहासप्रति, वर्तमानप्रति, सर्वहारा, श्रमिक किसान–मजदुर वर्गप्रति र वैज्ञानिक समाजवाद र साम्यवादप्रति इमानदार प्रयास हो । यसका लागि पनि स्रष्टा चिरन बधाई र धन्यवादका पात्र हुनुहुन्छ ।

‘एकीकृत जनक्रान्तिका आधारहरू’ बृहत् उद्देश्य र प्रसस्त सम्भावनाहरू बोकेको वैचारिक पुस्तक हो । महान् जनयुद्धको समयमा योद्धाहरूले लड्दै, सिक्दै, लेख्दै र फेरि लड्दै बलिदान हुँदै कीर्तिमान कायम गरेको समय थियो । चिरनले जनयुद्ध लड्ने अवसर प्राप्त गर्नुभएन । तर पनि पुस्तकका कयौँ स्थानमा जनयुद्धको सार्थकताको चर्चा गर्नुभएको छ । सच्चा, इमानदार मालेमावादीहरू र क्रान्तिकारीहरूका लागि आज इतिहासबाट पाठ सिक्दै र नयाँ कार्यदिशाको व्याख्या–विश्लेषण–संश्लेषण गर्दै त्यसलाई जीवनव्यवहार बनाएर लड्दै जित्नुपर्ने अवस्था छ । क्रान्तिका भगौडा दलाल र गद्दारहरूले क्रान्ति र मुक्तिप्रति फिँजाएको भ्रम चिर्दै र लड्दै गर्नुपर्ने अवस्था छ । निराशाका बादलहरू चिरेर क्रान्तिकारी आशावाद जगाउँदै क्रान्तिमा झोकिनुपर्ने र झोक्नुपर्ने अवस्था छ । कमरेड चिरनको यो पुस्तकले सानै अंशमा भए पनि त्यो दायित्व कुशलतापूर्वक निर्वाह गर्ने मैले देखेको छु । यो सत्य एकीकृत जनक्रान्तिको कार्यदिशालाई कम आँक्ने, फोकोवाद देख्ने अल्पदृष्टिवाला, क्रान्तिमार्ग र क्रान्तिकर्मलाई आतङ्क देख्ने जनक्रान्तिका दलाल र गद्दार तथा तिनका भित्रियाहरूले बुझ्नसक्ने कुरा होइन । तिनले कतै पुस्तकका बारेमा चर्चा गरेछन् भने दुनियाँ ढाँट्ने मेलोबाहेक केही हुनेछैन । यद्यपि अब यो पुस्तक जनताको सम्पत्ति भइसकेको छ । हाम्रो वर्गको सम्पत्ति भइसकेको छ । यसमाथि सबैले आआफ्नो दृष्टिकोण प्रस्तुत गर्नसक्छन् ।

परिचर्चाको पूर्वाधार र समीक्षा विधाका समस्या

सिर्जनाका विधाहरू र विशेषतः साहित्य, कला र संस्कृतिका विषयमा समालोचना गर्न बस्ता प्रायः व्यक्तिहरू दुई अतिका कारण चिप्लिन्छन् ः एउटा एकभक्ति वा अझ विशेषगरी भनौँ पात्र र कृतिको अतिशय प्रभावका कारण एकतर्फी गुनगान तथा प्रशंसा वा भाटगिरी (गुणकेन्द्री समीक्षा) र अर्को आग्रह र अल्पबुद्धिका कारण एकोहोरो विरोध, सत्तोसराप र गालीगलौज (नकारात्मक समीक्षा) । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी पद्धति अथवा प्रगतिवादी पद्धतिबाट अघि बढ्दा यी दुवै अतिबाट मुक्त हुँदै कृति र स्रष्टाका बारेमा सही निष्कर्षमा पुग्न सकिन्छ । एउटा कृति वा सिर्जनाको परिचय, टिप्पणी, समीक्षा र समालोचनाको उद्देश्य कृति र पात्रमा रहेको यथार्थको उजागर गर्नु त हुँदै हो अझ तिनमा लुकेका क्षमता, विशेषता र गुणहरूप्रति औँल्याउँदै सम्भावनाहरूको खोजी गर्नु पनि हो । यसो गर्दा न पात्रलाई, न त कृतिलाई नै मर्का पर्छ, यसले त सत्यको उजागर गर्छ र वर्गपक्षधरतामा सघाउ नै पु¥याउँछ । त्यसैले चिरनको पहिलो पुस्तकाकार कृति ‘एकीकृत जनक्रान्तिका आधारहरू’ उहाँको पुस्तक लेखनको पहिलो इमानदार प्रयास हो र यो उद्देश्यमा एक हदसम्म सफल छ भन्न कुनै कन्जुस्याइँ गरिरहनु पर्छजस्तो लाग्दैन यद्यपि यसमा विषय चयन, केन्द्रीकरण र सम्पादनका सीमाहरू पनि छन् ।

नेपाली समालोचनामा केही समस्याहरू छन् । मैले साठीको दशकको आरम्भदेखि नै उठाउँदै आएको विषय हो यो । समालोचना पनि सिर्जनाकै एउटा शक्तिशाली विधाका रूपमा स्थापित भइसकेको छ । यसैले सिर्जना र विचार–राजनीतिजस्तै यसको पनि शक्तिशाली वर्गपक्षधरता छ । आफूलाई प्रगतिशील–प्रगतिवादी क्षेत्रका अब्बल दर्जाका समीक्षक वा समालोचक भन्न रुचाउने केही पात्रहरू बुर्जुवाहरूको मिसनझैँ पुराकथाका शिवजीले सतीदेवीको लास बोकेर हिँडेजस्तो केही पात्र र कृतिहरूलाई बोकेर हिँडिरहेका छन् र तिनका बारेमा गुनगान गाएर जीवन र विधाबाट निवृत्त हुन लागिसकेका छन् । उदीयमान पुस्ताका समीक्षकहरूमा त्यति गुणवत्ता, धैर्य र संवेदनशीलता देखिँदैन । उनीहरू कतिपय आग्रह, मूढाग्रह र दुराग्रहका कारण आफू, आफूवरिपरिको एउटा भजनमण्डली वा झुण्डबाहेक अरूमा सिर्जनाक्षमता नै देख्दैनन् । कतिपय पात्रहरू त परम्परावादीहरूको भनाइजस्तै ‘लाग–छाड’ को व्यथा लागेको बिरामीजस्तो मन परे औँसीमा समीक्षा गरिदिई पनि हाल्ने, स्रष्टाको सूचीमा राखिदिई पनि हाल्ने र मन नपरे पूर्णिमा पनि नलाग्दै स्रष्टाको सूचीबाट हटाइदिने, घटुवा गरिदिने र अर्काे मनपरेको पात्रको नाम थपिदिने रोगले ग्रसित छन् । चियानास्ता गराएर, केही पारितोषिकसमेत दिएर योजनामा लेखिने वा लेखाइने समीक्षा वा समालोचनापद्धति र तिनको स्तरीयताको त कुरै नगरौँ । कतिपयको जीवन नै त्यसैगरी धानिँदै आएको छ । उनीहरु भ्यागुताले पेट फुलाएझैँ आफैँ फुलेर गमक्क पर्दै बसेका छन् । अरुले देखोस् कि नदेखोस्, आफैँले आफैँलाई उच्चकोटिमा राख्दै र चर्चा गराउँदै दिनचर्या धानिरहेका छन् ।

चनाचटपटेवाला स्वनामधन्य ती पात्र कला र विचारविहीनताका कारण अरू विधामा असफल भइसकेपछि वा थाकिसकेपछि ‘समीक्षक’ बन्न आतुर छन्, मनैदेखि आग्रह, कुण्ठा र प्रतिशोधबाट जल्दै मनका उगाल र दिग्मिग मात्र उकेल्छन् । अतिशय आग्रहका कारण तिनीहरू ‘आफूले खाएको नुन र भातको सोझो’ सम्म गर्ने हैसियत राख्दैनन् । तिनले समीक्षामा कलम चलाउन रहर गर्नु भनेको शब्दहरूको दुरुपयोग र कागज वा कम्प्युटर स्क्रिनको नास र खियावट मात्र हो भन्दा पनि हुन्छ । समीक्षित पुस्तकको लेखक, सम्पादक र प्रकाशकसम्म पनि थाहा नपाउने वा थाहा पाएर पनि नाम लिँदा मरेतुल्य हुने अनि कुनै साहित्यिक–सांस्कृतिक कार्यक्रम–अभियानमा सहभागी भएर ‘तृप्त’ भइसकेपछि कार्यक्रम आयोजक संस्थाको नाम र उद्देश्य प्रस्तुत गर्नुपर्दा मातृपीडाभन्दा बढी हुने त्यस्ता पात्रहरूलाई समीक्षक बनेर कलम चलाउने अधिकार कहाँ हुन्छ र ! एकाध बुख्याँचाहरू तयार पार्नु, आफ्नो नाममा भजन लेख्न लगाउनु र वर्कीफर्की आफैँलाई बधाई दिन लगाउनु तिनको जन्मजात विशेषता हो । क्षमता भएको पात्र र कृतिले आफ्नाबारेमा वा आफ्ना कृतिका बारेमा लेखाउन नक्कली खेताला समीक्षक खोज्नै पर्दैन । अझ भनूँ, कृत्रिम पात्रहरू खडा गरी निरन्तर आफ्नाबारेमा भजन गाइराख्न लगाउनु त अझै निकृष्टताको पनि पराकाष्ठा हो । सोह्रश्राद्धको ‘टपरे बाहुन’ ले सोह्रै घरमा हसुरेर पनि नपुगेर बाटामा झुलिरहेको धानको बालासमेत सोहोरेर फाँको मारेको कथा त्यसप्रकारका खलपात्रहरूमा दुरुस्तै मिल्छ । त्यसैले समीक्षा लहड वा नक्कल होइन, यो हृदयैदेखि आउनुपर्ने र इमानदारीसाथ प्रस्तुत हुनुपर्ने विधा हो ।

अन्य विधामा स्रष्टाहरू थाकेपछि समीक्षक वा समालोचक बन्ने परिपाटी छ हाम्रोमा । यो खराब उदाहरण वा नजिर हो । सिर्जनात्मक क्षमता नै नष्ट भइसकेपछि उसले झन् के समालोचना गर्न सक्छ ? विभिन्न विधाको एउटा इमानदार र परिश्रमी स्रष्टा मात्र इमानदार समीक्षक बनिरहने हैसियत राख्छ । सिर्जनाग्रन्थी सुकिसकेपछि गरिएको समीक्षा निरस र खोटो हुन्छ । समालोचना सिर्जनात्मक क्षमता मरिसकेपछि गर्ने कर्म होइन । यो बेत बसिसकेको र मासु सुकिसकेपछिको भैँसीको मःमः को परिकार बनाएजस्तो होइन । यो अर्काका महान् वाणीहरूको सार चोरचार र टिपटाप गरेर कामचलाउ र पानाभराउ गर्ने, सिर्जनक्षमता र कला नभएका पात्रहरूले तयार गर्ने बुख्याँचा निर्मिति पनि होइन । त्यसैले समीक्षा वा समालोचना क्षेत्रमा झाँगिएको विकृति अन्त्य गर्न पनि यसका बारेमा राम्रै स्कुलिङ सञ्चालन गर्नु आवश्यक छ । चिरनको पुस्तक प्रकाशक सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घले यसका बारेमा गम्भीर भएर पहल लिनेछ भन्ने विश्वास गर्नु यतिबेला अनुचित नहोला ।

विषय उत्कर्ष

‘एकीकृत जनक्रान्तिका आधारहरू’ स्रष्टा चिरनले डेढ दशक अवधिभित्र विभिन्न पार्टीका विभिन्न जिम्मेवारी र आवश्यकतामा निर्माण गरेर प्रकाशित गरिसकेका राजनीतिक, वैचारिक, सांस्कृतिक र साङ्गठनिक विषयका लेखहरूको सङ्ग्रह हो । पुस्तकको प्रकाशकीयमै भनिसकिएको छ– एकीकृत जनक्रान्तिका आधारहरू’ मूलतः नेपालमा विभिन्न कालखण्डमा सञ्चालित आन्दोलन, सङ्घर्ष, विद्रोह, जनयुद्ध र क्रान्तिको चर्चा–परिचर्चा गरिएको राजनीतिको पुस्तक हो । यो नेकपा मसाल, नेकपा एकीकृत हुँदै नेकपा माओवादी र नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तहका जिम्मेवारी समाल्दा चिरनले आवश्यकताअनुसार लेख्नुभएका लेखहरूको सङ्ग्रह हो । त्यसैले यसमा एउटै स्वाद छैन । विविध विषयहरूको सङ्ग्रह भएकाले यो विविध स्वादहरूको मिश्रणजस्तो छ ।

यस पुस्तकभित्रका लेखहरूलाई विभिन्न कोण, विभिन्न विषय, विभिन्न समयक्रम, विभिन्न आयाम, विभिन्न विधामा सूचीकृत गरेर परिचर्चा गर्न सकिन्छ । एकै वाक्यमा भन्ने हो भने नेपाली वर्गसङ्घर्ष पूरा गर्ने र वैज्ञानिक समाजवाद हुँदै साम्यवादी समाज निर्माण गर्ने ध्येय राखेर नेपाली समाजमा विगतमा सञ्चालित आन्दोलन, सङ्घर्ष, विद्रोह, जनयुद्धको व्याख्या, विश्लेषण र संश्लेषण गर्दै राष्ट्रियता, जनतन्त्र, जनजीविका, समसामयिक राजनीति, संस्कृति र पछिल्लो कालखण्डमा नेपालमा नेकपाले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयनलाई केन्द्रमा राखेर सङ्ग्रह गरिएको छरपस्ट लेखहरूको सँगालो हो ‘एकीकृत जनक्रान्तिका आधारहरू’ । पुस्तकको शीषक नामकरण गर्ने वा ‘न्वारान’ गर्ने समयमै यसबारे पर्याप्त छलफल भइसकेको छ ।

यस पुस्तकका अघिल्ला १४ वटा लेख नेपाल कम्युनिस्ट पार्टी माओवादी हुँदै नेपाल कम्युनिस्ट पार्टी निर्माण भएसम्मको अवधिमा लेखिएर प्रकाशित भएका हुन् । यिनै लेखहरू यो पुस्तकको शीर्षक सार्थक पार्न सक्षम छन् । विभिन्न शीर्षकमा आबद्ध यी लेखहरूले एकीकृत जनक्रान्ति सही दार्शनिक तथा राजनीतिक दृष्टिकोण र कार्यदिशा रहेको संश्लेषण गर्ने प्रयास गरेका छन् ।

यस पुस्तकले नेपाली भूमिबाट विकसित मालेमावादको नयाँ कार्यदिशाबाट नै कम्युनिस्ट आन्दोलनले सही दिशा समात्ने र वैज्ञानिक समाजवाद हुँदै साम्यवाद प्राप्त हुने निष्कर्ष निकालेका छन् । नेकपाका महासचिव कमरेड विप्लवले क्रान्तिकारी ध्रुवीकरणको नेतृत्व गर्दै त्यही स्पिरिटको नेतृत्वको समूह निर्माण गर्नुका साथै नयाँ कार्यदिशा पारित गरेर कार्यान्वयनमा रहेको अवस्थामा पार्टीका शीर्षदेखि सबै तहका नेतृत्वले कार्यदिशाका बारेमा व्याख्या, विश्लेषण, संश्लेषण गर्न आरम्भ गरेका छन् । पार्टी स्थायी समितिदेखि पोलिट्ब्युरो हुँदै केन्द्रीय सदस्यदेखि ब्युरो सदस्यसम्म यो विकास र विस्तार भइरहेको छ । चिरनको यो पुस्तक त्यसै शृङ्खलाको एक अध्याय हो ।

यो चिरनको पुस्तकमाथिको सामान्य परिचय र समीक्षा मात्र हो, पूर्ण समालोचना होइन । योजनाविहीनता, शृङ्खलाविहीनता, कमजोर सम्पादन, भाषा र व्याकरणमा बेमेल, अस्तव्यस्तता र असमानतालगायत सीमा हुँदाहुँदै पनि यो पुस्तक नेपाली कम्युनिस्ट आन्दोलनमा एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयन गर्ने दृढ इच्छाशक्तिसहित प्रस्तुत एउटा राम्रो खुराक हो । यही गति पकड्दै गएमा स्रष्टा चिरनको राजनीतिक, दार्शनिक, सांस्कृतिक दृष्टिकोण अझै खारिनेछ र एउटा शक्तिशाली स्रष्टाका रूपमा स्थापित बन्नेमा कुनै द्विविधा छैन ।

२०७५ असार २३ गते शनिबार दिउँसो १ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :