हाम्रो समयको गौरवगाथा–गोरखा जेलब्रेक

कथनी र करनीमा अन्तर रहेको लेखक भगौडा सिपाहीजस्तै हो जसले कासन गरिरहेको हुन्छ ।

निकोलाई अस्त्रोभस्की

यतिबेला मेरो हातमा क.उमा भुजेल ‘शिलु’ द्वारा लिखित कृति ‘गोरखा जेलब्रेक’ को दोस्रो संस्करण परेको छ । समकालीन साहित्यिक बजारमा संस्मरण सबैभन्दा बढी लेखिने–पढिने विधाकारूपमा उदाएको छ । सङ्ख्याका दृष्टिले पनि कविता विधापछि संस्मरण नै लेखिएको छ । नियात्रा, आत्मकथा र संस्मरण नेपाली साहित्यका पछिल्ला बान्की हुन् । त्यसमा पनि संस्मरणलाई कान्छो (पछिल्लो) विधा भन्न सकिन्छ । संस्मरण विधालाई मूलप्रवाहमा ल्याउने श्रेय जनयुद्धलाई जान्छ । त्यही पछिल्लो तर लोकप्रिय विधाको बाटो भएर राजनीतिकर्मी तथा लेखक भुजेल अगाडि आउनुभएको छ ।

गोरखा जेलब्रेकको समाचार उसैबेला राष्ट्रिय सीमा नाघेर विश्वभरि चर्चामा रहेको थियो । आदर्शहरू ढलेको, आदर्शहरू पुँजी बजारमा बेचिएको र काँशीसहरकी चम्पाकलीको पूजन भइरहेको समय हो यो । लेखक भुजेलले गोरखा जेलब्रेकको रक्षा गर्नुभएको छ र निशाचरहरूका विरुद्ध जोरी खोज्नुभएको छ । समालोचक ताराकान्त पाण्डेले भन्नुभएझैँ लेखकहरू निरङ्कुशताका विरुद्ध जोरी खोज्छन् । त्यसकारण जेलब्रेक कृतिको दोस्रो संस्करणको प्रकाशन अर्थपूर्ण छ ।

नेपाली साहित्यमा पहिलो संस्मरण कृति जङ्गबहादुर राणाको ‘जङ्गबहादुरको बेलायत यात्रा’ मानिएको छ । ताना शर्माको ‘बेलायततिर बरालिँदा’ नामक कृतिले यो विधालाई उजिल्याउने काम ग¥यो । परिजातका कृतिहरूले अझ लोकप्रिय बनाए । जनयुद्धले यो विधालाई आत्मकथा र नियात्राबाट पृथक, स्वतन्त्र विधाको मान्यता दिन बाध्य गरिरहेको छ । संस्मरण स्थितिशील लेखन हो । यसमा तत्कालीन स्थितिको चर्चा हुन्छ । जसमा अनुभूतिजन्य तत्वको आधिक्य रहन्छ । अनुभूति, स्थिति, वस्तुपरकता र स्मृतिको घुलन यसमा हुन्छ जबकि यात्रा साहित्य गतिशील लेखन हो । यसमा स्मृतितत्वभन्दा तत्कालीनता र वस्तुपरकता प्रधान रहन्छ । त्यसैगरी आत्मकथामा आत्मपरकता प्रधान भएर आउँछ । त्यसरी नियात्रामा गतितत्व प्रधान हुन्छ, आत्मकथामा निजत्व प्रधान हुन्छ र संस्मरणमा स्मृतितत्व प्रधान हुन्छ । जनयुद्धको भावभूमिमा लेखिएका संस्मरणहरू शैलीगत रूपमा निजत्व प्रधान भएपनि तिनले विशाल समाजको चित्र उतारेका छन् । ती कल्पनातत्व प्रधान नभएर ‘अनुभवश्रयी र यथार्थपरक’ छन् । त्यसकारण आज प्राध्यापकीय समालोचनाले यो विधाप्रति न्याय गर्न सक्दैन । ‘यी लेखन आख्यानात्मक लेखनजस्तो कम्पनाश्रयी नभएर नितान्त रूपले अनुभवश्रयी र यथार्थपरक नवगद्यलेखन हुन्’ निर्मोही व्यास भन्छन् । तर त्यस सम्बन्धमा वरिष्ठ लेखक हरिहर खनालको धारणा फरक छ । ‘संस्मरण र नियात्रा अलगअलग विधाका सिर्जना भएपनि म तिनीहरूलाई जुम्ल्याहा दाजुभाइजस्तै ठान्दछु, देख्दछु’, उनी भन्छन् । क.शिलुको कृति गोरखा जेलब्रेकलाई यी छलफलकै बीचमा राखेर हेर्नुपर्ने हुन्छ ।

जनयुद्धका सकारात्मक र नकारात्मक सबै पक्षहरू थिए ।उज्यालो र अँध्यारो दुवै जगत्को यथार्थ हो । मूल पक्ष उज्यालो हो । माक्र्सवादी लेखक–कलाकारहरूबाट यथार्थको प्रस्टीकरण अपेक्षित हुन्छ । लेखक भुजेलले लेखनको सुरुदेखि अन्तिमसम्म त्यसप्रकारको सचेतनपक्ष आत्मसात गर्नुभएको छ । भनिन्छ, कुनैपनि कृतिको समालोचना गर्न लेखकको जीवनकथा र वैचारिक–राजनीतिक पक्षको जानकारी हुनुपर्छ । लेखक नबुझी उसको कृति बुझ्न सकिन्न । लेखकलाई नबुझी गर्ने समालोचना न वस्तुपरक हुन्छ, न त न्यायपूर्ण नै हुन्छ । हाम्रो विचारधारात्मक, राजनीतिक र मनोविज्ञान पक्ष समान रहनुको कारणले पनि गोरखा जेलब्रेक कृतिको उच्च मूल्याङ्कन गर्न कुनै गाह्रो छैन ।


कथनी र करनीमा समानता वा एकरूपता सबै कला, साहित्यको अनिवार्य तत्व हो । यो विधा आफैँमा अनुभवश्रयी र यथार्थपरक हुनुपर्ने भएको हुनाले त्यसको अझ बढी महत्व छ । कालिकाटार मोर्चादेखि चर्चामा रहेकी भुजेल आफैँ गोरखा जेलब्रेकको प्रमुख योजनाकार र नेतृत्वकर्ता हुनुको नाताले कृतिको महत्व अझै बढेको छ । शिलुको जीवनकथा आफैँमा एउटा सुन्दर कविता छ । वरिष्ठ सौन्दर्यचिन्तक मेक्सिम गोर्कीको शब्दमा ‘जीवनभन्दा सुन्दर कुनै कविता हुँुदैन ।’

दोस्रो संस्करणको भूमिका लेख्नेक्रममा नेकपाका महासचिव क.विप्लवले ‘उमा भुजेलको कृति गोरखा जेलब्रेकले बाबुराम भट्टराई र प्रचण्डलाई गिज्याइरहेको छ’ भन्नुभएको छ । यसबेला यो कृति प्रकाशित गर्दा त्यसले जनयुद्ध नभोगेको नयाँ पुस्तालाई प्रज्वलित गर्नेछ र निशाचरहरूलाई उदाङ्गो पार्नेछ । चिलीका प्रख्यात कवि बाब्लो नेरुदाको शब्दमा भन्ने हो भने प्रचण्ड–बाबुराममण्डलीका विरुद्ध गोरखा जेलब्रेकको प्रकाशन जनकारबाही हो । यो कृति रुदालीहरूको गीत होइन ।

आफ्नो वर्गप्रवृत्तिप्रति सौन्दर्यानुभूति र सन्तुष्टि पैदा गर्नु, वर्गसङ्घर्ष र स्वतन्त्रताप्रति आस्थावान् गराउनु र सपनाहरू उमार्नु माक्र्सवादी साहित्यको कर्म हो । जसले यथार्थको गीत गाएर मात्र बस्दैन । सामाजिक पूर्णताप्रति इच्छा र उत्साह सिर्जना गर्नुपर्छ । लेखक भुजेलले वैज्ञानिक समाजवादी व्यवस्थाको पैरवी गर्नुभएको छ । आजको युग गोर्की र लु सुनको युग होइन । यो स्पेनका सहिद तथा कवि फेदरियो गार्सिया लोर्का हुँदै कवि इच्छुकको समय हो जसले कलम र बन्दुकको एकसाथ पैरवी गरे । लेखक आफैँ राजनीतिको हिंसात्मक स्वरूपको पहलकर्ता, जनसेनाकी सदस्य र कलमकी सेना हुनुहुन्छ । उहाँ हाम्रो समयको जिउँदो लोर्का पनि हुनुहुन्छ ।

गोरखा जेलब्रेक वैज्ञानिक दृष्टिकोणमा लेखिएको कृति हो । यो कृति कुनै अन्धआस्थावादी प्रवृत्तिहरू भावनात्मक दबाबमा परेर लेखिएको कृति होइन । वैज्ञानिक दृष्टिकोणको सबैभन्दा महत्वपूर्ण गुण के हो भने यो भावना र आस्थावादको चौघेराबाट स्वतन्त्र हुन्छ । त्यसो गर्दा त्यसका सीमाहरू नै हुँदैनन् भन्ने अर्थमा बुझ्नु हुँदैन । यो कृतिको दोस्रो संस्करण प्रकाशनबाट कैयौँ मान्छेहरू तर्सिन सक्छन् । यो हाम्रो समयको विडम्बना हो । ‘अँध्यारोबाट तर्सेका बच्चाहरूलाई हामीले सजिलै माफ गर्न सक्छौँ । प्रकाश देखेर वयस्कहरू तर्सनुचाहिँ जीवनको वास्तविक दुर्भाग्य हो’, दार्शनिक प्लेटोले भनेका थिए । आज अँध्यारोको साम्राज्य छ । त्यसलाई बदल्न सकिन्छ । आज देशमा सामाजिक दलाल पुँजीवाद सत्तारूढ छ । सुन्दरीको रूप धारण गरेका सर्पहरू सत्तारूढ भएका छन् । त्यसकारण पनि यो कृतिको महत्व बढेर गएको छ । एकजना अमेरिकी व्यापारी फराह ग्रेले ‘आफ्नै सपना निर्माण गर अन्यथा तिमीलाई अरु कसैले उसको सपना पूरा गर्नकालागि भाडामा लिनेछ’ भनेका थिए । यो कृतिले हाम्रा नानीहरूलाई सपना उमार्न प्रेरित गर्नेछ ।

२०६१ सालमा यो कृतिको पहिलो संस्करण प्रकाशित गर्दा यसको नाम ‘बन्द पर्खालदेखि खुला आकाशसम्म’ राखिएको थियो । शुभचिन्तक र कलापारखी मित्रहरूको सुझावपछि हाल दोस्रो संस्करणमा ‘गोरखा जेलब्रेक’ राख्दा अझ निखारआएको महसुस हुन्छ । त्यसैगरी भित्री सजावटमा कथावस्तुअनुसार शीर्षक, उपशीर्षक र कयौँ पक्षथपिएका छन् । चर्चित कलाकार राजन काफ्लेको रेखाचित्रले संस्मरणको स्तरीयता र लोकप्रियता नै बढाएको महसुस हुन्छ । दोस्रो संस्करणमा कृतिको आकारसमेत बढेको छ ।

दोस्रो संस्करणमा यसपटक नेकपाका महासचिव विप्लवको विचारोत्तेजक भूमिका थप आकर्षणको विषय छ । त्यसले कृतिको सामयिक महत्वबोध गराएको छ । पुरानो परिवेश र नयाँ सन्दर्भलाई क.विप्लवको भूमिकाले उजिल्याएको मात्र छैन, कृतिको अर्थबोध, महत्वबोधसमेत गराएको छ । ‘वैज्ञानिक विचार सङ्घर्षमा बदलिन्छ । सङ्घर्ष साहित्य–कलामा प्रकट हुन्छ र साहित्यले सामाजिक चेतनामा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ । जेलब्रेक मालेमावादी विचारद्वारा निर्देशित एउटा घटना थियो । गोरखा जेलब्रेक प्रकाशित भएपछि त्यसले नयाँ पुस्तालाई क्रान्तिकारी प्रेरणा दिनसक्छ भन्ने मलाई विश्वास छ’, नेकपाका महासचिव क.विप्लव भन्नुहुन्छ । सानासाना नानीहरूकानिम्ति, उदाउँदै गरेको जूनकानिम्ति चिन्ता गर्नु, उनीहरूलाई पथप्रदर्शन गर्नु साँच्चै महान् कुरा हो । यो कृतिले उज्यालो भविष्यतिरको यात्राका निम्ति प्रेरित गरिहनेछ । कृतिमा दर्जनौँ शीर्षक र उपशीर्षकहरू छन् । त्यसमध्ये ‘रिहाइ. र पुनः गिरफ्तारी’ एउटा हो । यस्ता कैयौँ प्रस्तुति, त्यहाँ प्रयोग भएका बिम्ब, प्रतीक र शैली हेर्दा माझिएको लेखन अनुभूत गर्न सकिन्छ । हेरौँ केही पङ्क्ति ः
‘देख्दै डरलाग्दो मान्छे एकैछिनमा आइपुग्यो र कम्मरको पेस्तोल झिक्दै अर्को हातले मेरो कपालमा समातेर झुन्ड्याउँदै लछारपछार गर्न थाल्यो । ऊ रिसले चुरचुर भएको थियो । नजिक बसेकी महिला प्रहरीथरथर काँपिरहेकी थिई ।मान्छे मारेर अदालतमा मारिन भन्छेस् ? आज तँलाई टुक्राटुक्रा पारेर मारिदिन्छु भन्दै दाह्रा किट्दै कुटपिट गरिरह्यो ।’
(पृष्ठ २८)
यो पङ्क्ति हेर्दै गर्दा मैले आफ्नै गिरफ्तारी, अज्ञात भविष्य, यातना र अपमान सम्झेँ । लाग्थ्यो म आफैँ गिरफ्तारीको कथा सम्झिरहेको छु । महिला हुनुकै कारणले थप यातना र अपमान अकल्पनीय हुन्थ्यो । जेलका अनुभव नगरेकाले जेलजीवनको मर्मबोध, वास्तविकता र गहिराइ अनुभूत गर्न सक्दैनन् भन्ने मेरो दाबी छ । भुजेलको यो कृति एक दशकपछि फेरि हेर्दा मैले आँखामा पट्टी बाँधेर यातना दिएको क्षण सम्झेँ, अनामनगर प्रहरी चौकीको भूमिगत कोठा सम्झेँ, डिल्लीबजारको राणाकालीन तबेला सम्झेँ, भद्रगोल जेल सम्झेँ र भावुकभावुक बन्न पुगेँ ।

आज नेपालगन्ज, सुर्खेत, गोरखा जेलब्रेक हेर्दा सपनासपनाजस्तो लाग्छ । हामी तिनै मान्छे हौँ ? प्रश्न सोध्न मन लाग्छ । दुईवटा विशाल पर्खाल, पत्रे चट्टानजस्तै निगरानी, पहरा, काँडेतारको चौघेरालाई निःशस्त्र ६ जना कलिला युवतीले नाङ्गो हातले तोडेर बाहिर निस्कनु सामान्य विषय थिएन । घटनाहरू एकपछि अर्को नाटकीय प्रकृतिका छन् । कला मूल्यका दृष्टिले ‘चेपाङ्नी आमाको सम्झना’, ‘जेल ः धर्तीका सबै पीडाको कोलाज’, ‘जेलब्रेकको अन्तिम रात’ लगायत रचनाहरू अब्बल देखिन्छन् । वैचारिक रूपले सबै रचना उच्चकोटिका छन् । ज्ञानात्मक दृष्टिले पनि यो कृति मध्यम कोटीमा राख्न सकिन्छ ।

माक्र्सवादी सौन्दर्यचिन्तनका अनुसार कृति वा सपनामा तीनवटा पक्षसबल हुनुपर्छ ः विचारधारात्मक पक्ष, ज्ञानात्मक पक्ष र सौन्दर्यात्मक पक्ष । ‘… दुस्मनभित्रको अन्तरर्विरोधको सही पहिचान र परिचालनले दुस्मनभित्रफुट पैदा गर्न र त्यो स्थिति हाम्रो पक्षमा उपयोग गर्न सकिन्छ । जहाँ एकता हुन्छ त्यहाँ अन्तरविरोध पनि हुन्छ’, वैचारिक वा विचारधारात्मक दृष्टिले यस्ता द्वन्द्ववादी प्रसङ्ग र कार्यशैली आत्मसात गरिएको छ । विश्वका विभिन्न देशमा भएका जेलब्रेकको सूचना र नेपाली परिवेश, जेलको अवस्था र मनोविज्ञानको विस्तृत व्याख्यालाई ज्ञानात्मक पक्षका दृष्टिले हेर्न सकिन्छ । माक्र्सवादी साहित्य यथार्थको प्रतिबिम्बन हो । भौतिक यथार्थ साहित्यमा केन्द्रीकृत, मानवीकृत, परिस्कृत, लालित्यमय र आदर्शमय हुन्छ । त्यसैले गर्दा साहित्य अपेक्षित र पठनीय हुन्छ । कोरा यथार्थको प्रस्तुति साहित्य हुन सक्दैन । साहित्यमा प्रकट हुने जीवन यथार्थ निरस हुँदैन । आनन्दमय, पीडामय र उद्वेलनमय हुन्छ । हेरौँ अर्को पङ्क्ति ः
‘आँखाभरि आँसु लिएर दिदीले गुनासो पोख्नुभयो । यस्तो लाग्दैथियो, यो संसारमा उनलाई सहयोग गर्ने कोही छैन । बोल्दाबोल्दै उहाँको बोली अवरुद्ध भयो । एकछिन सबै मौन रह्यौँ । बङ्गाली लेखिका महाश्वेता देवीले भनेझैँकालकोठरीमा बसेपछि मान्छेका अनुभूतिहरू छुराको धारझैँ तीखो न तीखो भइदिँदा रहेछन् ।’ (पृष्ठ १००)
यी पङ्क्तिहरू सौन्दर्यात्मक मूल्यका दृष्टिले पनि अब्बल छन् । माझिएको लेखकको भन्दा कमजोर अनुभूति हुँदैन । त्यसकारण साहित्यिक मापदण्डको दृष्टिले हेर्दा पनि कृति सबल छ ।

हिरासत, जेल, यातना क्रान्तिको अनिवार्य मोर्चा हो । यो एउटा बलिदान हो । बलिदानका कारण राजबन्दीहरू जनतामा स्थापित हुँदै जान्छन् । उनीहरूको व्यक्तित्व उठ्दै र अग्लिँदै जान्छ । तर साँघुरो परिवेश, जनताबाट अलग्गिएको चेतना, वैचारिक दूरी, सूचनाविभ्रम, वस्तुगत यथार्थबाट पृथक रहनुपर्ने अवस्थाका कारण वैचारिक स्तरमा भने ह्रास आउने खतरा बन्दीहरूमा आइरहन्छ । अर्को शब्दमा भन्दाअग्लिँदै गएको व्यक्तित्व र झर्दै गरेको (झर्न सक्ने) चेतनाका बीचमा अन्तरविरोध आउनसक्छ । तर लेखक शिलु र उहाँको टोलीले त्यसप्रकारको चुनौतीलाई सहजतापूर्वक समाधान ग¥यो ।

जेलमा सुरुङ खन्दै गर्दा पटकपटक त्रासद् घटनाहरू हुन्थे । ‘जेल मर्मतका लागि कामदार आएको सहजै बुझ्यौँ । जेलरले कामदारहरूलाई जेलको पुरानो मर्मत गर्नुपर्ने र नयाँ बनाउने ठाउँहरू हातको इशाराले देखाउँदै थियो । …. हाम्रो मुटुको धड्कन तीव्र गतिमा बढ्न थाल्यो ।’ (पृष्ठ १२२)
काल्पनिक लाग्ने संयोगहरू र तरबारको धारमा विचरण गरेर तयारी गरिएको प्रसङ्गले शरीरमा काँडा उम्रिन्छ । सिकारी आँखाहरू हरदम सिकार खोजिरहेका हुन्थे । ब्वाँसाहरूकाआँखा छलेर निर्दोष प्राणीहरू आत्मरक्षा र स्वतन्त्रताकालागि लडिरहेका थिए । हेरौँ त्यस्तै एउटा पङ्क्ति ः
‘कमला फुत्त बाहिर निस्कनुभयो । सञ्जु क्यारिमबोर्ड पुनः राखेर त्यसको माटो सम्याउँदै हुनुहुन्थ्यो । अकस्मात् मेरो आँखा दुवै भित्ता जोडिएको पर्खालमाथि बढ्दै गरेको आकृतिमा ठोक्कियो । त्यहाँ त असई उभिएर हामीतिरै हेरिरहेको थियो । म झसङ्ग भएँ । कमला आफ्नो धुलोमैलो भएको कपडा बदल्ने तरखरमा हुनुहुन्थ्यो । कमला र सञ्जु हत्तपत्त थुचुक्क बस्नुभयो । आकस्मिक उत्पन्न स्थितिलाई सहजतामा ढाल्न बसेर तरकारीको झारपात उखेल्न थाल्नुभयो ।’ (पृष्ठ १४५)

अझ अगाडि लेखक भन्नुहुन्छ, ‘तीनैजना काम छोडेर टोलाउन थाल्यौँ । उता फेरि सम्झियौँ, बाहिर सबै तयार भइसकेछ, हामी रातभरिमा हिंडिसक्नुपर्छ, नभए भोलि नै सबै उदाङ्गो हुन्छ । कामको थालनीदेखि नै धेरै अप्ठ्याराहरू आए तर त्यसबेला जति म कहिल्यै आत्तिएकी थिइनँ । आज त जसरी पनि निस्कनुपर्छ ।’ (पृष्ठ १६५)
यस्ता आङ सिरिङ्ग हुने खालका प्रसङ्गहरू यत्रतत्र कृतिमा देख्न सकिन्छ । तर उनीहरू आत्तिएका छैनन् । धैर्यर साहसको अथाह आन्तरिक शक्ति र क्षमता प्रदर्शन गरिरहे सगरमाथाको फेदीका बहादुर छोरीहरूले । पलपलमा, क्षणक्षणमा उनीहरू जीवन र मृत्युसँग समानान्तर ढङ्गले लडिरहेका हुन्छन् । उनीहरूले कसैले नसिकाएको, आडभरोसा नभएको, निःशस्त्र अवस्थामा घेरा तोडे । ‘सङ्केतअनुसार सबै एकैचोटि हाम फाल्यौँ । ‘भ्वाक्क’ आवाज निस्किहाल्यो । ‘ड्याम्म’ तुरुन्तै एक नम्बर बुर्जाबाट दुस्मनले फायर ग¥यो । ‘खबरदार ! तिमीहरू घेरामा परिसकेका छौ, टोली फायर गर’ (पृष्ठ १६७) । तर सर्वहारा वर्गका महान् योद्धाहरू, लुई मिचेलकाउत्तराधिकारीहरूले पुँजीवादी सत्ता र पुरुषवादी संस्कृतिलाई चुनौती दिइसकेका थिए । उनीहरू मुक्त आकाशमा उडिरहे …अनन्तसम्म उडिरहे ।

यो कृति हाम्रो समयको कालजयी रचना हो । हामीले जनयुद्ध जितेको भए यो कृतिमै आधारित रहेर चलचित्र बन्थे । विश्वका धेरै भाषामा अनुवाद हुन्थ्यो ।कृतिका सीमा र त्रुटिहरू नभएका होइनन् । नेपालको माक्र्सवादी साहित्यमा ‘गोरखा जेलब्रेक’ एउटा कालजयी कृति हो र यसले श्रमिक वर्ग र क्रान्तिकारी आन्दोलनलाई प्रज्ज्वलित गरिरहनेछ । आउँदा दिनमा नेपालको माक्र्सवादी साहित्यले लेखकबाट थप उपहार पाउनेछ । विचारधारात्मक र वर्गसङ्घर्षमा जसरी नै सिर्जनात्मक क्षेत्रमा पनि लेखकको हस्तक्षेप कायम रहोस्, शुभकामना ।

२०७५ असार १६ गते बिहान शनिबार बिहान ११ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :