एकीकृत जनक्रान्तिको दस्ताबेज बोकेर लेनिनको देशमा

‘साम्राज्यवाद भनेको सर्वहारा समाजवादी क्रान्तिको पूर्वसन्ध्या हो ।’ लेनिन

नोभेम्बर ७, २०१७ मा लेनिनग्राद (हाल सेन्टपिटर्सबर्ग) मा अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित महासम्मेलन र त्यसको भोलिपल्ट आयोजित रात्रीकालीन विशेष सम्मेलनपछि आयोजक समितिका सचिव कमरेड दिमित्री कोस्चेन्को हामीबाट बिदा भइसकेका थिए । तर उनी युरोपकै अर्को कुनै मुलुकमा पुगिसकेका छन् भन्ने कुरा हामीलाई हाम्रो यात्राको अन्तिम दिन मात्र कमरेड भादिमले .सुनाए । रुस यात्राका क्रममा लेनिनग्राद बसाइको अन्तिम दिन तर हाम्रो यात्राको एउटा अत्यन्तै महत्वपूर्ण कार्यक्रम बाँकी नै थियो । नेपालबाट मैले लगेको जम्बो सुटकेसभित्रको ३२ केजी सामान के होला भन्नेमा धेरैलाई अनुमान थिएन, थाहा थियो त उनै दिमित्री र नेपालबाट गएका कमरेड भीम भारतीलाई । किनकि उनीहरू यो गह्रौँ झोलाभित्रको सामान बोक्नेमा अग्रपङ्क्तिमा थिए । मैले केही साथीलाई मात्र सुटुक्क भनेको थिएँ– यो गह्रौँ सामान र भारी हामी अन्तिम दिन संसारभरबाट आएका कम्युनिस्ट पार्टीका नेताहरूका बीच फुकाउनेछौँ र वितरण गर्नेछौँ । तर यसभित्र केके छ भन्ने कुरा भने मलाई मात्र थाहा थियो ।

कमरेड भादिमले अन्तरक्रियाका लागि जब हामीलाई एउटा भव्य हलमा पुर्याए, मैले धमाधम आफ्ना गह्रौँ पोकापुन्तुराहरू फुकाउन सुरु गरेँ । अन्य देशका अतिथिहरू भेला हुनुअघि नै हामीले हलमा रहेका स्ट्यान्ड (अड्याउने) हरूलाई प्रयोग गर्दै पुस्तक लोकार्पण र अन्तरक्रियाका लागि लगिएका ब्यानरहरू फुकाएर टाँसिसकेका थियौँ । तीनचारवटा टेबुलहरु जोडठेर सबै पुस्तक र प्रकाशनहरु फिँजाइसकिएको थियो । एउटा ब्यानर नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको थियो । यो ब्यानरमा नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव कमरेड विप्लवद्वारा रचित ‘एकीकृत जनक्रान्ति’ ग्रन्थको तेस्रो संस्करण लोकार्पण हुँदै थियो र त्यो पनि संसारभरबाट उपस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरूको हातबाट । यात्राभर नखोलिएको झोलामा रहेको गह्रौँ वस्तु त्यही एकीकृत जनक्रान्ति पुस्तक थियो । मेरो सम्पादन र अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहको प्रकाशन रहेको नेकपाका महासचिव कमरेड विप्लवको एकीकृत जनक्रान्ति ग्रन्थको तेस्रो संस्करण झन्डै आठ सय पृष्ठको छ र यसको भौतिक तौल मात्र पनि करिब एक किलोबराबर छ । नेपालबाट विकसित वर्गसंघर्षको नयाँ मोडेल एकीकृत जनक्रान्ति हाम्रा लागि मात्र होइन, क्रान्तिकारी कम्युनिस्ट आन्दोलन विकास हुन नसकेका र क्रान्तिको नयाँ कार्यदिशाको अभावमा रुमल्लिरहेका सबै देशका कम्युनिस्ट पार्टीका नेताहरूका लागि रुचि, चासो र आवश्यकताको विषय थियो । त्यही सोचेर अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा लेनिनग्रादमा आयोजित महासम्मेलनमा उक्त पुस्तक लोकार्पण र परिचर्चा गर्ने उद्देश्य राखिएको थियो ।

मैले लेनिनग्राद–स्टालिनग्रादमा लोकार्पण र परिचर्चाका लागि बोकेका पुस्तक र पत्रिकाहरूको पोको कहिले दिमित्री र कहिले निकोलाईले पालैपालो गरी बोकेर कमरेड्ली माया देखाएका थिए । लोकार्पणका लागि खोलिएको पोकोमा अन्य सामग्री थिए– नेकपाका स्थायी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो प्रमुख कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले गतसाल प्रकाशन गर्नुभएको अक्टोबर क्रान्तिको शतवार्षिकीसम्बन्धी पुस्तिका, नेकपाले अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा प्रकाशित गरेको ब्रोसर (पर्चा), रातो खबर साप्ताहिकको अक्टोबर क्रान्तिको शतवार्षिकी विशेष अङ्क, नागरिक समाजले अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा प्रकाशन गरेको विशेष पर्चा, मैले २१ वर्षदेखि सम्पादन÷प्रकाशन गर्दै आएको नौलो बिहानीको अक्टोबर क्रान्तिको शतवार्षिकी विशेषाङ्क, नौलो बिहानीकै साम्राज्यवादविरुद्ध जनगणतन्त्र कोरिया र थबाङ महाधिवेशन विशेषाङ्क, जनगणतन्त्र कोरियाको दोस्रो यात्रापछि मैले लेखेको शक्तिशाली समाजवाद : जनगणतन्त्र कोरियाको दोस्रो यात्रा (संस्मरणसङ्ग्रह), आमा काव्य, रामप्रसादको सिसमहल (कथासङ्ग्रह), सिर्जनाभूमि (साहित्यिक इतिहास), विद्यार्थीनेता कमरेड पूर्णबहादुर सिंहले लेख्नुभएको र नेपाल–कोरिया लेखक–पत्रकार मञ्चले प्रकाशन गरेको जनगणतन्त्र कोरिया यात्रासम्बन्धी पुस्तक वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया, कवि अतृप्त पाण्डेयको कवितासङ्ग्रह समयसित रुमाल छैन…लगायत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै मेरो लगेज ३२ केजी भएको र २० केजीभन्दा बढी लग्न नपाइने भनेर १२ केजी पुस्तक निकाल्न लगाइएको थियो सुटकेसबाट । एउटा योजना र कार्यक्रमसहित तय गरेर बोकेका पुस्तकको तौल बढी भयो भन्दैमा म किन छाड्थेँ र एयरपोर्टमै । विशेष शुल्क तिरी अर्कै प्याकेट बनाएर मैले त्यसलाई दोस्रो लगेज बनाएको थिएँ । मस्को झर्दासम्म पनि कयौँ सहयात्रीहरू मेरो पुस्तकमोह र दुईवटा गह्रौँ लगेजप्रति व्यङ्ग्य र टिप्पणी गर्दै थिए तर मैले कुनै सामान बाटामा छोडिनँ । त्यसलाई गन्तव्यमा पुर्याउन सहयोग गरिरहेका थिए दिमित्री र निकोलाई । यात्रामा हिमलाल पराजुली, भीम भारती र सुरेश पोखरेलको पनि केही साथ पाएको थिएँ पुस्तक बोक्न । भारतीले त आफ्नो झोला नै च्यातिने गरी पुस्तक राखेर घिसारेका थिए ।

पहिले हामीले धमाधम पुस्तकहरू लोकार्पण गर्न आरम्भ गर्यौँ । कहिल्यै पुस्तक लोकार्पण गर्ने बानी नपरेका विभिन्न देशका कम्युनिस्ट पार्टीका नेताहरूलाई हामीले पुस्तक समाउने र देखाउने तरिका पालैपालो सिकायौँ । रुस, जापान, बेलायत, पोल्यान्ड, हँगेरीदेखि ब्राजिल र पेरूसम्मका माक्र्सवादी लेनिनवादी माओवादी कम्युनिस्ट पार्टीका नेताहरूले नेपाली भूमिमा लेखिएको एकीकृत जनक्रान्तिको कार्यदिशाका दस्ताबेजहरू लेकार्पण गरे । सभामा गम्भीरता प्रदर्शित भयो । कमरेड हिमलाल पराजुली र माणिक लामाले ती पुस्तकहरू केके विषयमा लेखिएका छन् भन्ने परी लगाउँदै गए । सबैभन्दा बढी चर्चा एकीकृत जनक्रान्ति पुस्तकको भयो र त्यसपछि अरूअरू पुस्तक, पत्रिका र पर्चाहरूको । पुस्तकको सार खिच्दै कमरेड हिमलालले एकीकृत जनक्रान्ति नै आजको कम्युनिस्ट आन्दोलनको नयाँ कार्यदिशा भएकाले संसारमै मुर्झाइरहेको कम्युनिस्ट आन्दोलनका लागि यो नयाँ दस्ताबेज हो भन्दा रुसदेखि जनगणतन्त्र कोरिया र दक्षिणकोरियासम्मका कम्युनिस्ट पार्टीका नेताहरू धेरै गम्भीर भएको देख्न पायौँ । कमरेड भादिम नयाँ कुरा फेलापारेझैँ फुलेल देखिन्थे । ब्राजिल र पेरुका कमरेडहरु पुस्तकलाई अंग्रेजी भाषामा रुपान्तरण गरिदिन सुझाइरहेका थिए । संयोगले उक्त कार्यक्रमकै अवसर पारेर रुस र जापानका कम्युनिस्ट पार्टीले जुछे विचारका बारेमा बहस चलाएका थिए । एकीकृत जनक्रान्ति संसारका सबै संघर्ष र क्रान्तिहरुको अध्ययन, विश्लेषण र संश्लेषणपछि जन्मिएको र रुस र चीनमा प्रयोग भएको क्रान्तिको मोडेलको जगमा उभिएको नयाँ मोडेल हो भनेपछि किम इल सुङको जुछे विचारका अनुयायीहरु पनि प्रभावित भएको अनुभूति गर्यौँ ।

त्यसपछि हाम्रो अर्को ब्यानरको काम सुरु भयो । अर्को ब्यानर थियो हामीले महासम्मेलनभर यात्रा र जुलुसहरूमा हजारौँ मानिसहरूका बीच प्रदर्शित गरिसकेको तर सोही दिन आयोजित ‘महान् अक्टोबर क्रान्तिको शतवार्षिकी तथा लेनिनका योगदानहरू’ विषयक अन्तरक्रियाको । सबैभन्दा पहिले हामीले जनगणतन्त्र कोरियामा जस्तै लेनिनग्रादमा पनि नेपाल–रुस लेखक÷पत्रकार मञ्च घोषणा गर्यौँ । मञ्चमा नेपाल र रुसका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता, लेखक र पत्रकारहरू पनि सामेल भए । उनीहरू हाम्रो तयारी देखेर धेरै खुसी पनि भए । त्यसपछि हाम्रो ब्यानरको विषयवस्तुमाथि नेपालका माणिक लामा, प्राडा सुरेन्द्र केसी, प्राडा गोपाल शिवाकोटी चिन्तन, म, हिमलाल पराजुली र अतिथिहरूमध्ये रुस, जापान, ब्राजिल, बेलायत, पेरुलगायत मुलुकका प्रतिनिधिले आआफ्नो मन्तव्य व्यक्त गरे ।

त्यसपछि हामीले संसारभरबाट महान् लेनिन–स्टालिनको भूमिमा उपस्थित भएर लेनिन–स्टालिनका योगदानहरूलाई आत्मसात गर्ने प्रतिबद्धता जनाइरहेका अतिथिहरूलाई लोकार्पित पुस्तक र पत्रिकाका प्रतिहरू उपहारका रूपमा वितरण गर्यौँ । नेपाली जनक्रान्तिको एउटा शक्तिशाली बिम्ब थबाङको चिनो ‘थबाङ’ लेखिएको झोला रुसी क्रान्तिकारीहरूलाई प्रदान गर्दा उनीहरू धेरै नै भावुक र स्तब्ध भए । लगत्तै उनीहरूले विरलै मात्र अतिथिहरूले प्राप्त गर्ने ‘सोभियत बेल्ट’ मलाई प्रदान गरे । सोभियत बेल्ट पहिर्याइदिँदै कमरेड भादिमले भने, ‘कमरेड अशोक, यो दुर्लभ व्यक्तिले मात्र प्राप्त गर्ने सम्मान हो । तपाईंहरू सच्चा लेनिनवादी भएकाले मात्र यो सम्मान प्राप्त गर्नुभएको हो । यो कुरा कहिल्यै नभुल्नुहोला र यो बेल्टलाई जोगाएर राख्नुहोला…।’ मैले उनलाई भनेँ, ‘नेपाली क्रान्तिको एक सामान्य प्रतिनिधिलाई तपाईंहरूले यति ठूलो जिम्मेवारी सुम्पिनुभएको छ, यो हामी कदापि भुल्नेछैनौँ । म यो उपहारका बारेमा मेरो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई जानकारी गराउनेछु ।’

लारिसा रुद्दिना थबाङ लेखिएको नेपाली क्रान्तिको चिनो आफ्नो पार्टीमार्फत रुसका क्रान्तिकारीहरुलाई समर्पित भएको र त्यो आफूले ग्रहण गर्न पाएकोमा धेरै नै पुलकित देखिन्थिन् । उनले सोधिन्, ‘तिमीले कसरी प्राप्त गरेका थियौ यो झोला ?’ मैले भनेँ, ‘हाम्रो गौरवशाली पार्टीको आठाँै महाधिवेशन क्रान्तिको एक अभेद्य किल्ला थबाङमा भएको थियो । हामी महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी थियौँ । हामीले सेल्टर लिएको घरकी क्रान्तिकारी महिला कमरेडले आफ्नो हातले बुनेको यो झोला एकीकृत जनक्रान्ति सम्पन्न गर्ने उद्देश्यले मलाई दिएकी थिइन् ।’ मैले उक्त झोला एक हजार रुपैयाँमा किनेको कुरा उनलाई सुनाइनँ । उपहारमा प्राप्त भएको भनिदिएँ । उनी मक्ख परिन् । जे होस् थबाङ नेपाली क्रान्तिको एउटा बिम्ब हो । महान् अक्टोबर क्रान्तिको शताब्दी महासम्मेलनका अवसरमा एकीकृत जनक्रान्ति पुस्तक थबाङ झोलामा राखेर हस्तान्तरण गर्न पाउँदा गौरवान्वित भएको अनुभूति भयो ।

हामी माक्र्सवादी लेनिनवादी माओवादीहरू उत्साहपूर्वक लेनिन दिवस मनाइरहेका छौँ । लेनिन दिवस मनाउनुको अर्थ र औचित्य लेनिनका योगदानहरू अंगीकार गर्नुमा छ । यद्यपि संशोधनवादी दलाल र गद्दारहरू पनि रगतले लतपतिएको रातो रङ पोतिएको कम्युनिस्ट पार्टीको झन्डाको दुरूपयोग गर्दै लेनिनको तस्बिरलाई जथाभाबी चलाइरहेका छन् तर पनि माक्र्सवादको पहिलो सफल प्रयोगकर्ता र संसारमै वैज्ञानिक समाजवादको लहर ल्याउन सक्षम महान् व्यक्तित्व लेनिनका योगदानहरूको स्मरण गर्नु हामी क्रान्तिकारीहरूको अनिवार्य कर्तव्य, दायित्व र अभिभारा हो ।

२०७५ वैशाख १८ गते मंगलबार बिहान ९ :  १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :