पार्टी एकताका आधारहरु

एकातिर एमाले–माके पार्टी एकताको चर्चा भइरहेको बेला अर्कोतिर नेकपा र क्रान्तिकारी माओवादी एकता र ध्रुवीकरणको चर्चा भइरहेको छ । शीर्षतहमा भएको छलफलपछि कार्यगत एकता तत्काल सुरु गर्ने र ध्रुवीकरणको लागि वैचारिक, राजनीतिक विषयहरूमा बहस चलाउने सहमति भएअनुसार प्रक्रियाहरू चलिरहेका छन् । पार्टी विभाजित भएको २ वर्ष नहुँदै फेरि एकताको बहस किन ? एकताको नाममा चक्कर मारिने हो कि ? अथवा अनन्त बहसतिर जाने हो कि ? गुणात्मक अग्रगामी परिवर्तन हुने हो ? चिन्ता र जिज्ञासाहरू छन् । पार्टी एकताको लागि निश्चित आधारहरू छन् र समस्याहरू पनि रहेका छन् । सो विषयमा यहाँ संक्षिप्तमा चर्चा गरिनेछ :

१. कार्यदिशाको प्रश्न – नेकपाले थबाङ अधिवेशनबाट ‘एकीकृत जनक्रान्ति कार्यदिशा पारित गरेको छ । सो कार्यदिशा लागु नगरि बिचैमा बहसमा जानु न इमानदारिता हुन्छ, न त त्यसप्रकारको सोच नै छ । त्यसकारण कार्यदिशाको प्रश्नमा सहमति नभएसम्म पार्टी एकता गाह्रो विषय छ । क. किरणसहितका कमरेडहरू रुसी चिनी वा जनयुद्धकै तरिकाले पुग्दैन भन्नेमा पुग्नु भएको छ । यसले कार्यदिशाको समृद्धीकरणसहित निकास दिन सक्छ ।

२. नेतृत्वको प्रश्न – कार्यदिशा र नेतृत्व आपसमा परिपूरक विषक हुन् । एउटाको अभावमा अर्कोको अस्तित्व सम्भव छैन । ‘कार्यदिशाअनुसारको नेतृत्व, नेतृत्वअनुसार कार्यदिशा’ हुन्छ । क. किरण र क. गौरवलाई नेता मान्न कसैलाई गाह्रोे छैन तर उमेर स्वाभावका कारण संगठनात्मक रूपमा अपुगहरू होलान् । त्यसो त क. विप्लव कुनै बेला क. किरणको कनिष्ट कार्यकर्ता हुनुहुन्थ्यो तर त्यो विषय आज इतिहास बनेको छ । क. किरणको वैचारिक तथा भावनात्मक अभिभावकत्व र क. विप्लवको संगठनात्मक नेतृत्व आजको क्रान्तिकारी आवश्यकता हो । सातौँ महाधिवेशनमा त्यही गर्न नसक्दा एकातिर हामी क. किरणबाट अलग हुनुपर्ने परिस्थिति बन्यो, अर्कोतिर बादल–गुरुङबाट क. किरणले भयानक धोका व्यहोर्नुप¥यो । यो एउटा समस्या छ ।

३. माओवादको प्रश्न – हामी विश्व कम्युनिस्ट आन्दोलनमा माओका योगदान ठीक छन् कि छैनन् ? माओवाद कि विचारधारा ? भन्ने बहस चलाउने पक्षमा छैनौँ । २०४८ सालमा भएको ‘एकता महाधिवेशन (छैठौँ महाधिवेशन) ले थान्को लगाएको विषय हो । त्यस विषयमा क. किरणसँग हाम्रो समान धारणा छ ।

४. जनयुद्धको मूल्याङ्कन – जनयुद्धको नेतृत्व, घटना–प्रक्रिया र त्यसको सरकार–नकारको विषमा बहस चल्न सक्छ । तर जनयुद्ध ठीक थियो कि थिएन ? जनयुद्ध सुरु गर्नु ठीक थियो कि थिएन ? हामी बहसमा त के सुन्न पनि चाहन्नौँ । क. किरण र हाम्रो बीचमा त्यस विषयमा पनि समान धारणा छ ।

५. भावनात्मक पक्ष – क. किरणलाई हाम्रो विषयमा दुईवटा भ्रमहरू थिए अथवा बादल – गुरुङ मण्डलीले आफ्नो सत्ता–स्वार्थलाई ढाकछोप गर्न त्यो आरोप क. विप्लवलाई थोपरेका थिए । किरण त्यसबाट प्रभावित हुनुहुन्थ्यो । बादल र गुरुङसँगको लामो सहकार्य तथा सहयोगका कारण क. किरणमा उनीहरूप्रति अधिभूतवादी धारणा विकास भएको थियो । क्रान्तिको कुरा गर्दा युवाहरूले कतै दुस्साहस गर्छन् कि ? भुङ्ग्रोमा धकेल्छन् कि ? भन्ने थियो । हामीमा क. किरण र क. गौरवप्रति आधारभूत विषयमा भ्रम थिएन र छैन । विचारधारात्मक एकताले भावनात्मक एकता पैदा गर्छ । दुई पार्टीका बीचमा पछिल्ला घटनाले भावनात्मक एकता पैदा गरेको छ ।

६. वस्तुगत दबाब – सामाजिक दलाल पुँजीवादको विचारधारात्मक चुनौती र भयानक प्रतिक्रान्तिको सामाना गर्न क्रान्तिकारीहरूका बीचमा ध्रुवीकरण आजको वस्तुगत आवश्यकता हो । त्यसलाई बुझ्न नसक्नेहरूलाई समयले कुनातिर धकेल्नेछ । यो वस्तुगत दबाब पार्टी एकताको आधार हो ।

यी यस्ता कारणले आज नेकपा र क्रान्तिकारी माओवादीका बीचमा पार्टी एकता तथा ध्रुवीकरणको बहस चलिरहेको छ । त्यसका लागि समस्याहरू छन् । समस्याहरूका पछाडि समाधान पनि हुन्छन् । स्रोत : रातो खबर साप्ताहिक
२०७४ चैत १ गते बिहान ११ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :