भण्डाफोर तथा जागरण अभियानबारे थप सन्दर्भ

दलाल पुँजीवादको नयाँ कारिन्दाका रूपमा एमाले–माकेरूपी सामाजिक दलाल पुँजीवाद अगाडि आएको छ । जसका विरुद्ध हाम्रो अभियानले गति बढाउँदै छ । माके पार्टीको अवस्थाको बारेमा नेकपाका केन्द्रीय सदस्य क. शितल भन्छन् “चैतमा झर्दै गरेको सालको पातजस्ता पहेंला, छिद्र परेका, भेट्नो गलेका कार्यकर्ता छन् ।” खानतलासी, जङ्गल अपरेशन, गिरफ्तारी, थुनछेक जनयुद्ध बिर्साउने खाले घटनाहरु चुनाव खारेज अभियानमा भएको क. अटलको अनुभूति छ । विप्लवको पार्टी सकियो, केही प्रभाव छैन भन्नेले यत्रो नाटक किन गर्नुप¥यो ? उनी प्रश्न गर्छन् । नागरिकलाई गृहयुद्ध हो कि चुनाव हो ? भ्रमित किन गर्नुप¥यो त ? अटल र चन्द्रबहादुर बुढाको हत्या गर्ने षड्यन्त्रमा जनार्दन लागेको सूचना माकेवृत्तबाटै आउनु सामान्य विषय भएन ।

नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न केन्द्रीय समितिको बैठकपछि विचारधारात्मक कामलाई विशेष जोड दिएको छ । उसले स्कुलिङलाई थप जोडका साथ देशभरि चलाउनेछ । दौडधुप, अध्ययन र लेखन कामलाई थप प्रेरित गर्नेछ । बैठक लगत्तै नेता–कार्यकर्ता प्रगतशील पुस्तक खरिद गर्न प्रेरित भएका छन् । आन्दोलनमा सतीसालझैं उभिन पार्टी संगठनमा बसेर मात्र हुँदैन, विचारधारात्मक रूपले पनि संगठित हुनुपर्छ । माओ त्सेतुङले सांस्कृतिक क्रान्तिको समय (१९६६–१९७७) मा सो विषयमा विशेष जोड दिनुभएको थियो । साम्राज्यवादले नागरिकलाई नियन्त्रित सूचना दिने तर ज्ञान नदिने गरिरहेको छ । त्यसो गरेर उसले आम नागरिकलाई भुत्ते उपभोक्ता बनाउन चाहन्छ । पशुचेतमा कैद गर्न चाहन्छ । कम्युनिस्टहरु पठन–अध्ययन संस्कृति समृद्ध गर्न चाहन्छन् । अध्ययन गर्नु भनेको भौतिक विज्ञान र समाज विज्ञानको गति दिशा र प्रवृत्ति बुझ्नु हो । बुझ्नुको उपादेयता बदल्नुमा रहेको छ ।

रुस्, चीनसहित कार्यदिशाका अनुभवहरुमा आजको नेपाली आयाम थपेर हामीले ‘एकीकृत जनक्रान्ति’ भनेका छौं । यो लेनिन र माओ कै निरन्तरता र उत्कर्षतिर लग्ने हाम्रो उद्देश्य हो । चीनमा सन् १९३७ मा मात्र कार्यदिशालाई दीर्घकालीन जनयुद्धको रूपमा संश्लेषण गरिएको थियो । वर्गसंघर्षको अनुभव र शिक्षासहित हामी कार्यदिशामा आवश्यक आयाम थप्दै जानेछौं ।

आजको सामाजिक चेतना र विद्रोहात्मक परिस्थितिका कारण प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादले एमालेले जसरी लामो समयसम्म भ्रम बेचिरहन सक्दैन । यो नकारात्मकभित्रको सकारात्मक पक्ष हो । एमालेले दुई दशक, ज्योती बसु नामको सामाजिक दलाल पुँजीवादले तीन दशक भ्रम बेचे । माकेले त्यो अवसर पाउने छैन ।
पैसा र बन्दुक राज्यसत्ताका प्रमुख औजार हुन् । अर्थात् अर्थतन्त्र र सेना नै सत्ता हो । चुनावमा निर्णायक प्रभाव दिन पनि संघर्षका अन्य रूपजस्तै सत्ताको प्रश्नमा स्पष्ट नीति हुनुपर्छ । कांग्रेस, एमाले, माकेलगायतले पुरानो विचार र सत्ताको आडमा चुनावमा गए । हामी प्रारम्भिक र भ्रुण अर्थमै सही नयाँ सत्तामा अडिएर खारेज अभियान चलायौं । हामी ब्रम्हज्ञानी भएर एकस्तरको सफलता प्राप्त भएको होइन । सत्ताको प्रश्नलाई ठीक ढंगले बुझ्दा निस्केको परिणाम हो । पुरानो सत्ता उपयोग गर्न पनि नसक्ने, नयाँ सत्ताको निर्माण नगर्ने, सिद्धान्तहीन शक्तिको आफ्नो भन्ने केही हुँदैन । तिनीहरुको विघटन अनिवार्य हुन्छ । ५० वर्षदेखिको कोरिया–अमेरिका द्वन्द्व हाइड्रोजन बमले नियन्त्रण गरिरहेको छ । कोरिया अमेरिकामाथि हाबी बन्दै गएको छ । यो परिस्थितिको शिक्षा बुझ्न सक्नुपर्छ । माओले ‘संगठनको मुख्य रूप फौज, संघर्षको मुख्य रूप युद्ध’ त्यत्तिकै संश्लेषण गर्नुभएको होइन ।

टोपबहादुर रायमाझीले अनौपचारिक छलफलमा ‘पुँजी पढ्दा त यत्तिको किताब म पनि लेख्छु जस्तो लाग्छ तर लेख्न खोज्यो सकिन्न’ भनेका थिए । त्यसैले वैचारिक काम सजिलो काम पक्कै होइन । पार्टी भनेको मूलतः विचार हो । क. किरणले शान्तिप्रक्रिया पछिको पार्टी हेरेर ‘यो पार्टी के पार्टी, बाहुनको दाने गाईजस्तो’ भन्नुभएको थियो । दाने गाईजस्तो विकेन्द्रित पार्टीले युगको दायित्व बहन गर्न सक्दैन ।

भारतीय हस्तक्षेप र घुसपैठका कारण तराईमा थुप्रै चुनौति छन् तर नेपाल स्पेन वा कास्मिर होइन । “सीमा क्षेत्रका जनतामा नै म नेपाली हुँ भन्ने भावना बढ्दै गएको कारण राष्ट्रिय एकता सबल छ” भन्ने सोचाइमा छन् नेकपाका केन्द्रीय सदस्य देवनारायण साह । मधेसी मूलका कर्मचारी पहाडी मूलका भन्दा झन् बढी घुस्याहा र पीडक भएकोले सरकारी कर्मचारी पहाडी मूलकै भए हुन्थ्यो भन्ने सोचमा मधेसका जनता रहेको दाबी गर्छन् नेता साह ।

आवश्यकता र क्षमता बीचको अन्तरविरोध सामाधान गर्नु समग्र पार्टीको चुनौति छ । हाम्रो ज्ञान सिद्धान्त इन्द्रियग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानतर्फ अगाडि बढ्दछ । यदि त्यसलाई मान्ने हो भने एकीकृत जनक्रान्तिको कार्यदिशा कार्ल माक्र्सले लेख्ने कुरा भएन । माओ र लेनिन भन्दा बाठो हुने ! एकथरि बुज्रुक भन्छन् । अर्कोथरि कठमुल्लावादीहरु माओ र लेनिनका कृतिमा नेपाली कार्यदिशा नभएकोले हामीलाई माक्र्सवाद विरोधी ठान्छन् । उनीहरुको दिनचर्या अरुलाई सराप्नु मै सिमित हुन्छ । नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव क. चित्र बहादुर आले ‘हामीलाई पद र प्रतिष्ठाको लागि पार्टी फुटाएको आरोप लगाउनेहरुको शिर झुकेको’ ठान्नुहुन्छ ।

संघर्षका कार्यक्रमको निशाना पुरानो सत्तामा वैचारिक र व्यवहारिक रूपले शून्यता पैदा गर्नु र सो स्थानमा क्रान्तिकारी सत्ता (नयाँ सत्ता) कसरी निर्माण गर्ने भन्ने केन्द्रीय प्रश्न हो । चुनाव रोकिएको भए के हुन्थ्यो त ? त्यस्तो अवस्थामा सेना आउने, संसदवादी नेता र सेनाको बीचमा द्वन्द्व बढ्ने हुन्थ्यो । अझ यसो भनांै हाम्रो कारणले उनीहरु जेल जानुपथ्र्यो होला । चुनाव खारेज अभियान राजनीतिक दलालहरु गाउँगाउँमा छरिएको बेला कारबाही गर्ने नीति थियो । दलाल तत्वहरुले अकल्पनीय रूपले देश लुटेका छन् र जनतालाई हेपेका छन् । हेुर्नुस् त एकातिर ३ वर्ष पुग्न लाग्दा पनि भूकम्पपीडित जनता पालमुनि छन् । तर एनसेल नामक लुटेरालाई दलालहरुको लंगौटीरूपी अदालतले कर तिर्नु नपर्ने, आम्दानी देश बाहिर लान सक्नेगरी कानुनी उन्मुक्ति दिएको छ । यस्ता देशद्रोही न्यायधीसहरुलाई दण्डित नगर्ने त ? दुईसय रूपैंया कर तिर्दै आएका जनतालाई २० हजार पु¥याइएको छ । सुविधा र उत्पादन छैन, विकास र लोकतन्त्रको नाममा करको आतंक थोपरिएको छ । के हामी यी सबै ज्यादती बुढो गोरु झैं चुपचाप सहेर बस्ने त ? भन्छन् ‘विष नभएको सर्प र इख नभएको मान्छेको मूल्य हुँदैन’ हाम्रो अभियानको अर्थ यहाँ खुल्छ ।

नेपाल–भारत सम्बन्धमा विश्व परिस्थिति नेपाली समाजको आमसामाजिक चेतना र जनयुद्धले नयाँ परिस्थितिको संकेत गरेको छ । एक, दिल्लीको दबाब, प्रलोभन र षड्यन्त्रमा प्रचण्ड–बाबुरामले आत्मसमर्पण गरेपछि पनि नयाँ क्रान्तिकारी धारा उठ्दै गएको छ । भारतले नाकाबन्दी लगाउँदा २०४६ सालमा जसरी जनता र मुख्य दलहरु सरकारसँग भन्दा भारतका विरुद्ध खनिए । तेस्रो, दार्जलिङमाथि भएको दमनको विरुद्ध मौन बस्दै आएका सिक्किम, उत्तराञ्चल लगायतका नेपाली मूलका भारतीय नागरिक दार्जिलिङको स्वतन्त्रताको पक्षमा उभिए । त्यसबाट दिल्ली भयभित छ । सिक्किम, उत्तराञ्चल, दार्जिलिङ (पश्चिम बंगालको नेपाली भाषी सबै भूभाग) र नेपालको मनोवैज्ञानिक संयुक्त मोर्चा प्रकट भएको छ । भारत त्यसलाई कमजोर पार्न चाहन्छ । अहिले नेपाली शासक होइन दिल्ली नै सन् १९५० को सन्धी खारेज गर्ने मानसिकतामा पुगेको छ । सो सन्धि खारेज गरेर सन् १९५० भन्दापछि भारत पसेका वा त्यसपछि नागरिक भएका नेपाली मूलका भारतीयलाई लखेट्ने षड्यन्त्रमा दिल्ली अग्रसर भएको धारणा छ नेकपाका केन्द्रीय सदस्य डिडि पाण्डेको । भारतको नेपालप्रतिको विगत हेर्दा नेपालमा बढ्दो भारतीय उत्पीडन विरोधी जनमत र चीनको बढ्दो प्रभावका कारण भारतले त्यस्तो कदम चाल्दैन भन्न सकिन्न । हामीले अभियानको क्रममा आन्तरिक रूपमा दलाल पुँजीवाद र बाहिरबाट हुनसक्ने साम्राज्यवादी उत्पीडनको विरुद्ध पनि जनमत निर्माण गर्न आवश्यक छ । हामीले हजार पटक समाजवाद र राष्ट्रिय स्वतन्त्रताको कुरा गरिरहनु पर्छ । “जनयुद्ध गलत भयो भन्ने लाग्दा, नेतृत्व बिग्रँदा पनि बोल्ने वातावरण भएन । तर प्रचण्डको नवसंशोधनवादलाई हाम्रो स्कुलिङले टिक्न दिएन । त्यसैले विज्ञानको आविष्कार गर्ने आशयसहित आफ्ना धारणा खुलस्त राख्नुपर्छ” नेकपाका स्थायी समिति सदस्य क. कञ्चनको धारणा छ । “हेरौं न हेरौं न भन्दा भन्दै धेरै बिग्रियो । प्रश्नको जवाफ दिइएन र पार्टी जनवाद भएन । जनवाद भनेको असन्तुष्टिको अभिव्यक्ति नभएर अनुसन्धान हो” उहाँ अझ अगाडि भन्नुहुन्छ ।

हालै सम्पन्न केन्द्रीय समितिको छैठौं पूर्ण बैठक चुनावको समीक्षामा बढी केन्द्रित थियो । चुनाव स्थगित भएको भए कम्युनिस्ट र देशभक्त शक्तिको ठूलो ध्रुविकरण हुन्थ्यो । संसदवाद फेरि एकपटक असफल प्रमाणित हुन्थ्यो । त्यो स्तरमा हामी पुग्न सकेनौं तर संसदवादको विकल्प छ, संसदवाद निर्विकल्प छैन र शान्ति प्रक्रिया पूरा भएको छैन भन्ने प्रमाणिक भयो । देशमा देशभक्त शक्तिको अलग संगठन छैन । त्यो विचार, मनोविज्ञान र वैयक्तिक रूपमा सबै दल, संस्था, सुरक्षा निकाय र कर्मचारीतन्त्रमा छ । त्यो देशभक्त प्रवृत्ति र क्रान्तिकारी कम्युनिस्टका बीचमा असंगठित र अनौपचारिक कार्यगत एकता हुँदै आएको छ । सोभियत संघमा हिटलर वा चीनमा जापानले हमला गरेको अथवा स्पेनमा सैन्यसत्ता कायम भएको जस्तो अवस्थामा देशभक्त शक्ति नेपालमा पनि संगठित रूपमा आउन सम्भव छ । सचेत प्रयत्न गर्नुपर्दछ ।

इन्टरनेश्नल क्राइसिस ग्रुप नामक गैरसरकारी संस्थाले दुई वर्ष अगाडि नै ‘असन्तुष्ट समूह’ लाई जनतासँग जोडिन दिइयो भने शान्ति प्रक्रिया भाँडिने र विद्रोह हुनसक्ने चेतावनी दिएको थियो । उनीहरु क्रान्तिकारी शक्तिलाई घेराबन्दीमा पारेर एक्ल्याउन चाहन्थे । त्यसका कारण हरदम प्रतिरोध योजना चाहिन्छ । आन्तरिक रूपले जनविद्रोह भनेर चुनावमा लग्ने बादल प्रवृत्ति र जनयुद्ध भनेर छापामार दलमा कैद गराउने किरण प्रवृत्तिसँग पनि हामी संघर्ष गर्दै आएका थियौं ।

अभाव, अज्ञानता र अपमान भएको ठाउँमा धर्मको नाममा मूलतः क्रिश्चियन धर्मको नाममा पश्चिमी पुँजीवाद पुगेको छ । चेपाङ, दलित बस्तीमा ठूलो चर्च हुन्छ । झाँक्री मान्छन् । पढेका छैनन् तर ‘प्रे गर्ने’ भन्छन् । चेपाङ, थारु, पितृपुजक, प्रकृतिपुजक समुदाय हो । क्रान्तिलाई टार्न, रोक्न साम्राज्यवादले चर्च–संस्कृतिको विस्तार गरेको छ र पैसा बाँडेको छ । साम्राज्यवादले जनतालाई बनहात्तीलाई सदाएझैं दास बनाएपछि गोरुलाई झैं जोत्न थाल्छ ।

राज्य र जनता टाट पल्टाउने आफूले चुनावमा जनता किन्न प्रचण्डले एक्लै १ अरब खर्च गरेका छन् । तर ९ लाख मात्र खर्च गरेको बताउँछन् । भारतीय नोट र बाहन बाँडिन्छ । नक्कली नोट बाँडिएको छ । व्यापारीसँग कालोबजारी र मूल्यवृद्धि गर्ने शर्तमा करोडौं उठाइएको छ । यी तत्वहरु देशद्रोही हुन् कि होइनन् ?

प्रचण्डलाई हेग अदालतमा लग्नुपर्छ भन्ने भीम रावल, डुँडेझारी हत्याकाण्डको अपराधी भीम रावल अहिले प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा दिनुपर्ने तर्क गर्दैछन् । त्यसको पछाडि माधवकुमार नेपाल र दिल्लीको भूमिका देखिन्छ । केपीको नक्कली राष्ट्रवादलाई समाप्त गर्न र जनयुद्धको धारालाई सम्पूर्ण रूपले नामेट पार्न एमाले–माके एकता भएको विश्लेषण गरिंदैछ । पर्दा पछाडि माधव नेपाल र दिल्ली बसेर ओली र प्रचण्ड दुवै नामेट पार्ने खेल भइरहेको छ ।

सामाजिक दलाल पुँजीवाद नेपालमा ज्योती वशुको नेपाली अवतारका रूपमा उदय भएको छ । पार्टी वा दल होइन, दलालका विरुद्ध हाम्रो प्रतिरोध आवश्यक भएको छ । हाम्रो शुरुवात, बुझाई, कार्यदिशा नयाँ छ । त्यसकै आधारमा पार्टी एकता प्रयास गर्नुपर्छ । जसलाई हामीले धु्रवीकरण भनेका छौं । दुवै पक्षको विचार र संगठनको सोलोडोलो गठजोड अथवा मिलनलाई एकता भनेर बुझिन्छ । हामी निश्चित विचार र कार्यदिशाको आधारमा डोलायमान गर्न–गराउन–हुन चाहन्नौं । कार्यदिशा र नेतृत्वको विषयमा अनन्त बहस र पश्चगामी सम्झौता हाम्रो उद्देश्य होइन । नेकपा (ऋषि कट्टेल नेतृत्व) र क्रान्तिकारी माओवादी (किरण नेतृत्व) सँग हाम्रो औपचारिक छलफल चलिरहेको यथार्थ हो । सम्भव भएसम्म ध्रुविकरण नभए कार्यगत एकता गर्ने उद्देश्यले छलफल भइरहेको छ । हामी ध्रुविकरणको पक्षमा छौं तर काम धन्दा नै त्यत्ति मात्र ठानेर, गरेर बस्ने गल्ती गर्दैनौं ।

समाजवादको कुरा गर्ने साम्राज्यवादसँग साँठगाँठ गर्ने नयाँखाले प्रवृत्ति भएका कार्ल काउत्स्कीलाई लेनिनले ‘सामाजिक साम्राज्यवादी’ भन्नुभएको थियो । माओले त्यसैखाले भूमिकामा प्रकट भएको ख्रुश्चोभलाई (रुसलाई) सामाजिक साम्राज्यवाद भन्नुभयो । हामीले काउत्स्की र ख्रुश्चोवको नेपाली अवतार ओली–दाहाल मण्डलीलाई सामाजिक दलाल पुँजीवादी भनेका छौं । कस्तो खाले दलाल ? किन दलाल ? प्रष्ट पार्नुपर्ने भएपछि सारतत्व अनुसारको रूप निर्धारण गरिएको हो । परिस्थितिको व्याख्या गर्दै नेकपाका महासचिव विप्लव भन्नुहुन्छ, “हामी वाङमिङको कार्यदिशा असफल भएपछि चिङकाङसाङतिर माओ त्सेतुङहरु ‘भागेको’ समयजस्तो अवस्थामा छौं” नेपालमा कार्यदिशा असफल भएर होइन, नेतृत्वले आत्मसमर्पण गरेकोले समस्या आएको हो । “म त प्रचण्डतिरै लागेँ । तपाईहरुले शुरु गर्नुभयो भने एक वर्ष टिकाउनु, त्यति भयो भने अगाडि बढ्छ” जीवनको उत्तरार्धमा कामरेड पोष्टबहादुर बोगटी ‘दिवाकर’ ले भनेको कुरा उहाँ स्मरण गर्नुहुन्छ । दलाल सत्ताले क्रान्तिकारी शक्तिलाई कसरी सिध्याउँछ त ? शान्ति प्रक्रियामा आउनासाथ काठमाडौंमा भारतीय लगानीको तीनतारे वैशाली होटेलमा २ वटा तला नै प्रचण्ड–बाबुरामलाई निःशुल्क दिइयो । केको निःशुल्क हुन्थ्यो ‘रअ’ ले भुक्तानी गर्दोरहेछ । गैरसरकारी संस्थाले रात्रीभोज, विदेशभ्रमण, गोष्ठी–भत्ता मार्फत् गरे । अधिकारको नाममा जातिवाद हुर्किंदै गयो र वर्ग दृष्टिकोण हराउँदै गयो । एकपटक कांग्रेसका कार्यकर्ताले देउवालाई माओवादीले १ सयभन्दा बढी सवारी साधन तस्करी गरेको उजुरी गरेछन् । देउवाले ‘नआत्तिनु त्यो संख्या हजार पुग्न दिनुपर्छ’ भनेका रहेछन् । विप्लव भन्नुहुन्छ, “हामी आफ्नो बारेमा मात्र सोच्ने जंगली जनावरजस्ता बलिया तर अबुझ भयौं । उनीहरु गैरसरकारी संस्था खटाउने, बुद्धिजीवी र सञ्चार जोड्ने, लुछ्ने, सोच्ने जनता र क्रान्तिकारीलाई अलगथलग गर्ने गर्छन् ।” गैरसरकारी संस्था र बुद्धिजीवीले सरकारको आलोचना गर्दै सारतः त्यसैलाई बलियो बनाउने गरेका छन् । कम्युनिस्टको विरोधमा काम गरेका छन् । साम्राज्यवादले गैरसरकारी संस्थालाई अग्रटोली (एसल्ट ग्रुप) बनाएर लडेका छन् । उनीहरु एकीकृत भएर समग्र लडाईं लड्छन् । बैंकको आलोचना गर्दा नेता आउँछ, तस्कर हान्दा मन्त्री आउँछ ।

नेपाली जनता आज दलाल पुँजीवादसँगको लडाईमा क्षति व्यहोर्न बाध्य छ । तर यो अस्थायी हार हो । यो फेरि उठ्दै शक्तिशाली बन्दैछ । हाम्रो विचार गलत भएर होइन, अन्तरघात भएर शक्ति सन्तुलन विग्रिएको हो । माओ त्सेतुङ भन्नुहुन्छ, “विचार गलत भएर होइन, बरु संघर्षमा सामेल शक्ति सन्तुलनका कारणले अर्थात् समयक्रममा प्रतिक्रियावादी शक्ति जत्तिकै शक्तिशाली नभएकोले सामाजिक संघर्षमा कहिलेकाँही अग्रगामी वर्गको प्रतिनिधित्व गर्ने शक्तिले पराजय बेहोर्नु पर्छ । त्यतिबेला उनीहरु अस्थायी रूपले पराजित हुन्छन् तर तिनीहरु ढिलो वा चाँडो बिजयी हुनेछन्” (दार्शनिक रचनाहरु, पृष्ठ २०६, अनुवाद हेमन्तप्रकाश ओली, जागरण बुक हाउस) । यतिबेला कम्युनिस्ट क्रान्तिकारीहरुका बीचमा ध्रुविकरण गर्नुपर्ने युगीन दायित्व छ । त्यसका लागि क.किरणले मसाल, नेकपा र नेकपालाई पत्राचार गरेको अवस्था छ । क्रान्तिकारी माओवादीले क.किरणकै नेतृत्वमा वार्ताटोलीसमेत बनाएको छ । नेकपासँग दुई चरणमा गम्भीरतापूर्वक नेतृत्व तहमा वार्तासमेत भैसकेको छ । क.किरणले आफ्नो उमेर समेतले प्रदान गरेको ऐतिहासिक दायित्व निर्वाह गर्न खोज्नु सकारात्मक पक्ष हो । नेकपा सकेसम्म ध्रुविकरण अन्यथा सहकार्यको दिशामा छ । नेकपाको मुख्य ध्यान आठौं महाधिवेशनद्वारा पारित कार्यदिशा लागू गर्नुमा केन्द्रित भएको छ । भण्डाफोर तथा जनजागरण अभियानलाई त्यही कार्यनीतिको अंगको रूपमा बुझुनुपर्छ । स्रोत : रातो खबर साप्ताहिक

२०७४ फागुन १९ गते बिहान ११ : ३६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :