आदरणीय पाख्रीन दाइ : शब्द–सम्मान – अम्बिका पाठक


२००९ कार्तिक ९ गते गोरखाको खरीबोटमा जन्मिनुभएका पाख्रीन दाइ २०३५ सालदेखि औपचारिक गीत संगीतमा लाग्नुभएको हो तर उहाँ आफू बिक्न र बिकाउनका लागि कहिल्यै सञ्चार खोज्दै हिंड्नुभएन । पञ्चायतकालमा जनपक्षीय राजनीतिजस्तै जनप्रिय साहित्य–कला प्रतिबन्धित थियो । उहाँले हजारौं जनताको पक्षमा गीत गाउनुभयो । पाख्रीन दाइ जनताकै घर–दैलोमा रमाउने र जनताकै दुःख–सुखमा र मुक्तिआन्दोलन तथा परिवर्तनका लागि उहाँको आफ्नो खालको योगदान थियो । २०३८ मा उहाँको ‘सगरमाथाको काखमा’ भन्ने प्रगतिवादी गीत औपचारिक रूपमै ल्याए । उहाँका धेरै गीतहरू भित्रिए । बस्ती–बस्तीमा, सहरमा मजदुर–किसानका फाँटहरूमा गीतले वास्तविक अवस्थालाई शब्दमा उतारेर उहाँले गीतका शब्दले सांस्कृतिक आन्दोलन नै अघि बढाए । त्यति मात्र होइन, उहाँले महिला अधिकार र मुक्ति लागि समेत उत्तिकै योगदान दिनुभएको थियो ।

 

पाख्रीन दाइ लामो समयदेखि गायन क्षेत्रमा जनताको दुःख, पीडा र सामन्ती सरकारको विरोधमा गीत गाउँदै हिंड्ने पाख्रीन दाइसँग २०४६ सालमा मेरो भेट भयो । म १४ वर्ष मात्र पुगेकी थिएँ । मलाई सानैदेखि नाच्न, गीत गाउन असाध्यै रुची राख्ने, ‘के खोज्छस् कानो, भन्दा आँखा’ भनेजस्तै भयो र त्यो सांस्कृतिक कार्यक्रममा भाग लिन पाएँ । पहिलो गीत मेरो नृत्यमा
– सयपत्री फुल फुल्दा मेरो माइती सम्झन्छु
– आज माले संसदमा हम्फाले, किनभन्दा कुर्सीको मोहले
– कालो वनको बिचैमा खेतालाको गाउँ
– शैलुङ्गे वनमा अँधेरी रातमा कोइली करायो
– चेलीको आँसु बोकेर लैजाउ बादल पारि गाउँमा ।
यस्तै यस्तै गीतले रेडियो क्रान्ति मेरो सानो उमेरमा नै पाख्रीन दाइको हातबाट पार्टी सदस्यता लिएको थिएँ । उहाँको सांस्कृतिक मञ्चमा प्रेरणा पाएर उहाँसँगै हिड्न बाध्य गरायो । साँच्चिकै उहाँ एउटा कलाकार मात्र नभई हाम्रो अभिभावक हुनुहुन्थ्यो । कहिल्यै नमीठो नबोल्ने उहाँको न्यानो क्रान्तिकारी भावना बाँधेर हिंड्नुभयो । कहिले माडी, कहिले भरतपुर, कहिले नवलपरासी, कहिले बुटवल, कहिले मकवानपुर पु¥याउनुभयो । अत्यन्त प्रभावशाली क्रान्तिकारी पाख्रीन दाइ यो देशको नै एउटा गहनाको रूपमा नै यो देशको अङ्ग हुनुहुन्थ्यो । कलाकारलाई प्रोत्साहन दिने आफ्नै तरिका थियो उहाँको । पाख्रीन दाइ एकदम सामान्य शब्दहरू प्रयोग गर्नुहुन्थ्यो तर गीतका शब्दहरू अग्निमय जोडदार भाषाहरूभन्दा पनि शक्तिशाली हुन्थे । एक सांस्कृतिक मञ्च एक क्रान्तिकारी धारको एक राष्ट्रिय कलाकार हृदयको एक टुक्राबाट नै चुँडिएर गएको अनुभव गर्दछु । चरित्रको चोखो अनुहार हाम्रो दाइलाई यो देशकै अभिभावक । महिला हक–हितका लागि पनि गीतबाट प्रत्येक नारीका मन र मस्तिष्कमा रहनुभयो । धेरै गीतहरूमा क्रान्ति, साहस र न्याय मुक्तिका कुरा मात्र हुन्थ्यो । जनताका आँगनमा रमाउने र गाउँघरमा नै नाच्ने, गाउने पाख्रीन दाइ युद्धकालमा समाजका तल्लो वर्गका दुःख÷पीडा समेटेर गीत बनाउनुहुन्थ्यो । त्यही युद्धकालमा प्रचण्ड र बाबुरामलाई गीतका भावले रुवाउने कलाकार पनि थिए, त्यही युद्धकै बेला आफ्नो छोरासमेत गुमाएर हजारौँ यातना सहेर मरी–मरी यो देशको लागि र श्रमिकवर्गको मुक्तिका लागि अन्तिम सास रहुञ्जेल लड्दै जानुभयो, उहाँको जीवनमा सुख, न्यानोपनको कहिल्यै अनुभूति नपाई यो संसारबाट पूर्णविराम लगाई जानुभयो । यो देशलाई साँच्चिकै टुहुरो बनाई जानुभयो । कता–कता उहाँका गीतका शब्द र भाकाहरूले झस्काइदिन्छ । उहाँका भाकाहरूले महत्वपूर्ण भूमिका खेलेको म देख्छु । सर्वहारावर्गको मुक्तिका लागि सिंगै जीवन समर्पण गर्नुभयो । देशका अनेक गाउँ क्षेत्रमा गरिबी, श्रमजीवीका बीचमा आफ्ना गीतले अमूल्य योगदान पु¥याउनुभएको थियो ।

भरतपुरमा वाम गठबन्धनको सभामा ‘युवाहरूलाई जागरूक बन, देश बनाऊ देश तिम्रै हो, भविष्य तिम्रै हो भनी जोशिलो गीत गाउँदै सुमधुर स्वरका धनी पाख्रीन दाइ अन्तिम गीत गाउँदा गाउँदै बिदा हुनुभयो । कहिल्यै कसैसँग नभेट्ने गरी यो संसारबाट सबै क्रान्तिकारीलाई, यो देशलाई टुहुरो बनाई जानुभयो । जसले जनवादी आन्दोलनमा आफ्नो अमूल्य जीवन गीत संगीतको माध्यमबाट यो देशलाई चिनाए । नेपाली जनताको ढुकढुकीमा उहाँका हरेक शब्दहरू छाप लगाई गुन्जिरहेका छन् । खुसीराम पाख्रीन हाम्रो सामु रहनुभएन, उहाँका अजम्बरी गीतहरू, अजम्बरी शब्दहरूले घच्घच्याइरहनेछन् । अहिले हाम्रोसामु रहनुभएन । प्रचण्डलाई जुन उचाइमा पुराए खुसीराम दाइले, दाइका गीतका शब्दले १० वर्ष युद्धनै उहाँका झुपडीका गीत, बस्ती–बस्तीका महिला मुक्तिका, किसानका, मजदुरका शब्दले संसारभर ज्वालामुखीजस्तै फैलिएका थिए । हिजोको दास, शासक, सामन्ती, दलालका मुक्तिका शब्दहरूले गीतबाट विद्रोह सुरु गर्दै पुरानो परिपाटीलाई गीतका शब्दले प्रहार गर्दै देशको आवश्यकताअनुसार अगाडि बढ्दै गएका थिए ।

 

आज क्रान्तिकारी आवाज मेटिँदै गएका छन् भिजेको कागजजस्तै, अस्ताउँदै गएका छन् । जनवादी गीतहरू सुस्ताउँदै गएका छन् । जुन गीतले वर्गलाई केन्द्रित बनाइदिने भाकाहरू सुस्ताए । राज्यको तर्फबाट पनि बेवास्ता गरेको थियो पाख्रीन दाइलाई न राज्यले पनि यो देशकै जनवादी होनाहार गाएकको रूपमा चिनिएर पनि उहाँको स्वास्थ्यको विषयमा कहिल्यै यो राज्यले ध्यान दिएन । दलाल सरकारले कहिल्यै नजिकबाट नियालेको थिएन । त्यसैले आज क्रान्तिकै बाटोमा आफ्नै जीवनको आधा बाटो नपुग्दै अन्तिम आहुति दिनुभएको छ । सधैँ उहाँको श्रद्धाञ्जली गर्दछु ।

 

गएको वर्ष वैशाखमा पूर्वविराम, रायन, जेबी टुहुरेसहित उहाँको अभिनन्दन काठमाडौंको राष्ट्रिय नाचघरमा भएको थियो । नेकपाले सो अभिनन्दन गरेको थियो । सो अवसरमा नेकपाका महासचिव क. विप्लवले ‘तपाईंहरूको गीत गाउँदै हामी युवा विद्यार्थी छँदा क्रान्तिमा लागेका थियौं । तपाईंहरू गीत गाउँनुस्, हामी क्रान्तिको नेतृत्व गर्छौं’ भन्नुभएको थियो । त्यस अवसरमा मन्तव्य राख्दै पाख्रीन दाइले ‘अखिल नेपाल जनसांस्कृतिक महासंघको राष्ट्रिय सम्मेलनको स्मरण गर्दै ‘मेरो पार्टीले फेरि गाली गर्ने होला’ क्रान्तिकारी कुरा गर्दा नेताहरू तर्सन्छन्’ राष्ट्रिय नाचघरमा भन्नुभएको थियो । सम्मेलनमा दाइले राजनीतिक जीवनका पीडा सम्झँदै आँसु झार्दै ‘कहिलेकाहीँ सबै कुरा छोडेर एकपटक विद्रोहको झन्डा उठाउँदै लगेको छ’ भन्नुभएको थियो । त्यो भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि माके पार्टीले उहाँको आलोचना गरेको रहेछ ।
आफ्ना केही मानवीय सीमासहित पाख्रीन दाइ सधँै देश र जनताको लागि लड्नुभयो । उहाँले सधँै दिनुभयो, लिनुभएन ।
स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन १९ गते बिहान ७ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :