शिक्षक र शिक्षाको गुणस्तर : लालबहादुर बिसी

शिक्षक र शिक्षाबीच आयोन्याश्रित सम्बन्ध हुन्छ । एउटा शिक्षकले समाज, प्रकृति र विज्ञान प्रविधिमा आएको परिवर्तनअनुसार नयाँ सोच र चिन्तन बनाउन जरुरी हुन्छ । आज हामी विज्ञान प्रविधि, ग्लोबल अवस्था र आइटीको विकासले विश्वसँग अभिन्न हुँदै छाँै । आजको शिक्षकले नयाँ दर्शन दृष्टिकोणअनुसार सिक्ने, सोच्ने, पढ्न लेख्न र पढाउन सिक्नुपर्दछ । शिक्षकले राज्यद्वारा निर्मित पाठ्यक्रम पाठ्यपुस्तक पढाएर मात्र हुँदैन । समाज, विद्यार्थी र विश्वमा आएको फेरबदलसँगै प्रकृतिविज्ञान र समाजविज्ञानलाई अध्ययन गरेर शिक्षाको नयाँ दर्शन दिन सक्नुपर्दछ । हाम्रो पुरानो धर्म संस्कृति, दर्शन र परम्पराले निर्माण गरेको चेतनाले समाज र राष्ट्रको कल्याण गरेन । यी सबैलाई अध्ययन गर्दा नयाँ सत्यको खोजी भएको छ । त्यसैले शिक्षकहरूले व्यवहारमा सिद्धान्तमा, सोचमा र कर्तव्यमा नयाँ शिक्षाको दर्शनको खोजी गर्नु पर्दछ । उत्पीडित, सिमान्तकृत जाति, वर्ग, भूगोल र विषय परिस्थितिलाई हेरेर शिक्षाको पाठ्यक्रम पाठ्यपुस्तक बनाउनुपर्दछ । हाम्रो सोच, प्रवृत्ति, भाषा, संस्कृति र राजनीतिक प्रणालीका पुराना सोच भत्काउनुपर्दछ । सीमाहरू बदलिन्छन्, नयाँ दृष्टिकोण दिन जरुरी छ । पुरानोलाई पुनःपरिभाषित गर्नुपर्दछ । साहित्यकला संस्कृति, राजनीतिक सिद्धान्तका क्षेत्रमा नयाँ स्तरबाट सोच्नुपर्दछ । पुरानोबाट चित्त बुझाउने र ढुक्क हुने ठाउँ छैन । पाठ्यक्रम, शिक्षालयको शिक्षा पद्धति, शिक्षाको उद्देश्य, विधि, शिक्षक विद्यार्थीको अवस्थाको विषयमा पुरानो शिक्षाको पद्धतिले राम्रो गर्न सक्दैन । नयाँ खोजको जरुरी छ भन्ने कुरा शिक्षकले बुझ्नुपर्दछ ।

हाम्रो समाज व्यवस्था र गुरुकूलबाट शिक्षा दिने पद्धतिले, महिला, उत्पीडित समुदायलाई अपमान ग¥यो । पुरुष प्रधान समाज र ब्राह्मण क्षेत्रीलाई स्थान दियो । अरू जाति र संस्कृतिलाई ओझेलमा पा¥यो । त्यसैले शिक्षामा जनताको पहुँच पु¥याउन र समान शिक्षा दिनको लागि शिक्षकहरूले नयाँ खोज अनुसन्धान गर्नुपर्दछ । आजका शिक्षकहरूले सूचना प्रविधि र विज्ञानको विकासले ठूलो फड्को मारेको छ भन्ने कुरा बुझ्न जरुरी छ । यसको नयाँ वैकल्पिक सोच चिन्तनको खाँचो छ । नयाँ शैक्षिक सिद्धान्त जो जनताको पक्षमा हुन्छ, त्यसलाई शिक्षकले पछ्याउनु पर्दछ । त्यहीअनुसारको व्यवहार गर्नुपर्दछ । शिक्षाको नयाँ दर्शन दिन सक्नुपर्दछ ।

शिक्षा सुधारको मुख्य कुँजी नै शिक्षक हुन् । शिक्षकहरूको सहभागिताबिना शैक्षिक सुधार गर्न सकिँदैन । शिक्षाविद् भनिएका व्यक्ति र अन्य शिक्षाका सरोकारवालले ठूलो चारतारे होटलमा गोष्ठी गरेर शिक्षाको गुणस्तर वृद्धि हुँदैन । शिक्षाको गुणस्तर सुधार्न राज्यले शिक्षकहरूको योग्यता क्षमताअनुसारको सेवा सुविधा दिएर सम्मान गर्नुपर्दछ । गुणस्तर सुधारको मुख्य अङ्गलाई राज्यले ध्यान नदिए कसरी शिक्षाको गुणस्तर बढ्छ ? त्यसैले शिक्षकहरूलाई नयाँ–नयाँ विकसित ज्ञान र सीपको तालिम दिएर कक्षाकोठामा रहन सरकारले प्रोत्साहित गर्नुपर्दछ । शिक्षण सिकाइ, अनुभव वा ज्ञानको आदान–प्रदान गर्ने प्रत्यक्ष रूपमा शिक्षक सहजकर्ता, पथप्रर्दशक र सल्लाहकारको रूपमा रहेको हुन्छ । शिक्षा पद्धतिमा सुधार तथा परिवर्तन गर्न वाहकको रूपमा शिक्षकलाई स्वीकार गरेको स्थिति छ । शिक्षकको व्यवस्थापन र विकास सही रूपमा राज्यले गरेन भने शिक्षण सिकाइ प्रक्रियामा सुधार आउन सक्दैन । शिक्षक र शिक्षणलाई सेवाप्रदाय कार्यप्रति धारणा भएको पेशा र व्यक्तिको रूपमा मानिन्छ । तर हाम्रो देशमा शिक्षण पेशालाई विश्रामस्थलको रूपमा लिने गरिएको छ । सरकारले शिक्षण पेशालाई सबै नयाँ उत्पादित जनशक्तिको आकर्षणको केन्द्र बनाउन सकेन । यसले गर्दा शिक्षण पेशाप्रति आकर्षण कम हुँदै गएको छ । शिक्षकहरू समाजबाट कट्दै गएका छन् । शिक्षकहरूले यो पेशा सेवाप्रदायी पेशा हो भन्ने कुरा बुझ्न जरुरी छ । विश्वव्यापी कारणले सिक्ने र सिकाउने क्षेत्रलाई असीमित र व्यापक बनाएको छ, अबको सिकाइ शिक्षण पाठ्यक्रम पाठ्यपुस्तक, विद्यालय र शिक्षकको रूपमा सीमित रहेन । विद्युतीय संचार र प्रविधिका विभिन्न माध्यमबाट विश्वको नवीनतम ज्ञान र प्रविधि प्राप्त गर्ने खुल्ला अवसर प्राप्त भएको छ । शिक्षक एक सहजकर्ता र मार्गदर्शनको रूपमा रहनुपर्ने र सिकारुलाई खोज अनुसन्धानमा सहयोग गर्ने हुनुपर्दछ । शिक्षक एक नीति निर्माता, प्रशिक्षक, प्रशासक, योजना निर्माणकर्ता र कार्यान्वयनको जिम्मेवार व्यक्ति भएकोले उसको पेशागत दक्षता बढाउन खोज अनुसन्धानका लागि राज्यको तर्फबाट उसलाई स्रोत सामग्री उपलब्ध गराउनुपर्दछ । यसो गर्न सकियो भने शिक्षाको गुणस्तर वृद्धिमा शिक्षकले सहजै महत्वपूर्ण योगदान पु¥याउन सक्दछ । एउटै कार्यथलोमा काम गर्ने शिक्षकलाई थरीथरीका बनाएर शिक्षाको गुणस्तर वृद्धि हुँदैन । राज्यले शिक्षकहरूलाई विभेद गर्न हुँदैन ।

एउटा आदर्श दक्ष शिक्षकसँग के सिकाउने, कसरी सिकाउने, किन सिकाउने र कहिले सिकाउने भन्ने दक्षता हुनुपर्दछ । शिक्षकको पेशागत दक्षताको विकास एउटा निरन्तर प्रक्रिया हो । शिक्षण पेशामा प्रवेशको अवस्थादेखि निवृत्त हुनेबेलासम्म जारी रहन्छ । शैक्षिक गुणस्तरको लागि एउटा कुशल शिक्षक बन्न, लामो अध्ययन, प्रयोगात्मक अभ्यास, विशेषज्ञको निगरानी र निर्देशनबाट प्राप्त हुन्छ । जनताको भावना र आवश्यकतालाई बुझ्न सक्ने क्षमता शिक्षकमा हुनुपर्दछ । विद्यार्थीलाई पढाउनेभन्दा पनि विद्यार्थीलाई पढ्ने शिक्षक हुनुपर्दछ । शैक्षिक गुणस्तरको लागि शिक्षकले निरन्तर मिहिनेत गर्नुपर्दछ । शिक्षाको गुणस्तर वृद्धिको मुख्य अङ्ग भनेकै शिक्षक भएकोले शिक्षक खोज र अनुसन्धानकर्ता बन्न सक्नुपर्दछ । स्रोत : रातो खबर साप्ताहिक

 

२०७४ फागुन १८ गते साँझ ६ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :