रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले पनि यातायात क्षेत्रमा तोकिएको भाडामा सहुलियत कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल सरकार र संयुक्त विद्यार्थी सङ्ठनबीच भएको सहमतिलाई तत्काल कार्यान्वयन गरि यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत भाडा तत्काल छुट गर्न अखिल (क्रान्तिकारी) ले माग गरेको हो ।
गुणस्तरहीन र मापदण्ड नाघेका यातायातका साधनको तत्काल अनुगमन गरि त्यस्ता साधन सञ्चालनमा रोक लगाउन र दुर्घटनालाई रोक्न तत्काल सडकको वैज्ञानिक स्तरबाट अध्ययन गरि सडक निर्माण तथा मर्मत गर्नसमेत सङ्ठनको माग गरेको छ । जिल्लाभित्र रहेका मुख्य सार्वजनिक स्थान बसपार्क, सेमिनार र अन्य स्थानहरूलाई व्यवस्थित र मर्यादित बनाउन, छात्राको आत्मरक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न पनि ज्ञापनपत्रमार्फत अखिल (क्रान्तिकारी) ले माग गरेको हो ।
कर्णाली प्रदेशका १० वटै जिल्ला प्रशासन कार्यालयललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पनि ज्ञापनपत्र बुझाइएको हो ।
वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि जनताका जनजिविकासँग जोडिएका सामाजिक अन्यायका जातीय विभेत, वर्गीय विभेत, भ्रष्टाचार, दलाल र संसदीय व्यवस्थाले उपहार मानिरहेको राष्ट्रघाती एमसीसीविरुद्ध मैदानमा उभिँदै आएको जानकारी दिँदै माग पूरा नभए चरणबद्ध सङ्घर्षमा उत्रिनेसमेत चेतावनी दिएको छ ।