दनदन बल्ने आगो

दनदन बल्ने आगो

आजको दिन बेग्लै छ
सदाजस्तै पूर्वमा लाली छैन
चुकले पोते जस्तो कालो बादल
गडगडाहट छ ।

बिजुली चम्केको छ
आँधीबेरी हावा हुरी अचाक्ली छ
चिबे कराएको सुनिदैन आज
कुन वसन्त हो? कुन शरद?
थाहा छैन शहरमा ।

केबल गाउँघर शहरमा कोलाहल छ
चित्कार छ अभाव र गरिबीमा
जीवन धान्न धौ धौ छ
अनिकाल छ भोक हड्ताल छ
बेरोजगारी अनि महामारी छ ।

दनदन आगो बलेको छ
अशान्ति उद्वेलन आक्रोश छ
गाँस बास र जनजीविकाको लागि
मुक्तिको लागि
न्याय र स्वतन्त्रताको लागि
स्वाधीनता र स्वभीमानका लागि
दलालको दबदबा छ देशमा
सरकार नै दलाल छ
औपनिवेशीकरण र प्रभुत्व छ ।

खुलेआम अमेरिका पस्दैछ एमसीसीको भेषमा
विकासको बाजा बजाएर विनाशको जाल बुनेर
जनताले चाहिन्न चाहिन्न भन्छन् एमसीसी
अमेरिकाले चाहिन्छ चाहिन्छ भन्छ एमसीसी
नेपालका लागि दासता र गरिबी
अमेरिकाको लागि मालामाल हिरा मोती
नेपालको लागि खरानी बारुद दूर्गति
मानौं एमसीसी लाइसेन्स हो अमेरिकाको
यही देखाएर ब्रह्मलूट गर्ने नेपालको ।

छ भारतसँग साँठगाँठ विद्युत व्यापारको
सप्तकोशी ब्यारेजमा ताला भारतको
वाढी आउँदा डुवान नेपालको ।

भारतीय एसएसबीको पाशविक व्यवहार
डिँड्छन् गस्ती खोज्दै मानिसको आहार
जयसिंह धामीको उत्सर्ग महाकालीमा
भारतको दादागिरी लाचारी नेपालको ।

जसरी पनि कुर्सी जोगाऊ
लागोस् चोट मुटुमा तर हाँसो देखाऊ
लुटोस् अस्मिता तर समाऊ पाउ ।
खेताला हुन् दलालहरु नेपालमा बस्ने
भजन किर्तन प्रभुको गर्ने ।
जुन रुखमा बस्ने उसैको फेँद काट्ने।

हराएको छ अखण्डता
छैन यहाँ सम्प्रभुता
देखिएको छ बिखण्डन
आई पी एस् एस् अमेरिकाको
बृटेन र अष्ट्रेलियाको संरक्षण
त्राही त्राही आगो बलेको छ नेपालमा
दिनहुँ जुलूस चल्छ माइतीघर
गाउँ बेशी शहर शहर
चुलिएको छ असन्तुष्टी
राष्ट्रियताको सझा सवालमा
पार्टी भन्दा माथि छ एमसीसी
विरोध छ सर्वत्र नेपालमा
जनमत संग्रहको लागि जनताको छ आह्वान
कि त असफल संसदीय व्यवस्था ?
कि त वैज्ञानिक समाजवाद ?
अखण्डता कि हस्तक्षेप ?
न्याय कि आत्मसमर्पण ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :