क्रान्तिकारी विद्यार्थी आन्दोलनका नयाँ कार्यभार

क्रान्तिकारी विद्यार्थी आन्दोलनका नयाँ कार्यभार

पृष्ठिका
यसमा वर्तमान अवस्थालाई कसरी बुझ्ने र बदल्ने, दलाल पँुजीवादी शिक्षाप्रणालीको अन्त्य किन र कसरी गर्ने र वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा, आधार, अन्तरवस्तु, उद्देश्य र विशेषताहरू सङ्क्षिप्त रूपमा उल्लेख गरिनुका साथै क्रान्तिकारी विद्यार्थी आन्दोलन एवम् युवा–विद्यार्थीका निम्नकार्यभारहरूका बारेमा आलेख्य ठानिएको छ ः

(क) वर्तमानलाई बुझ्ने र बदल्ने

राणाशासन फालेर जनतन्त्र ल्याउने, पञ्चायत र राजतन्त्र फालेर जनगणतन्त्र स्थापना गर्ने आमूल परिवर्तनको जनअपेक्षा अधुरै छ । धोका, धोका फेरि पनि धोकाबाहेक केही भएन । आज दलाल पुँजीवादी संसदीय व्यवस्था बदनाम एवम् पूर्णतः असफल भएको छ । संसद््वादीहरू बदनामीलाई धोइपखाली र असफलतालाई ढाकछोप गर्ने धृष्टता गरिरहेका छन् । यो व्यवस्था र आफ्नो सङ्कटलाई देश र जनताको बनाउन खोजिरहेका छन् । व्यवस्थाको असफलता, संसद््वादी पार्टीहरूको तेजोभङ्ग र व्यक्तिहरूको अक्षमता पुष्टि भइसकेको छ । आमजनताले पटकपटक व्यक्ति र पार्टीलाई निर्वाचित गरेकै हुन् । कुराजस्तो काम हुन सकेन । नारा र व्यवहारमा ठूलो खाडल देखियो । तसर्थ यो व्यवस्था, पार्टी र व्यक्तिलाई आज आमजनताले छिःछिः र दूरदूर गरिरहेका छन् । आजको जनचाहना, जनअपेक्षा र जनविकल्प अर्थात् जनमत भनेकै वैज्ञानिक समाजवाद हो । आफूलाई प्रजातन्त्र, लोकतन्त्र र जनवादको हिमायती ठान्ने र समाजवादको पुलिन्दा बाँड्ने संसद्वादी व्यक्ति वा पार्टीहरू नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यनीति जनमतसङ्ग्रहबाट किन भयभीत हुने ? दलाल पुँजीवादी संसदीय व्यवस्था सङ्कटग्रस्त मात्र होइन, विघटन भइसकेको छ । वैज्ञानिक समाजवादमा मात्र हाम्रो मुलुक र आमजनताको उज्ज्वल भविष्य र सुन्दर जीवन छ । पुरानै व्यवस्था र प्रणालीमा एउटा पार्टीको स्थानमा अर्को पार्टी र एउटा व्यक्तिको पदमा अर्को व्यक्ति हेरफेर गर्ने होइन । दुनियाँमा पुँजीवादी संसदीय व्यवस्था बदनाम र असफल व्यवस्था र प्रणाली हो । यसमा कुनै पार्टी एवम् व्यक्ति सफल हुन असम्भव छ । दलाल पुँजीवादी संसदीय व्यवस्था र प्रणालीमा संसद््मा गएर सत्ताको बागडोर हातमा लिने, जनतालाई दमन, शोषण र उत्पीडन गर्नेभन्दा अरू केही गर्ने र हुन सक्दैन । इतिहासमा पटक–पटकको चुनावमा आम जनताले मतदान गरेर पार्टी र व्यक्ति चुने तर भयो के ? दलाल पुँजीवादी संसदीय व्यवस्था चरम भ्रष्टाचार, कमिसन, महँगी, बेरोजगारी, कालोबजारी, चर्को कर, राष्ट्रघात, जनघात, जनविरोधी हर्कतमा बदनाम छ । त्यसले जनजीवन आक्रान्त पारेको छ । ‘गधालाई जुनसुकै साबुनले नुहाए पनि त्यो गाईमा रूपान्तरण हुन सक्दैन’ भन्ने वास्तविकता पुष्टि भएको छ । दलाल पुँजीवादी संसदीय व्यवस्था, अमूक पार्टी र व्यक्ति जनमत एवम् जनविकल्प होइन । वैज्ञानिक समाजवाद नै अद्वितीय विकल्प र सम्पूर्ण समाधान हो ।

(ख) इतिहास र आन्दोलनको सही समीक्षा गर्ने

क्रान्तिकारी विद्यार्थी आन्दोलन क्रान्तिका बाधक प्रतिक्रियावादी शक्ति र गलत प्रवृत्तिका विरुद्ध सङ्घर्षको आँधीबेहरीमा सङ्गठित भएको हो । सङ्घर्ष, बलिदान र विजयको गौरवपूर्ण गाथाले भरिएको इतिहास, सम्भावनायुक्त वर्तमान र उज्ज्वल भविष्य क्रान्तिकारी विद्यार्थी आन्दोलनको यथार्थ हो । प्रतिक्रियावादी सत्ता र शिक्षाका विरुद्ध विद्यार्थी र आमजनतामा जागरण पैदा गर्दै सशक्त प्रतिरोध सङ्घर्षमा आफूलाई सहभागी गराइरहेको छ । आमविद्यार्थीको शैक्षिक हकहित र अधिकारको ग्यारेन्टीका बाबजुद राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संवद्र्धनको त्रिआयामसँग यो सधैँ जोडिएको छ । प्रत्येक सङ्घर्ष, आन्दोलन र क्रान्तिमा यो पहिलो पहलकर्ता एवम् अग्रदस्ता शैक्षिक–राजनीतिक विशेषतासहितको क्रान्तिकारी विद्यार्थी आन्दोलन हो । सामाजिक वर्गसङ्घर्ष, राजनीतिक आन्दोलन र मुलुकको शैक्षिक अवस्थाले विद्यार्थी आन्दोलनलाई स्वाभाविक रूपले प्रभावित गरिरहेको छ । क्रान्तिकारी विद्यार्थी आन्दोलन विचार, दृष्टिकोण र राजनीतिक रूपले वर्गीय छ । विचार, राजनीति, सङ्गठन र सङ्घर्षका दृष्टिले सकारात्मक र नकारात्मक प्रवृत्ति, पात्र र घटनाहरूको समग्र प्रतिबिम्बन क्रान्तिकारी विद्यार्थी आन्दोलनमा पनि भइरहन्छ । यो इतिहासको सिंहावलोकन र मूल्याङ्कन बुर्जुवा आदर्शवादी दृष्टिकोण, आधिभौतिक, अधिभूत चेतना, कुनै आग्रह र पूर्वाग्रहबाट होइन; द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणले गरिनुपर्छ । प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादी धारका विरुद्ध निरन्तर विद्रोह, अग्रगामी र क्रान्तिकारी धारको पक्षपोषण तथा नेतृत्व गर्नु नै क्रान्तिकारी विद्यार्थी आन्दोलनको प्रधान विशेषता रहेको छ । सबै प्रकारका अवसरवाद, नवसंशोधनवाद, प्रतिक्रियावाद र दलाल पुँजीवादमाथि विजय हासिल गर्न क्रान्तिकारी धु्रवीकरणलाई अझै तेज पारी अन्तिम विजयलाई अवश्यम्भावी र सुनिश्चित गर्न मालेमावादको सर्वोत्कृष्ट विचारद्वारा इतिहासको विश्लेषण र संश्लेषण गर्नुपर्छ । पहिलो राणाशासनको तख्ता पल्टाएर जनतन्त्रको बीजरोपण गर्ने सङ्घर्षमा गङ्गालाल श्रेष्ठ, दोस्रो राष्ट्रियताका पक्षमा ज्यानको बाजी लगाउने चिनियाँकाजी र तेस्रो महान् जनयुद्ध एवम् एकीकृत जनक्रान्तिमा मृत्युञ्जयी महान् सहिदहरूको सङ्घर्ष र बलिदानबाट क्रान्तिकारी विद्यार्थी आन्दोलनले प्रेरणा लिएर अघि बढ्न जरुरी छ ।

क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहास समग्र विचार, राजनीति, दृष्टिकोण र वर्गीय पक्षधरताका आधारमा एकता, सङ्घर्ष, रूपान्तरण मात्र होइन; विभाजन र ध्रुवीकरणको आरोह–अवरोह तथा उतार–चढावबाट अघि बढिरहेको छ । यो आन्दोलन शैक्षिक हकहित र अधिकारको पेसागत तथा प्रतिक्रियावादी सत्तालिप्साको चक्रब्यूहमा कहिल्यै सीमित भएन । यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संवद्र्धन गर्न अहोरात्र खबरदारी एवम् पहरेदारी गरिरहेको छ । प्रतिक्रियावादी, अवसरवादी र नवसंशोधनवादी चिन्तन–प्रवृत्तिसँग सम्झौताहीन सङ्घर्षमा विजय हासिल गरेर अघि बढिरहेको छ । दलाल पुँजीवादी सत्ता र शिक्षाप्रणालीलाई अर्जुनदृष्टिका साथ राजनीतिक सत्तामा समग्र रूपान्तरण र शिक्षामा आमूल परिवर्तनको मूल दिशा यसले कहिल्यै छाडेको छैन । तसर्थ, यो आन्दोलनको मूल चरित्र पनि राजनीतिक रहेको छ । समग्र वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका हरेक अग्निपरीक्षा एवम् मोर्चामा विद्यार्थी आन्दोलन सही र गलत, क्रान्तिकारी र गैरक्रान्तिकारी चिन्तन–प्रवृत्तिबीच भीषण सङ्घर्षको इतिहास निर्माण गर्दै अघि बढिरहेको छ । आज दलाल पुँजीवादी र सामाजिक दलाल पुँजीवादी तत्वहरूले विद्यार्थी आन्दोलनको आयु तोक्ने, औचित्य नदेख्ने र आवश्यकता छैन भन्नेजस्ता विभ्रम आमविद्यार्थीका बीचमा फैलाइरहेका छन् । जबसम्म समाजमा वर्ग रहन्छ, तबसम्म वर्गसङ्घर्ष अपरिहार्य छ । दलाल पुँजीवादी संसदीय व्यवस्था र त्यसको शिक्षाप्रणालीको अन्त्य, वैज्ञानिक समाजवादी सत्ता र शिक्षाप्रणाली स्थापनाको खातिर क्रान्तिकारी विद्यार्थी आन्दोलन आवश्यक र उत्प्रेरक बनिरहनुपर्छ । विद्यार्थी रहँदासम्म विद्यार्थी सङ्गठन, सङ्घर्ष र आन्दोलन जारी रहनेछ भन्ने उद्घोष गरिरहनुपर्छ ।

(ग) दलाल पुँजीवादी शिक्षाको अन्त्य गर्ने

कुनै पनि मुलुकको शिक्षाप्रणाली राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाअनुरूप हुन्छ । शिक्षाले युगीन राजनीतिक, आर्थिक र सामाजिक संरचनाअनुसार राज्य र समाजको साधनको काम गर्दछ । वर्तमान नेपालको राजनीतिक, आर्थिक र सामाजिक अवस्था दलाल पुँजीवादी तथा नवऔपनिवेशिक रहेको छ । शिक्षा पनि दलाल पुँजीवादी सत्ताको निर्देशन, नियन्त्रण र नेतृत्वमा सञ्चालित छ । वर्तमान शिक्षाप्रणाली दलाल पुँजीवादी नै हो । त्यसले आमजनताको हित एवम् स्वार्थमा होइन, दलाल पुँजीवादीहरूको राजनीतिक सत्ताको आधारशिला निर्माण गर्ने, सेवा गर्ने र स्वार्थसिद्ध गर्ने नोकर निर्माण गर्नेबाहेक अरू केही गर्न सम्भव छैन । एक मुलुक दुई शिक्षाको नीति हाल आएर कथित सङ्घीयताले एक मुलुक अनेकौँ शिक्षानीति र संरचनाको स्थिति निर्माण गरेको छ । सामाजिक सेवा र आमनागरिकको नैसर्गिक अधिकारका रूपमा रहेका शिक्षा क्षेत्र दलाल र माफियाहरूको मुनाफा आर्जन गर्ने मुख्य व्यापारको वस्तु बनेको छ । दलाल राज्यले शिक्षाको दायित्व र व्ययभार जनतामाथि थुपारिरहेको छ । सरकारी शिक्षा चरम सङ्कटमा छ । निजीकरणले शिक्षालाई क्रमशः ढाक्दैछ । शिक्षा प्रतिभा र पुँजी विदेश पलायन गर्ने माध्यम भएको छ । राज्यसँग वैज्ञानिक नीति, योजना र कार्यान्वयनको समस्या छ । नेपाल विदेशीका लागि परीक्षण र असफलता भोग्ने प्रयोगशालाजस्तो बनिरहेको छ । सार्वजनिक शिक्षा आमनागरिकलाई मूल्यमान्यतामा आधारित जीवन दृष्टिकोण निर्माण गर्ने विषयमा नीतिविहीन र दिशाविहीन छ । शिक्षानीति उपभोक्तावादी कर्पोरेट सञ्चालनमा रूपान्तरण भएको छ । दलाल सत्ताको दुईखाले शिक्षानीतिले पद्धति, संरचना र स्वार्थमा मात्र भिन्नता होइन, विभेद÷विषमताको गहिरो खाडल खनिरहेको छ । निजीकरण र व्यापारीकरणले शिक्षा सम्भ्रान्त वर्गको पेवा बनिरहेको छ ।

नेपालको दलाल पुँजीवादी राजनीतिक सत्ताद्वारा निर्देशित, नियन्त्रित र सञ्चालित शिक्षाप्रणाली नवऔपनिवेशिक, दलाल एवम् निगम पुँजीवादी नयाँ विशेषतामा पुगेको छ । आजको विश्व–साम्राज्यवाद राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा नयाँ विशेषताहरूमा पुगेको छ । राजनीतिक सत्ताको मालिक दलाल पुँजीवादी भएकाले शिक्षा क्षेत्र त्यसको सेवामा समर्पित हुने, निर्देशनमा चल्ने र त्यस्तैअनुकूलको संस्कार बोकेको जनशक्ति उत्पादन गर्ने अखडा एवम् उद्योगमा परिणत भइरहेकोे छ । नवउदारवादले परिमार्जित गरी निगम पुँजीवादमा परिवर्तित विश्वपरिवेशले नेपालको शिक्षाप्रणाली दलाल पुँजीवादको हस्तक्षेप र अतिक्रमणले आक्रान्त बनिरहेको छ । मुलुकको समग्र अर्थतन्त्र नै दातृ मुलुक र वित्तीय संस्थाहरूको ऋण, अनुदान र सहयोगमा चल्ने दलाल एवम् निगम पुँजीवादी रहेको छ । आज विश्व निगमहरूको सङ्गठन ‘आर्थिक विकास र सहयोगका लागि सङ्गठन’ ले विश्व वित्तीय संस्थाहरू विश्व बैङ्क, विश्व व्यापार केन्द्र र अन्तर्राष्ट्रिय मुद्राकोषलाई नियन्त्रण गरिरहेको छ । नेपालको शिक्षा पनि दातृ मुलुक र वित्तीय संस्थाहरूको लगानी र सर्तअनुकूल चलिरहेको छ । यसले सुखी नेपाली समृद्ध नेपाल बनाउने आवश्यक जनशक्ति उत्पादन गर्ने होइन; विश्वका कुन मुलुकमा कस्तो र कति जनशक्ति आवश्यक छ, त्यसको उत्पादन र पूर्ति गर्ने काम नेपालका स्कुल, कलेज र विश्वविद्यालयले गरिरहेका छन् । दलाल शासकहरूको परनिर्भरता र स्पष्ट रणनीतिको अभावमा शिक्षा क्षेत्र दिशाविहीन, अस्तव्यस्त, अव्यवस्थापन र गुणस्तरहीनताले आक्रान्त बनिरहेको छ ।

आज शिक्षामा मात्रात्मक विकास देखिए पनि गुणात्मक परिवर्तन हुनसकेको छैन । शिक्षण संस्था र विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । त्यसले शैक्षिक बेरोजगार पैदा गरी पुँजी र प्रतिभा विदेश पलायन भइरहेकोे छ । शिक्षा असमान, जनविरोधी, अवैज्ञानिक र अव्यावहारिक छ । राज्यको कमजोर प्रशासन र व्यवस्थापनले शिक्षा उद्देश्य र आवश्यकताविरोधी बनिरहेको छ । दलालहरूको शिक्षा मौलिक हक, आधारभूत शिक्षा अनिवार्य र निःशुल्कको नारा हास्यास्पद विषय बनिरहेको छ । सार्वजनिक शिक्षा सङ्कटपूर्ण अवस्थामा पुगेको छ । निजीकरण तथा व्यापारीकरणको महामारीले शिक्षा राज्यको दायित्व होइन, नागरिकको व्ययभारको वस्तु बनिरहेको छ । विधिगत र प्रणालीको समस्याले शिक्षा असफल भइरहेकोे छ । यो दलाल पुँजीवादी शिक्षा भएकाले राष्ट्रियताविरोधी छ । यो सङ्कट एवम् समस्याको समाधान सबैका लागि वैज्ञानिक समाजवादी शिक्षा नै हो । दलाल पुुँजीवादी राजनीतिक सत्ता स्कुल, कलेज र विश्वविद्यालयमा अभिव्यक्त भइरहेकोे छ । स्कुलमा क्रान्तिका नयाँ बिरुवा रोप्ने, कलेजमा कोपिला फक्राउने र विश्वविद्यालयमा बुर्जुवा प्राज्ञिक जमात तयार गर्ने होइन, नयाँ क्रान्तिको फूल फुलाउने तथा वैज्ञानिक समाजवादको राजनीतिक, वैचारिक र भौतिक आधारशिला निर्माण गर्न जरुरी छ ।

(घ) वैज्ञानिक समाजवादी शिक्षाको स्थापना गर्ने

सन् १९८० को दशकपछि विश्वमा नवउदारवाद हाबी भइरहेकोे छ । यो निजीकरण, खुला बजार अर्थतन्त्र र भूमण्डलीकरणका रूपमा विश्वव्यापीकरण भइरहेकोे छ । राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, प्राविधिकलगायत नयाँ विशेषतासहित विश्वसाम्राज्यवाद आएको छ । नवउदारवाद र विश्वसाम्राज्यवादको हस्तक्षेप र प्रभाव नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत सबै क्षेत्रहरूमा परिरहेको छ । कृषि, बन, जलस्रोत, खानीलगायत उत्पादनका क्षेत्रहरू भएको नेपालमा पनि असीको दशकपछि आर्थिक नीतिमा, पेसागत संरचनामा, लगानीका क्षेत्रमा, पुँजीगत, श्रमको उत्पादनशीलता र परम्परागत उत्पादनप्रणालीमा परिवर्तन देखापरेको छ । मुलुकको हरेक क्षेत्रमा आज दलाल पुँजीवाद हाबी छ ।

साम्यवादी समाजको उच्चतम् अवस्थाका बारेमा कार्ल माक्र्सले गरेको संश्लेषणका बारेमा लेनिनले पाँचौँ अध्याय राज्यको क्रमिक विलोपका आर्थिक आधारहरूमा उल्लेख गर्नुभएको छ, ‘जब श्रम–विभाजनप्रति मानिसको दासतापूर्ण जीहजुरीको अन्त्य, बौद्धिक तथा शारीरिक श्रमको प्रतिपक्षताको अन्त्य, व्यक्तिको चतुर्दिक विकास र उत्पादक शक्तिहरू पनि बढ्दै जान्छन्, सार्वजनिक सम्पत्तिको सारा स्रोतहरू भरिपूर्ण भएर प्रवाहित हुन थाल्छन् र समाजले आफ्नो झन्डामा लेख्न सक्छ– प्रत्येकबाट उसको योग्यताअनुसार, प्रत्येकलाई उसको आवश्यकताअनुसार ।’ श्रमको समानता र पारिश्रमिकको समानता कायम हुनेबित्तिकै नै मानव जातिसमक्ष औपचारिक समानताबाट वास्तविक समानतातर्फ पाइला अगाडि बढ्नेछन् । परिमाण गुणमा रूपान्तरित हुन्छ, विशाल एवम् जटिल समाजिकृत यन्त्रद्वारा लाखौँ मजदुरहरूको ‘प्रशिक्षण तथा अनुशासन’, ‘हिसाब–किताब र नियन्त्रण’ आचरण भ्रष्ट, अल्छीका पिण्डहरू, कामचोरहरू, ठगहरू र पुँजीवादी परम्पराहरूका रक्षकहरूमाथि नियन्त्रण ‘कतै जाने ठाउँ रहनेछैन ।’ वैज्ञानिक समाजवाद– साम्यवादले मात्र मानव जातिलाई न्याय, मुक्ति, समानता, शान्ति, स्वाधीनता र समृद्धि दिन सक्छ । यसले वर्ग, जाति, लिङ्ग र क्षेत्रको पर्खाल भत्काउँछ । वैज्ञानिक समाजवाद राजनीतिक रूपले सर्वहारा वर्गको नेतृत्व, किसान–मजदुरको मुख्य भूमिका, उत्पीडित जाति, राष्ट्र, लिङ्ग, समुदायको स्वामित्वमा सत्ता, दलाल पुँजीपति वर्गको निषेध, देशभक्त शक्तिहरूसँगको सहकार्यबाट अघि बढ्छ र वर्गविहीन, राज्यविहीन, सर्वोत्तम मानव समाज, सभ्यता र व्यवस्थामा विकसित हुन्छ । आर्थिक रूपले सामन्ती भूस्वामित्वको अन्त्य, दलाल पुँजीको राष्ट्रियकरण, अति एकाधिकार पुँजीको प्रवेशमा रोक, दलाल एवम् सूदखोर पुँजीमाथि नियन्त्रण, आमजनतालाई गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचनासञ्चार, यातायात आदिको अधिकार सुनिश्चित हुने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकास, राष्ट्रिय एवम् औद्योगिक पुँजीको विकास, उत्पादनमूलक अर्थसम्बन्धको विकासबाट अघि बढ्नेछ । शोषणरहित, समान, सुख–समृद्धिमा विकसित हुनेछ । दलाल पुँजीवादभन्दा फरक दृष्टिकोण, चेतना, जीवनशैली, संस्कार, आचरण र व्यवहारमा वैज्ञानिक समाजवाद अभिव्यक्त एवम् विजयी हुनेछ ।

दलाल पुँजीवाद एवम् दलाल संसदीय व्यवस्थाको अन्त्यपछि स्थापना वा निर्माण गरिने समाज व्यवस्था वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक समाजवादी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत आधारमा वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको निर्माण, प्रयोग र विकास हुनेछ । वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा, उद्देश्य, आधार, अन्तरवस्तु र विशेषताहरू सर्वोत्तम रूप र सार वैज्ञानिक समाजवादमा अभिव्यक्त हुनेछ । एकीकृत जनक्रान्तिद्वारा दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र त्यसको खरानीमा वैज्ञानिक समाजवाद स्थापना र निर्माण हुनेछ । वैज्ञानिक समाजवादी व्यवस्थाको महान् उद्देश्यसँग अविभाज्य जोडिएको छ । तसर्थ, सांस्कृतिक–शैक्षिक क्रान्ति वैज्ञानिक समाजवादी क्रान्तिको अनिवार्य र अभिन्न अङ्ग हुनेछ । वैज्ञानिक समाजवादी सत्तामा मात्र सबै नागरिकलाई शिक्षा हासिल गर्ने समान अधिकार सुनिश्चित हुनेछ । सबैका लागि समान शिक्षा प्रदान गर्ने दायित्व राज्यको हुनेछ । शिक्षा वैज्ञानिक, व्यावहारिक, अनिवार्य, निःशुल्क, सर्वसुलभ र समान हुनेछ । अबको बहस र आन्दोलन वैज्ञानिक समाजवादी शिक्षाका लागि सञ्चालन गरिनेछ । आज वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा, उद्देश्य, आधार, अन्तरवस्तु र विशेषताका बारेमा व्यापक बहस गर्दै अघि बढ्न जरुरी छ । वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको स्थापना वैज्ञानिक समाजवादमा मात्र हुनेछ जुन विज्ञानमा आधारित हुन्छ । पुँजीवादले स्थापना गरेको शैक्षिक व्यवस्थालाई राष्ट्रियकरण तथा सामुदायिकीकरण वैज्ञानिक समाजवादमा हुनेछ । शिक्षामा निजी लगानीको आवश्यकता एवम् औचित्य हुनेछैन । वर्गीय शिक्षाको अन्त्य गर्दै सबैका लागि समान, निःशुल्क, सर्वसुलभ, अनिवार्य र वैज्ञानिक शिक्षाको व्यवस्था गरिनेछ । जनताका छोराछोरीहरूलाई सबै तह र विषयको शिक्षामा सहज पहुँच वैज्ञानिक समाजवादमा हुनेछ । शिक्षाको राज्यले पूर्ण दायित्व लिनेछ । यसलाई रुस, चीन, क्युबा, जनगणतन्त्र कोरियालगायत समाजवादी मुलुकको अन्तर्राष्ट्रिय अनुभव र हाम्रो मुलुकको मौलिक विशेषतामा प्रयोग र विकास गरिनुपर्छ ।

वैज्ञानिक समाजवादी शिक्षाको पहिलो र अन्तिम उद्देश्य वैज्ञानिक समाजवादको निर्माण र सेवा गर्नु हो । त्यसका लागि देश विकासको आधारशिला आवश्यक सक्षम जनशक्ति उत्पादन र नयाँ पूर्ण मानव निर्माण गर्ने हो । यो शिक्षाको मुठीभर मान्छेमा सीमित नभएर सिङ्गो समाजलाई नयाँ एवम् पूर्ण मानव निर्माण गर्ने मूल उद्देश्य हो । त्यसमा सिङ्गो देश प्रयोगशाला र सम्पूर्ण समाजलाई ‘बृहत्् विद्यालय’ मा परिणत गरिनुपर्छ । आमजनतालाई वैज्ञानिक, जीवनोपयोगी, प्राविधिक, सुलभ र सरल रूपले शिक्षाको अधिकार तथा अवसर प्राप्त हुन्छ । यसले सम्पूर्ण जनतालाई वैज्ञानिक दृष्टिकोण एवम् चेतनाको विकास गर्न देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भौगर्भिक अवस्थाबारे शिक्षित गर्दछ । यसले प्रकृति, मानव समाज र राज्यसत्तासम्बन्धी वैज्ञानिक ज्ञान र सीप प्रदान गर्ने विज्ञानले लैस गर्दछ । वैज्ञानिक समाजवादी शैक्षिक क्रान्ति एकीकृत जनक्रान्तिको अनिवार्य र अभिन्न अङ्ग हो । यो शिक्षाले अधिभूतवादी र आदर्शवादी दर्शनका विरुद्ध द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई मुख्य आधार मान्दछ । ‘मानिसको चेतनाले उसको सत्तालाई निर्धारण गर्दैन, बरु त्यसको उल्टो उनीहरूको सामाजिक सत्ताले उनीहरूकोे चेतनालाई निर्धारित गर्छ’ भन्ने महान् माक्र्सको दर्शनलाई जीवन र व्यवहारमा लागू गरिन्छ । अन्तर्राष्ट्रिय रूपमा विश्वसाम्राज्यवाद र राष्ट्रिय स्तरमा दलाल पुँजीवादी सत्ताको दमन र हस्तक्षेपका विरुद्ध देशभक्तिपूर्ण आन्दोलनका पक्षमा सचेत, प्रशिक्षित र सङ्गठित गर्ने उद्देश्य हासिल गर्दछ । वैज्ञानिक समाजवादी शिक्षाले मानव समाज एवम् समृद्धि र सभ्य संस्कृतिको निर्माणमा जोड दिन्छ । यसले ज्ञान सिद्धान्तमा अभूतपूर्ण क्रान्ति ल्याउनेछ र शिक्षालाई जीवन–जगत् बुझ्ने र बदल्ने कार्यभारका रूपमा श्रम–शिक्षा र बहुप्राविधिक शिक्षाको सैद्धान्तिक आधारमा बौद्धिक, शारीरिक विकास र बहुप्राविधिकको अभिप्रायलाई व्यवहारमा प्रयोग गर्नेछ । वैज्ञानिक सामाजवादी शिक्षामा नयाँ सङ्गठनात्मक संरचना, पाठ्यक्रम, पद्धति, शिक्षण मूल्याङ्कन, माध्यम भाषा र विभेदको अन्त्य हुन्छ । वैज्ञानिक ढङ्गले प्रकृति र मानव समाजको समग्र अनुसन्धान गरिने भएकाले वैज्ञानिक समाजवादी शिक्षा सर्वोत्तम छ ।

सन् १९१७ को अक्टोबर क्रान्तिको विजयपछि सोभियत सङ्घमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत क्षेत्रमा आमूल परिवर्तन भएको थियो । सोभियत सङ्घ विश्वको पहिलो समाजवादी मुलुक हो । यसले नै पहिलोपटक विश्वको विशाल एवम् छैटौँ भागमा समाजवाद निर्माणकार्य सुरु ग¥यो । त्यसको आधारमा जनशिक्षा (समाजवादी शिक्षा) को जग निर्माण ग¥यो । समाजवादी शिक्षाको शैक्षिक अवधारणा, उद्देश्य र अन्तरवस्तु माक्र्सवादको मार्गदर्शन र रुसको सापेक्षामा ग¥यो । सन् १९४९ को चिनियाँ नयाँ जनवादी क्रान्तिले विश्वको विशाल भूभागमा नयाँ जनवादी (समाजवादी) सत्ताको जगमा जनवादी (समाजवादी) शिक्षालाई नयाँ ढङ्गले विकास ग¥यो । वैज्ञानिक सामाजिक शिक्षाको सार्वभौमिक, अनिवार्य, समान र निःशुल्क मूल्य–मान्यतालाई आज विश्वका समाजवादी मुलुकहरूले मात्र होइन, पुँजीवादी (साम्राज्यवादी) देशहरूले पनि अनुकरण एवम् अनुसरण गरिरहेका छन् । समाजवादी क्युबाले सन् १९५९ र समाजवादी कोरियाले सन् १९७७ पछि समाजवादी शिक्षाप्रणाली लागू मात्र गरेनन्, शिक्षा क्षेत्रमा महान् उपलब्धि हासिल गरेका छन् । क्युबामा फिडेल क्यास्त्रोले शिक्षामा उच्च जोड दिएर रणनीति, कार्यनीति र कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुभयो । शिक्षालाई विकास रणनीतिका रूपमा अघि सार्ने, सार्वजनिक शिक्षाको एकल अभियान सञ्चालन गरी निजी स्कुल बन्द गर्ने, शैक्षिक सुधार तथा आमूल परिवर्तनका लागि योजनाबद्ध आन्दोलन गर्ने, शिक्षालाई खास मूल्य निर्माणमा केन्द्रित गर्ने, स्कुल÷विश्वविद्यालयलाई उत्पादन र समाजसँग जोड्ने, शिक्षाको संरचनागत सुदृढीकरण गरेर विभेदहरूको अन्त्य गर्ने, अनुसन्धानलाई जोड दिने र शिक्षा विकासको नेतृत्व राज्यले गर्ने उद्देश्य ठोस गरी ठूलो उपलब्धि हासिल गरेर आज क्युबा शिक्षाको नमुना मुलुक बनेको छ । किम इल सुङको नेतृत्वमा सञ्चालित कोरियाली जनक्रान्तिको विजयबाट स्थापना भएको समाजवादी कोरिया समाजवादी शिक्षाका सिद्धान्तलाई व्यवहारमा लागु गर्ने, वर्गीय पक्षधरतामा आधारित शिक्षामा समायोजन गर्ने, शिक्षामा विचारधारा स्थापित गर्ने, शिक्षालाई क्रान्तिसँग जोड्ने, शिक्षाको साङ्गठनिक तथा कार्यगत दायित्व समाजवादी राज्यले लिने मूल्य र मान्यता स्थापित ग¥यो । राजनीतिक र विचारधारात्मक शिक्षा, वैज्ञानिक र प्राविधिक शिक्षा र शारीरिक शिक्षाको अन्तरवस्तु ठोस गरेर लागु ग¥यो । अनुुसन्धानात्मक शिक्षण, सैद्धान्तिक शिक्षालाई व्यवहार र उत्पादन श्रमसँग जोड्ने, सङ्गठित, सामाजिक र राजनीतिक क्रियाकलापलाई सुदृढ गर्ने, स्कुल र सामाजिक शिक्षालाई जोड्ने र स्कुल र प्रौढ शिक्षाको निरन्तरता दिने समाजवादी शिक्षाको विकास र प्रयोग गरेको छ । समाजवादी शिक्षा प्रणाली विश्वव्यापी अनिवार्य, निःशुल्क कामसँगै अध्ययन गर्ने, बालबालिकाको लालन–पालन र शिक्षाको दायित्व राज्यले लिने मान्यताको विकास र प्रयोग गरेको छ । शिक्षा र शिक्षण संस्थाको ठोस जिम्मेवारी, भूमिका, मार्गदर्शन र सहयोग समाजवादी सत्ताले गरिरहेको छ । मानव जातिले हालसम्म हासिल गरेका शिक्षा क्षेत्रका अनुभव र गुणहरूलाई वर्तमान समयमा संश्लेषण गर्दै दलाल पुँजीवादी शिक्षाले राष्ट्र, जनता र मानव समाजका लागि उच्च, वैज्ञानिक र सुसंस्कृत ज्ञान प्राप्त गर्ने, नेपालमा वैज्ञानिक समाजवादी शिक्षाप्रणाली अनिवार्य बनेको छ । हामी नेपालको दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन गर्ने सङ्घर्षको उच्चतम् मोडेल एकीकृत जनक्रान्तिमा छौँ । वैज्ञानिक समाजवादी शिक्षा, जनताको वैज्ञानिक सामाजिक सत्ताबिना सम्भव हुँदैन । ‘लाखौँ–करोडौँ जनताको इच्छालाई साझा आकाङ्क्षामा परिणत गर्ने उद्देश्यले पुरानो समाजप्रति आफ्नोे घृणामा यस सङ्घर्षका निमित्त आफ्ना शक्तिहरूलाई एकबद्ध र सुसङ्गठन गर्ने दृढता, योग्यता र तत्परता पनि जोडिएका छन् । पुरानो शिक्षाप्रणालीलाई नष्ट गर्ने तत्परतालाई उचित ठान्दै–अध्यापनको पुरानो पद्धति, सुगारटाइ र घोकाइको ठाउँमा समग्र मानव ज्ञान ग्रहण गर्ने क्षमता उत्पन्न गर्नुपर्छ ।’
रसियाली कम्युनिस्ट युवक सङ्घको तेस्रो अखिल रसियाली महाधिवेशनको भाषण २० अक्टोबर १९२० युवक सङ्घहरूका कार्यहरू (लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ४१, पृष्ठ २९८–३१८)
महान् लेनिनले भनेझैँ क्रान्तिकारी युवा–विद्यार्थीहरूले वैज्ञानिक समाजवादी शिक्षाका लागि गरिने सङ्घर्षलाई दलाल पुँजीवादी सत्ता परिवर्तन गर्ने एकीकृत जनक्रान्तिमा केन्द्रित गर्न आवश्यक छ । राष्ट्र र जनताको सुन्दर भविष्यका लागि वैज्ञानिक समाजवादी शिक्षा, वैज्ञानिक समाजवादी शिक्षाका लागि एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी सत्ता अनिवार्य छ भन्ने महान् विचारलाई आत्मसात गरौँ ।

(ङ) नयाँ कार्यभारहरू

‘पुरानो पुस्ताको कार्य– बुर्जुवा वर्गलाई सत्ताबाट गलहत्याउनु, बुर्जुवा वर्गका विरुद्ध घृणाभाव जगाउनु, वर्गचेतनाको विकास गर्नु र आफ्नोे शक्तिलाई एकबद्ध पार्ने क्षमता उत्पन्न गर्नु हो । नयाँ पुस्ताले– अब जमिन साफ भएको छ, साम्यवादी समाजको निर्माण गर्नु, कण्ठाग्र सूत्रहरू, परामर्शहरू, निर्देशनहरू, आदेशहरू र कार्यक्रमहरूलाई जीवन्त व्यवहारमा परिणत गर्नु हुनेछ । एक–अर्कासित सम्बद्ध तुल्याउने साम्यवादलाई आफ्नोे व्यावहारिक कार्यको मार्गदर्शक बनाउने’ रसियाली कम्युनिस्ट युवक सङ्घको तेस्रो अखिल रसियाली महाधिवेशनको भाषण २० अक्टोबर १९२० युवक सङ्घहरूका कार्यहरू (लेनिन, सङ्कलित रचना सङ्ग्रह, पाँचौँ संस्करण, खण्ड ४१, पृष्ठ २९८–३१८) । महान् लेनिनले युवा–विद्यार्थीको कार्यभार बताउनुभएको थियो । यो महत्वपूर्ण छ तर हाम्रो मुलुकमा क्रान्ति भएको छैन । कार्यदिशाको निर्माण देशको वस्तुगत खासगरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय परिस्थितिको समेत विश्लेषणका आधारमा निर्माण हुन्छ । क्रान्तिकारी विद्यार्थी आन्दोलनको कार्यदिशाको विकास मुलुकका जल्दाबल्दा शैक्षिक समस्याहरूको पहिचान गरी निश्चित मागहरूका आधारमा आमविद्यार्थीलाई आन्दोलित गर्नुको राजनीतिक महत्व नदेख्ने सङ्कीर्णतावादी र आंशिक सुधारको वरिपरि घुम्ने र राजनीतिक आन्दोलनबाट विद्यार्थी आन्दोलनलाई अलग राख्न खोज्ने अर्थवाद र सुधारवादविरुद्धको सङ्घर्षबाट हुन्छ । राजनीतिक, सामाजिक, आर्थिकलगायत आमूल परिवर्तनको नेतृत्व नेकपाले गरिरहेको छ । विद्यार्थी समुदाय महत्त्वपूर्ण शक्ति मात्र हो । पार्टीको नेतृत्वमा हुने क्रान्तिकारी आन्दोलन र मूलतः एकीकृत जनक्रान्तिको सहयोगी आन्दोलनका रूपमा क्रान्तिकारी विद्यार्थी आन्दोलन हो । यसको वैचारिक तथा राजनीतिक आधार त्यो नै हो । क्रान्तिकारी युवा–विद्यार्थी आन्दोलनको मुख्य उद्देश्य आमविद्यार्थीलाई समाजवादी शिक्षा प्राप्ति र आमूल परिवर्तनका लागि आकर्षित, सङ्गठित र आन्दोलित गर्दै अघि बढाउनु हो । विचार, दृष्टिकोण र लक्ष्यका हिसाबले क्रान्तिकारी विद्यार्थी आन्दोलन सर्वाेत्कृष्ट छ । यसले आंशिक सुधारात्मक आन्दोलनमा मात्र जोड दिने र आमूल परिवर्तनलाई अस्वीकार गर्ने दक्षिणपन्थी अवसरवाद, आमूल परिवर्तनमा मात्र जोड दिई सुधारात्मक आन्दोलनलाई नकार्ने उग्रपन्थी र अलगाववादी दुवै अतिबाट सतर्क रही दक्षिणपन्थी संशोधनवाद, प्रतिक्रियावाद र अर्थवादविरुद्धको सङ्घर्षमा यो अभिव्यक्त गर्नुपर्छ । यसले तत्कालीन रूपमा आमशैक्षिक सुधारको मात्रात्मकताको क्रमभङ्गताबाट गुणात्मक छलाङ आमूल परिवर्तनको दिशाबोध गर्न जरुरी छ । नेपालको कम्युनिस्ट आन्दोलन र विद्यार्थी आन्दोलनमा पनि मूलभूत रूपले प्रतिक्रियावादी, सुधारवादी र क्रान्तिकारी कार्यदिशाबीच त्रिकोणात्मक सङ्घर्ष देखिन्छ । सचेत युवा–विद्यार्थी शक्तिलाई शैक्षिक समस्या र गतिविधिमा मात्र सीमित राख्ने होइन, पेसागत हकहितको आन्दोलनलाई समग्र वर्गसङ्घर्ष ‘एकीकृत जनक्रान्ति’ सँग एकाकार गर्न जरुरी छ । राज्यसत्ताबाहेक अरू सबै भ्रम हो । तसर्थ राजनीतिलाई शीर्षस्थानमा राखेर शैक्षिक आन्दोलनलाई पूरक बनाउन सकिन्छ । समाजको सबभन्दा सचेत, गतिशील, सिर्जनशील र विद्रोही शक्ति युवा–विद्यार्थी हो । विद्यार्थी परिवर्तनको संवाहक पनि हो । सूचना–प्रविधिमा भएको अभूतपूर्व विकासको सकारात्मक र नकारात्मक दुवै कुराले मानिसलाई छिटोभन्दा छिटो विद्युतीय गतिमा प्रभाव पार्ने गरेको छ । अहिलेको युवा–विद्यार्थी भनेको आईटी पुस्ता पनि हो । सामाजिक सञ्जाल (फेसबुक) र साइबर संसारमा नयाँ पुस्ता अभ्यस्त भइरहेको छ । सम्झौताको उद्देश्य राखेर गरिने राजनीतिक तथा शैक्षिक आन्दोलनमाथि अविश्वास, आशङ्का र वितृष्णा पैदा हुने गरेको छ । नयाँ पुस्तालाई कसरी आकर्षित, सङ्गठित र आन्दोलित गर्ने, यो एउटा गहन र घतलाग्दो प्रश्न हो । कुन नारा, माग र आन्दोलनद्वारा नयाँ पुस्तालाई एकीकृत जनक्रान्ति र विद्यार्थी आन्दोलनमा सहभागी गराउने उद्देश्य क्रान्तिकारी विद्यार्थी आन्दोलनले मार्गदर्शन र नेतृत्व गर्नुपर्छ । राजनीति सबै नीतिहरूको मूल नीति हो भन्ने कुराको आवश्यकताबोध गराउनुपर्छ । विगतमा सीमित शिक्षण संस्था र निश्चित विद्यार्थीका बीचबाट आन्दोलन चल्यो । आज परिस्थितिमा तीव्र परिवर्तन आएको छ र हाम्रो कार्यक्षेत्र पनि नयाँमा विस्तार भएको छ । सामुदायिक होस् वा निजी शिक्षण संस्थाहरू, आज विकृति र विसङ्गतिका अखडा बनिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सङ्गठन र सङ्घर्षको लहर क्रमशः पोखरा, पूर्वाञ्चल, काठमाडौँ विश्वविद्यालय र सीटीईभीटीसम्म सल्किरहेको छ तर त्यसलाई अझै विस्तार र सुदृढ गर्न आवश्यक छ । नयाँ परिस्थितिले सिर्जना गरेको नयाँ शैक्षिक कार्यक्षेत्रको नेतृत्व गर्न निम्नकार्यहरू व्यवस्थित गर्र्नुपर्छ ः राजनीति र शिक्षा, विद्यार्थी र राजनीति, राज्यसत्ता र शिक्षाको अन्तरसम्बन्धबारे विद्यालयदेखि विश्वविद्यालय तहमा छलफल तथा अन्तरक्रिया आयोजना र सञ्चालन गर्ने, विगतका राजनीतिक तथा शैक्षिक आन्दोलहरूको उपलब्धि तथा सकारात्मक शिक्षाहरूबारे बहस सञ्चालन गर्ने, शैक्षिक सङ्घर्ष, सिर्जनात्मक क्रियाकलाप आदिको माध्यमबाट आमविद्यार्थीलाई आकर्षित, सङ्गठित तथा आन्दोलित गरेर मात्र नयाँ कार्यभारहरूको दृढ कार्यान्वयन गर्न सकिन्छ । विद्यार्थी शक्तिले पेसागत हकहित र अधिकारका लागि मात्र होइन, सबै राजनीतिक आन्दोलनमा महत्वपूर्ण तथा अविस्मरणीय भूमिका निर्वाह गरेको इतिहास सर्वविदितै छ । महान् जनयुद्धपूर्व र त्यसको थालनीपछि युवा–विद्यार्थीले जनयुद्धका लागि देशव्यापी आधार तयार पार्ने र त्यसको सेवा गर्ने काम सामान्य समर्थन र सहयोगमा सीमित थिएन । आत्मत्यागमय ढङ्गले क्रान्तिको सेवा आफ्नो निजी पढाइ–परीक्षा र स्वार्थको तिलाञ्जली दिएर गरेका थिए । महान् जनयुद्धमा भौतिक रूपले सशक्त र मानसिक रूपले सचेत युवा–विद्यार्थीको प्रत्यक्ष भौतिक सहभागिता थियो । तमामखाले गलत प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने र शोषित–उत्पीडित बहुसङ्ख्यक जनताको हितका लागि समर्पित भएर मात्र ऐतिहासिक एवम् अग्रीम भूमिका निर्वाह गर्न सकिन्छ । वर्गसमाज रहेसम्म त्यसको प्रभाव पार्टी र सङ्गठनहरूमा पनि रहिरहन्छ । वर्गसङ्घर्षसँगै अन्तरसङ्घर्ष पनि जारी रहन्छ । यो क्रान्तिको सार्वभौम नियम पनि हो । त्यसैले क्रान्तिकारीहरूले गैरसर्वहारावादी खराब प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्नुपर्छ । यो वर्गसङ्घर्षको अनिवार्य सर्त हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनलाई व्यापक विद्यार्थी समुदायबीच फैलाएर, दलाल, राष्ट्रघाती र जनघाती सत्ताको दमनका विरुद्ध जुझारु र बृहत्् आन्दोलन सङ्गठित गरेर, पुरानो शिक्षाप्रणाली ध्वस्त पार्न देशव्यापी आन्दोलन सञ्चालन गरेर, वैज्ञानिक दृष्टिकोण र नयाँ विचारको गहन अध्ययन र व्यापक प्रसार–प्रचार गरेर र प्रत्येक विद्यालय, क्याम्पस÷कलेज र विश्वविद्यालयलाई विशिष्ट मोर्चामा बदलेर मात्र युवा–विद्यार्थीले एकीकृत जनक्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्छन् । पार्टीकोे आठौँ महाधिवेशनले संश्लेषण गरेका महत्वपूर्ण सैद्धान्तिक विषयहरू दर्शन, विश्वसाम्राज्यवाद, कार्यदिशा, कम्युनिस्ट पार्टी सञ्चालनको विधि र दृष्टिकोण, कम्युनिस्ट आर्थिक प्रणाली, राजनीतिक कार्यक्रम, राष्ट्रिय (जातीय) मुक्तिको प्रश्नलगायतको गम्भीर अध्ययन, विश्लेषण, सम्प्रेषण र दृढ कार्यान्वयनमा क्रान्तिकारी युवा–विद्यार्थीहरूले अभियानात्मक रूपले अघि बढ्न जरुरी छ ।

अन्त्यमा वर्तमान अवस्थालाई सही ढङ्गले बुझ्न र बदल्न, दलाल पँुजीवादी शिक्षाप्रणालीको अन्त्यका लागि दलाल पुँजीवाद एवम् दलाल संसदीय व्यवस्थाको अन्त्यपछि स्थापना वा निर्माण गरिने समाज व्यवस्था वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक समाजवादी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत आधारमा वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको निर्माण, प्रयोग र विकास हुनेछ । दलाल पुँजीवादी संसदीय व्यवस्था र शिक्षाको अन्त्य गर्ने र वैज्ञानिक समाजवाद एवम् शिक्षा स्थापनाको बहस एवम् आन्दोलन गर्ने युवा–विद्यार्थीका मुख्य कार्यभारहरू हुन् । राष्ट्र र जनताको सुखी जीवन एवम् सुन्दर भविष्यका लागि वैज्ञानिक समाजवादी शिक्षा, वैज्ञानिक समाजवादी शिक्षाका लागि एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी सत्ता अनिवार्य छ भन्ने महान् विचारलाई आत्मसात गरौँ । क्रान्ति सम्भव र अवश्यम्भाबी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :