दाङः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती ब्यूरो संयोजक दिपक बिष्टले नेपाली आकाशमाथि साम्राज्यवादको हेलिकप्टरले गस्ती गरिरहेको नदेख्ने नेपाली दलाल शासकहरुका विरुद्ध लड्ने उद्घोष गरेका छन् ।
नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको युवा संगठन नेपाल दाङ र अखिल (क्रान्तिकारी) दाङको संयुक्त आयोजना आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता दिपकले उक्त कुरा बताएका हुन् । उनले भारतीय साम्राज्यवादले पटकपटक नेपालको राष्ट्रियतामाथि प्रहार गरिरहेकाले अब चुप लागेर बस्न नसकिने बताए । उनले भने, `नेपाली जनताहरु अब चुप लागेर बस्नु हुदैन, देश र जनताको मुक्तिको लागि भारतीय साम्राज्यवाद र नेपाली गुलाम शासकहरुका विरुद्ध निर्मम संघर्ष गर्नुपर्छ ।`
एक अर्को प्रसंगमा नेता दिपकले बेलायती दासत्वबाट मुक्त भएको करिब सात दशक बितिसक्दा पनि भारतिय शासकहरु दास मानसिकताबाट पीडित भएको जिकिर गरे ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता युवा संगठन नेपाल दाङका सचिव सुदर्शनले देश र जनताको रक्षाको निम्ति आफुहरु अमुल्य जीवन बलिदान गर्न तयार रहेको बताए । उनले जय सिंह धामीको हत्याको विषयमा नेपाल सरकारले तयार पारेको प्रतिवेदनमाथी भारतीय विदेश मन्त्रालयका प्रवक्ताको हेपाहा अभिव्यक्तिको घोर भत्सर्ना गरे ।
नेपाल राष्ट्रको रक्षा र जनताको मुक्तिका लागि निर्मम संघर्ष गर्दैगर्दा भारतिय साम्राज्यवाद वा नेपालका वैदेशिक गुलाम शासकहरुको गोली खान पनि तयार रहेको नेता सुदर्शनको उद्घोष थियो । उनले नेपाली जनताको अनुमति नलिई नेपाली आकाशमाथि उडिरहेको हेलिकप्टर तत्काल फिर्ता लिनुपर्ने बताएका थिए ।
संयुक्त विरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले गरेका थिए ।