तालिबानको पुनरागमन र साम्राज्यवादको पतन

तालिबानको पुनरागमन र साम्राज्यवादको पतन

दक्षिणएसियाली मुलुक र सार्क सदस्य राष्ट्र अफगानिस्तानको सत्तामा २० वर्षपछि विद्रोही कट्टर मुस्लिम जातिवादी सङ्गठन तालिबानको पुनरागमन भएको छ । अमेरिकी साम्राज्यवादको सेखी तोड्ने गरी २० वर्षअघि ट्विन टावर ढालिदिने अल कायदा प्रमुख बिन लादेनलाई गिरफ्तार गरेर बुझाउन अस्वीकार गर्ने तत्कालीन तालिबान सत्तासँग बदला लिन अफगानिस्तानमाथि अन्यायपूर्वक हमला गरी अमेरिकाले तालिबान सत्ता ढालेर कठपुतली सत्ता निर्माण गरेको थियो । कालान्तरमा अफगानिस्तानबाट अमेरिकी साम्राज्यवादसँगै उसको कठपुतली सत्ता पनि पत्तासाफ बनेको छ । अमेरिकी कठपुतली राष्ट्रपति र उपराष्ट्रपति दुवैले देश नै छोड्नुपर्ने अवस्था उत्पन्न भएको छ । अफगानिस्तानमा ढलिमली गरिरहेको साम्राज्यवादी अमेरिकी सेना र उसको गठबन्धन शक्ति हिँडेको डेढ महिनाभित्रै कट्टरपन्थी मुस्लिम विद्रोही शक्ति तालिबान सहजै सत्तासीन बनेको छ । पछिल्लो विश्वराजनीतिका लागि यो महत्वपूर्ण परिघटना हो र अमेरिकी साम्राज्यवादको राजनीतिक जीवनमा कोरिया, भियनताम, क्युबालगायत समाजवादी मुलुकपछिको यो ठूलो पराजय हो । अमेरिकी साम्राज्यवादको यो पतनले अब उसको समाप्तिका दिनहरूको गन्ती हुन थालेको छ भन्ने अर्थ लगाउन सकिन्छ । नेपालभन्दा सानो मुलुक जनगणतन्त्र कोरिया एक्लैले हावाकावा खेलाइरहेको साम्राज्यवादी अमेरिकी दम्भ अब एसियाको अर्को मुलुक अफगानिस्तानबाट पतन भएको छ । अफगानिस्तानमा तालिबान फर्किनुभन्दा पनि अमेरिका फर्किनुलाई अर्थपूर्ण र सुखद रुपमा लिइएको छ ।

तालिबानले राजधानी सहर पनि कब्जा गरेपछि अमेरिकी कठपुतली राष्ट्रपति असरफ घानी देश छोडेर भागेका छन् । भाग्नुअघि अमेरिकी कठपुतली राष्ट्रपति असरफ घानीका अघिल्तिर विद्रोही तालिबानको सामना गर्नु वा आत्मसमर्पण गर्नु/पलायन हुनु दुईवटा मात्र विकल्प थिए । घानीले भागेर दोस्रो र सजिलो बाटो रोजेका छन् । घानीले कठपुतली सत्ता रूखको ऐँजेरु वा तासको घर मात्र भएको र यसको आयु लामो नहुने घटना पनि चरितार्थ गरेका छन् । अफगानिस्तानमा कठपुतली घानी सत्तासँगभन्दा तालिबानसँग जनता बढी आशावादी देखिएका हुन् कि भन्ने दृश्य तालिबानले राजधानी कब्जा गरेसँगै जनताले खुसीयाली मनाएका घटनाहरूले पनि सङ्केत गर्छन् । अफगानिस्तानमा आमूल परिवर्तनकारी शक्तिले विद्रोहको नेतृत्व गर्न नसकेका कारण पनि यस्तो भान परेको हुनसक्छ ।

अमेरिकी साम्राज्यवादको शर्मनाक पराजय र उसको कठपुतली सत्ताको पतनको पछिल्लो र ताजा उदाहरण अफगानिस्तान बनेको छ यद्यपि तालिबान विद्रोही शक्ति भए पनि यो प्रगतिशील र जनपक्षीय शक्ति भने होइन । आफ्नो अतिवादी र रूढिवादी चरित्रका कारण अफगानिस्तानका जनताले साम्राज्यवादको कठपुतली सत्ताको समयमा भन्दा साह्रै धेरै खुसी महसुस गरेको भने पाइएको छैन यद्यपि साम्राज्यवादी शक्तिको पलायन र कठपुतली सत्ताको पतनपछि अफगानिस्तानको भूमिमा जनताले खुसीयाली भने मनाएका छन् । यो अवस्था तालिबानको पुनरागमनभन्दा पनि साम्राज्यवादको पलायन र पतनका कारण उत्पन्न भएको बुझ्न कुनै गाह्रो छैन ।

अमेरिकी साम्राज्यवादले विश्वमा बढ्दो समाजवादी लहर रोक्नका लागि तालिबान, अल कायदाजस्ता अतिवादी शक्तिहरू जन्माएको थियो । एकातिर कठपुतली सत्ता निर्माण गर्ने र अर्कोतिर अफगानिस्तानलाई लुटिसकेपछि विद्रोही अर्थात् आफैँले सत्ताच्यूत गराएको शक्ति तालिबानसँग वार्ता गरेर कठपुतली सरकारलाई समाप्त पार्ने अमेरिकी साम्राज्यवादको दोहोरो चरित्र र खेल यो घटनाले झनै उदाङ्गो बनेको छ । असरफ घानी सरकारको पतनले साम्राज्यवादी एजेन्ट र दलालहरू आफ्नो र जनताको शक्तिमा भन्दा पनि मालिकको आडभरोसामा टिकेका ऐँजेरु मात्र हुन् भन्ने प्रमाणित भएको छ ।

आमूल परिवर्तनकारी अर्थात् मालेमावादीहरूका लागि तालिबान कुनै आदर्श शक्ति वा विद्रोही होइन । यसले पनि अफगानिस्तान र त्यहाँका श्रमिक जनताको मुक्ति दिँदैन तर पनि विश्वभर दादागिरी मच्चाइरहेको अमेरिकी साम्राज्यवादको लज्जाजनक पराजय र पतनले भने साम्राज्यवादको आयु अब धेरै लामो छैन, देश र जनतासँग स्वार्थ गाँसिएको विद्रोहले साम्राज्यवादलाई धुलो चटाएरै छोड्नेछ भन्ने प्रमाणित गरिदिएको छ ।

जबर्जस्ती अफगानिस्तानमाथि आक्रमण गरी कब्जा जमाएको २० वर्षमा अमेरिकी साम्राज्यवादले अर्बौं डलर खर्चियो । एक लाख १० हजारसम्म सैनिक परिचालन गर्यो । अफगानिस्तानमाथि आक्रमण गरेपछि अमेरिकाले वार्षिक एक खर्ब डलरसम्म खर्च गर्यो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्म अमेरिकाले सात खर्ब ७८ अर्ब डलर रकम खर्च गरेको छ । पुनर्निर्माणको बहानामा थप ४४ अर्ब डलर खर्च गरिएको छ । अफगानिस्तानमा अमेरिकापछि सबैभन्दा धेरै सेना खटाउने बेलायत र जर्मनीले पनि क्रमशः ३० अर्ब र १९ अर्ब डलर खर्च गरेका थिए । सन् २००१ मा अमेरिकाले तालिबानमाथि आक्रमण सुरु गरेपछि ३५०० विदेशी सैनिकको मृत्यु भएकोमा २,३०० त अमेरिकी सैनिक मात्र मारिएका छन् । बेलायतका ४५० सेनाको मृत्यु भएको छ भने २० हजारभन्दा धेरै अमेरिकी सैनिक घाइते भएको तथ्याङ्क छ । त्यस्तै अफगानिस्तानमा सन् २०१९ अघि पाँच वर्षमा मात्र ४५ हजारभन्दा धेरै अफगानी सेनाको मृत्यु भएको थियो । ब्राउन युनिभर्सिटीले २०१९ मा सार्वजनिक गरेको आकलनअनुसार सन् २००१ मा अफगानिस्तानमाथि अमेरिकी अक्रमण सुरु भएपछि ६४ हजारभन्दा धेरै अफगानी सुरक्षाकर्मी मारिए । सन् २००९ यता मात्र अफगानिस्तानमा एक लाख ११ हजारभन्दा धेरै आमनागरिकको मृत्यु भएको तथ्याङ्क छ ।

यसरी अफगानिस्तानमा साम्रज्यवादले लादेको कहालीलाग्दो युद्धको एउटा युग समाप्त भएको छ तर नयाँ युगको आरम्भ पनि भएको छैन । साम्राज्यवादी स्वार्थमा केन्द्रित विशुद्ध जातिवादी, धार्मिक, क्षेत्रीय युद्ध, आक्रमण र हिंसा–प्रतिहिंसाले केही पनि दिँदैनन् भन्ने उदाहरण पनि अफगानिस्तान बनेको छ । अफगानिस्तानबाट अमेरिकाको पतनपछि नेपाली शासकहरूले पनि साम्राज्यवादी स्वार्थ र त्यसले निम्त्याउने विनाशका बारेमा बेलैमा बुझ्नु आवश्यक छ । एमसीसी वा अरू कुनै पनि स्वार्थ लिएर नेपाल छिर्ने अमेरिकी साम्राज्यवादले युद्ध, विनाश र नरसंहार उपहार दिएर भाग्छ भन्ने कुरा नेपाली शासक र राजनीतिक पार्टीहरूले बेलैमा बुझ्नु आवश्यक छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :