काठमाडौँ : कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ लाख ६४ हजार ३५४ जनाको मृत्यु भएको छ । कोरोनाविरुद्धको खोप प्रभावकारी रूपमा प्रयोगमा आइनसक्दै बेलायत, भारत, चीनलगायत मुलुकमा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सन्त्रास झनै बढेको छ ।
गत २४ घन्टामा विश्वभर ९ हजारभन्दा धेरैको मृत्यु भएको छ । कुल सङ्क्रमितको आधारमा मृत्यु हुनेको सङ्ख्या २.१७ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
शनिबार बिहानसम्म विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ५ लाख ५२ हजारभन्दा बढीमा सङ्क्रमण भएको पाइएको छ ।
वर्ल्डोमिटर्सका अनुसार विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको सङ्क्रमण जितेका छन् । शनिबार बिहानसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ करोड ९६ हजार २१ हजार नाघेको छ । २७ प्रतिशत सङ्क्रमितले उपचार गराइरहेको जनाइएको छ । सक्रिय सङ्क्रमित २ करोड २८ लाख ९६ हजार ९२२ मध्ये १ लाख ६ हजार ५५७ जनाको अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ ।
सङ्क्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा २ करोड ६ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । ३ लाख ५६ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ । भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्कीलगायत देश सङ्क्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।
सङ्क्रमण सुरु भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको सङ्क्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।
प्राप्त विवरणअनुसार बेलायतमा पहिलोपटक देखिएको नयाँ प्रजातिको भाइरस चीनमा पनि देखिएको छ । फ्रान्स, अमेरिका र भारतमा पनि नयाँ प्रजातिको भाइरस पुष्टि भएको बताइएको छ ।