जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया
झन्पछि झन् बढिरा’छ मेरो देशको माया ।
साम्राज्यवाद युद्ध बोकी नेपाल भित्रिरा’छ
सडकभरि देशभक्तको ताँती लागिरा’छ ।
लिम्प्याधुरा, कालापानी, लिपुलेक रुन्छन्
मलाई मुक्त पार भन्दै सुँक्क–सुँक्क गर्छन् ।
आमा रोको पीडाभन्दा ठूलो पीडा के छ ?
जन्मभूमि, कर्मभूमि, प्यारो मेरो देश !
यो आँखाको नानीभन्दा देश ठूलो रैछ
मुटुभन्दा जन्मभूमि– माटो प्यारो रै’छ ।
बालककालमा पैतालाका छाप बसेका थे
पिठ्युँदेखि थाप्लोसम्म डाम बसेका थे ।
चिँचिँ गर्दै उड्छे चरी मैलाई सम्झिएर
देउरालीको ढुङ्गो बस्छ मैलाई पर्खिएर ।
थाले ढुङ्गो उदास देख्छुु हेर्छ टोलाएर
मुजुर, ढुकुर हिँड्छन् बरै मैलाई बोलाएर
पुतली र चिबे चरी मैलाई देखी नाच्छन्
सगरमाथा, तामाकोसी हेर्दै मुस्कुराउँछन् ।
दालिङ्गे र सल्ट्यार पाखा हर्दम सुसाएर
रनजोर र नयाँ घर रुक्छन् बिसाएर ।
बलभद्र, भक्ति थापा, अमरसिंह खोज्दैछु म
देशका लागि टाउको दिने भीमदत्त–पथ रोज्दैछु म ।
गर्मी हुँदा शीतल दिन्छ्यौ, ठन्डी हुँदा ताप
हाम्रो जीवन खुसीसँग बितोस् तिम्रैसाथ ।
तिम्रै सुवास पछ्याउँदै लडेका छौँ आमा !
हृदयमा अमीट छ मेरो देशको माया ।