भारतीय सेनाप्रमुख नरवणेको नेपाल भ्रमणविरुद्ध रामेछापमा भव्य प्रदर्शन

भारतीय सेनाप्रमुख नरवणेको नेपाल भ्रमणविरुद्ध रामेछापमा भव्य प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले सरकारले कोरोना सङ्क्रमणका नाममा गरेको भ्रष्टाचार, मौलाउँदो कमिसनतन्त्रका साथै भारतीय सेनाप्रमुख नरवणेको नेपाल भ्रमणले नेपालको सार्वभौमसत्तामाथि आँच पुर्याएकाले त्यसका विरुद्धमा भव्य र्यालीसहित कार्यक्रम सम्पन्न गरेको छ ।

रामेछाप जिल्लाको खाँडादेवी गापामा स्थानीय जनता र पार्टी नेता–कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा सरकारविरुद्ध गगनभेदी नारासहित विरोध कार्यक्रम आयोजना गरिएको नेकपा रामेछापले जनाएको छ ।

कार्यक्रमका सहभागीले ‘आदेश देऊ विप्लव– युद्ध लड्न तयार छौँ, भारतीय सेना नेपाल छोड्, राष्ट्रिय स्वाधीनताको रक्षा गर’ लगायत नारा लगाएका थिए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै नेकपा रामेछापका सेक्रेटरी विवेकले कोरोनाले महामारीको रूप लिएको बेला सत्ताधारीहरू भने भ्रष्टाचार र कमिसनमा लिप्त भएको, आफ्नो कुर्सी बचाउने षड्यन्त्रमा लागेकाले यसको विकल्प एकीकृत जनक्रान्ति रहेको बताए । उनले जनता आफैँले कोरोना सङ्क्रमणको उपचार गर्नुपर्ने निर्णय गरेर सरकारले जनघात गरिरहेको धारणा पनि राखे ।

सेक्रेटरी विवेकले भारतीय सेना प्रमुख नरवणेलाई नेपाल भित्र्याएर सम्मान गरी सरकारले नेपाल आमाको अस्मितामाथि बलात्कार गरेको भन्दै खेदपूर्ण आक्रोश पनि व्यक्त गरेका थिए । उनले भने, ‘यो सरासर राष्ट्रघात हो । नेपालको सार्वभौमिकतामाथिको थिचोमिचो हो । नेपाललाई साम्रज्यवादी दासताबाट मुक्त गर्न अब राष्ट्रिय मुक्ति आन्दोलनको खाँचो भइसकेको छ । राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व नेकपाले गरिरहेको छ । यो आन्दोलनमा सम्पूर्ण देशभक्त शक्तिहरू गोलबन्द हुनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :