चौतर्फी विरोध र आलोचनाबीच भारतीय सेनाध्यक्ष नरवणे नेपाल आए

विश्लेषकहरू भन्छन्– नरवणेका लागि आक्रोश र घृणाबाहेक नेपालीको कुनै सम्मान छैन

चौतर्फी विरोध र आलोचनाबीच भारतीय सेनाध्यक्ष नरवणे नेपाल आए

काठमाडौँ : नेपालको राष्ट्रियता र नेपाली भूमिका विरुद्ध बोलेर अत्यधिक आलोचना खेपिरहेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे आज मध्याह्न नेपाल आइपुगेका छन् । उनी भारतीय सैनिक जहाजबाट नेपाल आएका हुन् । उनलाई सोल्टीि होटेल पुर्याइएको छ । नरवणेको नेपाल आगमनविरुद्ध विभिन्न २१ वामपन्थी राजनीतिक दलका साथै ८ विद्यार्थी सङ्गठनले आन्दोलन गरिरहेका छन् ।

समाचारअनुसार नरवणे मध्याह्न काठमाडौँमा ओर्लंदा काठमाडौँलगायत देशभर उनका विरुद्ध नाराजुलुस भइरहेको छ । भारतीय सेनाध्यक्ष नरवणेलाई वली सरकारले भोलि नेपाली सेनाको मानार्थ सेनाध्यक्षको सम्मान प्रदान गर्ने कार्यक्रम छ । नेपाली राष्ट्रियताविरुद्ध बोलेर नेपाली जनताको घृणा र आक्रोशका पात्र बनेका नरवणेलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ उपाधि प्रदान गर्ने बताइएको छ ।

नरवणेले नेपालमा आफ्ना हितैषी प्रधानमन्त्री केपी वलीसँग पनि भेट गर्ने बताइएको छ । नरवणेलाई मानार्थ सेनाध्यक्षको पदवी दिने विषयमा गम्भीर विवाद भइरहेको समयमा प्रधानमन्त्री वलीले रक्षा मन्त्रालय आफ्नो जिम्मामा ल्याएका थिए । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि नरवणेको भेटवार्ता हुने बताइएको छ । नरवणे नेपालबाट भारत फर्किंदा तीन करोड देशभक्त नेपालीको घृणा र आक्रोशको सन्देश लिएर फर्किने विश्लेषकहरू बताउँछन् ।

भारतीय साम्राज्यवादले नेपालका लिपुलेक, कालापानी, लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा समेत सामेल गरेपछि जनताको व्यापक आक्रोश र आन्दोलनको दबाबमा केपी वली उक्त भूमि समेटिएको नेपालको नक्सा जारी गर्न बाध्य भएका थिए । नेपालले नयाँ नक्सा जारी गरी कूटनीतिक नोट पठाएपछि भारत रुष्ट बनेका बेला भारतीय सेनाध्यक्ष नरवणेले नेपालले कसैको उक्साहटमा सीमा विवाद उचालेको र कालापानीदेखि लिपुलेकसम्मको भूमि भारतकै हो भनेपछि उनको विरोधमा आन्दोलन जारी छ । देशभक्त नेपालीले आन्दोलन जारी राखेकै समयमा केपी वली सरकारले नरवणेलाई निम्ता गरी सम्मान गर्न थालेपछि वली सरकारको समेत चर्को निन्दा र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :