भरतीय सेना प्रमुखको नेपाल भ्रमण र सरकारी राष्ट्रघातको प्रतिरोध गर्ने आठ विद्यार्थी सङ्गठनको घोषणा

भरतीय सेना प्रमुखको नेपाल भ्रमण र सरकारी राष्ट्रघातको प्रतिरोध गर्ने आठ विद्यार्थी सङ्गठनको घोषणा

काठमाडौँ : राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आन्दोलनरत आठवटा विद्यार्थी सङ्गठनले भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज गर्न लागेको नेपाल भ्रमणको प्रतिरोध गर्ने घोषणा गरेका छन् । चिरञ्जीवी ढकाल, (अध्यक्ष, अखिल क्रान्तिकारी), रूपनारायण श्रेष्ठ (अध्यक्ष, समाजवादी विद्यार्थी युनियन), विमल पोखरेल (अध्यक्ष, अखिल छैटौंँ), घनश्याम मिश्र (अध्यक्ष, अखिल पाँचौँ), आलोक रायमाझी (अध्यक्ष, अखिल क्रान्तिकारी), धनसुर शाही (अध्यक्ष, राप्रविसङ्घ (संयुक्त), मनीष भट्टराई (सचिवालय सदस्य, अखिल नेपाल विद्यार्थी युनियन) र हिमाल थापा (उपाध्यक्ष, राष्ट्रिय विद्यार्थी सङ्घ) ले आज संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रियताको रक्षाका लागि राष्ट्रघाती शक्तिहरूको प्रतिवाद गर्ने घोषणा गरेका हुन् ।

संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘आज मिति २०७७ कात्तिक १९ गते तदनुसार ४ नोभेम्बर २०२० का दिन भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणका सन्दर्भमा हाम्रो गम्भीर ध्यानार्कषण भएको छ । केही समयअघि मात्र भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख सामन्त गोयल नेपालमा आएर प्रधानमन्त्रीसमेतका नेताहरूलाई परराष्ट्र कूटनीतिक मर्यादाविपरीत भेटेर गएका थिए । गोयलले प्रधानमन्त्री वलीलाई ‘वान–टु–वान’ भेटेको र उक्त भेटमा भएका कुराहरू अझैसम्म सार्वजनिक गरिएको छैन । अर्को मुलुकको एउटा सामान्य कर्मचारी रहेका गोयललाई परराष्ट्र नीति, प्रोटोकलविपरीत भेटेका प्रधानमन्त्री वलीको कथित राष्ट्रवादको मुकुन्डो उदाङ्गिएको छ । वलीको यस्तो हर्कतले उसको सरकारको स्वघोषित राष्ट्रवाद पानीको फोकाझैँ सिद्ध भएको छ र दलाल शासकहरूको यस्तो राष्ट्रघातले सिङ्को देश र जनताको नुर गिराउने कार्य गरेको छ ।’

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्तो पृष्ठभूमिमा भारतीय सेनाध्यक्ष नरवणेको आजको नेपाल भ्रमणले नेपालका सच्चा क्रान्तिकारी कम्युनिस्ट, राष्ट्रवादी–देशभक्त युवा विद्यार्थीहरूलाई मात्रै नभएर आमनेपाली जनतालाई राष्ट्रघातको अर्को शृङ्खला थपिने कुराले चिन्तित तुल्याएको छ । विगतमा नेपालको राष्ट्रियता, अखण्डता र सीमा सम्बन्धमा आपत्तिजनक अभिव्यक्ति दिएका व्यक्तिहरूलाई देशमा बोलाएर विभिन्न मानपदवीले विभूषित गर्नु वली सरकारको लज्जास्पद कार्य हो । अहिलेको भूमण्डलीकृत विश्वमा संसारका हरेक देशहरूबीच आपसी सम्बन्ध राम्रो बनाउन निःस्वार्थ प्रयत्नका भ्रमणहरूको आयोजना हुनु स्वाभाविक छ तर वीरताको गर्विलो इतिहास बोकेको हाम्रो देश नेपालमा आफ्ना विस्तारवादी÷साम्राज्यवादी नीतिहरू लाद्ने धृष्टताका साथ गरिने यस्ता भ्रमणहरूको हामी घोर विरोध एवम् भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका शासकहरूको दलाल चरित्रका कारण भारतीय शासकहरूले नेपालको करिब ७८ हजार हेक्टर जमिन मिचेका छन्, नेपाली भूमि कालापानीमा सैन्य अखडा स्थापना गरेको छ भने लिम्पियाधुरा र लिपुलेक कब्जा गरेको छ । मिचिएको नेपाली भूभाग तत्काल फिर्ता गर्न र कालापानी क्षेत्रबाट आफ्नो सेना तत्काल फिर्ता लैजान संयुक्त विद्यार्थी आन्दोलन भारतीय शासकहरूसँग जोडदार माग गर्दछौँ । दलाली, भ्रष्टाचार, राष्ट्रघात, नातावाद, कृपावादमा कीर्तिमान कायम गरिरहेको वर्तमान वली सरकारलाई आफ्नो देशको परराष्ट्र नीति, मूल्य, मान्यताविपरीत सत्तास्वार्थका लागि विदेशी÷भारतीयसामु कुनै पनि प्रकारको राष्ट्रघात नगर्न संयुक्त विद्यार्थी आन्दोलन सचेत गराउन चाहन्छ । आफ्नो मुलुकको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानमा खलल पुग्ने कुनै पनि हर्कत नगर्न अन्यथा कडाभन्दा कडा सङ्घर्षमार्फत त्यस्ता राष्ट्रघाती कार्यका विरुद्ध सशक्त प्रतिवाद गरिने कुरा संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट स्पष्ट पार्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :