उच्च आकाङ्क्षा बोकेर लेनिनग्रादमा

आज सन् २०१७ नोभेम्बर पाँच तारिख । अब लगातार ६ दिनसम्म हामी यही लेनिनग्रादमा बस्नेछौँ र अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलनका विभिन्न गतिविधिमा सामेल हुनेछौँ ।

रेलबाट झर्दानझर्दै आयोजक संस्थाका कमरेडहरु हाम्रो सेवामा तल्लीन थिए । कमरेड दिमित्री, कमरेड अलेक्स हामीसँगै भएकाले कुनै कठिनाइ महसुस भएन । हामी एकछिन यात्रा गरेर सम्बन्धित होटेलमा पुग्यौँ । यिनै रेलको यात्रा गर्न र होटेलमा बस्नका लागि भनेर हामीले नेपालमै केही रकम जम्मा गरेर पठाइसकेका थियौँ । हामी बिहानै पुगेकाले होटेलका कोठा खाली भइसकेका रहेनछन् । लबीमै हाम्रा सुटकेसहरु थन्क्यायौँ र चियानास्ता गर्न भनेर हामी बाहिरियौँ । लेनिनग्राद पुग्दा सिमसिम पानी परिरहेको थियो । रुसको उत्तरी भूभाग, युरोपको पूर्वी क्षेत्र र फिनल्यान्डको सीमा रहेको यो समुद्री तट भएकाले यहाँ प्रायः पानी परिरहने, घाम नलाग्ने जानकारी हामीलाई आयोजकहरुले दिए । मस्कोको माइनस तापक्रम सजिलै पचाएका हामीलाई लेनिनग्रादको चीसो पचाउन कुनै गाह्रो थिएन तर पनि घामै लाग्दैन रे भन्ने सुन्दा बाहिरी चीसो भित्र कताकता छुँदै लहरियो तर पनि हामी हिम्मत कसेर बजारतिर निस्कियौँ । हामीले एक फन्को लगाउँदासम्म पनि लेनिनग्राद ब्युँझिएको थिएन । मध्यरातसम्म व्यापार गर्ने र चहलपहल रहने यो सहर बिहान १० बजेसम्म सुस्ताइरहने रहेछ ।

कमरेड आन्द्रेई (मैले सुरुमै राखिदिएको नाम कमरेड चे) थपिनुभएको छ हाम्रो लेनिनग्रादको यात्रामा । आन्द्रेई यहीँका स्थायी बासिन्दा हुनुहुन्छ । मस्कोका कमरेड दिमित्री र त्यहाँबाट झन्डै ६ हजार किलोमिटर दूरीमा रहेको लेनिनग्रादका कमरेड आन्द्रेई अनि दक्षिणएसियाका हामी सबैलाई जोड्ने एउटै कडी थियो लेनिनवाद । अक्टोबर क्रान्तिको सफलतापछि नै कमरेड स्टालिनले संश्लेषण गर्नुभएको थियो लेनिनका योगदान र विचारहरुलाई लेनिनवाद भनेर । लेनिनवादले हामीलाई मात्र होइन, संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुलाई रुसमा भेला गराएको थियो– ब्राजिलदेखि पेरुसम्म, बेलायतदेखि बेल्जियमसम्मका लेनिनवादीहरुलाई एउटै मोर्चा र मञ्चमा एकत्रित गराएको थियो । लेनिनवादका मात्र नभएर जुछे विचारका समेत पक्षपोषक थिए कमरेड दिमित्री, कमरेड चे र कमरेड भादिमहरु । जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङमै भएको थियो उनीहरुसँग हाम्रो भेट र त्यहीँ भएको थियो मस्को र लेनिनग्रादमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउने सल्लाह ।

लेनिनग्रादको पुरानो नाम पेत्रोग्राद थियो र लेनिनले विद्रोह घोषणा गरेर सबैभन्दा पहिले मुक्त गराएको सहर भएकाले लेनिनको सम्मानमा यसको नाम लेनिनग्राद राखिएको थियो । प्रतिक्रान्तिपछि फेरि शासकहरुले यो सहरको नाम सेन्टपिटर्सबर्ग राखेका थिए । सेन्टपिटर्स कुनै समयमा रुसका शासक थिए र यो सहरको विकासमा उनको ठूलो योगदान थियो ।

लेनिनग्रादमा मलाई परेको पहिलो प्रभाव यहाँको प्राचीनता, सुन्दरता र सरसफाइ थियो । प्योङयाङ सहरमा जस्तै यहाँ पनि कतै फोहोर देखिएन । मानिसका पैतालाका डोब देखिएलान्जस्ता चिल्ला र सफ सडक थिए । सडकमा बिछ्याइएका ढुङ्गाहरु पनि पुछेर सफा पारिएका थिए । घरको बनोट पनि कलात्मक, चोक, गल्ली र सडककिनाराहरु कलात्मक, ठाउँठाउँमा सजाइएका स्तम्भहरु कलात्मक । मलाई फेरि लागिरह्यो– समाजवाद स्थापना भएको मुलुकमा विचार र विकाससँगै सिर्जनालाई पनि उत्तिकै स्थान दिइँदो रहेछ । त्यसैले त लेनिनगृहको नाम गोर्की हिल रह्यो होला । कुनै ठाउँको नाउँ जर्जिया पार्क, कुनै अस्त्रोभस्की, कुनै पुस्किन गाउँ र कुनै के रहेका होलान् । चित्र, मूर्ति, सालिक सबैले उत्तिकै स्थान पाएका थिए । कलाले ठाउँ पाएकाले कलाकारले पनि ठाउँ पाएका थिए वा पाएका छन् होला भन्ने बुझ्न कुनै कठिनाइ भएन । समाजवादमा जस्तो पुँजीवादमा कला र कलाकारले ठाउँ पाउन नसक्ने कुरा त स्वाभाविक नै हो किनकि समाजवादमा कला जीवनका लागि, परिवर्तन र क्रान्तिका लागि हुन्छ भने पुँजीवादमा कला कलाका लागि हुन्छ । हिजो समाजवादले देश, जनता, वर्ग, क्रान्ति र मुक्तिलाई साहित्य, कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकास गरेको थियो, आज पुँजीवादले आफ्नो सत्ता टिकाउनका लागि समाजवादी कला बेचिरहेको छ । उसले आफ्नो व्यापार गरेको भए पनि त्यसले केही हदसम्म हामीलाई लाभान्वित नै बनायो । हिङ नभए पनि हिङ बाँधेको टालोका रुपमा समाजवादी कलालाई पुँजीवादी कलासँग मिसमास पारेर भए पनि पुँजीवादले केही हदसम्म संरक्षण गरिदिएको रहेछ । विचार र व्यवस्था पुँजीवादी भए पनि समाजवादी कलाका केही पक्षहरुलाई जोगाएर राखिदिएकाले यो पक्षलाई धन्यवाद दिइयो ।

उएटा गाडीमा चढेर हामी विशाल तालबाट बगेर लेनिनग्राद हुँदै अघि बढ्ने नोभा नदी किनारमा पुग्यौँ । कमरेड दिमित्री, कमरेड अलेक्सीका साथमा अब अर्का कमरेड थपिएका थिए आन्द्रेई । उनी लेनिनग्रादका स्थायी बासिन्दा थिए । विचारले कहाँका मानिसलाई कहाँका मानिससँग भेट गराउँछ ! मस्कोका दिमित्री, भोल्गा नदीको किनारका आन्तोन र अलेक्सी, लेनिनग्रादका आन्द्रेई अनि कयौँ हजार किलोमिटर टाढा दक्षिणएसियाली मुलुक नेपालका हामी । हाम्राबीचमा एकैपटकको भेट नै आत्मीय भइहाल्थ्यो र हामी एकैछिनमा बर्सौंदेखि सँगै छौँजस्ता भइहाल्थ्यौँ किनकि हाम्रो विचार, भावना, वर्ग मिल्थ्यो । हामी संसारको जुनसुकै कुनाका भए पनि एउटै उद्देश्य साम्यवाद प्राप्तिको संघर्षमा होमिएका सचेत र क्रान्तिकारीहरु थियौँ । भूगोल मात्र होइन, भाषा फरक थियो, सामाजिक संस्कृति, रीतिरिवाज र चालचलनहरु फरक थिए, समाजवाद आइसकेको मुलुक र जनवादी क्रान्ति लड्दै गरेको मुलुकका बीचमा कयौँ कार्यनीतिक नारा र सङ्घर्षका आयामहरु फरकफरक थिए तर हाम्रो मूल ध्येय एउटै थियो– माक्र्सवाद–लेनिनवादको सही कार्यान्वयन, समाजवादका अनुभवहरुको केन्द्रीकरण, संसारका जनयुद्ध, विद्रोह र क्रान्तिहरुबाट शिक्षा लिँदै सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध संघर्ष ÷क्रान्ति र वैज्ञानिक समाजवाद हुँदै साम्यवाद प्राप्ति । यसका लागि सबैले माक्र्सवादका तीन सङ्घटक अङ्गहरु : दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको गहन अध्ययन र व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै एउटा खाका प्रस्तुत गर्नु थियो । सबैले आआफ्नो समाजका उत्पादनका साधनहरु, उत्पादक शक्तिहरु र उत्पादन सम्बन्ध व्यवहारबाटै बदल्ने प्रतिबद्धता व्यक्त गर्नु थियो र अन्तर्राष्ट्रिय गीत र सम्मेलनबाट त्यसलाई पारित गर्नु थियो । यसैका लागि त भेला भएका थियौँ हामी सबै महादेशका मालेमावादीहरु । त्यहाँ नयाँ दर्शनमाथि रस्साकस्सी गर्नेभन्दा मालेमालाई व्यवहारमा उतारेर नयाँ दर्शनशास्त्र प्रतिपादन गर्ने प्रतिबद्धता व्यक्त गर्नु थियो । सबैका आआफ्नो समाजका पीडाहरु थिए । कतिपय समाजमा अझै सामन्तवाद बाँकी थियो कतिपय समाजमा अर्धऔपनिवेशिकता, नवऔपनिवेशिकताले गाँजेको थियो । कतिपय समाजमा पुँजीवादको चरमोत्कर्ष थियो र कतिपय मुलुकमा पुँजीवादको साम्राज्यवाद र उत्तरसाम्राज्यवादमा भएको भ्रष्टीकरणले तहसनहस पारेको थियो । तर सबैको एउटै साझा उद्देश्य थियो– सबैखाले शोषण, दोहन, उत्पीडन र विभेदबाट मुक्तिका लागि विद्रोह, सङ्घर्ष, युद्ध र क्रान्ति । यसका लागि सबैले आआफ्नो देश र समाजका सामाजिक विशेषता र विशिष्टताहरु बोकेका थिए र एकापसमा राखेर त्यसलाई समाधान गर्ने साझा निष्कर्षबिन्दु निकाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए महान् अक्टोबर क्रान्तिको शतवार्षिकी पारेर ।

भेट हुनासाथ कमरेड आन्द्रेईले देखाएको निश्छल वर्गीय माया पेरु, नेदरल्यान्ड, बेलायत, बेल्जियम वा ब्राजिलका कम्युनिस्ट पार्टीका कमरेडहरुले देखाएको भन्दा पृथक् थिएन, उस्तै गाढा थियो । एउटै दर्शनले बाँधेको थियो सबैलाई । कोही पनि दर्शन प्रतिपादन गरेर भेला हुन आएको थिएन, दर्शनले सबैलाई पछ्याइरहेको थियो । महान् अग्रजहरुले भनेझैँ दर्शन वस्तुगत सङ्घर्ष, उत्पादनका लागि संघर्ष र वर्गसंर्षबाट आउँछ । हामी सबैको उद्देश्य एउटै भएकाले हामी सबै एउटै दर्शनमा बाँधिएका थियौँ । सायद त्यसैले यस्तै अवस्थालाई ध्यानमा राखेर माक्र्सले भन्नुभएको थियो, ‘सामाजिक जीवन मूलतः व्यावहारिक छ । सारा रहस्य जसले सिद्धान्तलाई रहस्यवादको गलत बाटोमा भड्काइदिन्छ । मानवव्यवहारमा र यस व्यवहारको संज्ञानमा आफ्नो बुद्धिसम्मत संज्ञान पाउँछ ।’

(माक्र्स, फायरबाखबारे निबन्ध) ।

लेनिनले यसैलाई अगाडि भन्नुभयो, ‘जीवन र अनुभवको दृष्टिकोण नै ज्ञानसिद्धान्तको पहिलो र मुख्य दृष्टिकोण हुनुपर्छ र यसले अनिवार्यतः असंख्य प्राध्यापकीय मनगढन्ते पाण्डित्याइँहरुलाई बढार्दै भौतिकवादमै पुर्‍याउँछ ।’

(लेनिन, भौतिकवाद र अनुभवसिद्ध आलोचनावाद, १९०८) ।

यसै विषयलाई फ्रेडरिक एंगेल्सले यसरी दर्साउनुभएको थियो, ‘छानबिन सिद्धान्तबाट सुरु हुँदैन, बरु छानबिनको अन्तिम परिणाम सिद्धान्त हुन्छ । यो सिद्धान्त प्रकृति तथा मानइतिहासमा लागू हुँदैन, बरु त्यसबाट निकालिन्छ । प्रकृति तथा मानवजातिलाई यी सिद्धान्तअनुरुप हुन जरुरी छैन । यसको उल्टो सिद्धान्त त्यही हदसम्म ठीक हुन्छ जुन हदसम्म त्यो प्रकृति तथा मानवइतिहासअनुरुप हुन्छ ।’

(एंगेल्स, ड्युहरिङ मत खण्डन, १८७६–७८) ।

लेनिनग्रादमा उन्मुक्त भएर विचरण गर्न आरम्भ गर्नासाथ नोभा नदीको तटमा कमरेड आन्द्रेईलाई मैले तिमी त कमरेड चे ग्वेभाराजस्तै लाग्छौ भन्दा उनी हृदयकै भाषा बोलेझैँ खुसी भएर ऐक्यबद्धता दर्साउँदै हौसिएर तस्बिर खिच्न तयार भएका थिए । उनले आफूले मात्र तस्बिर खिचेनन्, सडक सफा गर्दै गरेका मजदुरहरुसँग पनि तस्बिर खिचिदिए । हामी संसारका सबै श्रमिक, उत्पीडितहरु एक हौँ । भलै यतिबेला हामी भ्रमण र अध्ययनमा छौँ र यहाँका मजदुरहरु काममा छन् । हामी पनि एक किसिमको मजदुरी गर्दागर्दै महासम्मेलनमा भाग लिन आएका हौँ । मजदुरहरु पनि हाम्रो उत्साहसँग उत्साह थप्दै तस्बिरका लागि तयार भए । फरक कति थियो भने यतिबेला उनीहरुका हातमा श्रम गर्ने औजार थियो, हाम्रो हातमा क्यामेरा र कलम । सिमसिम पानीका बीच कञ्चन नोभा नदीमा हाँसहरु रमाउँदै पौडी खेलिरहेका थिए । हाम्रो मन पनि ती हाँसहरुजस्तै स्वच्छन्द सतहमा तैरिरहेको थियो । फरक यत्ति थियो, हाँसहरु बन्धनमुक्त थिए, हामी बन्धनसहित । त्यही बन्धन तोड्ने प्रतिबद्धता जनाउने महासम्मेलनमा सहभागी हुन हामी संसाभरका मालेमावादीहरु मस्को हुँदै लेनिनग्रादमा भेला भएका थियौँ । यही लेनिनग्रादबाट कमरेड भ्लादिमिर इल्यिच लेनिनले एक सय वर्षअघि विद्रोह र मुक्तिको शंखघोष गर्नुभएको थियो र विजयपताका फहराउँदै करिब ६ हजार किलोमिटर यात्रा गरेर रुसको क्रेमलिनमा विद्रोहको झन्डा उचाल्नुभएको थियो । मस्कोलगायत त्यस भेगकै चालीसौँ लाख मजदुरले एकैसाथ लेनिनलाई सशस्त्र क्रान्तिमा साथ दिएका थिए । त्यही विद्रोह निरंकुश जार शासकलाई ढाल्न सफल भएको थियो र त्यो दिन अक्टोबर २५ (हाल नोभेम्बर ७) थियो । हामी नेपालमा अक्टोबर २५ मै अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाएर मस्को हुँदै पुगेका थियौँ लेनिनग्रादमा । नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी एक वर्षसम्म विभिन्न कार्यक्रमसाथ मनाएको थियो । अक्टोबर क्रान्ति शतवार्षिकी आरम्भ हुनासाथ नेकपाले एउटा महत्वपूर्ण विचारगोष्ठी आयोजना गरेको थियो काठमाडौँमा । नेकपाका महासचिव कमरेड विप्लव प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कमरेड धर्मेन्द्र बास्तोला कञ्चनले लेख्नुभएको अक्टोबर क्रान्तिको अन्तर्राष्ट्रिय आयामसम्बन्धी पुस्तिका नै वितरण गरिएको थियो । उक्त पुस्तिका प्रकाशन गर्ने र वितरण गर्ने जिम्मेवारी मैले नै पाएको थिएँ । समाजमा स्थापित व्यक्तित्वहरुको उपस्थिति र क्रियाशीलतामा शतवार्षिकी कार्यक्रम मनाउन आरम्भ गरिएको थियो । आरम्भमै म आफैँले शतवार्षिकी भव्य रुपमा सम्पन्न गराउने उद्देश्यले नौलो बिहानीलाई शतवार्षिकी विशेषाङ्कका रुपमा प्रकाशित गरेको थिएँ– पेरिस कम्युनदेखि एकीकृत जनक्रान्तिसम्म शीर्षक दिएर । नेकपाको ऐतिहासिक आठौँ महाधिवेशनमा थबाङमा उक्त विशेषाङ्कले राम्रो परिचर्चा र स्थान पाएको थियो । त्यसमा माक्र्स, ए.गेल्स, लेनिन, स्टालिन, चारुदेखि विप्लव, धर्मेन्द्र बास्तोला, कृष्णदास श्रेष्ठ, मोहनविक्रम सिंहसम्मका रचना समेटिएका थिए ।

त्यसपछि अक्टाबेर २५ मै नेकपाले काठमाडौँमा महासचिवकै प्रमुख आतिथ्यमा भव्य सभा आयोजना गरी अक्टोबर क्रान्तिको शतवार्षिकी मनायो । देशभरबाट दसौँ हजार नेता, कार्यकर्ता र जनता सहभागी उक्त कार्यक्रमले नेपालमा मालेमावादीहरु अर्को शिराबाट क्रान्तिको झन्डा बोकेर उठिरहेका छन् भन्ने सन्देश दिएको थियो ।

पार्टीको केन्द्रीय प्रकाशन रातो खबर साप्ताहिकले अक्टोबर क्रान्तिको शतवार्षिकीलाई विशेष स्थान दिएर मुख्य समाचार, लेख र सम्पादकीय नै प्रकाशन गरेको थियो ।

महान् अक्टोबर क्रान्तिको शतवार्षिकी नागरिक स्तरसम्म मनाइएको थियो । गीतकार शरद पौडेल, मुरारि न्यौपाने, सोनाम साथीलगायतको पहलमा काठमाडौँमा एक भव्य गोष्ठी आयोजना गरी एक वर्षसम्म अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउने कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रममा नागरिक समाजको नामबाट एउटा महत्वपूर्ण पर्चा पनि प्रकाशित भएको थियो । आफूलाई माक्र्सवादी–लेनिनवादी वा कम्युनिस्ट हौँ भन्ने पार्टीहरुलाई अक्टोबर क्रान्तिको मूल स्पिरिट स्वीकार गर्न लगाउन नागरिक समाजले एउटा प्रतिबद्धतापत्र पनि तयार पारेको थियो ।

त्यसै सिलसिलामा मैले अक्टोबर क्रान्तिको शतवार्षिकी समारोहमा रुसबाट आयोजकले निम्ता पठाएको र जाने तयारी गरेको सूचना पार्टीसमक्ष दिएको थिएँ । पार्टीले पनि कार्यक्रममा सहभागी हुन स्वीकृति दिएको थियो । विशेषगरी पार्टी स्थायी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरोइन्चार्ज कमरेड धर्मेन्द्र बास्तोला कञ्चन, पार्टीको सञ्चार ब्युरो प्रमुख तथा मेरो पार्टी ब्युरोका इन्चार्ज अनिल शर्मा विरही, म आबद्ध मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघ, नेपाल–रुस लेखक÷पत्रकार मञ्चलगायत सम्बन्धित निकायको स्वीकृति र सन्देशसमेत लिएर म रुसतर्फ लागेको थिएँ । नागरिक समाजका अगुवा शरद पौडेलसँग टेलिफोनमा भएको वार्ताअनुसार त्यो पर्चा रुससम पुर्‍याउने जिम्म मैले लिएको थिएँ ।

यही सन्देश र प्रतिबद्धतासहित हामी पुगेका थियौँ रुसको मस्को र लेनिनग्रादमा । लेनिनले विद्रोहको शंखघोष गरेको मैदानबाट आरम्भ गरेका थियौँ हामीले लेनिनग्रादको भ्रमण र अवलोकन । सुरुमा लेनिनको सालिक राखिएको यो मैदानको बीचमा यतिबेला अर्कै प्रतीकचिह्न……राखिएको थियो । अरु के देखिरहेका थिए कुन्नि, म भने यो स्तम्भमा पनि लेनिन र स्टालिनकै सालिक रहेको अनुभूति गरिरहेको थिएँ । सायद प्रतिक्रान्तिकारी ख्रुस्चेब र उसका ब्रेजनेभ, एल्तसिन, गोर्वाचोभ, …। प्ुटिनलगायत पुँजीवादी चेलाहरुले लेनिनग्रादको यो मुख्य चोकबाट लेनिनको सालिक हटाएका थिए जसरी उनीहरु स्टालिनग्रादबाट स्टालिनको सालिक हटाएका थिए । साम्राज्यवादका पिछलग्गुहरुले चोकहरुबाट लेनिन र स्टालिनका सालिकहरु ह्टाएका भए पनि, सहरको नाउँ लेनिनग्राद र स्टालिनग्रादलाई अरु नै नाम परिवर्तन गरे पनि संसारभरका श्रमजीवी, शोषित र उत्पीडितहरुको मानसपटल र हृदयका पानाहरुमा सजिएको लेनिन–स्टालिनका योगदान र विचारहरु ढाल्न, फाल्न र फेर्न सकेका थिएनन् । त्यसैले त भेला भएका थियौँ हामी लेनिन र स्टालिनका अनुयायीहरु । माक्र्सवाद–लेनिनवाद–माओवादलाई प्रथप्रदर्शक सिद्धान्त मान्नेहरु ।

हामीले जारकालीन जेल (हालको एक संग्रहालय) प्रांगणमा पुगेर लेनिनको ब्यानर फहरायौँ र लेनिनवाद हाम्रो हृदयबाट कहिल्यै नमेटिने उद्घोष गर्‍यौँ । यात्राकै क्रममा भेटिएका थिए सेन्टपिटर्सबर्ग बूढा । उनलाई ब्यानर देखाउँदै हामीले तस्बिर खिच्यौँ । लेनिनग्रादको नाममा प्रतिक्रान्ति ल्याएर पुँजीवादीहरुले सेन्टपिटर्सबर्ग नै राखेका थिए तर आम श्रमजीवीहरुको हृदयमा त्यो भूमिको नाम लेनिनग्रँद र स्टालिनग्राद नै गुन्जिरहेको थियो । जारकालीन जेलका भित्ताहरुमा जारशाहीहरुले विद्रोहीहरुलाई दिने यातनाको शैली झल्किने आकृतिहरु कुँदेर राखिएको थियो । हामीले त्यसलाई पनि तस्बिरमा कैद गर्‍यौँ । कमरेड आन्द्रेई तत्कालीन जेल र हालको संग्रहालयका बारेमा सविस्तार वर्णन गरिरहेकै थिए । एउटा राम्रो पक्ष के थियो भने अन्तर्राष्ट्रिय महासम्मेलन आयोजक संस्थाका सबै पदाधिकारीहरु आआफ्नो क्षेत्रका अभ्यस्त पथप्रदर्शक (गाइड) जस्ता लाग्थे । हामीलाई निम्ता गरिसकेपछि यसबारेमा उनीहरुले राम्रै तयारी गरेको अनुमान मेरो थियो । मस्कोमा हामीलाई कमरेड दिमित्री, आन्तोन, आलेक्सी, निकोलाई र अर्का एकजना कमरेड (दाह्रीवाल, लारिसाको …) ले पालैपालो पथप्रदर्शक र दोभासेको काम गरेका थिए भने लेनिनग्रादमा त्यही काम कमरेड आन्द्रेईले गरिरहेका थिए । उनीहरु हामीलाई धेरैभन्दा धेरै सूचना र मनोरञ्जन प्रदान गरेर यात्रालाई चौतर्फी रुपमा सफल बनाउन चाहन्थे । लेनिनग्रादका हरेक चोक, दरबार, संग्रहालय र सडकहरुमा हामी पहिलो दिनमै यति मोहित भयौँ कि हरेक दृश्यले हामीलाई लोभ्याइरहे र साथीहरु टाढा पुगिसक्दा पनि हामी धित मरुन्जेल ती दृश्यहरु हेर्नतिर लाग्यौँ । दृश्यहरु हृदय र तस्बिरमा कैद गर्दागर्दै हिमलाल पराजुली र म एकातिर प¥यौँ । अरु सबै कता हराए कता ! हामी अनुमानले नै पहिला हामी बसबाट ओर्लिएको स्थानतिर लाग्दै गर्दा केही पर सुरेन्द्र केसी, मोहनलाल घिसिङ, सुरेश पोखरेल र माणिक लामाको परिवारका सदस्यहरु अघि लागेको देख्यौँ । हामी साथी भेट्यौँ भनेर मक्ख पर्दै तस्बिर खिच्नतिर लाग्यौँ तर उनीहरु पनि मुख्य समूहबाट हराएर अनुमानकै भरमा गाडी खोज्दै नदी पार गरिरहेका रहेछन् । गाडीमा पुगेर हामीले चालकलाई हामी दुई समूह बाटो अल्मलिएर गाडीमा आइपुगेको खबर गरिदेऊ न भन्यौँ । उनले फोन लगाएजस्तो पनि गरे तर सम्पर्क भएनछ क्यारे । झन्डै आधा घन्टापछि अर्को ठूलो समूह हामी हरायौँ भन्दै हस्याङफस्याङ गर्दै गाडीमा आइपुग्यो । कमरेड दिमित्री हामीलाई खोज्दै निकै टाढासम्म पुगेछन् । त्यहाँ आएकाहरुमध्ये कसैले दिमित्रीलाई खबर गरिदियो । त्यसको पनि झन्डै २० मिनेटपछि दिमित्री थकित भएर गाडीमा आइपुगे र माणिकका श्रीमती र बहिनीका कारण एउटा समूह हराएको भन्दै अलि आक्रोशित भए । त्यसलगत्तै फिनल्यान्ड जाने रेल स्टेसन घुम्दै हामीले खाना खायौँ । त्यो दिन दिमित्री अरु देशका कमरेडहरुलाई लिएर अर्कै कार्यक्रमतिर लागे । हामी भने लामो समयसम्म यता र उता गर्दै रेल स्टेसनवरिपरि घुमिरह्यौँ ।

त्यसपछि हामी गाडीबाट अलि पर पुग्यौँ । त्यहाँ लेनिनले सम्बोधन गर्दै गरेको विशाल सालिक थियो । हामीले त्याहाँ पनि ब्यानर प्रदर्शन गर्दै केही तस्बिर खिचायौँ ।यतिबेला आलेक्सी हाम्रा अगुवा भएका थिए । सन्ध्याकालमा हामीलाई स्वागत गर्न आयोजक समितिकै कमरेड भादिम आइपुगे । उनले भूमिगत मेट्रो स्टेसनका भित्तहरुमा कुँदिएका ऐतिहासिक सालिक, चित्र र मूर्तिहरुबारे जानकारी गराए । कमरेड आलेक्सीले अंग्रेजीमा त्यसको परी लगाए ।लेनिन र गोर्कीका मूर्ति र चित्रहरु रेल स्टेसनका भित्ताभरि देख्दा म गर्वले भरिएँ ।

बेलुका हामी बिहान सुटकेसहरु राखेकै ……….होटेलमा फर्कियौँ । होटेल सञ्चालकहरुसँग तस्बिरहरु खिचेर स्मरणका लागि राखियो । होटेल व्यवस्थापनमा देखिएको ढिलासुस्तीका कारण होला, त्यस होटेलमा हामी सबैलाई ठाउँ पुगेन । अलि कमजोर व्यवस्थानको अर्को होटेलमा ६ जनालाई लग्ने कुरा भयो । मैले कमजोर भए पनि नयाँ व्यवस्थापनको होटेलमै जानेमा सहमति जनाएँ । म, हिमलाल पराजुली, भीम भारती, सुरेश पोख्रेल, दुर्गा अधिकारी र कटुवाल अर्कोमा जान तयार भयौँ । एक दिनको तीन हजार रुपैयाँका दरले तिरेको होटेलको यो हाल देखेर साथीहरुबीच केही ठुस्काठुस्की पनि भयो । तर पाहुना भएर आइसकेपछि कयौँ ठाउँमा सम्झौता गर्नुपर्ने बाध्यता थियो । यस्तो सम्झौता हामीले मस्कोमा पनि गरिसकेका थियौँ । हामी विसाल र मस्त ीगर्न नभएर महान् लेनिन र स्टालिनका योगदानहरु, त्यहाँको विकास अनि नयाँ क्रान्तिको तयारीका लागि अनुभव र विचार आदानप्रदानगर्न विश्वभरबाट भेला भएका थियौँ । अलि व्यवस्थित कोठा गोपालजी, सुरेन्द्र केसी, श्रीमती र बहिनीलाई रोजिदिएर माणिक लामा पनि हामीसँगै हिँड्नुभयो । त्यो दिन म, माणिक र भीम भारती दुईवटा ओछ्यानमा मिलेर सुत्यौँ । सुरेश र हिमलाल एउटा कोठामा, दुर्गा र कटुवाल अर्कोमा मिलेर सुते । अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलनमा भाग लिन रुस आउन पाउनु हाम्रा लागि आफैँ गर्व र उच्च महत्वको कुरा थियो । हामी यात्रालाई भविष्यसँग गाँसेर उद्देश्यपूर्ण बनाउनेमा चिन्तित थियौँ । त्यसैले होटेलको असुविधाले हामीलाई बाधा पु¥याउन सकेन । एउटा रेस्टुरेन्टमा गएर आआफ्नो रुचिअनुसार खाना खायौँ र आआफ्नो बिस्तरामा सुत्नुअघि हामीले दिनभरको यात्रा, भ्रमण र अवलोकनको समीक्षा ग¥यौँ । मेरो एउटै कुरामा जोड रह्यो– समाजवादकालमा निर्माण भएको कला र संचना पुँजीवादले बिगार्न सकेको रहेनछ । र मैले यो पनि भनिरहेँ– बाघको छालामा स्यालको रजाइँ । कमरेड हिमलाल र भीम भारतीले मेरोकुरालाई समर्थन गरिरहनुभयो । माक्र्सवादलाई विकास गरेर क्रान्तिलाई नयाँ चरणमा उठाउने र निरंकुश जारशाहीलाई ध्वस्त पारेर रुसको कायापलट गर्ने लेनिनको सालिक ढाल्ने र सोभियत रुस निर्माण गरेर हिटलरी नाजीवादलाई धुलो चटाउँदै आधुनिक सोभियत रुस निर्माण गर्ने स्टालिनको सालिक र शव ढालेर घिसार्ने साम्राज्यवादका असली सन्तानहरुले चाहेर पनि रुसको विकास र निर्माणलाई भने भत्काउन सकेका रहेनछन् । रुसका हरेक पाइलापाइलामा लेनिन र स्टालिन थिए । लेनिन र स्टालिनलाई रुसको विचार, परिवर्तन र विकास निर्माणबाट हटाउनु भनेको वैचारिक मात्र होइन, भौतिक रुपमा पनि प्रतिक्रान्ति गर्नु हुन्थ्यो । समाजवादबाट पुँजीवादमा मात्र होइन, सामन्तवादमा फर्किनु हुन्थ्यो । त्यसैले त पुँजीवादले चाहेर पनि लेनिन र स्टालिनका योगदानहरुलाई समाप्त पार्न सकेका रहेनछन् । नाजीवाद र साम्राज्यवादलाई चकनाचुर पारेको हुनाले दुष्टहरु स्टालिनलाई क्रूर भनेर बदनाम गराउने योजनामा छन् भने लेनिनको नाउँ लिने तर विचार त्याग्ने गरेर चीनमामाओलाई झैँ खोपीको देउता बनाउने षड्यन्त्रमा छन् तर रुस रहेसम्म यहाँबाट लेनिन र स्टालिनका योगदानहरु कसैले चाहेर पनि समाप्त पार्न सक्तैन । यहाँको माटो, ढुंगो, बाटो, इँट, भवन, भुइँ, पुलपुलेसादेखि सबै ठाउँमा हँसियाहथौडा अंकित झन्डाहरु छन् । जमिनको सतहमा मात्र होइन, भूमिगत रेल स्टेसनका भित्तहरुमा समेत लाखौँको संख्यामा कम्युनिस्ट पार्टीको झन्डा, माक्र्स र लेनिनको सालिक अनि वीरवीरांगनाहरुको मूर्ति र शिलालेखको अभिलेख छ । भूमिगत रेल स्टेसनहरुका भित्ताहरुबाट कम्युनिस्ट पार्टीको झन्डा, हँसियाहथौडा र मूर्ति तथा चित्रहरु हटाउनु भनेको त्यो सबै संरचना ध्वस्त बनाउनु हो । निर्माण भइसकेकोभौतिक संरचना ध्वस्त बनाएर नयाँ बनाउन पुँजीवादको ह्याउ नै छैन । त्यसैले हामीले ती सबै संरचना हेरिसकेपछि भन्यौँ– एक सय वर्षअघि नै सहरमा जमिनभन्दा दुई सय मिटरमुनि रेल कुदाउने योजना कार्यान्वयन गर्न समाजवादभन्दा अरु कसैको मस्तिष्कमा आउन सम्भव थिएन । पुँजीवादमा त्यो सम्भव हुन्थ्यो भने जार शासकहरुले त्यो किन गर्न सकेनन् ? समाजवादपछि खु्रस्चेब र उसका चेलाहरुबाट त्यो किन सम्भव भएन र आज एक सय वर्षपछि पनि पुटिनहरु त्यही संरचनामा आफूलाई बडो गौरवान्वित ठान्दै शासन गरिरहेछन् !

नोभेम्बर ६ तारिख हो आज । आयोजकहरुले हामीलाई सकेसम्म धेरै ऐतिहासिक र क्रान्तिसँग इतिहास जोडिएका स्थलहरु, नाजिीवाद र जारशाहीविरुद्ध भीषण युद्ध भएका स्थल र युद्धसामग्रीहरु देखाउने र हाम्रो मनमस्तिष्कमा रुसप्रतिको एउटा नयाँ बिम्ब सिर्जनागर्ने योजना बनाइरहेको बुझिरहेका छौँ हामी । आज स्रष्टा पुस्किनको विशाल सालिकमा पुगेर नदीकिनार हुँदै महान् स्टालिनको प्रशासकीय भवनमा पुगेका छौँ हामी । स्टालिनले यही भवन र कार्यालयमा बसेर निर्माण गरेका थिए होलान् नाजीवादी हिटलरको निरंकुश योजना र कार्यक्रम ध्वस्त पार्ने योजना । महत्वाकांक्षी हिटलरको दमन र विस्तारअभियानलाई स्टालिनले रोक्न नसकेको भए न लनिनवादकोविकास हुने थियो, न सोभियत रुसको विकास नै हुने थियो । समाजवादको विकास र विस्तारको त कल्पनै नगरौँ । हिटलरको सोभियत रुसबाट पराजय शृङ्खला अघि नबढेको भए नेपोलियन बोनापार्टजस्तै अर्को महाअहङ्कारी र रक्तपिपासु व्यक्तिले विश्वसत्ता कब्जा गर्ने र लामो समयसम्म एकछत्र निरंकुशता लादिरहने खतरा थियो तर स्टालिनको सुझबुझपूर्ण कार्यक्रम र लेनिनवादी कार्यदिशाले नाजीवादलाई ध्वस्त पार्‍यो र रुँदै जर्मनी फर्किन बाध्य पार्‍यो । हिटलरी नाजीवादले सोभियत रुसमा स्थापित समाजवाद ध्वस्त पारेर प्रतिक्रान्ति लाद्ने, कम्युनिस्टविरुद्ध धावा बोल्ने र सबै स्रोत र सम्पत्ति कब्जा गरेर इतिहासको पाङ्ग्रा नै उल्टातिर घुमाउने अभियान आरम्भ गरेको थयो । स्टालिनले उसका ती सबै योजना र षड्यन्त्रहरु विफल पारिदिनुभयो । फलस्वरुप समाजवादको लहर विश्वमै उर्लियो । स्टालिनले साम्राज्यवादविरुद्ध डटेर गरेको संघर्ष, नाजीवादलाई चकनाचर पारेको घटना र समाजवादभित्र छिरेका कीराहरुमाथि गर्नुभएको कारबाहीलाई जनताका वैरीहरुले ‘क्रूर’ अपव्याख्या गरे । उनीहरुले रुसको समाजवाद ढाल्न र विश्वभर आएको समाजवादको लहर रोक्न समाजवादमाथि नै हिलो छ्याप्ने र दुष्प्रचार गर्ने गोयबल्सशैली प्रयोग गरे । गोयबल्स त्यही नाजीवादी हिटलरको सञ्चारमन्त्री थियो । झूट कुरालाई पनि सयपल्ट सत्यजस्तै गरी दोहोर्‍याएपछि त्यो सत्य ठहरिन्छ भन्ने सिद्धान्त थियो गोयबल्सको । हिटलरी अभियान नै ध्वस्त भएपछि संसारभरका हिटलरपूजकहरु र गोयबल्सहरु स्टालिनमाथि खनिनु स्वाभाविक थियो । त्यसैले हिटलरका पक्षपोषकहरुले, साम्राज्यवादका अगुवा र अनुयायीहरुले स्टालिनको निधनपछि रुसमा धावा बोले र आफ्ना पक्षमा खु्रस्चेब र ब्रेजनेभहरु त्यार पारे । खु्रस्चेबले सर्वहारावर्गको कम्युनिस्ट पार्टीलाई सम्पूर्ण जनताको पार्टी, सर्वहारा अधिनायकत्वको राज्यलाई सम्पूर्ण जनताको राज्य, वर्गसंघर्षलाई शान्तिपूर्ण संक्रमण भन्दै संशोधनवादको बीजरोपण ग¥यो । बोल्सेबिक (क्रान्तिकारी) स्पिरिटमा अघि बढिरहेको पार्टीलाई ग्लास्तनोस्त र पेरेस्त्रोइका नामका सुधारवादी कार्यक्रमले ब्रेक लगाइयो ।यो सबै साम्राज्यवादी निर्देशनमा गरिएको थियो । लेनिनको नाउँ जप्दै स्टालिनका योगदानहरुलाई ध्वंस गर्ने षड्यन्त्र गरियो । लेनिनवादको विकास र रक्ष ागर्ने स्टालिनका विचारहरुलाई समाप्त पार्दै लगेपछि लेनिनवादमाथि पनि आक्रमण हुन थाल्यो । फलतः समाजवादमा प्रतिक्रान्ति भयो । पुँजीवाद हाबी भयो । साम्राज्यवादले राम्ररी खेल्यो र ऊ सफल भयो । रुसी जनतालाई फेरि एकपटक प्रतिक्रान्तिले नराम्ररी गाँज्यो । समाजवादभित्र साम्राज्यवादी कीटाणु छिर्नु भनेको समानतामूलक समाजलाई भताभुंग पार्नु हुन्थ्यो, विकास र समृद्धिको गतिलाई रोक्नु हुन्थ्यो, समाजवादी लहरको रथका पाङ्ग्रा जबर्जस्ती बन्द गर्नु हुन्थ्यो, मानिसमा विकसित वैजानिक समाजवादी चेतनालाई उल्टो दिशातिर घुमाउनु हुन्थ्यो । अन्ततः समाजवादका विरुद्ध न्वारानदेखिको बल लगाएर साम, दाम, दण्ड, भेद सबै नीति लिएर लडिरहेका साम्राज्यवादीहरु एकपटक फेरि सफल भए । श्रमिक जनताले क्षणिक रुपमा भए पनि हार स्वीकार गर्नुपर्ने स्थिति उत्पन्न भयो । समाजवादलाई सीधै खराब भन्ने हैसियत उनीहरुको थिएन । त्यसैले उनीहरुले कमरेड स्टालिनका कामकारबाहीमाथि प्रहार गरे । माक्र्सका विचारहरु लागू गरेर नयाँ कार्यदिशा विकास गर्ने र समाजवाद स्थापना गर्ने लेनिनका योगदानहरुलाई लेनिनवादका रुपमा प्रस्तावित र पारित गर्ने स्टालिनमाथि प्रहार गर्नु भनेकै माक्र्सवा–लेनिनवादमाथि प्रहार गर्नु थियो । यसमा उनीहरु क्षणिक रुपमा मात्र भए पनि विजयी भए । स्रोतः रातो खबर साप्ताहिक, अङ्क ३१, पूर्णाङ्क १२६

२०७४ माघ ७ गते दिउँसो ३ः१५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :