एक अद्भुत गुर्जी तरुण

एसियाको पश्चिम चीनदेखि युरोपको स्पेन अर्थात् प्रशान्त महासागरदेखि एट्लान्टिक महासागरसम्म फैलिएको विशाल युरेसिया महाद्वीपको ककेसस पर्वतमालामा संसारकै महान् र वीर जनजातिहरू बसोबास गर्दछन् । तिनै महान जनजातिमा प्राचीन तिफलिस नगरको नजिकै दिदिलियो गाउँमा थोरै खेतीपाती र जुत्ता सिलाउने कालीगढ पेसा गर्दै आएका गरिब तर स्वाभिमान सार्की जातिका पिता विसारियोन र आमा एकातेरिनाको सन्तानका रूपमा १८ डिसेम्बर १८७९ मा स्टालिनको जन्म भएको थियो । उनको पारिवारिक नाम ‘सोसो जुगसयिली योसेफ विसारियोनोबीच’ थियो । त्यही उपेक्षित जनजाति, त्यही गरिबीको पीडा पिउँदै महाजनका जुत्ता सिलाउँदै हिलो र धुलोसँग खेल्दै हुर्केका बालक नै पछि सर्वहारा वर्गका महान् नेता बने ।

आमाबाबुले माया गरेर बोलाउँदा बालक स्टालिनलाई त्यसबेला ‘सोसो’ भन्थे । त्यही रुसी भाषाको ‘योसेफ’ र अङ्ग्रेजी उच्चारणमा ‘जोसेफ’ भयो । कालान्तरमा सबैभन्दा चर्चित पार्टी नामसमेत जोडेर ‘जोसेफ स्टालिन’ प्रसिद्ध हुन पुग्यो । स्टालिन नाबालकै हुँदा पिताको देहान्त भएकाले उनको पालनपोषण आमाबाट भयो । औद्योगिक क्रान्तिको विस्तारका कारण गाउँको कुटिर उद्योगले जीवन धान्न नसकेपछि उनका पिता तिफलिस नगरमा सरेका थिए । त्यहीँ ७ वर्षको उमेरमा उनलाई धार्मिक विद्यालयमा भर्ना गरियो । उनका आमाबुबा त्यसबेला समाजमा सम्मानका दृष्टिले हेरिने पादरी गुरु बनाउन चाहन्थे । एक वर्षभित्र उनले मातृभाषा गुर्जी र रुसी दुवै भाषा सिके । सन् १८८८ देखि ६ वर्षसम्म गोरी क्षेत्रको त्यही धार्मिक विद्यालयमा उनले अध्ययन गरे । उनको खेलकुदमा पनि सोख थियो । १५ वर्षमुनिको स्कुले जीवनमै स्टालिनको सम्बन्ध भूमिगत क्रान्तिकारीहरूसँग भयो । सन् १८५४–०५६ मा क्रिमियासँगको युद्धमा जारको हार, डिसेम्बरवादीको कत्लेआम, सन् १८८१ मा जार अलेक्जेन्डर द्वितीयको हत्या र त्यसको अभियोगमा लेनिनका दाजुको मृत्युदण्डको सजायजस्ता उथलपुथलकारी भौतिक वातावरण र बिहानको सूर्यझैँ भर्भराउँदै उदाएको लेनिनको बाटोले क्रिस्चियन धर्मगुरु पादरी शिक्षालयमा भर्ना गरिएका स्टालिन क्रान्तिकारी बाटोमा हेलिए ।

अठारौँ शताब्दीको अन्त्य ककेससको बाकु क्षेत्रमा धातु, कपास र तेल उद्योगको विस्तारसँगै सर्वहारा वर्गको उदय भएको थियो । मजदुर वर्गसँगै माक्र्सवादको प्रवेश अनिवार्य थियो । जर्जियामा गणराज्यको बाकुस्थित तिफलिसमा सन् १८९६ मा १७ वर्षकै उमेरमा स्टालिनद्वारा अध्ययनमण्डली गठन गरियो । सन् १८९८ मा उनले ‘तृतीय दल’ नामक दलको सदस्यता लिए । माक्र्सवादको प्रचार गर्ने तर बेलायतको व्यवस्थालाई आदर्श मान्ने असमान सोचाइहरूको युवा जमात थियो । उनी सन् १८९४ मा भूमिगत पुस्तकालयको सदस्य भए । तृतीय दलको कानुनी अवधारणालाई भूमिगत तर दृढ विचारको बाहक बनाउने प्रस्ताव पेस गरेपछि फुट पैदा भयो । तिफलिसमा रुसी सामाजिक जनवादी पार्टीको विस्तार भइरहेकै बेला सन् १८९९ मा पहिलोपटक लेनिनको रचना पढेपछि लेनिनसँग भेट्ने इच्छा उनमा पैदा भयो । क्रान्तिकारी गतिविधिका कारण सताउँदै आएको विद्यालय प्रशासनले २६ मई १८९८ मा स्टालिनलाई विद्यालयबाट निष्कासन ग¥यो । तर शुल्क तिर्न नसकेको आरोप लगाइएको थियो ।

विद्यालयबाट निष्कासित भएपछि तिफलिसमा जागिर खाँदै पूर्णतः क्रान्तिकारी जीवनको प्रारम्भ भयो स्टालिनको । उनी साङ्गठनिक कामको सिलसिलामा ककेसस क्षेत्रको तेस्रो ठूलो औद्योगिक सहर बातुनमा स्थानान्तरण भए । छोटै समयमा स्टालिन जर्जियाका लोकप्रिय नेता, जनताका प्रिय ‘सोसो’ र बोल्सेभिकवादका प्रमुख प्रचारक बन्न पुगे । उनले जनता र नेताको अन्तरसम्बन्धबारे व्याख्या गर्दै ‘जनतालाई नेताभन्दा नेतालाई जनताको कैयौँ गुणा बढी आवश्यकता’ हुने बताएका छन् । उनले भने, ‘नेताहरूलाई सबैभन्दा बढी खतरनाक रोग भनेको जनतासँगको त्रास हो ।’ बातुनमा फैलिएको मजदुर आन्दोलनको केन्द्रमा क. स्टालिन थिए । मजदुरहरू उनलाई ‘श्रमिकजनका नेता’ भन्थे । स्टालिनको नेतृत्वमा बातुनमा जर्जियाली (गुर्जी) भाषाको पहिलो पत्रिका ‘सङ्घर्ष’ को प्रकाशन भयो । बातुनमा सञ्चालित सङ्घर्षमा श्रमिक महिलाको सहभागिता बढाउन विशेष जोड रहेको थियो । पार्टीको बैठक बसिरहेको बेला ५ अप्रिल १९०२ मा गिरफ्तार भई बातुन जेल, कुतैस जेल हुँदै १९०३ मा उनलाई साइबेरिया निर्वासन गरियो । त्यहीँबाट उनको पत्राचार महान् लेनिनसँग भयो । त्यो समयदेखिको मित्रता जीवनपर्यन्त कायम रह्यो । लेनिनले पठाएको पहिलो चिठी अध्ययनपछि नष्ट गरेको धेरै वर्षपछि त्यसको महत्वबारे उनले भने, ‘लेनिनको प्रिय पत्र नष्ट गरेकोमा म आफूलाई कहिल्यै क्षमा गर्नेछैन ।’

साइबेरियाबाट दुस्मनको घेरा तोडेर पार्टी सम्पर्कमा क्रियाशील रहेकै बेला ४ जनवरी १९०४ मा एकातेरिना स्वानिजसँग ‘कोवा’ नामले क्रियाशील स्टालिनको विवाह सम्पन्न भयो र सन् १९०९ मा पुत्र याकोवको जन्मपछि आमाको असामयिक निधन हुन पुग्यो । सन् १९०४–०७ सम्म देशव्यापी मजदुर आन्दोलनमा ककेसस क्षेत्र नै सबैभन्दा अगाडि रहेको लेनिनद्वारा टिप्पणी गरिएको थियो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ स्टालिनमा विशाल सोभियत नेतृत्वका आधारहरू प्रस्फुटित हुँदै थिए । तर स्टालिनले कहिल्यै पनि आफूलाई लेनिनको समकक्षी ठानेनन् । उनी लेनिनलाई पहाडी गरुड, प्रतिभाका विलक्षण धनी, साधारण स्वभाव र मिलनसार, उत्साहका स्रोत र आफूलाई लेनिनको बफादार सिपाही ठान्थे । १९०५ को फिनल्यान्डको बोल्सेभिक सम्मेलनमा क. कोवा अर्थात् स्टालिन र लेनिनको पहिलो प्रत्यक्ष भेटघाट भयो ।

सन् १९०६ अप्रिलको स्विडेनको चौथो अधिवेशनमा लेनिन र स्टालिन अल्पमतमा परे । त्यही समय मेन्सेभिकका विरुद्ध युद्धको घोषणा गरियो । वैचारिक युद्धको घोषणा …. । बाकुको मजदुर आन्दोलनबाट विक्षिप्त जारशाहीले २५ मार्च १९०८ मा दोस्रोपटक गिरफ्तार गरी ८ महिना बाकु जेल, पछि २ वर्ष बोलोग्रादमा निर्वासनको सजाय तोक्यो । भौतिक नेतृत्व नभएको त्यस समयमा उनी दोस्रोपटक घेरा तोडेर पुनः पार्टी सम्पर्कमा पुगे । ‘ओगनेस’ नामले क्रियाशील स्टालिन सन् १९१० मार्च २३ मा पुनः गिरफ्तार भए । त्यसपछि ६ जुलाई १९११ मा फेरी बोलोग्दोमा नै निर्वासित गरिए । तेस्रोपटक पनि उनी निर्वासनको घेरा तोडेर पार्टी सम्पर्कमा पुगेपछि पार्टीको केन्द्रीय स्तरमा भूमिका निर्वाह गर्न र सुरक्षालाई समेत ध्यान दिएर लेनिनद्वारा स्टालिनलाई रुसको पुरानो राजधानी पेत्रोग्राद बोलाए । ९ सेप्टेम्बर १९११ मा पेत्रोग्रादमा चौथोपटक गिरफ्तार भई साइबेरिया पठाइएपछि सन् १९१२ मा उनी पुनः जेल तोडेर सम्पर्कमा आउन सफल भए । प्राब्धामा ‘जातीय समस्या र समाजवादी जनतन्त्र’ शीर्षक लेख प्रकाशित भयो । पछि त्यसलाई पुस्तकाकार रूप दिइयो– ‘माक्र्सवाद र जातीय प्रश्न’ शीर्षकमा । यो पुस्तकलाई माक्र्सवादको जातीय प्रश्नमा आधारशिला मानिएको छ । सन् १९१२ मा नै पार्टीको पोलिट्ब्युरोमा स्टालिन चयन भए । त्यसबेला लेनिनले गोर्कीलाई पठाएको पत्रमा स्टालिनलाई ‘एक अद्भुत गुर्जी तरुण’ भनेका थिए ।

सन् १९१२ को आखिरीमा चर्को बिरामीका कारण स्टालिनले लेनिनलाई पत्र पठाउन सकेनन् । त्यसबेला लेनिनले स्थानीय पार्टीलाई विदेशबाटै लेखे, ‘वासिकीले किन पत्र पठाएका छैनन् ? उनलाई के भएको छ ? मलाई असाध्यै चिन्ता भएको छ ।’ स्टालिन बिरामी परेको खबर पाएपछि लेनिनले तुरुन्तै अर्को पत्र पठाएर ‘स्टालिनको राम्रो ख्याल गर्नू, उनी असाध्यै बिरामी रहेछन्’ भनी लेखेका थिए । लेनिनको त्यो चिन्ता न रक्तनाताको साँघुरो घेराबाट पैदा भएको थियो, न त स्वार्थप्रेरित । त्यो थियो भाबी सर्वहारा वर्गका नायक र सहयोद्धाप्रतिको कामरेड्ली चिन्ता ।

पार्टीका एकजना केन्द्रीय सदस्य गुप्तचरबाट किनिएकाले उसको सुराकीमा २३ फरवरी १९१३ मा स्टालिन प्राब्दाका सम्पादकमण्डलसहित पेत्रोग्रादमा गिरफ्तार भई फरवरी क्रान्तिसम्म साइबेरिया निर्वासन गरिए । दोस्रो अन्तर्राष्ट्रियको विवादमा स्टालिन लेनिनको साथमा रहे । साइबेरियाको निर्वासनबाट स्टालिनले बन्दीहरूबीच चन्दा उठाएर प्रकाशनका लागि नगद पठाए । १२ मार्च १९१७ मा स्टालिन पेत्रोग्राद आए । सन् १९०५ को दमनविरुद्धको प्रदर्शनमा अन्तरिम सरकारद्वारा गोली चलाउने आदेशलाई सेनाले अस्वीकार ग¥यो । सशस्त्र सेनाले प्रदर्शनकारीको पक्ष लियो । मेन्सेबिकहरू पुँजीपतिहरूको पक्षमा खुलेर लागे । ३ अप्रिल १९१७ मा लेनिनलाई स्वागत गर्न (लिन) स्टालिन बेलोआस्तोफ गए र पेत्रोग्रादसम्मको लामो रेलयात्रामा भाबी क्रान्तिकारी योजनाबारे छलफल गरे ।

अन्तरिम सरकारले लेनिनलाई गिरफ्तार गर्ने र प्राब्दाको कार्यालयमा छापामार्ने आदेश दिएपछि कामेनेव र ट्राटस्कीको सल्लाहविपरीत स्टालिनले लेनिनलाई एक सिकारीको भेषमा जङ्गलको एकान्त कुटीमा लगेर राखे । अक्टोबर १०–१६ सम्मको केन्द्रीय समितिको बैठकले स्टालिनलाई भाबी अक्टोबर क्रान्ति विद्रोहको नेतृत्व चयन ग¥यो । तर विद्रोहको समयतालिका र अन्य प्राविधिक विषयको जानकारी पार्टी केन्द्रीय सदस्य भए पनि कामेनेव र जिनोवियेवलाई समेत दिइएन । २५ अक्टोबरका दिन अन्तरिम सरकार प्रमुख केरेन्सकी अमेरिकी दूतावासको मोटरमा भाग्यो । अरू गिरफ्तार भए । लुनाचास्की, कामेनेव र जिनोवियेवद्वारा जम्बो मन्त्रिमण्डल बनाउन दबाब दिइयो । लेनिन र स्टालिनले त्यसलाई अस्वीकार गरे । लेनिनद्वारा नीति र कार्यक्रम नमिल्नेलाई मन्त्रिमण्डलमा समावेश नगर्ने सार्वजनिक घोषणा गरियो ।

अक्टोबर क्रान्तिपछि पश्चिमी साम्राज्यवादले जर्मनीलाई उचालेकाले वार्ताका लागि ट्राट्स्कीलाई पठाइयो । जर्मनीको अपमानजनक प्रस्तावपछि ट्राट्स्की हड्बडाएर लेनिनको जबाफ पर्खेपछि लेनिनले ‘यस्तो जटिल विषयमा म मेरो साथी स्टालिनसँग छलफल गरेपछि मात्र भन्न सक्छु’ भनेका थिए । लेनिनको स्टालिनप्रति ठूलो भरोसा थियो । त्यसको सटिक उदाहरण थियो त्यो । शक्ति सञ्चय गर्ने उद्देश्यले २५ फरवरी १९१८ मा लेनिनको शब्दमा जर्मनीसँग ‘शोकजनक सन्धि’ गरियो वामपन्थीहरूकै व्यापक असन्तोषका अलावा पनि । वैरीहरूको नाकाबन्दीका कारण मस्कोमा खाद्यान्न सङ्कट पैदा भयो । स्टालिनले गोदामहरूमा छापामारेर १० दिनका लागि खाद्यान्न जम्मा गरे । २९ मईमा खाद्य विभाग प्रमुख चयन भए । उत्तरी ककेससको सैन्य जिम्मेवारीसहित नाका खोलेर उनले खाद्य सङ्कट टारे । बाकुमा छँदा बास लिने गरेको घरधनी कमरेड अलिकोफकी कान्छी छोरी नादेज्दासँग स्टालिनको दोस्रो विवाह भयो । सन् १९०१ मा बाकुमा जन्मिएकी नादेज्दा पार्टीकी साधारण कार्यकर्ता थिइन् ।

साम्राज्यवादीहरूले पेत्रोग्रादमाथि गरेको हमलाका विरुद्ध ५ मार्चदेखि स्टालिनको नेतृत्वमा भएको प्रतिरोधबाट पराजित भयो । सङ्कटपूर्ण सबै मोर्चामा स्टालिन सधैँ अग्रीम मोर्चामा पठाइन्थे । लेनिनको सबैभन्दा बढी आशा स्टालिनमै थियो । स्टालिनलाई सोभियत बहादुर देशभक्तहरूलाई दिइने ‘लालझन्डा सम्मान पदक’ दिइयो । पेत्रोग्राद दुस्मनलाई सुम्पन सहयोग गर्ने सैनिक जनरल क्रसनोफनलाई समेत माफ दिइएबाट साम्राज्यवाद र संशोधनवादी गद्दारहरूले स्टालिनलाई लगाउने तानाशाही आरोप कति बकबासपूर्ण छ भन्ने प्रस्ट हुन्छ । उत्तरी मोर्चाको विजयबारे स्टालिनले भने, ‘कोलेकचर देमिकिनबाट दुस्मनलाई लखेट्न सक्नुमा हामीप्रति दलित जातिको सहानुभूति निहित छ ।’ सन् १९१७ मा लेनिन र स्टालिन संयुक्त हस्ताक्षरमा उपेक्षित र अल्पसङ्ख्यक जातिलाई शासक जातिको स्तरमा ल्याउनु प्राथमिक काम हुने सार्वजनिक गरिएको थियो । सन् १९१८ मा मेन्सेबिक र विदेशी दलालहरूद्वारा एक महिलामार्फत लेनिनमाथि गरेको प्रहारपछि सन् १९२३ मा ट्राट्स्की–बुखारिनद्वारा स्टालिनमाथि प्रहार र गुटबन्दी गरे । १५ डिसेम्बर १९२३ मा केन्द्रीय समितिको बैठकद्वारा अवसरवादका विरुद्ध लड्न आह्वान गरियो । सन् १९२४ मा ट्राट्स्कीलाई ‘निम्न पुँजीवादी पथभ्रष्ट’ घोषणा गरियो । २६ जनवरी १९२४ मा गोर्की गाउँमा लेनिनको देहान्तपछि स्टालिन पार्टी र राज्य प्रमुखमा नियुक्त भए । लेनिनको श्रद्धाञ्जलीसभामा स्टालिनले ‘कमरेड लेनिनले हामीबाट बिदा लिँदै पार्टी सदस्यजस्तो महान् उपाधिलाई उच्च, शुद्ध र सुरक्षित राख्न प्रयत्न गर्नुपर्ने जिम्मेवारी छोड्नुभएको छ । कमरेड लेनिन ! हामी तपाईंको अगाडि प्रतिबद्धता जनाउँछौँ– हामी तपाईंको सपना पूरा गर्न सम्पूर्ण शक्ति लगाउनेछौँ ।’ लेनिनले त्यो सार्वजनिक प्रतिबद्धता जीवनमा पूराका पूरा लागू गरे ।

लेनिनको देहान्तपछि स्टालिन गृहयुद्धले जर्जर मुलुकको पुनर्निर्माणमा लागे । आवधिक विकास योजना, नियन्त्रित औद्योगिक तथा व्यापार नीति, सहकारी, सामूहिक खेतीप्रणाली, दलाल र नोकरशाही पुँजीको राष्ट्रियकरण स्टालिनका महान् सिर्जना हुन् जसको कारण एउटा पछौटे अर्थतन्त्र भएको सोभियत सङ्घ संसारकै सर्वश्रेष्ठ मुलुक बन्यो । आफ्नो ५० औँ वार्षिकोत्सवमा प्राप्त शुभकामनाको प्रतिउत्तरमा सन् १९२९ मा स्टालिनले भनेका थिए, ‘मलाई जसले लालन–पालन गरे, मलाई जन्म दिए र यहाँसम्म पु¥याए तिनै महान् किसान, मजदुर र पार्टीलाई यो अभिनन्दन हो भन्ने म ठान्दछु ।’ डिसेम्बर १९३४ मा स्टालिनका मुख्य सहयोगी सेर्गेई किरोवको लेनिनग्रादमा गोली प्रहार गरी हत्या गरेपछि संशोधनवादका विरुद्ध निर्णायक प्रहार गरियो । १९३६ मा स्टालिनको नेतृत्वमा सोभियत कम्युनिस्ट पार्टी बोल्सेभिकको इतिहास लेखनकार्य सम्पन्न गरियो ।

२२ जुन १९४१ मा हिटलरद्वारा सोभियत सङ्घविरुद्ध आक्रमण गरे । मस्को मोर्चाको नेतृत्व स्टालिन आफैँले समाले । सन् १९४२–०४३ मा हिटलरको सेना पराजित भएपछि ७ मार्च १९४३ मा ‘सोभियत सङ्घको मार्सल’ पदवी स्टालिनलाई प्रदान गरियो । २ मई १९४५ मा स्टालिनले बर्लिनमा लालझन्डा गाडेको घोषणा गर्दा हिटलर र उसका अनुयायीहरूरले आत्मसमर्पण गरिसकेका थिए । ८ मईमा जर्मन सेनाले आत्मसमर्पण गरे । सोभियत सङ्घमाथि तोडफोड गरिरहेको जापानी साम्राज्यवादमाथि ९ अगस्ट १९४५ मा स्टालिनद्वारा युद्धको घोषणा र २ सेप्टेम्बरमा जापानद्वारा आत्मसमर्पणपछि स्टालिनद्वारा राष्ट्रिय सुरक्षाको चिन्ता समाप्त भएको घोषणा भयो । अणु बमको अमेरिकी धम्कीबारे स्टालिनको जबाफ थियो– (१) अणु बमको एकाधिकार लामो समयसम्म रहनेछैन (२) अणु बमको प्रयोग निषेध गरिनेछ ।

स्टालिन भाषा विज्ञानका ज्ञाता पनि थिए । त्यस सम्बन्धमा उनले जडसूत्रवादका विरुद्ध लडेका थिए । प्रकृति र समाजमा कैयौँ वर्गनिरपेक्ष वस्तुहरू हुन्छन् र तिनले सत्तारूढ वर्गको सेवा गर्दछन् । तर तिनको विकास र समृद्धिमा सबै वर्गको समान भूमिका रहन्छ भन्ने थियो । शक्तिशाली अर्थतन्त्र भएको समाजको भाषाले कालान्तरमा अन्य भाषाहरूलाई खाँदै, आफूमा समाहित गराउँदै जाने, प्रकृति र समाजको गतिमा प्रकृतिको गति सरल र स्थायी तथा समाजको विकासको गति घुमाउरो र अस्थायी हुने धारणा स्टालिनको थियो । स्टालिनलाई सोभियत सरकारको ‘श्रमवीर’ उपाधिले विभूषित गरिएको थियो ।

५ मई १९५३ राती १ः३५ मा श्वासप्रश्वास र रक्तचापको समस्याका कारण समाज विज्ञानका महान् प्रकाशपुञ्ज, लेनिनका महान् उत्तराधिकारी, विश्व सर्वहारा वर्गका महान् नेता र विश्वशान्तिका अग्रदूतको स्टालिनको निधन भयो । उनको गृहनगरमा समेत व्यापक शोक छायो । संसारभरिका श्रमिक शोकाकुल भए । स्टालिन सधैँ ‘पूर्वलाई नबिर्स’ भन्नुहुन्थ्यो । ‘जनताको सेवा’ स्टालिनको जीवन–कानुन थियो । उच्च नेताहरूका लागि स्टालिनका निम्ति प्रसङ्ग र घटनाहरू सबैभन्दा कम पाइन्छ । उनको निजत्व सुरुदेखि नै निषेध गरिएको थियो । स्टालिनलाई त्यसको महत्व थिएन । गरिबी र उपेक्षित वर्गस्रोत त्यसको अर्को कारण थियो । पहिले समाजवादी व्यवस्थाका सफल सञ्चालक, जातीय मुक्ति आन्दोलनका मुख्य निर्देशक, हिटलरी फासिवादका विरुद्धको युद्धका नायक, माक्र्सवादको नेतृत्वका सफल उत्तराधिकारी महान् स्टालिनप्रति हाम्रो पनि श्रद्धासुमन !  स्रोत – जेल डायरी, अनिल शर्मा, २०६१ भदौ २२, सरस्वतीखण्ड, बेउर जेल, पटना

२०७४ पाैष ६ गते विहान ८ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :