कमरेड खुसीराम पाख्रिन र अधुरा सपना

‘दाइ, अभिवादन ! के छ हालखबर ?’, मैले प्रश्न गरेँ ।
‘खै के छ भनौँ, आन्दोलन दिनहुँ खस्किँदो छ । क्रान्ति उठ्ला भनेको उठ्न सकेन । हेर्दाहेर्दै आस्था र निष्ठाहरू ढल्दै गए । एकतमासको जिन्दगी बाँच्दैछु गाउँतिरै आएर !’, उनले भने ।
‘तपाईंको जीवनवृत्त झल्किने एउटा छोटकरी बायोडाटा (सङ्क्षिप्त चिनारी) चाहिएको थियो दाइ । पठाउन सकिन्छ लेखेर वा इमेल गरेर ?’, मैले थपेँ ।

‘केका लागि होला कुन्नि ? नसक्ने त कुरा छैन तर कुरौटे र खुट्टा तान्नेहरूको आक्रमणको सिकार भइन्छ कि भन्ने पिरलो नै’, उनले अलिकति इतिहासको स्मरण गराउन चाहे ।
‘के भयो र दाइ त्यस्तो ? आधिकारिक कामकै लागि मैले तपाईंको बायोडाटा मागेको हुँ । तपाईंलाई लेखेर पठाउन गाह्रो हुन्छ भने फोनमै टिपौँ न त मोटामोटी कुरा ?’, मैले भनेँ ।
‘खै… हुन्छ नि !’, उनी अलमलमा देखिए ।
‘केही दिनमै म देशबाहिर जाने भएकाले यहीँ छँदा सानो जीवनी तयार पारौँ भनेर हो दाइ !’, मैले भनेँ ।

पार्टीले अग्रज जनसंस्कृतिकर्मीहरूको जीवनी लेख्न मलाई जिम्मा दिएको थियो । पार्टीले अभिनन्दन गर्ने भनेर निर्णय गरेका पाँच संस्कृतिकर्मीमा खुसीराम पाख्रिन, रायन श्रेष्ठ, पूर्ण विराम, जीवन शर्मा र जेबी टुहुरेको नाम थियो । पार्टी पीबीएम कमरेड अनिल शर्मा ‘विरही’ ले मलाई पाँचैजनाको सङ्क्षिप्त जीवनी तयार पार्न भन्नुभएको थियो र मैले पहिलो फोन खुसीराम दाइलाई लगाएको थिएँ । गृहजिल्लामा रहनुभएका खुसीराम पाख्रिन अर्थात् सबैले प्यारो गरेर बोलाउने नाउँ ‘पाख्रिन दाइ’ ले लेखेर दिने वा फोनमा टिपाउने कुरा एकदुई दिनपछि निर्णय गर्ने बताउनुभएको थियो ।

टेलिफोन संवादका क्रममा उहाँले अखिल नेपाल जनसांस्कृतिक महासङ्घको सम्मेलनमा सम्बोधन गर्दा आफ्नो पार्टीले हेरेन भनेर बोलेपछि पार्टीको सांस्कृतिक मोर्चाका केही व्यक्तिले झपारेको गुनासो गर्नुभएको थियो । त्यस्तै ‘ज्ञवाली ग्याङ’ ले इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट रुवाउँदै निकालेको भन्दै उहाँले फोनबाटै पनि गुनासो गर्नुभएको थियो ।

‘तपाईंलाई पार्टीले अभिनन्दन गर्न लागेको छ दाइ ! देश र जनताको मुक्तिका लागि तपाईंले दिएको योगदान सानो छैन । तपाईंले जनयुद्धमा छोरासमेत गुमाउनुभएको छ । तपाईं जहाँ भए पनि नेकपाले तपाईंको निष्ठा र आदर्शको कदर गर्दैछ’, उहाँको जिज्ञासा मेटाउन अन्तिममा यति भनेर मैले फोन राखेको थिएँ । त्यसपछि लगत्तै म जनगणतन्त्र कोरिया र चीनको यात्रातिर लागेँ । म आउँदा पार्टीले उहाँलगायत पाँचजना अग्रज संस्कृतिकर्मीलाई अभिनन्दन गरिसकेको थियो । उहाँको जीवनी तयार पार्ने काम त्यसै थाती रह्यो ।

कालो बनको बीचैमा खेतालाको गाउँ
सानासाना झुपडी छैनन् आमा–बाउ
सानासाना नानीहरू खेलिरहने ठाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाऊँ ।

गैँती बेल्चा उचालेर
पहरालाई छिचोलेर
डाँडाकाँडा सम्मै बनायो
के पायो नि कुल्ली दाइले
के खायो नि कुल्ली भाइले
अर्कैले ट्याक्सी गुडायो… ।

आजभोलि बेल्टारीमा
बेलुका सधैँ गुमानेले सनै बजाउँछ
यतिसारो उराठलाग्दो
विरहको भाकाले मनै रुवाउँछ… ।

नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा गर्वसाथ लिइने नाम राराखुजेजी (रामेश, रायन, खुसीराम, जेबी र जीवन शर्मा) मध्ये खुसीराम पाख्रिनको असमयमै निधन भएको छ । सत्य हो, कमरेड खुसीराम पाख्रिन अर्थात् सबैले माया गरेर बोलाउने गरेको प्रिय नाउँ ‘पाख्रिन दाइ’ अब हामीबीच हुनुहुन्न । उहाँले सिर्जना गरेका गीत, सङ्गीत, स्वर र संस्मरणहरू मात्र छन् अब हामीसँग । खुसीराम पाख्रिन श्रमिक वर्गको मुक्तिका लागि मालेमावादी राजनीति, जनवादी गीत–सङ्गीत रचना र गायन एकैसाथ गर्दै आएका व्यक्तित्वको नाम हो । समाजमा रहेका सबैखाले विभेद अन्त्य गरेर साम्यवाद ल्याउने अठोटसाथ निरन्तर आन्दोलनमा लाग्नुभएका खुसीराम दलाल संसद्वादलाई टिकाउने षड्यन्त्रस्वरूप गर्न थालिएको चुनावका क्रममा पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु भएपछि शोकसभामा गीत गाउँदागाउँदै हृदयाघातका कारण अन्तिम निःश्वास लिनुभयो । उहाँले अन्तिम समयमा पनि युवा र क्रान्तिकारीहरूलाई देश बचाउन आह्वान गरेरै अन्तिम प्रश्वास लिनुभएको थियो ।

खुसीराम पाख्रिनको जन्म गोरखाको निम्नवर्गीय तामाङ परिवारमा २००९ सालमा भएको थियो । उहाँको ६४ वर्षको उमेर प्रायः आर्थिक अभाव र सङ्घर्षमै बित्यो । पञ्चायतकालमा जनपक्षीय राजनीतिजस्तै जनपक्षीय साहित्य, कला र सांस्कृतिक गतिविधिमाथि पनि प्रतिबन्ध थियो । चौथो महाधिवेशनको स्कुलिङ पाएका खुसीराम पाख्रिन चौमको राजनीति लिएर मुलुकभित्र र प्रवास (भारत) सम्म क्रियाशील रहनुभयो । पञ्चायती निरङ्कुशताका विरुद्ध लड्ने क्रममा उहाँले मुलुकभित्र र प्रवासमा गरी सयौँ मञ्चहरूबाट हजारौँपटक जनपक्षीय गीत गाउनुभयो । पञ्चायतकालमै उहाँका गीतहरू समेटेर ‘आँसुको भाका’ गीतिग्रन्थ प्रकाशित भयो । उक्त ग्रन्थमा समेटिएका र नसमेटिएका समेत उहाँका चारपाँच सय जनवादी गीतहरू छन् र प्रायः सबैमा आफैँले सङ्गीत दिनुभएको छ । पञ्चायतकालीन गैँती बेल्चा उचालेर, कालो बनको बीचैमा, के पायो नि कुल्ली दाइले, हाम्री चेली बिरानु देशमालगायत सङ्गीतबद्ध गीत र जनयुद्धकालीन लालझोपडीका मान्छेहरू गीतिचक्का तथा युद्धमोर्चाबाट फर्किंदा अपेराले उहाँलाई झनै अमर बनाएका छन् ।

पञ्चायतकालको उत्तराद्र्धमा कृष्ण सेन ‘इच्छुक’, मणि थापा, ध्रुव ज्ञवाली, जनयुद्ध कालमा शारदा श्रेष्ठ, चुनु गुरुङ, मस्त बिस्ट, च्याङ्बा लामा र अझ यता पछिल्लो समयमा रमण थामी र निर्मला घिसिङहरूसम्म पनि खुसीराम पाख्रिनको सहकार्य थियो । राजनीतिक रूपमा मोहनविक्रम सिंह, मोहन वैद्य, पुष्पकमल दाहाल र विप्लवसँग पनि उहाँले सहकार्य गर्नुभयो ।

समयावधिको हिसाबले खुसीराम पाख्रिनले पञ्चायतकालदेखि संसदीय काल, जनयुद्धकाल, शाहीकाल, जनयुद्धलाई सम्झौताबाट सिध्याइएपछिको कथित शान्तिकाल, प्रचण्डहरूको आत्मसमर्पणपछिको विद्रोहकाल र दलाल संसद्वादी काल गरेर सबै कालमा सिर्जनाहरू गर्नुभयो । उहाँ सीधासादा, निरन्तर सङ्घर्षमा विश्वास गर्ने, चिन्तन र अध्ययनमा रमाउने, सिर्जनशील व्यक्तित्वका धनी हुनुहुन्थ्यो । खुसीराम दाइको जीवन, निष्ठा र आदर्शलाई २०७० सालअघि र २०७० पछि गरेर दुई भागमा बाँड्न सकिन्छ । त्याग, शौर्य र बलिदानका लागि तत्परता हिजोका खुसीराम पाख्रिनको परिचय थियो ।

प्रचण्डको संसद्वादी, पलायनवादी धारसँग विद्रोह गरेर मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी) मा लामबद्ध हुँदासम्म खुसीराम पाख्रिनको व्यक्तित्व क्रान्तिकारी आस्था र निष्ठामा प्रतिबद्ध थियो भने २०७० सालको मुखैमा प्रचण्डको पार्टीमा प्रवेश गरेर नक्कली संविधानसभाको कलोमा भुलेपछि उहाँप्रति क्रान्तिकारीहरूको आशा र विश्वासमा ठेस लाग्न पुगेको थियो । उहाँ २०७० सालमा चितवनको उपनिर्वाचनमा लड्नुभयो र पराजित पनि हुनुभयो । विद्रोही हुँदा सबैको हाईहाई भएका खुसीराम त्यसपछि अग्रमोर्चामा देखिनुभएन । तर पनि उहाँको हृदयमा भने क्रान्ति सम्पन्न हुनुपर्छ भन्ने भावना बाँकी थियो भन्ने उहाँको वक्तव्य र धारणामार्फत सार्वजनिक भइरहेको थियो ।

आदर्शवादी पन्डाहरू राम्रो काम गर्नेलाई बाँचुन्जेल सराप्छन्, प्रगतिमा बाधक बन्छन्, भाँजो हाल्छन् र भौतिक अवसानपछि गोहीका आँसु खसाल्छन् तर द्वन्द्वात्मक भौतिकवादीहरू (माक्र्सवादीहरू) बाँच्दा पनि र मरेपछि पनि असललाई असल र खराबलाई खराब भन्ने हिम्मत र हैसियत राख्छन् । तमाम निष्ठा र आदर्शहरू हुँदाहुँदै पनि खुसीराममा केही सीमाहरू थिए : सायद ती आर्थिक अवस्थासँग पनि जोडिएका थिए । उहाँमा पछिल्लो समयमा वैचारिक स्खलन आएकै हो । विद्रोह र क्रान्तिमार्गबाट उहाँ विचलित हुनुभएकै हो । लेखक घनश्याम ढकालका बारेमा यही कुरा लेख्दा केही पामरहरूले ‘मर्दा पनि नछोड्ने’ भनेर अन्धभक्ति देखाएका थिए र सामान्य अवस्थामा दुर्घटनामा भएको मृत्युलाई पनि सहिदीसँग गाँसेर वास्तविक सहिदको, उहाँकै छोराले समातेको सहिदी बाटोको समेत अवमूल्यन गरेका थिए । खुसीराम दाइका सन्दर्भमा पनि त्यसो नहोला भन्ने छैन ।

बाँचुन्जेल धारेहात लगाउनेहरू, सामान्य सामाजिक जिम्मेवारीमा समेत जान नदिएर रोक्नेहरू, ईष्र्या र डाहा गर्नेहरू उहाँको भौतिक अवसानपछि ऊभन्दा ऊ बढी गोहीका आँसु खसाल्न सुर्रिएका छन् । सत्य हो, यो क्रम अझै बढ्नेछ । यो त युद्धमा समिर्पत इच्छुक र इच्छुक हिँडेको बाटोलाई सामाजिक फासिवाद र फासिवादी आतङ्क भन्दै राज्यलाई मार्न उक्साउने र बलिदानपछि साइँदुवा पल्टिँदै कविता र भजन लेख्ने ‘छुपुरुस्तम’ हरूभन्दा के बढी र नयाँ भयो र ? छोरा अमर बलिदान हुँदा पनि नधर्मराएर अविचलित लडिरहने खुसीराम दाइ हामीलाई, समाजलाई चाहिएको हो, केही रकममा लोभिएर विद्रोहको बाटो छोड्ने र आफैँले थुकेको थुक चाट्ने खुसीरामहरू हामीलाई चाहिएको होइन । यद्यपि पछिल्लो समयमा उहाँलाई आफू हिँडेको दलाल संसदीय व्यवस्थाको बाटोप्रति पश्चाताप र प्रायश्चितको अनुभूति हुँदै गएको बुझ्न सकिन्थ्यो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको ऐतिहासिक सम्मेलनमा अतिथिको आसनबाट बोल्दै उहाँले आफू र हिजो लामो समयसम्म निरन्तर आन्दोलनमा खटिएका संस्कृतिकर्मीहरूलाई आफ्नो पार्टीले हेर्दै नहेरेको, आफूलाई कोठाभाडा, बस्ने बाससम्म नदिएको र जनयुद्धको नाउँ भँजाएर नवधनाढ्य वर्गमा फेरिएकाहरूले अकुत सम्पत्ति कुम्ल्याएको थाहा पाउँछ भनेर कोठासम्म नदेखाएको भन्दै हलमै डाँको छोडेर रुनुभएको थियो । त्यतिबेला नेकपाका महासचिव कमरेड विप्लवले भन्नुभएको थियो– बाटो नबिराउनुस्, जीवनभर देश र जनताको मुक्तिका लागि योगदान गरेका खुसीरामहरूले अब रुनुपर्ने छैन । नभन्दै नेकपाले गत वैशाखमा अग्रज पाँचजना संस्कृतिकर्मीहरूलाई अभिनन्दन गर्दा खुसीराम पनि अभिनन्दित हुनुभएको थियो ।

माओवादीको मूल नेतृत्व जनयुद्धबाट भाग्दै संसदीय आहालमा डुबेपछि उहाँलाई अन्तरिम संसद्को सांसद बनाइएको थियो । पछि मोहन वैद्य ‘किरण’ विद्रोही पार्टी नेकपा (माओवादी) को अध्यक्ष बनेर इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष पद छाडेपछि खुसीराम पाख्रिन प्रतिष्ठानको अध्यक्ष बन्नुभएको थियो । प्रतिष्ठानको भवन निर्माणका लागि राज्यबाट करोडको हिसाबले रकम आउन थालेपछि खुसीराम पाख्रिनलाई एउटा लालची समूहले अपमानपूर्वक निष्कासन गरेको थियो । ‘यो मेराविरुद्ध षड्यन्त्र हो । यसमा इच्छुकप्रतिको निष्ठा होइन, आर्थिक नाफाघाटाको रहस्य लुकेको छ । यो रहस्य पछि थाहा हुन्छ’ भन्ने उहाँको रोदन र कथन थियो । नभन्दै त्यो प्रमाणित पनि भयो । स्राेत राताे खबर साप्ताहिक

मंसिर १३ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :