नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन– रुस यात्रा

संस्मरण

साँझको समय । उसै त मस्कोको कठिङ्ग्र्याउने चिसो, त्यसमाथि हल्का हिउँको वर्षाले वातावरण रोमाञ्चित बनिरहेको थियो । हामी यतिबेला सुस्तसुस्त गोर्की हिलको एकान्तस्थलमा पुगिसकेका छौँ । हामीसँग नेपाल कम्युनिस्ट पार्टीका नता, कार्यकर्ता, नेपाल–रुस लेखक÷पत्रकार मञ्च तथा नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चका पदाधिकारी, सल्लाहकार र स्वतन्त्रसहित १५ जना प्रतिनिधिका साथै ब्राजिल, कोरिया, बेल्जियम, नेदरल्यान्डलगायत मुलुकका कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुसमेत झन्डै ४० जनाको समूह छ र हामीलाई दह्रो नेतृत्व दिइरहेका छन् कमरेड दिमित्री कोस्चेन्कोले । साथमा छन् मृदुभाषी अलेक्स र सुशील किशोरी लारिसा पनि जो पछि नेपाल–रुस लेखक/पत्रकार मञ्चको सदस्य र सचिवमा समेत खुसीसाथ छानिए ।

भ्लादिमिर इल्यिच लेनिन सन् १८७० अप्रिल १० तारिखको दिन तत्कालीन सिमबिस्र्क (हाल उल्यानोभ्स्क) मा सामान्य तर शिक्षित परिवारमा जन्मिनुभएको थियो । स्कुले–जागिरे बाबुआमाका सन्तान लेनिनका दाजु अलेक्जान्डर क्रान्तिकारी युवाहरुको सङ्गठनमा लागेर जार शासकको हत्या गरेको अभियोगमा मारिनुभएको थियो । क्रान्तिकारी गतिविधिमा लागेको अभियोग लगाएर साइबेरिया निर्वासित गरिएकै समयमा पार्टी कार्यकर्ता नादेज्दा कोन्सतान्तिनोभा क्रुप्सकायासँग उहाँको प्रेमविवाह भएको थियो । लेनिन निःसन्तान हुनुहुन्थ्यो तर माक्र्सवादको सफल प्रयोगकर्ता उहाँका करोडौँ वर्गसन्तान र कमरेडहरु जन्मिए ।

मस्कोको भीडभाडभन्दा अलि पर, एकान्तमा, जङ्गलको बीच भागमा छ गोर्की गाउँ (गोर्की हिल) । गोर्की हिल त्यही ऐतिहासिक स्थल हो जहाँ माक्र्सवादका सफल प्रयोगकर्ता महान् नेता र कमान्डर कमरेड भ्लादिमिर इलिच लेनिन (पारिवारिक नाम भ्लादिमिर इलिच उल्यानोभ) ले महान् अक्टोबर क्रान्तिपछिका करिब ६ वर्ष उपचार, गहन अध्ययन, मनन र समाजवादी सोभियत रुसको सुन्दर भविष्यको खाका कोर्दै बिताउनुभएको थियो ।

महान् अक्टोबर क्रान्तिको सफलतापछि आत्तिएका षड्यन्त्रकारीहरुले एउटी भाडाकी आतङ्ककारी महिलालाई प्रयोग गर्दै लेनिनमाथि गोली प्रहार गर्ने अमानवीय, निन्दित र कायरतापूर्ण कार्य गराएका थिए र लेनिन उपचारका साथै भाबी रुसको निर्माण र विकासको खाका कोर्दै गोर्की हिलमा घाइते जीवन बिताइरहनुभएको थियो ।

हामीले यसअघि नै क्रेमलिनस्थित रेड स्क्वायर पुगेर महान् लेनिनको अहिल्यै जुरुक्क उठेर संसारभरका श्रमिक, उत्पीडितहरुलाई सम्बोधन गरिहाल्नुहोलाजस्तो भव्य शव अवलोकन गरिसकेका थियौँ । कठ्याङ्ग्रिँदो जाडोमा हिउँको वर्षा पन्छाउँदै लेनिनको शव हेर्न पसेका हामी लेनिनको पार्थिव शरीरलाई सलाम गरेर बाहिरिँदासम्म शरीर तातेर हिउँ र हुस्सुको चिसो फरार भइसकेको थियो । मनमा एकतमासको रातो र तातो ऊर्जा प्राप्त भएको अनुभूति भइरहेको थियो । लेनिनको पार्थिव शरीरको अवलोकन गर्दा महान् अक्टोबर क्रान्तिको सफलताका क्रममा पुरानो पेत्रोग्राद अर्थात् सेन्टपिटर्सबर्गमा दुस्मनलाई धुलो चटाएर एउटा पुरानो सैनिक गाडीमा विजयपताका फहराउँदै झन्डै ६ हजार किलोमिटर यात्रा गर्दै क्रेमलिन आइपुगेर रेड स्क्वायरमा लाखौँ मजदुरहरुलाई सम्बोधन गर्दै गरेका लेनिनको स्मरण भइरहेको थियो । आज हामी उनै महान् लेनिनले जीवनका अन्तिम क्षणहरु बिताएको घरमा पुगेका थियौँ ।

रुसी भाषामा लेनिनगृहको सविस्तार वर्णन गर्दै गरेकी दोभासेको रुसी भाषाको सन्देश युवा………..लट्टे पड्किएको शैलीमा अङ्ग्रेजीमा भरर्र प्रवाह गरिरहेका थिए । उनको धाराप्रवाह शैलीले मलाई मात्र होइन, सबै यात्रीलाई त्यस्तै प्रभाव पारिरहेको थियो भन्ने बुझ्न कुनै कठिनाइ थिएन । हामी लेनिन बसेको घर, बोल्सेबिक पार्टीको बैठक कक्ष, आगन्तुक कक्ष, लेनिनले प्रयोग गर्नुभएका कुर्सी, टेबुल, पोसाक, पुस्तकालय, ड्रेसिङकक्ष, ऐना, स्नानकक्ष, बन्दुक, कलम, पत्रपत्रिका अवलोकन गर्दै यो चोटाबाट ऊ कोठा हुँदै बिरालोको चालमा अघि बढिरहेका छौँ । सबै श्रोता स्तब्ध र मौनमौन छन्, एउटा सियो खसे पनि आवाज सुनिएलाजस्तो छ वातावरण । महान् लेनिनको बैठक कक्षमा पुगेपछि हामीले प्रस्टै देख्यौँ लेनिनले प्रयोग गर्नुभएको टेबुल घडी र टेबुल क्यालेन्डर । दोभासे युवक रुसी महिलाको प्रवचन अनुवाद गरिरहेकै छन् आफ्नै गतिमा । यत्तिकैमा उनले भने, ‘जब लेनिनले सन् १९२४ को जनवरी २१ को सन्ध्या समयमा अन्तिम श्वास फेर्नुभयो नादेज्दा कोन्सतान्तिनोभा क्रुप्सकायाले यो टेबुल घडी बन्द गरिदिनुभयो । त्यसपछि यो घडीको सुई कहिल्यै घुमेन….।’

उनले यत्ति भनिसकेपछि वातावरण झनै स्तब्ध र चकमन्न भयो । मानिसहरु सुँकसुँकाइरहेका देखिए । मैले पनि आफूलाई सामान्य अवस्थामा राख्न सकिनँ । टेबुल घडी नजिकै थियो टेबुल क्यालेन्डर । लेनिन हरेक दिन बिहानै यो क्यालेन्डर पल्टाउने गर्नुहुन्थ्यो । क्यालेन्डरमा जनवरीको २१ तारिख पल्टिएको थियो । लेनिनको श्वासप्रश्वासको गति रोकिएपछि फेरि कहिल्यै यो क्यालेन्डरको पाना पल्टिएन । यहाँ पनि हामीले एक छिन मुटुको धड्कन रोक्यौँ । वास्तवमै फेरि समय ठप्प भयो ।

त्यसपछि हामी आइपुग्यौँ लेनिनले अन्तिम श्वास लिएको उहाँको बिस्तरामा । सफा, सेतो बिस्तरा लेनिनको सफा जीवनजस्तै लमतन्न थियो । छेवैमा थियो आराम गरिरहेका लेनिनजस्तै लाग्ने सेतो अर्धकदको सालिक । यो सालिक उभिएको थिएन, श्वासप्रश्वास रोकिएपछिका लेनिनजस्तै ढल्किएको थियो । मलाई एकपटक लेनिनको बिस्तरा छुन मन लाग्यो तर सुरक्षाकर्मीले प्रतिबन्ध घोषणा गरिसकेका थिए । लेनिन बस्ने गरेको बेतको कुर्सी, सोफा, ह्विलचियर, बिस्तरा, दराज, पुस्तकालय सबै उस्तैउस्तै थिए, त्यहाँ थिएन त केवल महान् लेनिनको भौतिक उपस्थिति । लेनिनले हातमुख धुने गरेको धारामा गएर मैले लेनिनले गरेजस्तै कल्पना गरेर हात धोएको अभिनय गरेँ र त्यसैगरी कुर्सीमा बसेको जस्तो अभिनय पनि गरेँ । हामी लेनिनको पाइतालाले कुल्चिएको भुइँ कुल्चिएर हिँडिरहेका थियौँ । लेनिनले श्वासप्रश्वास लिएको वातावरणमा म यताउता टहलिरहेको थिएँ । जीवनको एउटा उत्कर्ष अनुभूति ग्रहण गरिरहेको थिएँ म । क्रुप्सकायाको शयन, भेटघाट, शृङ्गार र बैठक कक्ष, लेनिनकी बहिनी ………..को शयन र शृङ्गारकक्ष सबै अवलोकन गरिसकेपछि मैले लेनिनको एउटा वर्गसन्तानका रुपमा अनुभूति गरेँ । लेनिनका सन्तान नभए पनि संसारभरका माक्र्सवादी–लेनिनवादीहरु, महान् लेनिनका योगदानहरुलाई लेनिनवादमा विकास गर्ने र त्यसलाई साँच्चै सोभियत रुसको भूमिमा लागू गरेर दखाउने महान् स्टालिनका असली अनुयायीका रुपमा मैले आफूलाई अनुभूत गरेँ ।

हामी महान् लेनिनले अक्टोबर क्रान्तिको माध्यमबाट रुसलाई आततायी जारको शासनबाट मुक्त गराउनुभएको ऐतिहासिक दिन अक्टोबर क्रान्तिको शतवार्षिकी अन्तर्राष्ट्रिय महासम्मेलनमा भाग लिन पुगेका थियौँ रुसमा । यात्रा भर्खर सुरु भएको थियो । हामी लेनिनग्राद र स्टालिनग्राद पुग्न र महासम्मेलनमा भाग लिन बाँकी नै थियो । गद्दार ख्रुस्चेब र उसका प्रतिगामी पिछलग्गुहरुले महान् लेनिन र महान् रुसी जनताले करोडौँको सङ्ख्यामा बलिदान गरेर निर्माण गरेको सोभियत सत्ता र समाजवाद ध्वस्त पारे पनि, नाजीवाद, हिटलर र विश्वयुद्धलाई ध्वस्त पारेर सोभियत रुसलाई शक्तिशाली बनाउने महान् स्टालिनको शव र सालिक क्रेनले ढालेर घिसारे पनि मस्कोका गल्ली, चोक र भित्ताभित्तामा, भूमिगत रेल स्टेसनदेखि नदीकिनारका पर्खालहरुसम्म हँसियाहथौडा अङ्कित कम्युनिस्ट अन्तर्राष्ट्रिय झन्डा फहराइरहेका थिए । संसारभरका क्रान्तिकारीहरुको हृदयको ढुकढुकी बनिसकेका लेनिनवाद र स्टालिनका आयामहरु रुसी भूमिको सीमा नाघेर संसारभरका श्रमिक जनको स्पन्दन बनिसकेका थिए । भोल्गा नदीको किनारबाट उदाएका महान् लेनिन र जर्जियाको दलित परिवारबाट उदाएका स्टालिनका योगदानहरुको स्मरण गर्दै हामी चुपचापको गतिमा छिप्पिँदो साँझमा सुस्तरी बाहिरी सडकमा निस्कियौँ । मैले घरबाहिर निस्किएपछि पनि एकपटक लेनिन र स्टालिनको सम्मानमा मुठी उठाएर लालसलाम गरेँ । सहयात्रीहरु एकतमासले लेनिनगृहतिरै आँखा बिछ्याइरहनुभएको थियो । राताे खबर साप्ताहिकबाट

२०७४ मसिर १३ गते ६ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!