कांग्रेसको सभामा बम विष्फोट / म्यादी प्रहरीसहित ८ घाइते

जानकी दहित / दाङ : दाङको तुलसीपुरमा नेपाली कांग्रेसको चुनावी सभा नजिकै बम विष्फोट भएको छ । तुलसीपुरमा भएको बम विष्फोटमा परी घाइते भएका ३ जनालाई कोहोलपुर रिफर गरिएको छ । ईप्रका तुलसीपुरले अवस्था गम्भीर भएका ३ जनालाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचार गरी कोहोलपुर रिफर गरेको जनाएको छ ।

ईप्रका तुलसीपुरका प्रमुख सुधिरराज शाहीले विष्फोटनमा परी गम्भीर घाइते भएका तुलसीपुर उप–महानगरपालिका ७ निवासी २३ वर्षिया जेनी डिसी, सल्यान जिल्लाको बागचौर गापा ४ निवासी ४० वर्षिया देवीकुमारी डिसी र तुलसीपुर उप–महानगरपालिका १७ निवासी ४० वर्षिय बमराज सुनारलाई रिफर गरेको जानकारी दिनुभयो । दाङको तुलसीपुरमा आज अपरान्ह भएको बम विष्फोटमा परी ९ जना घाइते भएका थिए । कांग्रेस दाङले तुलसीपुरमा चुनावी सभा भइरहेको समयमा सभा नजिक तुलसी बोर्डिङ चोक नजिक अपरिचित व्यक्तिले फालेको बम विष्फोट हुँदा म्यादी प्रहरीसहित ९ जना घाइते भएका थिए ।

प्रहरी प्रमुख शाहीले विष्फोटनमा परी म्यादी प्रहरी तुलसीपुर १८ निवासी १९ वर्षिय विनोद चौधरी, बबई गापा ६ निवासी १८ वर्षिया सुनिता चौधरी, सल्यान जिल्लाको ढोरचौर गापा २ निवासी ४५ वर्षिया नरपनी बुढाथोकी, बबई गापा ६ निवासी ३६ वर्षिय नेवबहादुर खत्री, शान्तिनगर गापा २ निवासी ५० वर्षिय हेमराज रामजाली र तुलसीपुर उपमहानगरपालिका १८ निवासी २३ वर्षिय विनोद चौधरी घाइते भएको बताउनुभयो ।

सामान्य घाइते भएकाहरुको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको शाहीको भनाइ छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरस्थित अरनीको मैदानमा आयोजित कार्यक्रम स्थलमा पुगे लगतै त्यसको झन्डै डेड सय मिटरको दुरीमा मुख्य बजारमा विष्फोट भएको थियो ।

बम विष्फोट हुँदै गर्दा सभालाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिरहेका थिए । बम विष्फोट भएपछि सभामा सहभागी र बाटोमा यात्रा गरिरहेका सर्वसाधारण त्रसित बनेका थिए ।

२०७४ मंसिर १२ गते राती १० : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :