रोल्पाली नेताहरु गिरफ्तार / हिटलरी शैली बन्द गर : नेकपा 

 काठमाडौं / दाङ : बुधबार अपरान्ह चलचित्रको कथाझैं गरेर नेकपाका सेक्रेटरी सन्तोष सुवेदी प्रयासलाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । एक जना पार्टी सदस्यलाई पक्राउ गरी उसकै फोनको  आधारमा सबै बाटाहरुको नाकामा ढुकेर सुवेदीलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ । सुवेदीसँगै अर्को एकजना कार्यकर्तालाई पनि  पक्राउ गरिएको हो । सुवेदी माके नेता झक्कुप्रसाद सुवेदीका सुपुत्र हुन् ।  सुवेदीलाई मिसिङबाट पक्राउ गरिएको हो । रोल्पाबाट प्राप्त अर्को खबरअनुसार साँझ ५ बजे नेकपा, रोल्पा, इन्चार्ज दलबहादुर खत्री ‘जागृती’ लाई पनि लिबाङ ९ बाट  पक्राउ गरिएको  छ ।  माली गाँउबाट थप दुई जनालाई पनि बुधबारै पक्राउ गरिएकोे छ । 

शान्तिपुर्ण तरीकाले राजनैतिक कार्यक्रम गरिरहेका आफ्ना नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरिएको भन्दै नेकपा राप्तीले आपत्ति जनाएको छ । राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुवास’ले व्यक्तिगत कामको सिलसिलामा हिडिरहेका र शान्तिपूर्ण कार्यक्रम गरिरहेका आफ्ना नेताकार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरिएको भन्दै प्रशासनको हिटलरी शैली तुरुन्त बन्द गर्न आग्रह गरेका छन् । साथै उनले शान्तिपूर्ण तवरले हिडिरहेका बेला गिरफ्तार गरिएका आफ्ना नेताकार्यकर्ताहरुलाई तत्काल विना शर्त रिहा गर्न पनि आग्रह गरेका छन् । बुधबार नेकपा रोल्पाका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले पक्राउ गरेपछि संचारमाध्यमसँग कुरा गर्दै सुवासले यस्तो बताएका हुन् ।

लामो समयदेखि अस्वस्थ रहेकोले उपचारको लागि अस्पताल जादैगर्दा खत्रीलाई लिबाङबाट र सुवेदीलाई सातदोबाटोबाट सादा पोशाकमा रहेका प्रहरीले पक्राउ गरेको जनाइएको छ । चुनावी अभियानमा दलबलसहित रोल्पा पुगेका माओवादी केन्द्रका नेता वर्षमान पुन र कुलप्रसाद केसीले आफ्ना कार्यकर्ताहरुलाई गिरफ्तार गर्न लगाएको नेकपा रोल्पाको आरोप छ । खत्री र सुवेदीसँगै अन्य दुई जना नेकपाका कार्यकर्ताहरुलाई पनि गिरफ्तार गरिएको बताइएको छ ।

विज्ञप्तिसहित

२०७४ कात्तिक २३ गते दिउसो १ :  ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :