मूर्धन्य मार्क्सवादी सौन्दर्यशास्त्री प्राडा ताराकान्त पाण्डेयको दुर्घटनामा निधन

मूर्धन्य मार्क्सवादी सौन्दर्यशास्त्री प्राडा ताराकान्त पाण्डेयको दुर्घटनामा निधन

काठमाडौँ : नेपालको मार्क्सवादी सौन्दर्यशास्त्रका मूर्धन्य विद्वान् एवम् क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सल्लाहकार समिति सदस्य प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको सडक दुर्घटनामा परी असामयिक र दुःखद् निधन भएको छ । नेपालको मार्क्सवादी सौन्दर्य क्षेत्रले एक विद्वान् र बहुप्रतिभाका धनी व्यक्तित्व गुमाएको छ । पाण्डेयको निधनले मार्क्सवादी आन्दोलनमा अपूरणीय क्षति भएको छ ।

पार्टीको केन्द्रीय स्कुलिङ कार्यक्रमअन्तर्गत कैलालीमा मार्क्सवादी सौन्दर्यशास्त्र विषयको कक्षा सकेर काठमाडौँ फर्किने क्रममा पुस २७ गते शुक्रबार राती १०ः३० बजे दाङको भालुबाङस्थित राप्ती नदीको पुलमा बस दुर्घटनामा परी प्राडा ताराकान्त पाण्डेयको निधन भएको हो । उनी सहिद कृष्ण सेन ‘इच्छुक’ को सम्मानमा स्थापित इच्छुक प्रतिष्ठानका अध्यक्ष पनि थिए । प्राडा पाण्डेयको निधनमा पार्टीपङ्क्ति, बौद्धिक समुदाय, आफन्तजन सबैतिरबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ । रातो खबर परिवार पनि प्राडा पाण्डेयप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, पार्टीपङ्क्ति र प्रियजनहरूमा गहिरो समवेदना प्रकट गर्दछ ।

प्राडा ताराकान्त पाण्डेय ख्यातीप्राप्त मार्क्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक थिए । पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिवालय सदस्य तथा नेपाल राष्ट्रिय प्राध्यापक सङ्घका केन्द्रीय सदस्य थिए । उनी त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख भइसकेका थिए ।

केन्द्रीय पार्टी स्कुलिङ विभागका सदस्यसमेत रहेका प्राडा पाण्डेयको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी भएर फर्किने क्रममा बस दुर्घटनामा परी दुर्घटनास्थलबाट नजिकको लमही अस्पताल लैजाने क्रममा बाटैमा निधन भएको हो । उक्त दुर्घटनामा परी पाण्डेयसहित १२ जनाको निधन भइसकेको छ ।

२०१७ असोज ८ गते रूपन्देही दूधराक्षमा जन्मेका पाण्डेय २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सक्रय थिए । उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तरचेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) लगायत समालोचना र शोधप्रधान कृतिहरूका साथै सयौँ स्फुट शोधरचना प्रकाशित छन् ।

उनले ‘आलोचना’, ‘कलम’ लगायत साहित्यिक–सांस्कृतिक पत्रिकासमेत सम्पादन गरिरहेका थिए । २०५७ सालको पारिजात सिर्जन पुरस्कारबाट सम्मानित प्राडा.पाण्डेयका श्रीमती र एक छोरी छन् । उनी हाल काठमाडौँ, ढुङ्गाअड्डामा बस्दै आएका थिए ।

प्राडा पाण्डेयको माघ ३ गते मङ्गलवार श्रद्धाञ्जलीसहित अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :