समय गीत

समय गीत

लोग्ने सांसद–मन्त्री भए स्वास्नी पीए राख्ने
साला, ज्वाइँ, जेठान, साली पदको स्वाद चाख्ने !
स्टाफ, ड्राइभर, सचिव भन्दै आफन्त नै पोस्ने
दुःखी–खरिब जनताको पेटमा आगो झोस्ने !

ठेक्कापट्टा, दलालीमा भाइ–भारदार सार्ने
कार्यकर्ता, समर्थकलाई घुँडाको भर पार्ने !
कमिसन र भ्रष्टाचारमा निर्लिप्त छ मन्त्री
करोड तिरी सांसद बन्छ, दस करोडमा बिक्री !

देश, जनता, विकासजति चुनावपछि स्वाहा !
निमुखा र विपन्नका सप्ना सबै स्वाहा !
सत्ता होस् कि प्रतिपक्षी वा आन्दोलनकारी
नभेटुन्जेल हाहा–हिही, भेटे सर्वाहारी !

चन्दा, घुस सराबरी निजी खाता भर्ने
दुःख गर्ने कार्यकर्ता भोकभोकै मर्ने !
मुखले भन्ने समाजवाद, कामले पुँजीवाद
हातमा पैसा परेपछि विचार धूलीसात !

लड्नैपर्छ राष्ट्रघाती, जनघाती छानी
बाउ नै होओस् भ्रष्टाचारी छोड्नु हुन्न जानी !
चिल देखाई आकाशतिर भुइँका चल्ला टिप्ने
भ्रष्टाचारको पोल खुले अर्को पार्टी छिर्ने !

पैसा भेटे अपराधीलाई ज्वाइँ–भान्जो देख्ने
चन्दा जोर्न नसक्नेलाई जहाँको त्यैँ छेक्ने !
घुस्याहा सब् लुटेरा हुन् ती जोसुकै होऊन्
क्रान्तिकारी एकजुट भई तिनका हड्डी धोऊँ !

समाजवाद ल्याउनलाई महल छोड्नैपर्छ
चन्दा थापी तला थप्ने चलन तोड्नैपर्छ !
बलात्कारी–व्यभिचारी– क्रान्तिकारी हुन्नन् !
पाखण्ड र ढोङ त्यागे जनता खुसी हुन्छन् !

जनवाद–समाजवाद– साम्यवाद आउँछ
तर दुःख–कष्ट भोगी क्रान्ति गर्नुपर्छ !

१५ भदौ, २०८०, सिनामङ्गल

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :