अत्याचारलाई हिकेर जिती मर्नु पो मर्नु !

कविता

एक

जिज्ञासा

यो ‘गाडी’ ले लक्ष्यमा पुर्याउँछ कि पुर्याउन्न ?
यो इन्जिनले ‘लङ मार्च’ तुर्याउँछ कि तुर्याउन्न ??

चालकजीको मुटु–धड्कन जाँच भएको छ/छैन ?
आँखा–ज्योति धूमिल थ्यो, साफ भएको हो/होइन ??

ब्रेकै मात्र लगाउँग्थ्यो, के छ यसको अवस्था ?
मोबिल/इन्धन नयाँ कि, पुरानै छ व्यवस्था ??

एउटा चालक थाकेमा अर्को चालक तयार छ ?
बीचमै थाके, भागे, मरे वैकल्पिकको पत्यार छ ??

कोही यात्रु मताहा थे, कोही थिए भङ्जाहा
कोही लम्पट सर्वहारा, कोही थिए अलबेस्रा !

थाकी, गली सुस्ताएका, मृतक सपना बोकेका
हिउँद, वर्षा, झरी, बादल, बाह्रैमास खोकेका !
… … …
शमन

कोही बलिया, सुरा छन्, कोही जोसका आँटिला
सुन्दर सपना देख्नेहरू, पहाड चढ्ने वेगिला !

जाँगरी र अबलेस्राको सह–यात्रा कस्तो हुने हो ?
स्वप्नदर्शी हाँस्दै हिँड्ने, बेसुरा चैँ रुने हो !

यात्रा पार गर्नैछ, रुक्ने हाम्लाई छैन छूट
स्वप्नदर्शी मार्च गर्छन्, धोकेबाज ढाक्छन् मुख !

दुई

जिज्ञासा

कस्ता–कस्ता यात्रु छन् ? रेक्की गर्ने कस्ता छन् ?
हिजोजस्तै कोही चैँ ‘द्रव्यपिशाच’ छन् कि झन् ??

स्वार्थलम्पट बनेर, मराउने पो हुन् कि क्वै !
भिरपहरा देख्नासाथ थुर्थुर काँप्ने हुन् कि खै ?

बिहान अफिस गएर साँझ घर फर्केझैँ
खान होटेल छिरेर तिर्दा उता तर्केझैँ !

‘क्रान्ति’ शब्द सुन्नासाथ मिर्गीजस्तै लड्छन् कि ?
पुलिस डफ्फा देखेर ‘रूख’ तिर चढ्छन् कि ?!

खाने बेला अगाडि, जोखिम देख्दा पछाडि
भिर देखेछि भाग्छन् कि साथीलाई घचेडी ??

मुखले कुरा ठूल्ठूला, आदर्शवाद छाँटेर
धन–महल छोड्छन् त के मसक्कै आँटेर ?

व्यापार, भत्ता कसैको, एनजीओको स्वाद छ
सहर–सपना पालेर ठाँटिएको मात छ !

… … …
शमन

क्रान्तियात्रा फरक छ, चुनौतीका चाङ छन्
कठिन बाटो भिरपाखा, जर्जर बस्ती–ड्याङ छन् ।

दूत–भात खाएझैँ, टाई–सुट लाएझैँ
जङ्गल, पहाड, अक्करमा बाँदर उफ्री आएझैँ ।

गोली–माला, सकेट बम, बन्दुक भिरी हिँड्नु छ
वैरी आए बाटामा कुभिन्डोझैँ गिँड्नु छ !

जो रमाउँछ क्रान्तिमा, बम–धमाका, कुइरोमा
आऊ हिँडौँ आँटेरै क्रान्तिपथको धुइरोमा ।

मर्नु एक दिन छँदैछ, हेपिएर के मर्नु ?
अत्याचारलाई हिकेर जिती मर्नु पो मर्नु !

८ भदौ, २०८०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :