सङ्घर्ष र बलिदानको अजम्मरी गाथा : ‘सङ्घर्ष र बलिदान’

पुस्तक समीक्षा

सङ्घर्ष र बलिदानको अजम्मरी गाथा : ‘सङ्घर्ष र बलिदान’

युद्ध भनेको अन्य उपायद्वारा राजनीतिको निरन्तरता हो । सबै युद्धहरू त्यसलाई पैदा गर्ने राजनीतिक व्यवस्थाहरूबाट अभिन्न रहन्छन् । कुनै खास राज्यले, उक्त राज्यभित्रको कुनै खास वर्गले युद्धभन्दा पहिले लामो समयसम्म जुन नीतिको अनुसरण गरेको हुन्छ, त्यही नीतिलाई सो वर्गले युद्धका बेलामा अनिवार्य रूपले जारी राख्छ र खालि कार्यको रूप मात्र फेरिन्छ ।

– भ्ला. इ. लेनिन

क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो । जनतालाई सङ्गठित गरेर र उनीहरूमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ ।

– माओ त्सेतुङ

लेखक : अशोक सुवेदी

‘सङ्घर्ष र बलिदान’ समाजको आमूल परिवर्तनका लागि आधारभूत आवश्यकता तथा मान्यता हुन् र त्यसका लागि वर्गयुद्धको अनिवार्य आवश्यकता पर्छ भन्ने विषय लेनिन र माओका यी महान् वाणीहरूको उद्धरण गरेर पनि लेखक कमरेड कृष्ण वाग्ले ‘रूपेश’ ले प्रमाणित गरिदिएका छन् उनको नवीनतम लेखन/सम्पादनको कृति ‘सङ्घर्ष र बलिदान’ को माध्यमबाट । नेपाली समाजको आमूल परिवर्तन अर्थात् नेपालका श्रमिक/श्रमजीवी सर्वहारा वर्गको मुक्तिका लागि बारम्बार सङ्घर्षहरू भएका छन्, तिनले भीषण वर्गयुद्धको स्वरूप ग्रहण गरेका छन् र त्यस क्रममा आवश्यकताअनुसार बलिदान पनि भएको छ तर सङ्घर्ष र बलिदानको अनुपातमा आवश्यकताअनुसार रूपान्तरण र परिवर्तन भने हुन सकेको छैन, हुन दिइएको छैन । कमरेड रूपेश यो विषयप्रति सचेत र गम्भीर छन् । उनको ‘सङ्घर्ष र बलिदान’ शीर्षकको साहित्य, इतिहास (घटना) र जीवनी र तथ्याङ्कप्रधान अनुसन्धानमूलक कृतिले लमजुङ र समग्र मुलुककै पनि राजनीतिक इतिहासमा सङ्घर्ष र बलिदान आवश्यक मात्रामा भएको बोध गराउँछ तर परिवर्तन भने आवश्यकताअनुसार नभएको निष्कर्ष निकाल्छ । त्यसैले यो नेपाली समाजमा पछिल्लो चरणमा मालेमाको आलोकमा उठेको सङ्घर्ष र बलिदानको जीवन्त चित्रण हो । इतिहास (तथ्याङ्कसहित), जीवनी, साहित्य र त्यसमा पनि संस्मरण, अनुभूति, समीक्षाका माध्यमबाट तयार पारिएको नयाँ यथार्थबोधी साहित्य हो, इतिहास हो यो । सहिदको त्याग, शौर्य र बलिदानका विषयमा जीवन्त इतिहास छ र अझ त त्याग, शौर्य, बलिदान र सहिदका विषयमा चर्चा गर्ने स्रष्टा/योद्धाकै सहादत भएका सन्दर्भहरूले नेपालको पछिल्लो समयमा अत्यन्त उचाइ र व्यापकता लिएको वर्गसङ्घर्ष अर्थात् महान् जनयुद्धले निर्माण गरेको नयाँ यथार्थबोध गराउँछन् । कडा मेहनत र धैर्यपूर्वक इतिहास, सिर्जना र संस्कृतिको खोज, अनुसन्धान, सम्पादन र लेखनका लागि कमरेड रूपेश फेरि श्रमिक जनता र आन्दोलनको बधाई र धन्यवादको पात्र भएका छन् ।

सहिद–बेपत्ता योद्धाको जीवनीको सूची हेर्दै थाहा हुन्छ– यस पुस्तकमा महान् जनयुद्धको पेचिलो समयमा लमजुङकै मात्र १४ देखि १८–२० वर्षका १३१ जना महान् सहिद र १७ बेपत्ता योद्धाको त्याग, शौर्य, वीरता र बलिदानको गाथा छ यसमा । यति मात्र होइन, लेखकले नेपालका सबै किसिमका आन्दोलन, विद्रोह, सङ्घर्ष र क्रान्तिका क्रममा भएका बलिदानहरूप्रति न्याय गरेका छन् र प्राप्त भएसम्मका सहिदहरूको सूची र हत्याकाण्डको नाउँसमेत समावेश गरेका छन् । पुस्तकको केन्द्र लमजुङ भए पनि यो समग्र नेपालको सङ्घर्ष र बलिदान गाथाको आँखीझ्याल हो । नेपालको राजनीतिक आन्दोलनको इतिहासका अध्येताहरूका लागि यो पुस्तक अनिवार्य खुराक हो । जनयुद्धविरुद्ध तत्कालीन फासिवादी राज्यसत्ताले गरेका रोमियो, किलो सेरा वान, किलो सेरा टु, टाउकाको मूल्य तोकेका, सशस्त्र प्रहरी, शाहीसेनाको दुरुपयोग गरी सङ्कटकाल नामको हत्या अभियान सञ्चालन गरेका, सामूहिक हत्या–बलात्कार, आगलागी गरी चरम क्रूरता र आतङ्क मच्चाएका, सञ्चारमाथि निरङ्कुशता लादेका सन्दर्भ र घटनाहरूको तथ्य इतिहासले नेपालका मात्र नभएर बाहिरका पनि इतिहासका अध्येताका लागि यो अत्यावश्यक अध्ययन सामग्री बन्ने देखिन्छ । यति महत्वपूर्ण दस्ताबेज, इतिहास र साहित्य लेख्ने कमरेड रूपेश र यसलाई प्रकाशन गरेर जनताको घरघरमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्ने जनशिक्षा मासिक दुवै धन्यवाद मात्र होइन, बधाईका पात्र छन् । यो पुनीत कार्यका लागि दुवैप्रति वर्तमानले गौरवान्वित हुनुपर्छ । भविष्य झन् कृतघ्न हुनेछैन, कृतज्ञ बन्दै नयाँ विद्रोह, क्रान्ति र युद्धले आभार व्यक्त गर्नेछन् ।

तीन खण्डसहित (तस्बिरसहित चार खण्ड) २५६ पृष्ठ (२३२ श्यामश्वेत र रङ्गीन तस्बिरका २४ पृष्ठ) मा सङ्गठित र तीन सय रुपैयाँ मूल्य तोकिएको यस पुस्तकका खण्ड १ मा सहिद एकबहादुर विश्वकर्मा ‘विनोद’ : हरिबहादुर चुमान ‘अजित’, अविरल र पाचोक भिडन्त सङ्घर्ष, जेलभित्र वासुदेव शर्मा मारिनुभयो : ऋषिराम पौडेल ‘विजय’, लमजुङको साहित्यमा वासुदेव शर्मा : विजयराज न्यौपाने, सहिद बुबालाई सम्झँदा : रामहरि अधिकारी, सहिद राममणि भट्टराईको मानसपटलमा.. : राममणि भट्टराई ‘प्रकाश’, बाहुनडाँडा रिपिटर टावरमाथिको … : रविन केसी, स्मरणमा कमरेड वसन्त : हरि अधिकारी ‘कुमार’, सहिद : हरिकला पौडेल ‘भूमिका’, लमजुङका प्रथम सहिद कमरेड विनोद… : हिम्मत, लडाइँ जितेर फर्केन ऊ : सुनिता रेग्मी ‘योजना’, चार पर्खालभित्रबाट वीर सहिद गीतालाई… : मुकुन्द न्यौपाने ‘सुशील’, दृष्टि–क्षितिजमा सहिद हरिकला : विष्णु रेग्मी, सहिद क. ध्रुवराज गिरी ‘सुजन’ : हरिबहादुर चुुमान ‘अजित’, एकबहादुर विकबारे : सुमित्रा विक, मेरो मानसपटलमा बाबा एकबहादुर विक : अनिल विक, सहिद कमरेड आशलाल गुरुङ ‘शक्ति’ : मधुमाया अधिकारी ‘सम्झना’, एक अथक योद्धा सहिद राममणि भट्टराई : पारसमणि पौडेल, फर्मेसन, स्कुल र कमान्डर वसन्त : ध्रुव अधिकारी ‘राजन’, बलबहादुर विश्वकर्मा ‘रेशम’ को जीवनी, सहिद देवीदत्त पौडेल सङ्क्षिप्त परिचय : विन्दु पौडेल, म भन्थेँ, बा ! म सहिद बन्छु : रामकुमार भण्डारी, कमरेड मुकुन्द न्यौपाने ‘सुशील’ एक स्मृति : प्रेमचन्द्र न्यौपाने ‘कपिल’, प्रिय कमरेड सुशीललाई सम्झँदा : यमबहादुर परियार, जनयुद्धका सहिद बिलबहादुर कुमाल : देवीप्रसाद ढकाल ‘रवीन्द्र’, सहिद विनिता धिताल ‘कल्पना’ : शान्ता धिताल, सहिद क. श्रीराम र क. मुक्ति : वासुदेव थापा, बेपत्ता योद्धा तोयानाथ पोखरेल : वासुदेव थापा, हे मस्र्याङ्दी, लमजुङ छिट्टै झल्झलाकार : सहिद वासुदेव शर्मा अधिकारी, लमजुङ जिल्लाबाट जनयुद्धका क्रममा सहादत प्राप्त गर्नुहुने सहिदहरू, बेपत्ता योद्धा परिचय, जनसङ्घर्षका सहिदहरूलगायत सिर्जना र सामग्री रहेका छन् ।

त्यसैगरी खण्ड २ मा जनयुद्धविरुद्ध राज्यको दमन रणनीति, राजनीतिक दलका आधारमा हत्या र बेपत्ताको स्थिति तथ्याङ्क, जनयुद्ध दमनका नाममा थालनीसँगै राज्यले गरेका हत्याकाण्डहरू, जनयुद्ध दमनका नाममा राज्यद्वारा घटाइएका केही ठूला हत्याकाण्डहरू, केही तथ्याङ्कहरू, लमजुङमा राज्यद्वारा घटाइएका हत्याकाण्डहरू, जेल–हिरासत विवरणलगायत तथ्यहरू समावेश गरिएको छ ।

खण्ड ३ मा इतिहासमा जनसङ्घर्ष र हत्याकाण्ड तथा जनयुद्धका सहिद–बेपत्ताबारे केही तथ्याङ्कहरू राखिएको छ । खण्ड उल्लेख नगरिएको ‘तस्बिरमा सहिदहरू’ शीर्षकको पछिल्लो खण्डका २४ पृष्ठ सहिदका तस्बिरले रङ्गिएका छन् । महान् सहिदका उपलब्ध तस्बिर र अस्पष्ट तस्बिरबाट छायाचित्र (स्केच) निर्माण गर्दा÷गराउँदाको समयका दुःख र तयार पारिसकेपछिका खुसीका क्षणहरूबारे कमरेड रूपेशले गरेको चर्चाबाट म अत्यन्तै प्रभावित बनेको थिएँ र सहिद–बेपत्ता योद्धाहरू अर्थात् संसार बदल्ने महान् योद्धाहरूको त्याग, प्रतिबद्धता र समर्पणप्रति उनको प्रतिबद्धता देखेर म अत्यधिक खुसी भएको थिएँ । यसरी यो पुस्तक लमजुङको मात्र नभएर देशकै राजनीतिक आन्दोलनको एक सङ्क्षिप्त आँखीझ्याल बनेको छ ।

यो पुस्तक अध्ययन गर्दै जाँदा मैले कम्युनिस्ट नाउँ र खोल ओढेकै केपी वली–पुष्पकमल दाहाल सरकारले हामीमाथि लादेको कुख्यात प्रतिबन्धको समयमा ‘बलिदानगाथा’ पुस्तक सङ्कलन÷सम्पादन गर्दाको क्षणलाई पुनः सम्झिएँ । तत्कालीन नेकपाको ‘जनक्रान्तिका महान् सहिद–बेपत्ता योद्धा परिवार सङ्गठन’ को मुखपत्रका रूपमा सङ्कलित/सम्पादित/प्रकाशित उक्त पुस्तकको लेखन/सङ्कलन र सम्पादनका लागि मैले कैयौँ महिना, कैयौँ दिन–रातको समय र सीप खर्चिको थिएँ तर एउटा षड्यन्त्रकारी, अनुदारवादी, अत्याचारी शोषक गिरोहले अन्तिममा त्यो कठोर कालखण्ड र श्रम/सीपको इतिहास नै नामेट पार्ने गरी लेखन र सम्पादनको स्थानबाट मेरो इतिहास लोप गराइदियो । पुस्तक प्रकाशनको जिम्मा म आफैँ सञ्चालक रहेको रातो खबर प्रकाशन गृहको थियो तर सम्पादक भनेर सम्पादन नै नगरेको उक्त संस्थाको नाउँ राखिदिँदा इतिहास नै मेटियो तर पनि प्रतिबन्धको समयमा सहिदको जीवनी र इतिहाससम्बन्धी पुस्तक प्रकाशन हुनु नै ठूलो कुरा ठानियो । यति बेला त्यो गिरोहका कयौँ सदस्यहरू गौर हत्याकाण्डका नायक मानिएका, ज्ञानेन्द्र शाहलाई दाम चढाएर प्रधानमन्त्री खान लाम लागेका र महान् जनयुद्ध र सहिदको बलिदानलाई दलाल पुँजीवादमा समाप्त पार्ने षड्यन्त्र गर्ने पात्रहरूलाई समाजवादी देख्दै र घोषणा गर्दै तिनैसँग कथित समाजवादी मोर्चा बनाउने नाउँमा विलय हुने योजनाका साथ उतै लहसिएका छन् र तिनका लागि अब ‘बलिदानगाथा’ कुहिएको पुँजीवादी सत्तामा जाने भर्याङशिवाय केही हुनेछैन । कमरेड रूपेशको यो सङ्घर्ष र बलिदान नामको अर्को बलिदानगाथाले त्यो गौरवशाली इतिहासको झझल्को दिएको छ र त्यो इतिहासलाई लोप हुनबाट बचाएको छ ।

कमरेड रूपेशले यति महत्वपूर्ण पुस्तक लेखेर इतिहासप्रति ठूलो गुन लगाएका छन् । उनी बलिदान र त्यागको शौर्यगाथा तयार पार्ने अभियानमै छन्, उनलाई सफलता नै सफलता हात लागोस् भन्ने शुभकामना पनि प्रदान गर्दछु ।

यो पुस्तकको केन्द्रबिन्दु भने लमजुङ नै हो । पुस्तकमा सङ्क्षिप्त जीवनी लेखिएका र संस्मरण÷समीक्षालगायत साहित्यका माध्यमबाट अमर बनाइएका अधिकांश योद्धाको जन्मथलो लमजुङ हो र लमजुङमै सहादत भएको छ । कयौँ योद्धाहरूले लमजुङमा आएर रगत बगाएका छन् भने कतिपयले लमजुङबाहिर गएर रगत बगाएका छन् । कुलमा यो विचारले नेतृत्व गरेको वर्गसङ्घर्षमा दुस्मनसामु लड्दालड्दै रगत बगाउने योद्धाहरूको सङ्घर्ष र बलिदानको गाथा हो । जनयुद्ध केन्द्रमा छ तर निरङ्कुश, जहानियाँ राणाशासनको क्रूरताका विरुद्ध ‘मकैको खेती’ पुस्तक लेखेर जेलमै बलिदान गर्ने सुब्बा कृष्णलाल अधिकारीदेखि जातीय पहिचानका पक्षमा आन्दोलन गर्दा हालै राज्यको दमनबाट मारिएका पदम लाजेहाङसम्मको इतिहास सुरक्षित गर्नु यो पुस्तकको थप विशेषता र सुन्दर पक्ष हो ।

कमरेड कृष्ण वाग्ले ‘रूपेश’ सक्रिय क्रान्तिकारी योद्धा मात्र नभएर एक गम्भीर माक्र्सवादी अध्येता र अनुसन्धानकर्ता पनि हुन् । विशेषतः गण्डक क्षेत्रको कम्युनिस्ट आन्दोलनको इतिहास र विशेषगरी यस भेगमा जनयुद्धको समयमा भएको त्याग, शौर्य र बलिदानको इतिहास र तथ्याङ्कका विषयमा कमरेड रूपेशलाई ‘इन्साइक्लोपेडिया’ नै भन्दा पनि अत्युक्ति नहोला । २०५६ सालबाट पूर्णकालीन बनेर महान् जनयुद्धमा लामबद्ध भएका र हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सचिवालय सदस्यको जिम्मेवारी बहन गरिरहेका कमरेड रूपेशले यसअघि पनि जनयुद्धमा भएको बलिदानलाई केन्द्रमा राखेर गण्डक क्षेत्रको कम्युनिस्ट आन्दोलनलाई पुस्तकका रूपमा पस्किइसकेका छन् । ‘गोरखा र जनयुद्ध’ २०७३, सहिदगाथा २०७४, ‘कास्कीका सहिद र बेपत्ता योद्धाहरू’ २०७५ उनका खोजमूलक कृति हुन् । यी कृति पठनीय मात्र नभएर सङ्ग्रहणीय पनि छन् । रूपेशका कृतिहरूले अध्येताहरूलाई कम्युनिस्ट आन्दोलनको इतिहासको रक्षा मात्र होइन, वर्तमान र भविष्यप्रति पनि घोत्लिन बाध्य बनाइदिन्छन् । सहिद अञ्जान विरहीका दुर्लभ कथाहरूको खोज र प्रकाशनलगत्तै यति बेला फेरि रूपेश ‘सङ्घर्ष र बलिदान’ शीर्षकमा लमजुङ जिल्लाको विद्रोहको समग्र इतिहासको खोज/अध्ययन/लेखन/सङ्कलन/सम्पादन कृति लिएर आएका छन् । यो लमजुङ जिल्लाको समग्र इतिहास हो र देशकै इतिहास हेर्ने आँखीझ्याल हो भन्दा पनि फरक पर्दैन ।

कृतिका लेखक रूपेशले लेखकीयमा आफैँले भनेका छन्, ‘यो पुस्तकमा खासगरी जनयुद्धको अवधिमा लमजुङको सेरोफेरोमा रहेर विषयवस्तु तयार पारिएको छ । प्रस्तुत पुस्तकको पहिलो खण्डमा मूलतः जनयुद्धमा विशिष्ट त्याग, वीरता, शौर्य र समर्पणभाव प्रदर्शन गर्दै सक्रिय पार्टीका नेता–कार्यकर्ता र समर्थक एवम् शुभचिन्तकसम्मको बलिदान, तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरूको सङ्क्षिप्त परिचयसहित उनीहरूका लेख–रचना तथा उनीहरूबारे अन्य व्यक्ति–व्यक्तित्वद्वारा लेखिएका लेख, जीवनी र संस्मरण समेटिएको छ । दोस्रो खण्डमा जनयुद्धको थालनीदेखि जनयुद्ध अवधिभर राज्यद्वारा चालिएको दमन रणनीति, तत्नीतिसँग सम्बन्धित पक्ष र विपक्षका धारणाहरू, राज्यले देशभर चलाएको नक्कली मुठभेड नामका सुनियोजित हत्याकाण्डहरू राखिएका छन् । तेस्रो खण्डमा नेपालको हरेक चरण वा समयका जनसङ्घर्षका क्रममा तत्कालीन राज्यसत्ताले चलाएको दमनमा मृत्युवरण गरेका, सङ्घर्षमा बलिदान भएका, राज्यको अनेकन षड्यन्त्रको सिकार बनी मृत्यु बेहोर्न बाध्य भएका हत्याकाण्डहरूको सामान्य विवरण राखिएको छ…।’

यति भनिसकेपछि यो कृतिको गरिमा र महत्ता के छ भन्ने विषयमा धेरै भनिराख्नु र कृति प्रकाशन गर्नुपर्नाको कारण पनि सविस्तार खुलाइरहनु आवश्यक छैन । जनशिक्षा मासिक जनयुद्धका उपलब्धि, अनुभूति र त्यसबाट सिर्जित यथार्थलाई सपना साकार बनाउने अभियानसम्म पुर्याउने एक वैचारिक हतियारको टुकडी हो । यसअघि पनि हामीले क्रान्तिकारी आन्दोलनका उपलब्धि र सीमाहरूका बारेमा समीक्षा गर्दै विभिन्न प्रकाशन गरिसकेका छौँ । कमरेड रूपेशको ‘सङ्घर्ष र बलिदान’ कृति प्रकाशन पनि त्यही अभियानको एक सिँढी हो । हाम्रो अभियान नेपालमा वैज्ञानिक समाजवाद स्थापना नभएसम्म जारी रहन्छ ।

श्रमिक–उत्पीडित जनताको मुक्तिको उद्देश्य राखेर तत्कालीन नेकपा (माओवादी) ले दस वर्षसम्म सञ्चालन गरेको जनयुद्ध र त्यसका सीमितै भए पनि उपलब्धिलाई भ्रष्टीकरण गर्ने होड नै चलेको समयमा जनयुद्धको महानता र यसको गरिमालाई जोगाएर राख्नु अर्को जनयुद्ध वा त्यस किसिमको जनविद्रोहका लागि वैचारिक र भौतिक ऊर्जा अर्थात् खजानाहरूको जगेर्ना गर्नु हो । ‘सङ्घर्ष र बलिदान’ कृतिका माध्यमबाट कमरेड रूपेशले आफ्नो वर्गप्रतिबद्धता, इमानदारी र बौद्धिक कर्तव्य पूरा गरेका छन् । उनले लेखकीयमा जनयुद्धका बारेमा आफ्नो धारणा स्पष्ट राखेका छन् । उनले भनेका छन्, ‘तत्कालीन विद्रोही शक्ति मानिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा क्रान्तिकारी जनसमूहको सहभागितामा सञ्चालित जनयुद्ध न त आतङ्कवादद्वारा निर्देशित थियो, न यो आतङ्ककारी क्रियाकलाप नै थियो । बरु मार्क्सवाद–लेनिनवाद–माओवादद्वारा निर्देशित थियो । सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गको प्रतिक्रियावादी राज्यसत्तालाई (राजतन्त्रात्मक संसदीय व्यवस्था) ध्वंस गरी मजदुर, किसान, निम्न पुँजीपति र राष्ट्रिय पुँजीपति वर्ग सम्मिलित, जातीय र क्षेत्रीय स्वशासनसहितको नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य प्राप्त गर्नु अर्थात् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्नु जनयुद्धको मूल राजनीतिक लक्ष्य रहेको थियो । यसर्थ यो नेपाली समाजको उत्पीडक तथा शासक वर्गका विरुद्ध बहुसङ्ख्यक उत्पीडित वर्गले चलाएको वर्गयुद्ध भने अवश्य थियो । उत्पीडित वर्ग, जाति, राष्ट्र र क्षेत्रको मुक्ति जनयुद्धको उद्देश्यअन्तर्गत थिए । त्यसैले जनयुद्ध अग्रगामी, प्रगतिशील र न्यायपूर्ण युद्ध थियो । सीधा, स्पष्ट र घोषित राजनीतिक उद्देश्यमा आधारित भएर लाखाैँलाख जनताको सहभागितामा चलिरहेको जनयुद्धलाई आतङ्ककारी क्रियाकलापको कित्तामा राखेर तत्कालीन सत्ता पक्ष अर्थात् संसद्‌वादी राजनीतिक दलहरूले जनयुद्धविरुद्ध शृङ्खलाबद्ध मध्ययुगीन बर्बर दमन अभियान थोपर्न पुगेका थिए ।’ हो, जनता र जनविद्रोह अर्थात् जनयुद्धमाथि तत्कालीन फासिवादी सत्ताले थोपरेको त्यही बर्बर दमन, आतङ्क हत्या अभियानका विरुद्ध जनताले लडेको ऐतिहासिक विद्रोह अर्थात् जनयुद्धको दस्ताबेजसङ्ग्रह हो यो ‘सङ्घर्ष र बलिदान’ पुस्तक । लमजुङ जिल्लाको इतिहासमाथि केन्द्रित भएर लेखिएको भए पनि यो कृति एउटा जिल्लाको भूगोल, राजनीति र संस्कृतिमा सीमित छैन । यो व्यापक छ । जनयुद्धका केही थान अगुवाहरूलाई जनयुद्धको ऐतिहासिकता भुलेर दलाल पुँजीवादी बन्न हतारो भइरहेको समयमा जनयुद्धको जीवन्त इतिहास लेख्नु र त्यसलाई धाराबाहिकतामा विकास र विस्तार गर्नु कमरेड रूपेशको क्षमता र वशको कुरा हो । जनयुद्धको ऐतिहासिकता र अपरिहार्यता झल्काउँदै रूपेशले लेखकीयमा लेखेका छन्, ‘जनताका पक्षमा सङ्घर्षरत शक्ति वा तत्कालीन नेकपा (माओवादी) ले बाध्यात्मक परिस्थितिमा राज्यआतङ्कका विरुद्ध जनप्रतिरोध सङ्गठित गरेको मात्र थियो जुन न्यायसङ्गत सिद्धान्तमा आधारित थियो । विद्रोह मानिसहरूको नैसर्गिक अधिकार हो । नेपालकै र विश्वका इतिहासका विभिन्न घटनाक्रम हेर्दा विद्रोह वा युद्धहरू समाज परिवर्तनको सशक्त माध्यमका रूपमा स्थापित भएका छन् । उत्पीडित र उपेक्षित, शोषितहरूको आक्रोशको उत्कर्षलाई महान् जनयुद्धले सुव्यवस्थित रूपमा सङ्गठित गरेको थियो ।’

जनताको विद्रोह यति सङ्गठित र व्यवस्थित हुँदाहुँदै र जनताको युद्धले विजयशिखर छुँदाछुँदै जनयुद्धभित्र जनदुस्मनहरूको घुसपैठ भयो । यसका नायकहरूमा आत्मसुरक्षावाद र कायरताले घर गर्दै गयो र अन्त्यमा महान् योद्धाहरूको त्याग, शौर्य र बलिदानलाई अलपत्र पार्दै र उपलब्धिहरूलाई दुस्मन वर्गको पाउमा सुम्पिँदै उनीहरू युद्धमोर्चाबाट कुलेलम ठोके । यस पुस्तकमा योद्धाहरूको, महान् सहिदहरूको त्याग, शौर्य, समर्पण, वीरता र बलिदानको गाथा मात्र छैन, जनताको विद्रोहलाई सार्थक निष्कर्षमा नपुर्याउँदै भागेका कायरहरूको पलायन र आत्मसमर्पणको बैरागलाग्दो अवस्थाको कथा पनि छ । यिनै कथाहरूले फेरि उत्पीडित वर्गका जनतालाई विद्रोहमा उत्रिने वातावरण निर्माण गर्नेछ । त्यसैले हामीले यो कृति प्रकाशन गर्यौँ । कृतिका लागि कृतिकार धन्यवादका पात्र छन् । यसप्रकारका अन्य कृतिहरू पनि कमरेड रूपेशले हाम्रो वर्गलाई दिनेछन् र यो वैचारिक कृतिले वर्गसङ्घर्ष लडिरहेको वर्गमा भौतिक ऊर्जा प्रवाह गर्नेछ भन्ने आशा र विश्वास राख्छौँ ।

(मुख्य आधार : प्रकाशकीय)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :