विनिता चोक

कविता

विनिता चोक

भर्खरभर्खर बस्ती बस्न थालेको
धुलैधुलोले पुरिएको सडककिनारमा
पन्छाएर पातपतिङ्गर र
बटुवाले फालेका कबाडीका टुक्रा
स्कुलतिर लाग्ने गोरेटोको छेवैमा जोरेर चुला–चम्का
बसाल्दै कालै पिँध भइसकेका डेक्चीहरू
खुट्टा भाँचिएको ओदानमा
पारेर जोरजाम घुस्र्यान, सल्काउँदै मैनछाप सलाईको आगो
भर्खर चल्मलाउन थालेको बजारउन्मुख गाउँ जाने चोकमा
बेच्थे ती चिया र चना
कहाँ बिक्थ्यो र मात्र चिया–चना ?
चियासँगै बिक्थ्यो कहिले सपना
सपनासँगै बिक्थ्यो श्रमशील जीवन ।

कुनै नाउँ थिएन
अर्थात् अनाम थियो त्यति बेलासम्म त्यो ठाउँ
‘भालचन्द्रे बुढा’ दम्पतीपछि
लुछाचुँडी भएको खेतको शिर न थियो !
जहाँ उनीहरू कालो दिउरेमा बेच्थे चिया
र चियासँगै बुन्थे रङ्गीन जीवनका सपनाहरू ।

त्यो अनाम चोक
बेनाम चोक थियो, बेवारिसजस्तै
आएनन् कुनै पनि पार्टी र नेता
लिएर कुनै रङ खुइलिएको झन्डा र उदास अनुहार
कसले राख्थ्यो त्यो धुले चोक, चिया चोक
वा भनौँ गरिब चोकको नाउँ !

खाए होलान् अवश्य
कतिपय महाशय र लाडसाबका अपशब्द
खपे होलान् कतिपय स्वनामधन्य भलाद्मीका कटाक्ष
सहे होलान् कयौँ सडक यात्रु र सवारी यात्रुका गाली
धुले सडकको किनार न थियो
अस्तव्यस्त पसिनाको पसल न थियो
केही थान स्टिलका गिलाँसहरू
केही थान प्लास्टिकका रिकापी र चम्चा
चियासँगै घोलिएका केही थान सुन्दर सपना ।

दुःखैदुःखका बीच
बेच्दाबेच्दै केही कप चिया र केही प्लेट तरकारी–चिउरा
अमर मायाको चिनो
जन्म दिए तिनले सन्तान
सुकुमारी छोरी ।

खेल्दै धुलोमाटो
निकाल्दै सिँगानको लत्का नाकका पोराहरूबाट
नचाहेर पनि सुन्दै
दुनियाँका चाहिने–नचाहिने कुरा
उठाउँदै चिया र नास्ताका गिलाँस र चम्चा–पिलेट
हँुदै गइन् सुशील, विनीत र शिल्पी
ख्यालख्यालमै विनिता भनेर राखिदियो
कुनै भद्र चिया–ग्राहकले तिनको नाउँ
एउटी चियापसलेकी छोरी
एउटी श्रमिककी नवजात सुशील सन्तान
हुर्किइन् खेल्दै धुलोमाटो र बगाउँदै सिँगान
जहाँ उनले बगाइन् सिँगान
जहाँ पोखे तिनका बाबा–आमाले श्रम र पसिना
र देखे भविष्यका सुन्दर सपना
यो धर्तीका सर्जकले,
जोसँग थिएन कुनै स्वार्थ, कपट र जाल
विनिता जन्मिएको र खेलेको चोक
‘विनिता चोक’ भनेर
राखिदिए तिनै कुनै ‘भलाद्मी’ मध्येका कुनै ‘भद्र’ ले
यो धुले चोकको सुन्दर नाउँ
जहाँ बामे सर्दै थिइन् चिया पसलेकी छोरी विनिता ।

एकाएक
गडुवारी र खाँदबारी खाने जिम्मल आएझैँ
लिँदै श्रमिक किसानकै नाउँ
मेट्दै श्रमिकहरूको सपनाको संसार
ढलिमली गर्ने असनका साँढेझैँ
ल्याइए यो धर्तीमा कुनै लगानी नै नभएका
लगानबहादुर र पौरखकुमारीहरू
मदनकुमार र मन्दिरा मैयाँहरू
बीपी र जीपीहरू
जीव नै नभएका अजीवहरू
जसको यहाँ छैन कुनै साइनो, कुनै सम्बन्ध
पल्टिएका छन् उग्राउँदै चोकचोकमा
र मेटाइरहेछन्, मेटाउने षड्यन्त्र गरिरहेछन्
यहाँको पसिनाको असली इतिहास ।

जसको श्रम, पसिना र स्वामित्व छ यो भूमिमा
यो उसैको नामबाट सम्बोधित हुन्छ, हुनैपर्छ
त्यसैले यो विनिता चोक हो
होइन कुनै साँढे चोक
जसको नाउँ कसैले करकापले लादेको होइन
जसको नाउँ राखेको हो जन्मजात श्रम र पसिनाले
जसरी रहेको छ यो सिङ्गो बस्तीको नाउँ खाँदबारी
जहाँ रातारात चिहान बनाइएको थियो
हजारौँ श्रमिकहरूको इतिहास र सपना
जसको नाउँ हो सिर्जनानगर
जहाँ बगेका थिए र बगिरहेका छन्
हजारौँहजार पौरखीका सिर्जनशील पसिना र सिर्जनाहरू
यो जनता चोक हो, पसिना चोक हो, विनिता चोक हो
होइन यो कुनै साँढे चोक ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :