क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक

राष्ट्रघात, जनघात र आत्मसमर्पणका विरुद्ध संघर्ष गरिने

क्रान्तिकारी कम्युनिस्ट पार्टी,  नेपाल केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक

काठमाडौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गर्दै हालै सम्पन्न केन्द्रीय सचिवालयको पहिलो बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष किरणले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यही जेठ २३ गतेदेखि २६ गतेसम्म काठमाडौमा बसेको बैठकले लिएका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा उल्लेख भए अनुसार बैठकमा अध्यक्ष किरणले प्रस्तुत गरेको ‘तात्कालिक परिस्थिति, संगठन, संघर्ष लगायतका विषयमा आधारित संक्षिप्त राजनीतिक प्रतिवेदन’ आवश्यक छलफल, बहस तथा परिमार्जन पश्चात सर्वसम्मत रुपमा पारित भएको छ ।
बैठकमा प्रदेश तहमा संयुक्त अधिवेशनहरु गरी प्रदेश संगठन समितिहरुको निर्माण गर्ने, ती समितिहरुका बैठकहरुको आयोजना गर्ने र यो प्रक्रियालाई स्थानीय तहसम्म अगाडि बढाउने निर्णय पनि बैठकले लिएको छ । साथै, सबै जनवर्गीय संगठनहरूको पनि माथिदेखि तलसम्म एकीकरण सम्पन्न गर्ने निर्णय वैठकले गरेको उक्त वक्तव्यमा उल्लेख छ ।
यस्तै सविचालयको बैठकमा कालापानी, सुस्तालगायतका नेपाली भूभागहरुमा हुँदैआएको सीमा अतिक्रमण, राष्ट्रघाती नागरिकता विधेयक, चरम रुपमा मौलाएको भ्रष्टाचार, मूल्यवृद्धि तथा अतिशय महंगी, मजदूर, किसान, सुकुम्बासी लगायत विपन्न वर्गका गास बासका समस्या, झुट्टा मुद्दामा फसाइएका राजनीति नेता तथा कार्यकर्ताहरुको रिहाइ, बैङ्कहरुको संरक्षणमा हुँदै आएका चरम सुदखोरी तथा मिटरब्याजी शोषण, हालै भारतमा गरिएकोे प्रधानमन्त्रीको भ्रमणको प्रक्रियामा गरिएको राष्ट्रघात तथा आत्मसमर्पणको विरोध सहितका विषयहरूलाई लिएर काठमाडौ लगायत देशका प्रमुख शहरहरुमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ ।
यस्तै एक नम्बर प्रदेशमा कोशी नामाकरणको विरोध तथा पहिचानको आधारमा नामाकरण हुनुपर्ने विषयलाई लिएर लामो समयदेखि आन्दोलन चल्दै आएकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठकले उक्त आन्दोलनलाई समर्थन गर्ने निर्णय लिएको छ ।
यस्तैबैठकमा नेकपा (मशाल) लगायत विभिन्न क्रान्तिकारी समूह तथा व्यक्तित्वहरुसित पार्टी एकतामा लागि पहल गर्ने निर्णय लिइएको कुरा पनि अध्यक्ष किरणको प्रेस वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :