सपनामा आइरहने आमा–बाबालाई सम्झिएर !

सपनामा आइरहने आमा–बाबालाई सम्झिएर !

आमाले भौतिक रूपमा छोडेर जानुभएको आज १९५ दिन पुगेको छ । मलाई हिजो रातीदेखि नै निद्रा पर्न अलिक कठिनजस्तो भयो । म चीन आएको झन्डै दुई महिना पुग्दैछ । अधिकांश सपनाहरूमा बाबाआमा देखिइरहनुभएको छ । यसको अर्थ आमाबाबाको सम्झनाले झन् बेस्सरी गाँजेको छ । आफूसँग भएका फोटो, भिडियो दर्जनौँपटक हेर्नेदेखि ल्यापटपको ब्याकग्राउन्ड र मोबाइलको वालपेपरसम्म फेरेर भुलाउने कोसिस पनि नगरेको होइन तर जति आफूलाई भुलाउने प्रयत्न गर्छु त्यति नै बढी चिमोटिरहन्छ । आमाजत्तिकै आफैँलाई भुलेर माया गर्ने र बाबाजत्तिकै बोकेरै बाटो देखाउने अरू सायदै कसैको जीवनमा भेटिएलान् । कुनै समय बाबा नभए कसरी बाँचिएला र आमा नभए कसरी अडिएला र भन्ने सोच्दै अत्तालिने गर्थें तर आज आमाबाबा दुवै हुनुहुन्न, त्यही पनि त बाँचेकै छु, डुलेकै छु । सायद यसैलाई भन्छन् तितो सत्य, टर्रो यथार्थ र जीवनको अनिवार्य बाध्यता !

लेखक : लोकेश विश्वकर्मा

हाम्रा बाबासँग सपना थियो हामी सबै राम्रोसँग स्थापित भएको हेर्ने तर बाबाको भौतिक जीवनमा हामी कसैले पूरा गर्न सकेनौँ । आमाले केही सजिलो देख्नुभयो तर सुख पाउनुभएन । अहिले पनि मेरा बाबाआमा नियमितजस्तै निद्रामा आउनुहुन्छ । कहिले बोल्नुहुन्छ, कहिले मौन । आमाबाबाको भौतिक अनुपस्थिति निकै कष्टकर र पीडादायी नै हुँदोरहेछ । कहिलेकहीँ साथीहरूसँग कुरा गर्दै जाँदा जात, धर्म र वंशका कुरा पनि नउठ्ने होइनन् तर म भित्रदेखि नै भनिरहेको हुन्छु– न विभेदरहित धर्म हुनसक्छ, न राजनीतिरहित जात व्यवस्था नै होला । यही कुरा पनि मेरा बाबा र आमासँग सिकेको हुँ । मैले जान्ने, चिन्ने र बुझ्ने भएपछि मेरा बाबाआमालाई कहिल्यै दलित हुँ भन्ने लघुताभासले थुन्न सकेन । उहाँहरू थरका आधारमा विभेद भोग्नेका पक्षमा र विभेद गर्नेका विरुद्ध सदैव सङ्घर्ष गरिरहनुभयो तर त्यहाँ पनि मेरा बाबा र आमाले लडाइँ जित्न नसकेका दुई मोर्चाहरू छन् । मेरा बालाई एकपटक तत्कालीन गाविसको मूल नेतृत्व गर्ने मन थियो अनि मेरी आमाका पनि बाबासँगै मिल्दाजुल्दा आकाङ्क्षाहरू थिए । ती कुरा आखत हेर्ने कम्युनिस्टका कारण सम्भव भएन । त्यसैले सुझाव छ– कम्युनिस्टको झन्डा मिल्काऊ कि आफ्नै टाउकोमा आगो सल्काऊ । नत्र आफैँलाई चलाउन नसक्ने अचेतको भारी किन बोक्छौ ?

म २०५५ सालमा अखिल क्रान्तिकारीको स्कुल अध्यक्ष बनेपछि बाबालाई बाबाकै पार्टीले धोका दिने बहाना बन्यो । आमाको सवालमा पनि मेरै कारण हो तर आमाबाबालाई मेरो यात्राप्रति कहिल्यै कुनै गुनासो भएन । तर जिज्ञासा र केही प्रश्नहरू भने अवश्य थिए । अरूजस्तै किन भैनस्, अरूजस्तै किन रहिनस् भन्नुहुन्थ्यो तर जबाफ हुन्थ्यो– अरूजस्तै मात्र हामीले भोगेका छैनौँ नि ! हामीलाई अरूको भन्दा बढी गह्राैँ भारीले थिचेको छ । थोरै बल गरेर, एकछिन बल गरेर हुँदै–हुँदैन । त्यसैले निरन्तर छु र रहन्छु भन्थेँ । थाहा छैन, आमाबाबालाई त्यसरी जबाफ दिनुहुन्थ्यो कि हुँदैनथ्यो तर मैले त्योबाहेक अर्को कहिल्यै भनिनँ ।

आमाबाबाले कहिल्यै दबाब दिनुभएन, कहिल्यै अभाव सुनाउनुभएन तर सदैव भनिरहनुभयो– अरूले गिज्याउने नहुनू, अरूले निमोठ्न नसकून्, अरूले हराउन नसकून्, आफ्नो बाटोमा सदैव इमान भएर लाग्नू । कहिलेकहीँ सम्झिन्छु आमालाई अपेक्षा पनि थिएन होला र ? जिउभरि सुन लगाउने, गाउँभरि ऋण बाँड्ने तर कहिल्यै कथ्नुभएन, कहिल्यै बाँध्नुभएन ।

मेरा सबै दाजुभाइले आफ्नो जीवनलाई आफ्नै श्रमले त्यतिविघ्न कमजोर हुन दिएका छैनन् । मैले साथीभाइका बीचमा उभिँदा कमजोर महसुस कहिल्यै गरिनँ र गर्दिनँ किनकि मेरा दाजुभाइ आफन्तले एक–एक थोपा पानी थपे पनि मैले ओइलाउनु पर्दैन, मैले झर्नु र गिर्नु पर्दैन । तर वास्तविक कुरा ३५ वर्षको उमेरमा समेत आमाबाट आस गर्ने मान्छे पनि मै हुँ ।

आमा गुमाएर भावविह्वल बनेर बसेको बेलासमेत त्यो चेतले मलाई झम्टिने कोसिस गर्यो । कतिसम्म भने कपाल नफालेको वा सेतो नलगाएको भन्दै अन्तिम बिदाइ गिजोल्ने कोसिस पनि गरियो । थाहा नपाएका वा थाहा पाउन बाँकी रहेकाप्रति मेरो गुनासो वा आक्रोश दुवै थिएन र छैन । तर कम्युनिस्टको नेता बनेर झन्डा बोक्नेहरूले गरेको क्रियाकलाप साह्रै ठिठलाग्दो थियो ।

मेरा बाबाआमाले मलाई बलियो गरी साथ दिएकै कारण म हरेक अन्याय, अत्याचार, विकृति, विसङ्गति र रूढिवादमाथि लाठो बजार्ने भएको हुँ । अवैज्ञानिक र गलत कुरालाई पुरानो वा चलिआएको चलनका नाममा प्यारो गरी लुकाउन खोज्ने चेतना अझै हाबी नै छ । आमा गुमाएर भावविह्वल बनेर बसेको बेलासमेत त्यो चेतले मलाई झम्टिने कोसिस गर्यो । कतिसम्म भने कपाल नफालेको वा सेतो नलगाएको भन्दै अन्तिम बिदाइ गिजोल्ने कोसिस पनि गरियो । थाहा नपाएका वा थाहा पाउन बाँकी रहेकाप्रति मेरो गुनासो वा आक्रोश दुवै थिएन र छैन । तर कम्युनिस्टको नेता बनेर झन्डा बोक्नेहरूले गरेको क्रियाकलाप साह्रै ठिठलाग्दो थियो । अझ लाजमर्दो कुरा त विज्ञान पढाउने बुद्धिजीवीले गरेको हर्कत नबिर्सिन लायक छ । उनलाई उनका विद्यार्थीले प्रश्न गरून्– पानी इन्द्र भगवान्को पिसाब हो कि, हाइड्रोजन र अक्सिजनको मिलनबाट बनेको तरल पदार्थ हो ? किताब पढे जानिन्छ कि सरस्वतीको पूजा गरे मात्र पुग्छ ? त्यो भारतीय प्रमाणपत्रमा भएको अङ्कभारभन्दा मेरा आमाबाबाको अक्षर मात्र फुटाल्नसक्ने चेत कैयौँ गुणा अगाडि छ । बाटोको ठेक्का मिलाइने वा पानीको धारो बनाइदिने बजेटमा लोभिने गरी मेरा बाबाआमाले मलाई हुर्काउनुभएकै होइन जसलाई म प्रमाणित गर्न चाहन्थँे र केही हदसम्म गरेँ पनि । त्यसका लागि मेरा दाजुभाइ, दिदीबहिनी, आफन्तले जुन स्तरमा साथ दिनुभयो, त्यो समाजका कैयौँ बुद्धिजीवी, विद्वान, कम्युनिस्ट क्रान्तिकारी भनिनेहरूका लागि गतिलो जबाफ बन्न पुग्यो ।

आमा गुमाएको पीडामा समेत गलत मूल्यमान्यतासँग लड्न र जुध्न छोडिनँ । जसले जुन तरिकाले जुन उद्देश्य र प्रश्नसहित घाटसम्म पुगेर अवरोध गर्नेसम्मको कोसिस गरे ती मान्छेहरूप्रति वैरभाव राखिनँ । त्यसले मेरा लागि एक प्रतिष्ठित प्रोफेसरको प्रवचनभन्दा कैयौँ गुणा ज्ञान र चेतना दिएको छ । हामी कम्युनिस्ट भन्नेवालाहरूले के सिकाएका छौँ ? के बुझाएका रहेछौँ ? आफैँ कति बुझेका रहेछाैँ भन्ने छर्लङ्ग बुझ्न पाएँ । आज पनि भन्छु– कम्युनिस्ट पार्टी गरिब–उत्पीडित–सर्वहारालाई न्याय दिने पार्टी हो भन्दै आफैँ टोले शोषक बनिरहेछन् । निजी सम्पत्तिको अन्त्य गर्ने भन्दै आफू र आफ्नालाई जग्गा, जमिन र घरखेत जोड्नेको सङ्ख्या बढ्दो दरमा नै छ । भौतिकवादको प्रवचन दिँदै ग्रहदशा हेरेर साइत जुराउनेको लाम पनि लामै छ । त्यस्तालाई भन्नु यत्ति छ– सबैलाई ढाँट तर आफैँलाई किन ?

मान्छे देखाउने कार्यक्रममा जाँदा सित्तैँको बस चढ्ने र चुनावमा दुईचार पैसो खाने अनि भोट हाल्न जाने कुराले उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रले न्याय कहिल्यै पाउँदैन । यो केवल पुरानै चेतनामा चिप्लेटी खेलाउने तरिका हो । त्यसो होइन, साँच्चिकै विद्रोह गरेको हो भने समाजमा रहेका गलत मूल्यमान्यतालाई त्याग्दै सत्य, तथ्य र वैज्ञानिक सोचाइ, शैली र अभ्यास गर्न हिचकिचाहट किन ? हो, मैले आमा गुमाउँदा कपाल काटिनँ, सेतो लगाइनँ । अझ रूढिगत कुनै कुरा गर्दै गरिनँ । आमाबाबा गुमाउनुको पीडाको मापन कपालको लम्बाइ र कपडाको रङले निर्धारण गर्नै सक्दैन । बाँचुन्जेल कष्ट दिने र मरेपछि अरूलाई माहोल बनाउन त्यस्तो गर्नुको केही अर्थ हुन्छ र ?

प्राकृतिक नियमको कार्यान्वयनमा हामी सबै लाममा उभिएकै हुन्छौँ । यद्यपि बिछोड भनेको आफू बाँच्दासम्म पिरोल्ने घाउ नै हो । जसले जसरी व्याख्या गरून्, म आफ्नो कर्मप्रति विश्वस्त छ । मलाई ढोङको दुनियाँभन्दा बाबाआमाले गरेको सङ्घर्षको सदस्यता नै निकै प्यारो छ । त्यसैले अभिभावकले देखाएको बाटोमा अविच्छिन्न लाग्नु कर्तव्य हुनेछ । फूल फाउन्डेसनमार्फत आमाबाबाको सपनालाई समाजसँग जोड्ने कोसिस गर्नेछु । अनुरोध छ, कम्तीमा आफूले उभिएको वैचारिक धरातललाई कुनै पनि बहानामा आफैँले घिनाउने काम नगरौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :