क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भन्यो– नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भन्यो– नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात

काठमाडौँ : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएकाहरूमा हाइफ्रोफाइलवाला व्यक्तिहरूको नाम एकपछि अर्को गरी छताछुल्ल भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उक्त घटना गम्भीर राष्ट्रघात र जनघात भएको बताएको छ ।

नेपाल सरकारको नेतृत्व गर्दै आएका पार्टीका नेताहरू, मन्त्रीहरू तथा सरकारका उच्चपदस्थ कर्मचारीहरूसमेत यस्तो कार्यमा संलग्न भएको कुरा अहिले नेपाली सञ्चारमाध्यममा छताछुल्ल भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो नेपालको इतिहासमा लज्जास्पद परिघटना भएको पनि बताएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘आर्थिक लाभका निमित्त आफ्नो देशका नागरिकलाई अर्कै देशको शरणार्थी बनाउने र तेस्रो देशमा पठाउने काममा सरकार नै संलग्न हुनु नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा लज्जास्पद परिघटना हो । यो आर्थिक अपराध मात्र होइन, गम्भीर राष्ट्रघात तथा जनघात पनि हो । यस घटनामा संलग्न अपराधीहरू जोकोही भए पनि तिनलाई कडाभन्दा कडा कारबाहीको भागी बनाउन हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’

नेपालीलाई भुटानी शरणार्थी बनाएर आर्थिक लाभ लिएको घटना सम्बन्धमा पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको र योसँगै पूर्वगृहमन्त्रीसमेत रहेका एमालेकै अर्का नेता रामबहादुर थापा, काङ्ग्रेस नेत्री आरजू राणा देउवालगायतको नाम सञ्चारमाध्यममा आइरहेको र कयौँ उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षाविज्ञका नाममा सरकार निकट बसेर लाभको पद लिएका व्यक्ति र पूर्वमन्त्रीका परिवारका सदस्यहरूसमेत पक्राउ परिसकेको अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो व्यवस्था रहेसम्म यसप्रकारका घृणित हर्कत रहिरहने भन्दै यो व्यवस्थाको कमजोरी रहेको र व्यवस्था बदल्न जरुरी भएको बताएको छ ।

पार्टी प्रवक्ता कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘यो परिघटना एकाध भ्रष्टाचारीहरूको आर्थिक लोभको मात्र हर्कत होइन, यो दलाल तथा नोकरशाही पुँजीवादी सत्ता तथा व्यवस्था र संसद्वादी पार्टीका नाइकेहरूको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पतनकोे सटिक अभिव्यक्ति हो । सत्तासीनहरूको आपसी भागबन्डा नमिलेको र तिनका बीचको अन्तर्विरोध चर्केका कारण यसपालि यो घटना बाहिर आएको हो । यस्ता काण्डहरू हिजो पनि भएका थिए र यो व्यवस्था रहेसम्म भोलि पनि दोहोरिँदै जाने कुरा निश्चित छ । यसप्रकारको बेथितिबाट मुक्ति पाउने एक मात्र उपाय भनेको नोकरशाही तथा दलाल पुँजीवादी सत्ता तथा व्यवस्थाको अन्त्य र त्यसको स्थानमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो ।’

मानव तस्कर र भ्रष्टाचारीहरू सबैलाई छिटोभन्दा छिटो कारबाही गर्न माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले यस्ताखाले अपराधमा संलग्न सबैलाई कडा कारबाही गर्न मागसमेत गरेको छ ।

पार्टी प्रवक्ता कञ्चनको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘तत्कालका हिसाबले यस अपराधमा संलग्न सबै राजनीतिक माफियाहरू, नोकरशाहहरू, दलाल तथा मानव तस्करहरूमाथि कडाभन्दा कडा कारबाहीका लागि आवाज उठाउन र नेपाली जनताले भोग्दै आएका समग्र समस्याको दीर्घकालीन समाधानका लागि नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, क्रान्तिकारी, वामपन्थी तथा प्रगतिशील जनतामा हार्दिक अपिल गर्दछ ।’

घटनाको सङ्क्षिप्त नालीबेली

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेको अभियोगमा सुरक्षाविद् भनिएका इन्द्रजित राई पक्राउ परिसकेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट १० देखि ५० लाखसम्म उठाउने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले राईलाई गत मङ्गलबार नै पक्राउ गरेको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार रहेका इन्द्रजितलाई प्रहरीले काठमाडौँको सौखेलस्थित निवासबाटै पक्राउ गरेको थियो । पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएका दलालहरूको बयानका आधारमा उनी पक्राउ परेका हुन् । हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टङ्क गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरिएको जानकारी एसएसपी दानबहादुर कार्कीले सञ्चारमाध्यमलाई दिएका छन् । गिरोहका नाइकेहरूविरुद्ध प्रहरीले सङ्गठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको बताइएको छ । मानव तस्करलगायत सबैखाले भ्रष्टाचारी र मानव तस्करहरूविरुद्ध कडाइपूवर्क कारबाही गर्न सरकारलाई जनस्तरबाटै चौतर्फी दबाब आइरहेको भए पनि सत्ताको जोडघटाउ र गठबन्धन फेरबदलका कारण कति बेला कुन तस्कर सत्तास्वार्थसँग जोडिन्छ र कारबाहीको नाटक बन्द हुन्छ भन्ने भने स्पष्ट छैन ।
सञ्चारमाध्यमहरूमा आएको सूचनाअनुसार प्रहरीले इन्द्रजित र उनका व्यापारी छोरा निरजले २०७६ साल असारदेखि चैतसम्म थापाथलीको आँगन रेस्टुराँ, त्रिपुरेश्वरको कुमारी अपार्टमेन्ट र कुपण्डोलको हिमालय होटेलमा गरी ५ करोड ५० लाख रुपैयाँ लिएको बयान नाइकेहरूले दिएका छन् । यसप्रकारको अवैध कारोबार करोड मात्र नभएर अर्बसम्म भएका तथ्याङ्कहरू पनि सार्वजनिक भएका छन् । यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुरका छोरा प्रतीक पनि मुछिएका छन् । रामबहादुर २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बेला इन्द्रजित उनका सुरक्षा सल्लाहकार थिए । उनले भुटानी शरणार्थी समस्याको स्थायी समाधानको उपाय पहिल्याउने भन्दै गृह मन्त्रालयबाट नीतिगत रूपमा असङ्गत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न ५० लाख रुपैयाँसम्म असुल्न मार्गप्रशस्त गरिदिएको अनुसन्धानमा देखिएको सार्वजनिक भएको छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने मानव तस्करी प्रकरणमा आफ्नो दलविरुद्ध प्रतिशोध साध्ने र अरू दललाई जोगाउन खोजेको आरोप लगाएका छन् । त्यसक्रममा ओलीले ११ महिनाअघि नै दुईजनालाई पक्राउ गरेर किन छाडियो भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् ।

थापा गृहमन्त्री भएका बेला ३० जेठ, २०७६ मा मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन भन्दै गठन गरेको कार्यदलले छूट भएका शरणार्थीहरूलाई उपलब्ध प्रमाणसहित मोरङको पथरी शनिश्चरे र झापाको बेलडाँगी शिविरस्थित शरणार्थी व्यवस्थापन एकाइमार्फत निवेदन बुझाउन सूचना जारी गरेको थियो । त्यसरी जोकोहीले शिविरमार्फत बुझाउनसक्ने निवेदन सुन्धाराको होटेलमा बसेर शर्माले भराएको, कार्यदलले पछि प्रमाण नपुगेको भन्दै ती निवेदन अस्वीकृत गरेको र यसै सिलसिलामा गिरोहले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने योजना बनाएर करोडौँ असुलेको पाइएको हो ।

तत्कालीन गृह सचिव प्रेमकुमार राईसमेतलाई पैसा दिनुपर्ने भन्दै २०७६ भदौमा प्रतिव्यक्ति १० लाख उठाइएको भन्दै गिरोहविरुद्ध काठमाडौँका रामशरण केसीले २०७८ मङ्सिर ३ गते अख्तियारमा उजुरी (सी–०१६१६६) दिएका थिए ।

उजुरीमा भनिएको छ, ‘दुलालले तपाईंहरूको हस्ताक्षर भएको भुटानी शरणार्थी समस्या समाधानका उपायहरूको सम्बन्धमा सरकारमा पठाउन लागिएको प्रस्ताव देखाएका थिए । तपाईं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएपछि पनि उनले इन्द्रजित राई र प्रेम राईसँग कुरा भइसक्यो, उसलाई हामीले नै सेटिङमा अख्तियार लगेका हौँ भनेका थिए । भुटानी शरणार्थी समस्या समाधानको प्रस्ताव २०७७ चैत ११ गते तत्कालीन गृहसचिव महेश्वर न्यौपानेमार्फत तपाईंले नै स्वीकृत गराएको र त्यसमा मुख्य सचिव शङ्कर बैरागीको हस्ताक्षर रहेको प्रमाणसमेत हामीलाई देखाइएको थियो ।’ केपी शर्मा ओलीपछि देउवा सरकार आएकाले अहिले अमेरिका पठाउन नसकिने भनेर अख्तियार प्रमुख राईले जबाफ दिएको पनि गिरोहले आफूहरूलाई बताएको उजुरीमा उल्लेख थियो ।

यसै प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । गत मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । भक्तपुर आसपासको जङ्गलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडीबुटीबाट पक्राउ परेका हुन् । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । उपराष्ट्रपति कार्यालयमा आउनुअघि उनी गृह मन्त्रालयका सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाँठका साथै रकम लेनदेनमा समेत उनी मुछिएको बताइएको छ ।

उता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि यो घटनामा मुछिएका छन् । यद्यपि उनीहरूले नक्कली शरणार्थी प्रकरणमा आफूहरू संलग्न नभएको र तथ्यहीन कुराहरू सञ्चारमाध्यममा आएको दाबी गरेका छन् ।

प्रहरी हिरासतमा रहेका सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएको बताइएको छ । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । डेढ वर्ष गृहमन्त्री भएका खाण पटकपटक झापा पुगेको र शरणार्थी समस्याको कुरामा मात्र नभएर दुलाल–भण्डारीको टोलीमा पनि उनी आएको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी भने अझसम्म फरार छन् । प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि नै उनी फरार भएका हुन् । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि रहेको र कार्यक्रम सकेर बुटवल झरेपछि सम्पर्कविहीन रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने अब भ्रष्टाचारीको फाइल खोलिने बताएका छन् । एमालेले अध्यक्ष ओलीले रायमाझीलगायत भ्रष्टाचार र मानव तस्कर आरोपी र अभियुक्त बचाउन लागेको भन्ने कुरा हल्ला मात्र रहेको दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले प्रधानमन्त्री दाहाललाई लगातार दुईपटक भेट गरेका थिए । दाहाललाई भेटेपछि ओलीले पत्रकारसँग रायमाझीका बारेमा भनेका थिए, ‘एउटा बहालवाला सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनु पर्दैन । ऊ भागेर कतै जाँदैन । त्यसकारण यो निकै रहस्यमय छ ।’ रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

देश र जनताका विषयमा कहिल्यै सकारात्मक बहस नहुने संसद्को बैठक शरणार्थी प्रकरणले केही तातेको देखिएको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोहले नेपाली नागरिकमाथि ठगीधन्दा चलाएको विषयमा संघीय संसद्का दुवै सदनमा आइतबार चर्को बहस भएको थियो । सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र सांसदले करोडौँ ठगी गर्ने गिरोह, सरकारले गरिरहेको अनुसन्धान र राजनीतिक दाउपेचका विषयमा आरोपप्रत्यारोप भएको थियो भने स्वतन्त्र सांसद अमरेशकुरमार सिंह त संसद्मै कपडा नै खोलेर अर्धनग्न भएका थिए ।

स्मरणीय छ, यसअघि पनि काङ्ग्रेस, एमाले, माओवादी केन्द्रलगायत पार्टीका नेता तथा मन्त्रीहरू वाइडबडी घोटालाकाण्ड, बाँसबारी जग्गा घोटालाकाण्ड, बालुवाटार ललिता निवास जग्गाकाण्ड, बालमन्दिर जग्गा, मातातीर्थ जग्गा, यती, ओम्नी, लडाकु शिविरका घोटालालगायत काण्डमा फसिसकेका छन् । सरकार फेरबदल र गठबन्धनका कारण सम्पूर्ण घोटाला र भ्रष्टाचारका काण्डहरू लुकाउँदै र चोख्याइँदै आएका छन् । जनस्तरबाट सबै काण्डका अपराधीहरूलाई यथाशीघ्र कारबाहीको माग उठ्दै आएको छ । अब क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पनि वक्तव्य जारी गरेर चेतावनी दिएपछि यो विषय अझै पेचिलो र जनसरोकारको बन्ने र भ्रष्टाचारी तथा मानवतस्करविरुद्धको आन्दोलन अघि बढ्ने देखिन्छ ।

(विभिन्न पत्रिका र अनलाइनसमेतको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :