बलिदानको सम्मान गर, भ्रष्टीकरण अन्त्य गर

सत्ताराजनीति अत्यन्त भ्रष्ट र विकृत भएको छ । आमूल परिवर्तनका लागि योद्धाहरूले बगाएको रगत, उनीहरूको त्याग, शौर्य र इमानदारीको हुर्मत लिने गरी राजनीतिक भ्रष्टीकरण भएको छ । सत्तासीन पार्टीहरूमा कुनै आदर्श, त्याग र निष्ठा छैन । सत्तास्वार्थका कारण रातारात नौरङ्गी गठबन्धनहरू निर्माण हुने र नेपालको राष्ट्रियताकै खिल्ली उड्ने गरी सांस्कृतिक–आर्थिकलगायत भ्रष्टाचार र अपराधमा डुबेकाहरूका घृणित हर्कतहरूवरिपरि मुलुकको राजनीति घुम्ने परिस्थिति बन्नु भनेको इतिहास र वर्तमान दुवैको धज्जी उडाउनु हो । पुष्पकमल दाहाल नेतृत्वको सरकारका गृहमन्त्री रवि लामिछाने प्रकरणले देशकै शिर निहुरिने गरी जनतालाई लज्जित बनाएको छ । विदेशको नागरिकता लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्रमाथि रविले गरेको लापरबाही, दोहोरो राहदानी प्रकरण र नागरिकतामा भएको विवाद, अमेरिकामा रहेका परिवारका सदस्यहरूमाथि र देशकै सहकर्मीहरूमाथि भएका सांस्कृतिक ज्यादतीका विषय र नागरिकता प्रकरण विवादमै रहेको र मुद्दासमेत परिसकेको अवस्थामा चुनाव लड्न दिने, रातारात नेता बनाएर राज्यको उपप्रधान तथा गृहमन्त्रीसमेत बनाउने विकृत चाल र निन्दित विषय अब रहस्यैरहस्य र षड्यन्त्रैषड्यन्त्रको जालोका रूपमा अभिव्यक्त भएको छ । यस्तो अवस्थामा महान् सहिदहरूले जीवन नै उत्सर्ग गरेर बलिदान गरेका महान् घटनाहरूको हुर्मत लिइएको छ । क्रान्तिकारी शक्ति र जनताले यो अवस्थालाई गम्भीर र मिहीन ढङ्गले हेर्नु र संश्लेषण गर्नु आवश्यक छ ।

योद्धाहरूले देश र जनताको परिवर्तन, सुख र समृद्धिका लागि हाँसीहाँसी आफ्नो जीवनको बलिदान दिएका थिए, देशमा यसप्रकारको बेथिति र नग्नता प्रदर्शन गर्नका लागि होइन । आदर्श र निष्ठा त्याग गरेर सम्झौता गरेको अवस्थामा जीवन बाँच्ने सम्भावना हुँदाहुँदै त्यसलाई दुत्कार गरेर गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीहरूले जीवन उत्सर्ग गर्ने बाटो रोजेका थिए । त्यसअघि लखन थापादेखि कृष्णलाल अधिकारीसम्मले भनौँ वा त्यसपछि भीमदत्त हुँदै सुखानीमा बलिदान गर्ने योद्धा र दोरम्बामा रगत बनाउने वीरवीराङ्गना सबैले आफ्नो व्यक्तिगत जीवनको कुनै लोभ, लालच नगरी समाजका लागि, आफ्नो वर्गका लागि त्याग, शौर्य, वीरता र महानता प्रदर्शन गरेका थिए । मुलुकका पछि आउने नेताहरू सम्झौतापरस्त, दलाल र गद्दार जन्मिएलान्, कोसी, महाकाली, गण्डकीदेखि लिपुलेक, लिम्पियाधुरासम्म गद्दारी गर्लान् र लेन्डुपपथ रोज्लान् भन्ने भएको भए तिनले आफ्नो सुन्दर जीवन आहुत गर्थे कि गर्दैनथे होला भन्ने विषय उठ्नु भनेको आदर्शहरूको हदैसम्मको स्खलन र आक्रोशको अवस्था हो । महान् अग्रजहरूको त्याग, शौर्य र बलिदानलाई दलाल संसदीय व्यवस्थाका पक्षधरहरूले आफू सत्तामा पुग्ने र मनपरी गर्ने साधनका रूपमा दुरुपयोग गरिदिए । यो अप्रिय विषय हो र इमानदार, क्रान्तिकारीहरूले सहिदको त्याग, शौर्य र बलिदानको सम्मान गर्नुपर्छ । यो दलाल पुँजीवादी व्यवस्थाले देश र जनताका विरुद्ध गरेको यसप्रकारको हर्कतका विरुद्ध ध्रुवीकृत र केन्द्रीकृत भएर विद्रोह गर्नुपर्छ ।

कुनै पनि सामाजिक–राजनीतिक–सांस्कृतिक परिवर्तनका निम्ति आन्दोलन, सङ्घर्ष, विद्रोह, युद्ध, क्रान्ति महत्वपूर्ण माध्यम हो । परिवर्तनका विषय र उद्देश्यका आधारमा सङ्घर्षले विभिन्न स्वरूप निर्धारण गर्दछ । अझ राजनीतिक व्यवस्था नै परिवर्तन गरी नयाँ राजनीतिक व्यवस्था निर्माण गर्ने लक्ष्य राख्ने हो भने क्रान्ति नै एक मात्र विकल्प बन्न पुग्छ । राज्यसत्ता परिवर्तनका लागि क्रान्ति निर्विकल्प हो भने क्रान्तिमा बलिदान अनिवार्य सर्त हो । विश्वइतिहासका सबै विद्रोह, युद्ध र क्रान्तिहरूमा बलिदान एक अनिवार्य सर्त बन्न पुगेको छ । त्यही बलिदानको शक्तिमा संसारका इतिहास बदलिएका छन्, आफूलाई नै सर्वेसर्वा ठान्ने निरङ्कुश तानाशाहहरू ढलेका छन्, राजनीतिक व्यवस्थाहरू बदलिएका छन्, परिवर्तन भएका छन् । पुरातनको ध्वंश र नूतनको निर्माण भएको छ । मानव इतिहास तिनै क्रान्ति र बलिदानका गाथा हुन् । क्रान्तिलाई प्राण दिने ऊर्जाशक्ति बलिदान हो । सङ्घर्षका क्रममा मान्छे भौतिक रूपले मर्छ र सहिदका रूपमा जन्मन्छ । प्रत्येक बलिदानीले आफ्नो प्राण त्यागेर क्रान्तिलाई समर्पण गर्छन् र क्रान्तिलाई जीवित राख्छन्, इतिहासलाई जीवित बनाउँछन्, आफू पनि क्रान्तिसँगै इतिहासका पानामा सुन्दर अक्षरमा कुँदिन्छन् र युगौँयुगसम्म अमर बनेर चम्किरहन्छन्, आकाशका ताराका रूपमा । अनि ध्रुवतारा बनेर युगलाई, विश्वलाई मार्गदर्शन गरिरहन्छन्, निरन्तर प्रगतितर्फ, निरन्तर उन्नतितर्फ मानव मुक्तितर्फ, समतामूलक समाज निर्माणतर्फ डोहोर्याइरहन्छन् । त्यसैले आममानिसभन्दा त्याग र बलिदान गर्ने सहिदहरू महान् हुन् । योद्धाहरूको नाम जप्दै सत्तामा पुग्ने तर शक्तिको उन्मादले त्यो महानतालाई धुलीसात् पार्ने दुष्ट प्रवृत्तिलाई इतिहासले कहिल्यै भुल्दैन, एक दिन अवश्य दण्डित गर्छ । सहिद दिवसका सन्दर्भमा इतिहासका विभिन्न कालखण्डमा सामूहिक स्वार्थका लागि बलिदान गर्ने महान् योद्धाहरूलाई हृदयैदेखि अभिनन्दन गर्दै योद्धाहरूको योगदानको दुरुपयोग गर्ने खलपात्र र दुष्ट चिन्तनका विरुद्ध आन्दोलित हुन यो सन्दर्भले अवश्य पनि प्रेरणा दिनेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :