सहिदको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई छैन : राई

सहिदको सम्मानमा अखिल क्रान्तिकारीद्वारा दीप प्रज्वलन

सहिदको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई छैन : राई

काठमाडौँ : नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले सहिद दिवस मनाएको छ । काठमाडौँ सहिदगेटमा सहिदहरूको फोटोसहितको ब्यानर राखेर दीप प्रज्वलन गरी क्रान्तिकारीले सहिद दिवस मनाएको हो ।

दीप प्रज्वलन कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष मिलन राईले सहिदहरूको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई नरहेको बताए ।

उनले सत्तासीन पार्टी र नेताहरूले सहिदहरूको योगदान र सपना बेचेर महल बनाइरहेको र कुर्सीका लागि मरिहत्ते गरिरहेको प्रस्ट पार्दै भने, ‘खबरदार ! अखिल (क्रान्तिकारी) सडकमा छ । तिमीहरूको एकएक हिसाबकिताब हुन्छ । हामी सहिदले देखाएको बाटोमा छौँ । सहिदहरूको सपना पूरा गर्न हामी सहिद हुन तयार छौँ ।’

आजसम्म भएका परिवर्तन सहिदहरूको योगदानकै कारण भएको भन्दै सम्मान र सम्झनास्वरूप अखिल (क्रान्तिकारी) ले हरेक वर्ष सहिद दिवस मनाउँदै आएको र यस वर्ष पनि मनाइएको क्रान्तिकारीका केन्द्रीय कार्यालय सचिव राजन साउदले बताए ।

तत्कालीन निरङ्कुश राणा सरकारले परिवर्तनका पक्षमा जागरण अभियान सञ्चालन गरिरहेका शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिएको थियो । त्यसैगरी धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो ।

राणा सरकारले आफ्नो निरङ्कुश शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो भने २००७ सालपछि परिवर्तनका पक्षधर शक्तिहरूले माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउँदै आएका छन् । २०५२ सालमा जनयुद्ध आरम्भ भएपछि भने जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सहादतको दिन फागुन १४ देखि झापा विद्रोहका योद्धाहरूको बलिदान भएको फागुन २१ लाई कडी बनाएर सहिद सप्ताह मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :